बाल कथा : जादूको छडी

~विष्णुकुमार पौडेल~

रातको समय थियो । शालु आफ्नो बिस्तारामा पल्टिएकी थिई । अचानक झ्यालमा बिजुली चम्केजस्तो भयो । कोठा धपक्कै बल्यो ।‘आम्माम्मा…के को उज्यालो हो यो ?’ खाटबाट उठ्दै शालुले भनी ।‘के भएको होला ? कसरी उज्यालो आयो ?’ ऊ डराई पनि ।उसले आँखा मिच्दै झ्यालमा के हेरेकी थिई, गजबै भयो । झ्यालको बाहिर हावामा एउटी बूढी उड्दै थिई । उसको वरिपरि धपक्कै उज्यालो बलेको थियो ।

‘को हौ तिमी ?’ शालुले झ्यालबाट टाउको बाहिर निकाल्दै भनी ।त्यसैबेला बूढी झ्यालको नजिकै आई र भनी, ‘म परी हुँ । तिमी एकदम ज्ञानी केटी हौ । मलाई तिमी एकदमै मन पर्‍यो । त्यसैले म तिमीलाई केही गिफ्ट दिन आएकी ।’बूढीको कुरा सुनेर शालु फुरुङ्ग भई ।बूढीले शालुलाई एउटा छडी दिँदै भनी, ‘शालु १ यो जादूको छडी हो । तिमीले यसलाई कुनै वस्तुतिर देखाउँदै दुईपटक घुमायौ भने त्यो चिज गायब हुन्छ ।’

शालुले छडी लिई । परी गायब भई ।अर्को दिन बिहान शालुले त्यो छडी स्कुल लिएर गई । स्कुलमा उसले उपद्रो मच्चाई । उसले पहिले आफ्नो अगाडि बस्ने केटीको किताब गायब गर्दिई ।
‘छु मन्तर १’ भन्दै फेरि कयौं केटाकेटीहरूको पेन्सिल, झोला, बेन्च गायब गर्दिई । ‘आज के भइरहेको छ ?’ केटाकेटीहरूले सोचे तर यो सब शालुको हर्कत हो भनेर कसैले पनि थाहा पाएनन् ।
बेलुका ऊ घरमा पुगी । घरमा पुगेर पनि आफ्नो उटपट्याङ छाडिन । यसो गर्दा उसलाई मज्जा आइरहेको थियो ।जाडोको समय थियो । घरको छतमा घाम ताप्नको लागि कुर्सी राखिएको थियो । उसले सोची, ‘आ, यो कुर्सीलाई पनि गायब गरिदिन्छु ।’जब त्यसो भन्दै छडीलाई घुमाउँदै थिई त्यसैबेला कुर्चीमा आमा आएर बस्नुभयो । त्यत्तिकैमा कुर्चीसँगै शालुकी आमा पनि गायब हुनुभयो ।
शालु डराई । रुन थाली ।

त्यसैबेला हिजो राति झ्यालमा देखिएकी बूढी प्रकट भई । शालुले बूढीलाई सबै कुरा सुनाई ।

बूढीले शालुसँग भनी, ‘मैले तिम्री आमालाई फिर्ता ल्याउन त सक्छु तर…’बूढीको कुरा बीचमा काट्दै शालुले भनी, ‘के तर ?’शान्त हुँदै बूढीले भनी, ‘बदलामा यो जादूको छडी मलाई दिनुपर्छ ।’
शालुले भनी, ‘तिमीलाई जे चाहिन्छ त्यो लैजाऊ । मलाई मेरी आमा जसरी भए पनि चाहियो ।’

बूढीले एउटा जादू मन्त्र भनी । हेर्दा–हेर्दै आमा प्रकट हुनुभयो ।शालुले बूढीलाई ‘थ्यांक यु’ भन्न पनि पाइन । बूढी माथि बादलभन्दा पनि माथि पुगिसकेकी थिई ।शालु आफ्नी आमालाई दोस्रोपटक पाउँदा धेरै नै खुसी भई । ऊ दौड्दै आमाको सामुन्ने गई र आमालाई अंगालो मारी ।

प्रकाशित: माघ १०, २०७२

(स्रोत : कान्तिपुर – कोपिला)

This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.