कविता : सत्ताका किनाराहरू

~तिर्थराज अधिकारी~Tirtharaj Adhikari

तिम्रो सत्ता लघुगणितको खेल हो झेल एक
ठान्छौ आफैू अतिप्रबलको मन्द कस्तो विवेक
तिम्रो सत्ता क्षणिक पलको राग हो घामपानी
हिड्दा-हिड्दै अनल पथमा शेष बन्छौ खरानी ।

तिम्रो सत्ता कति जहरिलो आसमा त्रास भर्छ
फक्री फुल्ने अधरभरिका मन्दमुस्कान हर्छ
बोक्छौ भारी कल र छलको भारले थुन्छ बाटो
तिम्रो यस्तै अधममतिले जन्मको गुम्छ माटो

चिल्लो बोक्रा फल विफलको भित्रभित्रै छ खोक्रो
थुप्रो मात्रै सकल भुसको अर्थ के राख्छ धोक्रो
अन्धो सत्ता समर सपना फूलमा मूर्त पारी
गाल्दै,झार्दै प्रकृतिसुक्ष्म पाल्छ उल्टै मदारी ।

घेरा कोर्दै मधुमिलनमा नित्य धाँजा फटाई
अन्यायीका चरण रजमा माथ आफ्नो चढाई
नङ्ग्रा धस्दै मनुजसरिको पाउले टेक्छ चार
तिम्रो सत्ता कहरतिरका सुन्छ कस्को गुहार ?

भाषा मीठो वचन “जनता” बोल्न छोड्दैन कैल्यै
लुट्तै उल्टो सकल “जनता” भुट्न छोड्दैन कैल्यै
तिम्रो सत्ता असुर बलको मानवी भाव शून्य
बाँच्ने मार्दै बगरतिरका लासको तोक्छ मूल्य ।

मेरो सत्ता समहृदयले भाव संसार बोक्छ
अग्ली अग्लो शिखर शिरमा भासको बास रोक्छ
मेरो सत्ता सकल जनको प्रीत हो जिन्दगानी
तारा बल्छन् तिमिर पथमा खोजमा छन् बिहानी ।

बाँच्ने आशा कुसुम कलि छन् हाँस भन्छन् रमाऊ
बाँच्यौ जस्का सरस रसले मृत्तिका त्यै सजाऊ
आस्था मेरा अटल गिरि हुन् सान हुन् सत्य शोभा
हाँस्ने खेल्ने महक मनको भाव वैलिन्न आभा ।

चढ्दै-चढ्दै मन लहरिूदै दूरको स्वर्ग चुम्छु
झर्दै-झर्दै क्रमसित यतै लोक आलोकमा छु
मैले खोल्दा सरसर गला लाखले साथ दिन्छन्
मेरो सत्ता नजिक तमका जाल जन्जाल टुट्छन् ।

तौली हेरे समय सरणी बासमा को छ रानो ?
आस्था जाचे मन महलको बन्न को सक्छ छानो
बन्दा ध्यानी कसर मनको क्लेश सन्ताप भाग्यो
दाना मीठा अधिक रसिला शब्दमा स्वाद जाग्यो ।

देख्दा सानो कलम तर यो गर्छ सारा चिकित्सा
केस्रा केस्रँ पद वचनको राख्छ लेखा अभीप्सा
उन्मादीमा जलन अति छन् जल्नलाई डराउ
सत्ता आफ्नै मगमग अहा फूलझै ज्यून पाऊ ।

(स्रोत : “सत्ताका किनाराहरू” – कवितासंग्रह – २०७० बाट साभार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.