कविता : अन्धो छ ईश्वर आज पनि !

~शिव प्रकाश~SHiva Prakash

बाँचिरहेछन्
शकुनीहरु मान्छेभित्र
फैलाउँदै पासापञ्जा कुटीलताका
लेखिरहेछन् झूठो कथा महाभारतको
मरेका छैनन् दूर्योधन-दुशासनहरु
चिथोर्दै द्रौपदीहरु
हाँसिरहेछन् भारी सभामा
बनाउँदै लक्षागृहहरु
मान्छेका वस्तीमा
गर्जिरहेछन् आज पनि ।

जिउँदैछन् रावणहरु
नाङ्गो नाचिरहेछन् मान्छेभित्र
किचिरहेछन् निर्धाहरु
अत्याचारका गदाले
निरीह हेरिरहेछन् हनुमानहरु
वैदेही हरण
जटायु मरण
टुलुटुलु आज पनि ।

दुन्दुभी कोहालहको बजाउँदै
घुमिरेहछन् कंशहरु
मरेका छैनन्
मान्छेभित्र हाँसिरहेछन् आज पनि
नदेखेको ईश्वर,
ग्रन्थका मिथकहरु
अन्धाधुन्ध मानिरहेछ मान्छे
आज पनि ।

ईश्वर !
किन बाँचिरहेछन् शकुनीहरु !
किन नाचिरहेछन् रावणहरु !
किन हाँसिरहेछन् कंशहरु !
किन गर्जिहरेछन् कौरवहरु !
अदृश्य छ ईश्वर !
कि ईश्वरभित्र भ्रम छ
कि भ्रमभित्र ईश्वर !
कि बाँचेर पनि
अन्धो छ ईश्वर आज पनि ।

बोस्टन, अमेरिका

June 3rd, 2008

(स्रोत : Nepal.hk)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.