संस्मरण : बिस्तारो गर, ब्यूँझन्छे

~कृष्ण धरावासी~Krishna dharabasi

बिहान ७ बजेको थियो होला, एकाएक मोबाइलमा रिङ बज्यो । हेरेँ, सञ्जीवको नाम थियो । हामी उति फोनमा कुरा गर्दैनौँ । फोनमा बोलेर हाम्रा कुरा पनि सकिँदैनन् । एकदम महत्त्वपूर्ण समाचार नभई प्राय: हाम्रा फोनमा घन्टी जाँदैनन् । मैले फोन उठाएँ । उताबाट भारी स्वरमा सञ्जीव बोले, ‘कृष्ण । पाँच मिनटअघि आमाको प्राण गयो ।’ एकपल्ट थररर भएर हल्लियो भित्र कतै । बुबाले बोल्दै गरेको सुनेँ, ‘बिस्तारो गर, बिस्तारो, ब्यूँझन्छे ।’ यो वाक्यले झन् थर्कियो भित्र ।

मैले दुई वर्षअघि नै श्रीमतीको निधनको पीडा बेहोरिसकेको थिएँ । आमा छ–सात वर्षदेखि अल्जाइमरले थलिनुभएको थियो । उहाँले बिस्तारै बोल्ने शब्दहरू बिर्संदै जानुभएको थियो । पछिल्ला दुई वर्ष त सञ्जीव, अर्चना, डाक्टर बा र रेणुबाहेक कसैलाई नचिन्ने हुनुभएको थियो । म एक प्रकारले उहाँकै काखमा हुर्किएको थिएँ । यो कुरा मैले आधा बाटोमा लेखिसकेको छु ।

सञ्जीव जन्मिएकै एउटा छोरो । उहाँले भन्नुहुन्थ्यो, “मैले नजन्माएकी भए पनि तँ मेरै छोरो होस् ।” मेरी आमा बितेपछि पनि मलाई मातृ अभाव महसुस भएको थिएन । म घन्टौँ उहाँसँग बसेर दु:खसुखका कुरा गर्थें, उहाँले आफ्नै हातले बनाएको केही खान नदिएसम्म हिँड्दिन थिएँ ।

अल्जाइमर भए पनि, नचिने पनि, नबोले पनि म हरेक दुई–तीन दिनमा उहाँलाई हेर्न जान्थेँ । कहिले सुतिरहेको, कहिले बसेर एकोहोरो हेरिरहेको । कहिले हाँसेजस्तो, कहिले रोएजस्तो देख्थेँ अनुहार । छेउमै बस्नुभएको हुन्थ्यो डाक्टर बा । केही पढिरहेको, केही लेखिरहेको भेट्थेँ सधैँ । जब म पुग्थेँ, उहाँ निकै खुसी भएर आफ्ना अनुभव सुनाउन थाल्नुहुन्थ्यो । म पनि चाहन्थेँ, सञ्जीवसँग भन्दा बालाई नै बढी समय दिनु उचित छ । अनि, उहाँले सुनाउनुहुन्थ्यो– आफ्ना कहालीलाग्दा विगत ।

झलक्क हेर्दा डा शंकरप्रसाद उप्रेतीलाई केको दु:ख होला र ! १९९१ सालमा आठराई चुहानडाँडाका सम्पन्न मेदिनीप्रसाद उप्रेतीका काहिँला छोराका रूपमा जन्मिएका उनलाई कहिले के नै दु:ख भयो होला र † कुनै अभाव, गरिबी र दु:ख भए ०१७ सालमा कसैले एमबीबीएस गर्न सक्थ्यो † धनीका छोरा, पैसा पेल्न सके र त आजभन्दा ५५ वर्षअघि नै एमबीबीएस हुन सके नि !

तर, उहाँको कथा अनुमान गरेजस्तो सुखद छैन । जब उहाँ मसँग आफ्नो विगत भन्न थाल्नुहुन्थ्यो, म ट्वाल्ल परेर सुनिरहन्थेँ । एकदिन उहाँ निकै भावुक हुनुहुन्थ्यो । भन्नु भो, ‘हेर् केटा ! प्रकृतिले जीवलाई दुइटा कर्मको जिम्मा दिएको छ । एउटा आफ्नो सुरक्षा गर्, दोस्रो आफू बाँच् र फैल । मानिसबाहेक अरू सबै जीवले त्यत्ति नै गर्छन् तर हामी त्यसभन्दा अरू धेरै नै गरिरहेका हुन्छौँ । तैपनि, विचार गरेर हेर्‍यो भने सारांशमा हामी पनि त्यत्ति नै गरिरहेका छौँ । यो तेरी आमासँग म ५५ वर्षदेखि सँगै छु । हामीले मिलेर बाँच्ने र फैलिने खेलमा कैयौँ रमाइला र पूर्ण क्षणहरू बितायौँ । तर हेर् न, यसलाई अहिले ती कुनै कुरा थाहा छैन । यससँग बाँकी जीवन, बितेका दु:खसुख सम्झँदै बिताउन मन थियो तर ऊ त कत्ति सुखी भई, बच्चो जस्ती ।’

अलिकति–अलिकति गर्दै उहाँले मलाई आफ्नो जीवनका प्राय: सबै पृष्ठ सुनाइसक्नुभएको थियो । पछिल्लो कालको उहाँको शनिश्चरेको जीवनसँग म प्रत्यक्ष सम्पर्कमा भएकाले ती मेरा लागि रहस्य थिएनन् । मलाई रहस्य लागेको उहाँको बाल्यकालको कथा थियो, जुन सुनेर म छक्क पर्थें । उहाँको बाल्यकालको कथा सुन्नुअघि, जब उहाँले बिरामीहरूलाई जाँचेको, पैसा नलिएको, सस्तो र थोरै दबाइले उपचार गरिदिएको, पैसा नभएका गरिबलाई नि:शुल्क दबाइ दिएको देख्थेँ, मलाई अचम्म लाग्थ्यो । बजारमा मुरली, भट्टाचार्य र सुब्बाहरू थिए । उनीहरू सामान्य अनुभवी थिए तर डाक्टर बा शनिश्चरे नआएसम्म उनीहरू नै त्यहाँका डाक्टर थिए । तिनीहरूले गर्ने उपचार, दबाई र पैसाको महँगाइका अघि डाक्टर बाले नि:शुल्कजस्तै सेवा गरेको देख्थेँ । उहाँले किन त्यसरी मानिसहरूको सेवा गर्नु हुँदोरहेछ भन्ने कुरा मैले धेरैपछि मात्र बुझेँ, जब उहाँले मन खोलेर मलाई आफ्नो कथा भन्न थाल्नुभयो ।

सारांशमा यस्तो थियो उहाँको कथा : असाध्यै पढ्ने रहर भए पनि पहाडमा त्यस्तो पढ्ने व्यवस्था थिएन । त्यसैले घरबाट भागेर विराटनगर आई एक जना उप्रेतीकै घरमा बालश्रमिक भई काम गर्न थाल्नुभयो । ००४ सालको विराटनगर जुट मिलको मजदुर आन्दोलनमा फुच्चे केटो त्यत्तिकै जुलुसमा कुद्यो ।

त्यहाँबाट भेटेर काठमाडौँमा बसेका माहिला दाइले ल्याउनु भो । तर, काठमाडौँमा पढाइमा फेल भएपछि त्यहाँबाट पनि भागेको मान्छे, नुवाकोट, धादिङ, कताकता हुँदै महिनौँ लगाएर भारतको कानपुर पुग्नुभयो । कम उमेर भएकाले त्यहाँ एउटा मिलमा पाउनै लागेको काम पनि पाउनुभएन । अनि, एउटा असल मान्छेकहाँ पढ्न पाउने सर्तमा घरेलु कामदार भएर बस्नुभयो । अत्यन्त कठोर परिश्रमसँगै आफ्नो पढाइलाई अघि बढाउँदै एसएलसी उत्तीर्ण गर्नुभयो । आईएस्सी उत्तीर्ण गरी नेपाल आएको उहाँ कोलम्बो प्लान अन्तर्गत फेरि भारत नै पुग्नुभयो ।

फेरि एकदिन भन्नुभएको थियो, ‘जुन दिन मैले कोलम्बो प्लान पाएँ, त्यो दिन परमात्मालाई सम्झेर मनमनै प्रतिज्ञा गरेँ, म एमबीबीएसभन्दा माथि पनि पढ्दिनँ र आफ्नो जीवनको सबै समय दुर्गम गाउँमा बसेर ५० वर्षसम्म सेवा गर्नेछु ।’

धनीको कोखमा जन्मेर पनि गरिबको जीवन बिताएका उहाँमा दया र करुणाको भाव अथाह छ । बिरामीलाई मायाले हप्काउँदै, गाली गर्दै भए पनि उपचार गरिरहनुभयो । उहाँको उपचारकालमा सायदै बिरामीहरू अन्यत्र रिफर गरिए ।

०२६ सालदेखि उत्तरी झापाको शनिश्चरे क्षेत्रमा आफ्नै क्लिनिक खोलेर बसेपछि पूर्वी पहाड आठराई, ताप्लेजुङ र पाँचथरदेखिका बिरामीको केन्द्र बनेको थियो शनिश्चरे । सामान्य एमबीबीएस भएर पनि उहाँलाई गाइनोको विशेष अनुभव थियो । त्यस बेलाका झापा, मोरङ, इलामदेखिका गर्भवती महिलाहरूले उहाँकै सिपालु हातको सेवा पाएर आफ्नो र बच्चाको ज्यान बचाएका थिए । एकदिन भन्नु भो, “काम गरिरह्यो भने कत्ति गरिने रहेछ कत्ति, केटा । मैले आफ्नो सक्रिय डाक्टरी कालभरि ३६ हजार बच्चा जन्माएछु ।’ हाम्रै घरमा पनि उहाँको हातबाट जन्मेका चार जना छन्– कुमार, नानु, दीपलेश र विवेक ।

केटाकेटीका लागि त उहाँ धामीजत्तिकै हुनुहुन्थ्यो, छोयो कि निको हुने । डा शंकरकोमा नपुर्‍याइ भुरा सञ्चै नहुने । जस्तै असाध्य मानिएका बिरामी पनि निराश भएर फर्किएनन् । एकदिन एउटा मानिसलाई गोरुगाडामा बसाएर ल्याए । घाँस काट्न चढेको रुखबाट लडेछ र डाली घाँसको चोके एकापट्टिको गर्धनबाट छिरेर अर्काेपट्टि निस्केछ । चोके वारपार भएकै अवस्थामा ल्याइपुर्‍याए ।

सयौँ तमासे मानिस जुलुसजस्तै पछिपछि थिए । कसैले पनि बाँच्ला भन्ने सोचेका थिएनन् । तर, उहाँले सबैका अघि हेर्दाहेर्दै त्यसलाई तानेर निकालिदिनु भयो र उपचार गरेर पठाइदिनुभयो । सारा मानिसले डा शंकर देवतै हुन् भने । तर, एकदिन सर्पले टोकेर ल्याएको बेहोस मानिसलाई उहाँले सक्दिन भन्दाभन्दै उपचार गर्न कर लगाए । एन्टी स्नेक भेनम लगाइदिनु भो तर मान्छे बाँचेन । मरेपछि त्यसैलाई विषय बनाएर उजुरबाजुर गरे । प्रहरीले समातेर चन्द्रगढी पुर्‍यायो । एक रात थुनेर छोडिदियो । त्यो दिनदेखि उहाँले सर्पका रोगीको उपचार गर्नुभएन ।

अचम्म त मलाई के लाग्थ्यो भने उहाँले उपचार नगर्ने कुनै रोग थिएन । हातखुट्टा भाँचिएकाहरूको त एक्सरे नै नगरी काम्रो बाँधिदिनु हुन्थ्यो र ती सर्लक्कै जोडिन्थे । अचेल त सामान्य भाँचिएकोलाई पनि स्टिल नहाली उपचार गरेको देखिँदैन । उहाँले छामेकै भरमा हड्डी जोडी दिनुहुन्थ्यो ।

एक दिन मैले सोधेँ, “यति धेरै विषयमा तपाईं कसरी उपचार गर्न सक्नुहुन्छ ?” उहाँले भन्नु भो “पढ्दाखेरि प्राक्टिकलमा अरू साथीहरू अल्छी गर्थे, ठग्थे । टिमभित्रमा मलाई नै रिपोर्ट बनाउन लगाउँथे । म भने एकदम नै ध्यानले सिक्थेँ । त्यही सिकेको अहिले काम लागिरहेको छ ।”

आमालाई अल्जाइमरले समाउन थालेपछि सञ्जीव, अर्चना र मैले पटकपटक उहाँलाई यो पेसा छोडिदिनु, रेस्ट लिनु भनिरह्यौँ । तर, उहाँले हामीलाई सधैँ ‘५० वर्षसम्म यो पेसामा सक्रिय जीवन बिताउनेछु भनेर मैले प्रतिज्ञा गरेको छु, अब दुई वर्ष मलाई केही नभन’ भनेर चुप गराउनु हुन्थ्यो । नभन्दै ०६७ सालमा आफ्नो सेवाको ५० वर्ष पुगेपछि स्वैच्छिक अवकाश लिनुभयो । त्यस बेलासम्म झापामा सयौँ डाक्टर, क्लिनिक र अस्पताल थिए तर डा शंकरकोमा नपुगी कसैलाई सञ्चो हुँदैन थियो । उहाँले पेसा छोड्ने घोषणा गर्दा त्यो क्षेत्र नै एक प्रकारले शोकाकुल भयो । ‘डा शंकर छैनन्, अब हाम्रो के होला ?’ जस्तो मनोवैज्ञानिक दबाबमा परे मानिस । हुन पनि पेसाप्रतिको उहाँको निष्ठा अचम्म लाग्दो थियो । ६ वर्षसम्म राष्ट्रियसभाको सदस्य हुँदा पनि संसद् अधिवेशन सकिनेबित्तिकै गाउँमा गएर क्लिनिकमा व्यस्त हुनुहुन्थ्यो । कति मानिसहरू व्यंग्य गर्थे डा शंकरलाई हेर न, पैसाले नपुगेको । सांसद् भएपछि पनि अझै गाउँमा बसेर सुई हान्न छाडेका छैनन् !

इमानदारी र निष्ठाको एउटा प्रतिमूर्ति हो उहाँ । प्रचारभन्दा टाढा र गोप्य दानमा विश्वास गर्ने उहाँले शिक्षाक्षेत्रमा गरेको लगानीको त बेग्लै चर्चा गर्नुपर्ने हुन्छ । मलाई लाग्छ ०१७ सालमा एमबीबीएस गरेर एउटा दुर्गम गाउँमा ५० वर्ष सेवा गर्ने डाक्टरहरू नेपाली मेडिकल इतिहासमा बिरलै होलान् । उमेरको ७८ वर्षसम्म पनि सक्रिय रहनसक्ने उहाँको दृढता अभिनन्दनीय थियो ।

प्राय: हामी तीनै जनालाई उहाँ भनिरहनु हुन्छ, “तिमीहरू मिहिनेती पनि छौ । प्रतिभाशाली पनि छौ । नाम पनि कमायौ तर एउटा कुरा सधैँ ध्यानमा राख्नू । आफ्नो कर्मप्रति कहिल्यै अभिमानी नहुनू । तिमीहरू जे गरिरहेका छौ, त्यो सबै तिमीहरूका लागि ईश्वरले छुट्याएर दिएको भूमिका हो । तिमीहरूको आफ्नो मात्र होइन ।”

गर्व लाग्छ मलाई । गरिब र अशिक्षित आमाबाबुको कोखबाट जन्मेर पनि मैले यस्ता अभिभावक पाएको थिएँ । बाहिरबाट हेर्दा कडा स्वभावको देखिने उहाँ भित्रभित्रै बदामजस्तो कमलो हुनुहुन्छ । एकदिन चेतनाशून्य आमातिर फर्केर भन्नुभो, “यो महिलाको त्याग कति होला भन् त ! कहाँ राजस्थानमा जन्मेर हुर्किएकी । दुई विषयमा एमए गरेकी, सुखमा पालिएकी । मसँग बिहे नगर । म त गाउँमा बस्छु, दु:ख पाउँछ्यौ भन्दा तिमीले सहेको म पनि सहन सक्छु भनिन् । हुन पनि मसँगै बिताइन् यिनले पनि ५० वर्ष गाउँमा । तर, म खुसी छु, यिनलाई स्याहार्न पाएको छु । मभन्दा अघि यिनको प्राण जाओस् भन्ने कामना गर्छु ।” यसो भनिसक्दा एकाएक उहाँको अनुहार अर्कैजस्तो भएको थियो ।

अनि, त्यस दिन सञ्जीवले आमाको प्राण गएको पाँच मिनेटपछि नै मलाई फोन गरेका थिए । बाक्लो कुहिरो लागेको पुस ०७० को विर्तामोडको बिहानमा मैले त्यो फोन उठाएको थिएँ । बुबा भन्दै हुनुहुन्थ्यो, ‘बिस्तारो गर, बिस्तारो, ब्यूँझन्छे ।’ सायद लासलाई पलङबाट तल झार्न लागेका थिए होलान् । उहाँलाई लाग्दै थियो होला, ‘आमा निदाएकी मात्र हुन् मरेकी होइनन् ।’ आज पनि जब म डाक्ट बाको अघि पुग्छु, त्यही आवाज सम्झन्छु ।

प्रकाशित: मंसिर २४, २०७२

(स्रोत : नेपाल साप्ताहिक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.