लघुकथा : हाँस्न थालेको स्कुल

~नरेश ढेंगा~Naresh Dhenga

विद्यालयको भित्ते पत्रिकामा उसले निबन्ध लेख्यो, ‘दुश्मनहरु’। त्यस निबन्धमा दुश्मनहरु भनेका विद्यालयका शिक्षकहरु थिए। सरहरुले बिनाकारण दिएका शारीरिक यातनाको एकएक विवरण दिएको थियो उसले। आफूले सहने सक्ने क्षमता गुमाएर नै यो लेखिरहेको उसले बताएको थियो, निबन्ध मै।

भोलिपल्ट ऊ उठेन।

‘राजु, उठ अब। स्कुल जान पर्दैन?’ आमाले भनिन्।

राजु बोलेन। चुपचाप हिजो लेखेको निबन्ध सम्‰यो। सरलाई बेस्सरी गाली गरेको थियो ।

‘बिनाकारण गाली गर्ने। होमवर्क नमिल्दा कान च्यात्दिने। हलो जोत्न आए झैँ लाग्छ उसलाई सरहरु। हुन पनि हो, सरहरुले विद्यार्थीलाई गोरु भन्छ। गधा भन्छ। सुंगुर भन्छ। कुकुर भन्छ।

त्यो आइतवारको दिन थियो। उसको टाई बाटोमै खसेछ। उसलाई पनि थाहा थिएन। मित्रसर नजिकै आएको थाहा थियो। त्यसपछि एकैचोटी अफिसको लामो सोफामा लम्पसार थियो। होस गुमुन्जेल पिटेका थिए।…

ऊ पोषाक लगाएर स्कुल त हिँड्यो। तर स्कुल पुगेन। यता राजु फिल्महलमा फिल्म हेरिरहेको थियो। उ सम्झिरहेको थियो, ‘फिल्मको गुण्डा भन्दा हाम्रा सरहरु झन् ठूला गुण्डा हुन्। गुण्डाले हिरोहिरोनीलाई मात्रै सताउँछ। सरहरुले सबै विद्यार्थीलाई सताउँछन्।’

उता स्कुलमा उसको निबन्धले सरहरु रिसले मुर्मुरिएका थिए। सरहरुको लागि राजु भिलेन भएको थियो। विद्यार्थी भएर सरहरुको कुरा काट्नु स्कुलको नियम विपरित छ, सरहरुको भनाई।

साँझ हेडसर घरैमा आए। बाआमासँग लामो छलफल गरे। राजु कोठाबाट निस्कँदै निस्केन।

भोलिपल्ट बाआमासँगै उसलाई स्कुल जानुपर्‍यो। बाआमाले निबन्ध पढे। अनि स्नेह पूर्वक राजुलाई हेरे। अफिसमा उसलाई रेस्टिकेट गर्ने निर्णय भैसकेको थियो।

‘तर सर यसमा राजुको के दोष छ र? दोष त तपाइँहरुकै हैनर?‘ बाले भने।

‘कसरी दोष छैन राजुको? हेर्नुस्, विद्यार्थीलाई हामीले पत्रिका निकाल्ने अधिकार दिएका हौँ। तर सरहरु र विद्यालयको बारेमा मनपरि लेख्ने अधिकार छैन।’ हेडसर कड्किए।

राजुले बाबाको हात जोड्ले समात्यो।

‘हेर्नुस्, बालबालिका भनेका देउता हुन्। जे देख्यो त्यही बोल्छन्। त्यही गर्छन्। अनि अर्को कुरो, हामी अविभावकले तपाइँहरुलाई बाबुनानी पढाउने अधिकार दिएका हौँ। कुटपिट गर्न स्कुल पठाएका हैनौँ।’ यत्ति भनेर राजुको बा एकछिन चुप लागे।

फेरि भने, ‘सर, विद्यार्थीहरुलाई शारीरिक या मानसिक यातना दिनु दुबै गलत काम हो। यसले उनीहरुको जीवनमै ठूलाठूला असरहरु पर्न सक्छ। उनीहरुलाई शान्त र मायापुर्वक पढ्न पाउने अधिकार छ। आफ्नो विचारलाई स्वतन्त्र रुपमा भन्न पाउने अधिकार पनि छ। यातना दिनु समस्याको समाधान हैन। बरु उनीहरुलाई हौसला दिनु पर्ने हो।’

‘हामी पुनर्विचार गछौँ’ हेडसरले भने।

अनि केहीदिनपछि अभिभावक भेलासामु सरहरुले माफी मागे। र, अब यसो नगर्ने प्रण गरे। विद्यार्थीहरुको हितको लागि विद्यालयमा नयाँ शिक्षक आचारसंहिता बन्यो। त्यसपछि औसी फेरिएर पूर्णिमाको जुन झैँ स्कुल सधैँ हाँसिरÞयो।

फेरि एकपटक सरहरुको बारेमा उसले एउटा निबन्ध लेख्यो। सर तथा विद्यार्थीहरु सबै तीनछक मानेर निवन्ध पढे। उ कक्षा कोठाको झ्यालबाट भित्ते पत्रिकामा पाठकहरु झुण्डिएको देखेर मख्ख पर्‍यो। उसले निबन्धको शीर्षक मनमनै भन्यो, ‘पुराना दुश्मनहरु।’

– कक्षा–८, सेन उच्च माध्यमिक विद्यालय तानसेन पाल्पा।

(गोठादी–४ दहका ढेंगाको प्रस्तुत कथा केन्द्रीय बालकल्याण समितिले यस वर्ष(2014)को अन्तर्राष्ट्रिय बाल दिवसको आसरमा आयोजना गरेको राष्ट्रिय स्तरको छोटो कथा लेखन प्रतियोगितामा दोस्रो हुन सफल भएको थियो।)

(स्रोत : Ekaruwa)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.