कथा : तीन मेल

~सुबिन भट्टराई~Subin Bhattarai

मेल १

मेरी प्यारी,
हक नभए पनि यो सम्बन्धले तिमीलाई सम्बोधन गरेँ है। ठिक हो कि होइन यसो गर्नु, थाहा छैन। तर आज म आफ्ना भावनालाई कसैले तोकिदिएको ठिक वा बेठिकको कसीमा राख्न चाहान्न। थुनेकै हुँ वर्षौंसम्म आफैंलाई। अनेकन बाटो खोज्दै ती पोखिन नखोजेका कहाँ थिएँ?

थाहा छ, आज यसरी यो अवस्थामा पोखिनुको कुनै अर्थ छैन। र, मलाई त्यसको कुनै मतलब पनि छैन।

युनिभर्सिटीको पहिलो वर्ष।

के तिमीलाई याद छ, तिमी क्लासमा भित्तापट्टिको थर्ड बेन्चमा बस्थ्यौ र म बीचको फोर्थ बेन्चमा? आफ्नो गर्दन दायाँपट्टि घुमाएर कसैले थाहा नपाउने गरी तिमीलाई कति हेरेँ? नसोध! तिमी पनि त टाउको घुमाएर घरीघरी पछिल्तिर हेर्थ्यौ। एक–दुईपल्ट त रंगेहात पक्रेको थिएँ। विचार गरेकी थियौ? मुसुक्क हाँसिद्या थेँ नि! तिमी आँखा तरेर अगाडि पढाइमा कन्सन्ट्रेट भएको नाटक गरिहाल्यौ।

तिमीलाई के थाहा? तिमीलाई प्रभावित गर्न म क्लासमा केके गर्दिनथेँ? म क्लासको सबभन्दा बढी जोक गर्ने मान्छे। जोकर। मसँग बस्न मेरा केटा साथीहरू कत्ति लालायित रहन्थे? सब फ्यान थिए, मेरो सेन्स अफ ह्युमरका। प्रतीक्षा थियो त्यो फ्यानको लिस्टमा तिम्रो नाम थप्ने। लागिपरेँ।

त्रिविमा अन्तर विभागीय फुटबल प्रतियोगिता हुँदाताकको कुरा। ल्याबोरेटरी स्कुलको चौरमा हाम्रो विभाग र अंगे्रजी विभागको म्याच हुँदा तिमी र म दर्शकदीर्घामा लगभग सँगसँगै बसेका थियौं। म कमजोर थिएँ। रोगी पनि। खेल्ने सामर्थ्य राख्दैन थिएँ।
समीक्षाले यही प्रश्न गरेकी थिई, ‘तिमीचाहिँ किन नखेलेको?’

‘म अस्वस्थ छु,’ फुटबल म्याचमै एकतृत भइरहेका मेरा आँखालाई टसमस नगाराईकनै मैले जवाफ फर्काएँ।

त्यसपछि तिमीले पुलुक्क मतिर हेरेकी थियौ।

मेरो ध्यान मैदानमा भइरहेको फुटबलमा नै केन्द्रित थियो।

‘के अस्वस्थ छौ र?’ यो प्रश्न सोध्ने तिमी थियौ। पहिलोपल्ट तिमी मसँग बोलेकी थियौ। हाय! कति मिठो लागेको थियो मलाई। तर विडम्बना! पहिलोपल्ट तिम्रो प्रश्नको जवाफमा फर्काउनलाई मसँग बडो नमिठो उत्तर थियो।
नढाँटीकन मुटुमा गाँठो पारेरै भनेँ, ‘मेरो मुटुमा प्वाल छ।’

‘ए!’ यति भनेर तिमी पनि फुटबल म्याचमै आफ्नो ध्यानलाई एकत्रित गराउन लाग्यौ।
त्यसपछि कहिलेकाहीँ तिमी मसँग बोल्न थालेकी थियौ। तर तौलेर बोल्थ्यौ। औषधिको डोजझैं, न घटी न बढी। साइड इफेक्टको ठूलो डर हुँदो हो तिमीलाई। तिमीले त्यसरी मसित बोलिदिनु सायद मेरो रुग्णावस्थाप्रतिको सहानुभूति थियो– मैले त यस्तो पो ठानेँ।

०००

मध्य बर्खाको बेला। झरी परिरहेको थियो। त्यस दिन क्लासबाटै मेरो छाता हरायो। कन्तबिजोग! धन्न गोपालले मलाई छाता दियो। उसको घरसम्म गएर ऊबाट बिदाबारी भएँ र बडेमानको हरियो कलरको छाता लिएर एक्लै घरतिर हान्निएँ।

भोलिपल्ट मौसम एकदमै सफा थियो। गोपालको छाता फिर्ता गर्नु थियो। त्यो टेक्दै–टेक्दै कलेज गएँ। साथीहरूको गु्रपमा बसेकी तिमीले मलाई देखेर एकपटक स्यानो आवाजमा ‘चोरेर ल्याएको छाताजस्तो’ भनेकी थियौ।

म खुसीले गद्गद् भएँ। कमसेकम छाताचोर नै सही। म तिमीले नोटिस गर्ने मान्छेभित्र त पर्दो रहेछु। त्यसपछि के भो तिमीलाई थाहा छ? मलाई मेरा साथीहरूले काउकुती लगाउँदै छाताचोर भन्न थाले। कति मीठो त्यो शब्द नै काफी थियो मलाई काउकुती लगाउन। म यसै रोमान्चित महसुस गर्न थालेँ।

०००

म कविता राम्रो लेख्थेँ। आफैंले आफ्नो तारिफ गरेजस्तो भो होला। तर साँच्चि! कविता भन्नेबित्तिकै तीन हात पर भाग्ने यो जमानामा मलाई ‘कविता सुना न,’ भन्नेहरूको कमी थिएन।

क्लासमा भएका अठतीस जना साथीको स्वभावलाई चित्रित गरेर हरेक दिन क्लासमै एउटा कविता लेख्थेँ। तर अपसोच! चालीस पुर्यालउन सकिनँ। आफ्नै बारेमा के लेख्नु भन्ने भो। तिम्रोबारेमा लेखेर साध्यै थिएन। अन्तिम बेन्चतिर बसेर कविता लेखिसिध्याएपछि त्यो म ‘पास’ गर्थें, सबै साथीलाई। प्रत्येक साथीको अनुहार क्षणभरकै लागि भए पनि पुलकित हुन्थ्यो। तिम्रो कसम प्रिय! कत्ति आनन्द आउँथ्यो। तिमी के बुझ्थ्यौ र?

तर हाँसिनौ कहिल्यै तिमी मेरा कविता पढेर। लाग्यो– म खराब कवि हुँ। मेरा कविता कुनै कवितै होइनन्, जबसम्म त्यसले तिमीलाई प्रभावित गर्न सक्तैन– यस्तै सोच लिएर बसिरहेँ।

तिमीलाई थाहा थिएन होला, म तिमीलाई कत्तिबिघ्न नोटिस् गर्ने गर्थें। कत्ति ख्याल गर्थें तिम्रो! तिम्रा हरेक स्यानाभन्दा स्याना कुराको लेखाजोखा राख्थेँ।

तिमी बाँसबारीमा मामाघरमा बस्थ्यौ। तिम्रा बाबा–आमा फूलचोकीमा बस्थे। घरमा बहिनी छ। भाइ छ। तिमी भेजिटेरेनियन हौ। तिमीलाई आलुचप खूब मन पर्छ। सलमान खान भनेपछि भुतुक्क हुन्छ्यौ (यो कुरा सुन्दाचाहिँ मलाई सलमान खानप्रति खूब आरिस लागेको थियो। मोरालाई गएर गोली ठोकिदिनुजस्तो)। कुर्तासुरुवाल तिमीलाई मन पर्थेन। तिम्रो स्कुटीको कलर पनि निलै थियो।

ओहो! तिम्रो स्कुटी सम्झनासाथ म आज पनि झसङ्ङ हुन्छु।

सेन्ट्रल लाइबे्ररीभन्दा अगाडिको मोडमा तिम्रो स्कुटी चिप्लिदियो। तिम्रो खुट्टा मर्केछ। अत्तालिएर तिमीले सन्तोषलाई फोन गर्यौा।

सन्तोषलगायत अरू तिम्रा घनिष्ट साथी मिलेर तिमीलाई बीएन्डबी लगेका थिए। तिमी पूरै सत्र दिनसम्म हस्पिटलाइज भएकी थियौ। एक महिना बेड रेस्ट गर्नुपर्यो्।

त्यति नै बेला म पोखरा गएको थिएँ। तिमीलाई थाहा पनि थिएन होला, विन्ध्यवासिनीको मन्दिरमा मैले तिमीलाई ‘चाँडै निको होस्’ भनेर धूप बालेको थिएँ।

तिमी मलाई पागल भन्न सक्छ्यौ। यो यस अर्थमा कि मेरो पागलपनको अर्को पनि उदाहरण छ। शान्ति स्तुपको उकालो चढ्दै गर्दा एकपल्ट घोक्रो सुकुन्जेल मैले तिम्रो नाउँ लिएर ‘आइ लभ यु’ भनेको थिएँ। र त्यो आवाज पहाडको भित्तोमा ठोकिएर कैयौंपल्ट प्रत्यावर्तित भइरह्यो। आफ्नै आवाज सुनेर म रोमान्चित भएको थिएँ।

सत्र दिनपछि तिमी धेरै नै दुब्लाएर कलेज आएकी थियौ। तिमीलाई देखेर एकपल्ट हाँसेको थिएँ। तर तिमी हाँस्दा खुट्टा फेरि मर्किने हो कि झैं गरेर हाँसेकी थियौ। मलाई अलिकति चित्त दुखेकै थियो।

मेरी प्रिये! जबजब तिमीसित मेरो जम्काभेट हुन्थ्यो, मलाई देख्नासाथ तिमी सशंकित झैं, केही सतर्क भएर, बडो अप्ठ्यरो परिस्थिति सिर्जना भएझैं गरी, अलिकति ओठ तन्काएर मेरो हाँसोको औपचारिक प्रत्युत्तर दिएर लस्किहाल्थ्यौ। म केही बोलिदिने हुँ कि भनी डराउँथ्यौ। कहिलेकाहीँ केही बोलिहाल्यौ भने, मुटु छेड्ने गरी बोल्थ्यौ।

मलाई कतिपल्ट सोध्न मन लागेको थियो प्रिये, सारा क्लासका केटाहरूको सानाभन्दा साना ह्युमरमा खितितिति हाँस्ने तिमीलाई किन कहिल्यै मेरो ह्युमरमा हाँस्न मन लागेन? सबैको वाहवाही पाएको मेरो कविताले किन तिमीलाई कहिल्यै छुन सकेन? सबैसँग इत्तरिन्थ्यौ, बोल्थ्यौ, हाँस्थ्यौ। मलाई कहिल्यै पनि कुनै दिन ‘के छ क्षितिज तिम्रो हालखबर’ भनेर किन सोधिनौ?

साढे दुई वर्ष यस्तैमा बित्यो। तिमी एउटा एनआरएन केटोसित बिहे गरेर अमेरिका लागिहाल्यौ। जाने बेला भेटसम्म भएन।

न म तिमीसित कहिल्यै स्पष्ट हुन चाहेँ, न तिमीले त्यो अवस्थाका लागि कतै ठाउँ राख्यौ। जतिपटक जम्काभेट भाो, यस्तो बर्ताव राख्थ्यौ, मानांै मसित बोल्दा पनि तिमी बिटुलिन्छ्यौ।

हरेकपल्ट तिम्रो छेउमा पर्दा म तिम्रो नजरले आफूलाई हेर्ने प्रयास गरिरहेको हुन्थेँ। तर तिम्रो नजरबाट मैले आफूलाई कहिल्यै निर्दोष भेट्टाइनँ। के म यस्तै थिएँ?

मेरी प्रिय। यति लामो चिठी लेखेर मेल गर्दै छु। आशा छ, झर्को नमानी पढ्नेछ्यौ।

अहिले म दिल्लीको एपोलो हस्पिटलमा छु। भोलि मेरो मुटुको अप्रेसन हुँदै छ। ओपन हार्ट सर्जरी। थाहा छैन, बाँच्छु या बाँच्दिनँ। बाँचे भने मेरो चिठीको रिप्लाईको आशा गर्छु। तर मरे भने पनि म चाहन्छु, तिम्रो स्मृतिमा सधैं जीवित रहिरहँू।

एकपल्ट तिमीलाई पूर्ण विश्वास दिलाउँदै मलाई यो भन्न मन लागेको छ, साँच्चि म खराब मान्छे होइन। तिमीलाई कहिल्यै खराब नियतले हेरिनँ। साँचो माया गरेको हुँ। कहीँ कतै भूल भएको भए, आशा छ माफी दिनेछ्यौ।

उही तिम्रो छाताचोर।

———

मेल २

मेरो प्यारो छाताचोर,

तिमीलाई मन पर्दो रहेछ, यही भनेँ है!

तिम्रो पत्र पढेर भावुक भएँ। अझै पनि भित्र बिझाइरहेछ। आज म पनि उघि्रने साहस गर्दै छु। जान्दिनँ, कतिको सफल हुन्छु।

तिमीले आफ्नो पत्रमा आफूलाई खराब नभएको स्पष्टीकरण दिएको चित्तै बुझेन। तिमी खराब कसरी हुन सक्छौ क्षितिज? न तिमी खराब छौ न म तिमीले सोचेजति रूढ छु। तिमीले मलाई कहिल्यै नराम्रो व्यवहार गरेनौ। मेरो कुभलो चिताएनौ।

तिमीले त मलाई प्रेम गरेका थियौ। थाहा छ, तिमीले सब भनिराख्नै पर्दैन। तिम्रो आँखामा देख्दिनथेँ र? हरेकपल्ट मलाई देख्नेबित्तिकै नर्भस हुन्थ्यौ। त्यति अबुझ पनि नठान मलाई कि तिम्रो आँखाको भाव पनि पढ्न नसकूँ।

आज खुलेरै भन्छु, वास्तवमा तिमीमात्र त्यस्तो केटा थियौ, जसलाई मैले पहिलो दिनदेखि नै विचार गरिरहेकी थिएँ। साँच्चै तिमीले पनि त पहिल्याएका रहेछौ, म पनि क्लासमा लुकीछिपी पछिल्तिर फर्केर तिमीलाई हेरिरहेकी हुन्थेँ। तिमीले आफ्नो पत्रमा उल्लेख गरेका छौ नि, त्यो एक दिन मलाई रेडह्यान्ड पक्रेको घटना। अर्को कुरा बताइदिऊँ। नहाँस्नू है! त्यसपछि पनि तिमीले थाहा नपाउने गरी कैयौंपटक म तिमीलाई पछाडि फर्केर हेरिरहन्थेँ।

मैले पनि केही बिर्सेको छैन, बुझ्यौ। एक दिन तिमीले बनाएको मेरो चित्र मेरो हातमा पर्नेबित्तिकै फुत्त फ्याँकेकी थिए। म त्यति बेला लाजले पानीपानी भएकी थिएँ। त्यत्रा साथीका अगाडि तिमीले त्यस्तो हर्कत गर्दा बाहिर रिसाउनैपर्थ्यो क्षितिज। देखावटी गर्नैपर्थ्यो। तर भित्रभित्र त म कति धेरै फुर्केकी थिएँ। पछि सबै क्लास सकिसकेपछि मैले त्यो चित्र टिपेर ब्यागमा हालेकी थिएँ।

तिमीलाई के लाग्छ? तिमीमात्र मलाई प्रेम गर्थ्यौ? उल्लू! म पनि त तिमीलाई प्रेम गर्थें। त्यो फुटबल म्याचको दिन तिम्रो मुटुको भल्भ खराब छ भन्ने थाहा पाइसकेपछि मभित्र के गुजि्रएको थियो, त्यो सायदै कसैले अनुमान गर्न सक्ला। तिमीलाई लाग्यो होला– यसलाई के मतलब मेरो दुःखप्रति? तर सबै कुरा बोलेरै वा अनुहारमा छ्याप्छ्याप्ती उतारेरै मात्र प्रकट हुन्छ र? त्यहाँमाथि म त केटीमान्छे। मनमा आएजति सबै भाव उत्ताउलिँदै अरूले थाहा पाउने गरी ‘शो’ गर्ने कुरा पनि त भएन। कतिथोकमा विचार पुर्याुउनुपर्छ। तिमी केटामान्छे भएर त आफूलाई त्यसरी थुन्न सक्ता रहेछौ भने हामी केटीमान्छेलाई कति सम्हालिनुपर्छ, के बुझ्छौ!

तिम्रा जोकमा सब हाँस्थे। म हाँस्तिनथेँ। तिमी राम्रा कविता लेख्थ्यौ, सब इम्प्रेस्ड हुन्थे। तिमीलाई थाहा छैन, तिम्रा प्रत्येक जोकमा म भित्रभित्रै कत्ति हाँस्थे! तिम्रा प्रत्येक कविताबाट म कति इम्प्रेस्ड भा’ थिएँ। एउटा गोप्य कुरा खोलिदिऊँ? तिम्रा कतिपय कविताका खेस्रा अरू साथीसँग मागेर मैले राख्ने गरेकी थिएँ। र, त्यो आजसम्म पनि सुरक्षित छ। कत्तिपल्ट पढिसकेँ! तिमीलाई यी सब कुराको अनुमान पनि नहोला।

देखिएको कुरामात्र सत्य हुँदैन क्षितिज। र, नदेखिएका कति कुराको अस्तित्वमा शंका गर्नु पनि ठिक हुन्न। त्यस्तो हुँदो हो त प्रत्येक रातमा सूर्यको अस्तित्वप्रति हामीले शंका गर्ने ठाउँ रहँदैन त? नरिवल बाहिर कत्ति कडा हुन्छ! त्यो नफोरी कसैले कसरी जानोस्, त्यसभित्रको गुदीको मुलायमपना। वास्तवमा म पनि त्यही नरिवलझैं थिएँ। बाहिर तिम्रा अघिल्तिर रुखो भएको देखाए तापनि भित्रभित्रै तिमीले मलाई जितिसकेका थियौ।

तिमी क्लासमा भएजति सारा केटीसित कस्तरी फरासिलो भएर बोल्थ्यौ? तर जब मेराअगाडि कमजोर हुन्थ्यौ। किन? म पनि त सबैसँग राम्रैसित हाँसे, बोले पनि तिमीसित उत्ति बोल्दिनँथेँ। के हामी दुवैको एक–आपसप्रतिको यो व्यवहार मिल्दैन?

हो, क्षितिज। बुझ्नैपर्ने कुरा के भने, जोसँग प्रेम गरिन्छ र त्यो व्यक्त भएको हुँदैन, उसका अगाडि बोल्न संकोच र डर लाग्ने रै’छ। तर तिमीले अर्कै हिसाबमा बुझेछौ। तिम्रो बुझाइमा म कत्ति रुखी रै’छु । एकदमै कठोर। मुटु नै नभएजस्ती। तिमीले नराम्रोसँग आरोप पनि लगायौ– म तिमीसँग बोल्दा तिम्रो मुटु छेड्ने गरी बोल्छु भनेर। कसरी सोच्न सक्यौ? तिम्रो मुटु पहिल्यैदेखि छेडिइसकेको थियो। तिमी अनुमान पनि गर्न सक्दैनौ मेरो बस् चल्दो हो त क्षितिज, तिम्रो भल्भ बिग्रेको मुटु फालिदिएर त्यसमा आफ्नो मुटु जडान गर्दी हुँ! देखाइदिन्थे कि तिमीले मात्र प्रेम गर्न जानेका छैनौ।

तिमीले सत्य के हो बुझैकै रहेनछौ क्षितिज। स्कुटर चिप्लेर लड्दा फोन मैले सन्तोषलाई गरेकी थिएँ। तर तिमी उल्लूलाई के थाहा, त्यति बेला मैले सबभन्दा धेरै तिमीलाई मिस गरेकी थिएँ भनेर। भनेँ नि, जोसँग प्रेम गरिँदो रहेछ ऊसँग नजिक हुन मन लागे पनि, बोल्न मन लागे पनि त्यो भित्र कताबाट आफैंलाई थाहै नपाइने गरी निषेधित हुँदो रहेछ। तिमीलाई के थाहा? मोबाइलमा कैयांैपटक तिम्रो नाम हेरेर पनि तिमीलाई कल गर्न सकिनँ। तर मलाई लागेको थियो, सन्तोष आउँदा तिमी पनि अवश्य आउनेछौ। तर आयौ त? अरू साथी आउँदा तिमीचाहिँ त्यहाँ किन आउन सकेनौ? तिमीले पनि सकेनौ। बुझ्यौ? के तिम्रा र मेरा भावहरू एउटै थिएनन्? सत्र दिनसम्म म हस्पिटलाइज्ड हुँदा एकपल्ट मलाई भेट्न आउन सक्यौ? मलाई एक कल फोन गर्यौँ? तिमीले त क्षितिज, एउटा एसएमएस पनि गरेनौ। मैले थाहा नपाउने गरी विन्ध्यवासिनी मन्दिरमा मेरा नाउँमा धूप बालेरमात्र म कसरी थाहा पाऊँ, तिमीभित्र के छ भनेर? शान्ति स्तुपाको उकालोमा चिच्याएर ‘आइ लभ यु’ भनेको म काठमाडौंमा बसेकी मान्छेले कसरी सुनांै?

भयो, तिमी रुग्णशैय्यामा भएको बेला म तिमीलाई दोष थुपारेर अझ रुग्ण बनाउन चाहान्न। दोष तिम्रो पनि छ, मेरो पनि। म अलिकति कडा भएकै हुँदी हुँ। हुनु पनि पर्छ केटीमान्छेलाई। तर सबभन्दा मुख्य कुरा त म प्रेममा थिए। पत्याउँदैनौ भने जाऊ समीक्षालाई सोध। आजसम्म पनि म ऊसित कुरा हुँदा अधिकांश तिम्रै कुरा सोधिरहेकी हुन्छु।

म बिहे गरेर यता आइसकेपछि बरु तिमीले मेरो वास्ता राख्न छाडिसक्यौ होला। तर तिमी कहाँ के गर्दै छौ, म सब थाहा पाइरहेको हुन्थेँ। खालि यही अन्तिम अपडेट मसँग थिएन।

म चाहन्थेँ, तिमी मेरो नजिक आएर आफ्नो मनमा भएका सारा सत्य पोखेर मलाई अझ पगाल्नेछौ। तर तिमीले कहिल्यै पनि त्यो हिम्मत गर्न सकेनौ। तिमी लोग्नेमान्छे भएर त हिम्मत गर्न सकेनौ भने केटीमान्छेलाई कहाँबाट आओस्?
तिमीले मलाई केवल बाहिरबाट मात्र चिनेका रहेछौ क्षितिज। मभित्रको मान्छेलाई उघार्ने प्रयाससम्म गरेनौ। भैगो, छाड्दिऊँ यी सब गथासाहरू। बिती त सक्यो।

थेसिस सकिनेबित्तिकै मेरो एउटा एनआरएनसँग बिहे भयो। तर यहाँ आएपछि हामीबीचमा धेरै असमझदारी भए। र, डिभोर्स पनि भो। आज म एक्लै बस्न थालेकी छु। एक वर्ष भयो। साँच्चि भन्नुपर्दा यो एक वर्षमा मैले समीक्षासँग तिम्रोबारेमा हजारौंपटक सोधिँसके होला। विषेश मलाई तिम्रो स्वास्थ्यको चिन्ता लागिरहन्थ्यो। तर, तिमीलाई मेल गर्ने हिम्मत गर्न सकिनँ। एक्ली भएपछि सम्झी भन्ने आरोप लगाउँछौ भनेर डर लागिरहेको थियो। वास्तवमा भन्ने हो भने त्यो कुनै दिन बितेन, जुन दिन तिमीलाई नसम्झी बितेको होस्।

आउँदो महिना नेपाल आउँदै छु। तिमी पनि आफ्नो अप्रेसन सकेर स्वस्थ भइसकेको हुनेछौ। अनि भेटूँला। सुःख दुःख साटौंला। अप्रेसन के कस्तो हुन्छ? खबर गर्नू। प्रतीक्षा गरिरहनेछु।

उही तिम्री अपूर्ण कहानी– सम्भावना।

————————–

मेल ३

प्रिय सम्भावना दिदी,
नमस्ते।

तपाईं चिन्नुहुन्न मलाई। म क्षितिजको भाइ हुँ। तपाईंको बारेमा धेरै सुनेको छु। देख्न मन थियो। सायद अब त्यो सम्भव छैन। दाइको गत हप्ता देहान्त भो। अप्रेसन सक्सेस हुन सकेन। अहिले यो टाइप गर्दा मेरा हात थर्थर काँपिरहेका छन्। तपाईंको अवस्था झन् कस्तो भएको होला? मेल टाइप गर्दिने मै थिएँ। त्यो टाइप गर्दा ठाउँ–ठाउँमा उहाँ धेरै रुनुभएको थियो। म पनि धेरै विचलित हुँदै टाइप गरिरहेको थिएँ।

हिजो भरखर दाइको मेेल खोलेर हेर्दा तपाईंको रिप्लाई आएको देखेँ। झन् थाम्नै सकिनँ र यो औचित्यहीन केही लेख्न मन लागेर लेखिरहेको छु।

साँच्चै सम्भावना दिदी! दिल्ली पुग्नेबित्तिकै किन हो दाइले सबभन्दा धेरै तपाईंलाई नै सम्भि्कनुभो। म सोच्थेँ, वर्षौंअगाडि बिहे गरेर गइसकेकी, त्यहाँमाथि एकतर्फी प्रेम गर्ने कोही केटीप्रति पनि यस्तो भाव निरन्तर रहिरहन्छ र? म छक्क परेको थिएँ। थाम्नै नसकेर त्यो एक दिन दाइले मलाई मेल टाइप गर्न लगाउनुभो। हामी दाजुभाइ खूब मिल्थ्यौं। केही बाँकी थिएन उहाँले मलाई तपाईंबारे भन्न। टियुका एकएक घटना सुनाइसक्नुभएको थियो। त्यसैले पनि मलाई एकपल्ट तपाईंलाई देख्न मन थियो। तर अब त हेर्नुस् न, तपाईं र मेरो भेटलाई सम्भावित बनाउनसक्ने पुल नै भत्कियो।

म धेरै गन्थन लेख्दिनँ दिदी। तपाईंको भावुक पत्र पढेपछि थाम्नै नसकेर मात्र हो। मरेको मान्छेको आइडीबाट यसरी तपाईंलाई मेल लेख्नु पनि पूरै औचित्यहीन काम हुँदो हो। मलाई अहिले सबभन्दा थकथक त यो लागिरहेको छ, दाइ यो कुरा थाहा नपाइ बित्नुभो कि तपाईं पनि उहाँलाई उत्तिकै प्रेम गर्नुहुन्छ। अप्रेसन थियटरमा लानुभन्दा अगाडि तपाईंको जवाफ पढेर दाइलाई सुनाउन पाएको भए उहाँ खुसीखुसी मर्नुहुन्थ्यो होला। तर अपसोस! तपाईंको प्रेम पाउनु त परै जाओस्, तपाईं उहाँलाई प्रेम गर्नुहुन्छ भन्ने सत्य पनि थाहा नपाइ बित्नुभो।

तपाईंसँग परिचय हुन नसकेको
क्षितिजको अभागी भाइ।

(स्रोत : NagarikNews)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.