~विष्णु लामिछाने~
यौनसम्बन्धी उनको र मेरो सधैँ बहस चल्थ्यो, उनी एकाबिहानै यस्तै कुरा लिएर आउँथे मकहाँ । फलानो र फलानी त हिजो हल्लिँदै रेष्टुरेण्टतिर गएका थिए, फलानो अफिसको फलानो कर्मचारीले सोही अफिसको एकजना केटीसँग … छ्या कस्तो चरित्रहीन मान्छे … केटी भएर पनि केटाहरूसँग मुखामुख गरी कुरा गर्ने । कसैसँग बोल्नु, कसैसँग हाँसखेल गर्नु र सँगसँगै हिँड्नुलाई उनी यसरी नै चरित्रहीनको संज्ञा दिन्थे । मैले असहमति जनाउँथेँ उनका त्यस्ता कुराप्रति तर बहस ठूलै हुन्थ्यो । हुँदाहुँदा समाजका सबै नारी-पुरुष चरित्रहीन हुन पुगे उनको नजरमा । समयको चक्र घुम्दै गयो, उनी बिस्तारै यस ठाउँभन्दा बाहिर नै धेरै बस्न थाले । उनको र मेरो भेटघाट पनि कम हुन थाल्यो तापनि उनको याद आइरहन्थ्यो ।
एकदिन बिहानै मेरो अर्को साथी रमेशले आफ्नो हातमा भएको पत्रिका देखाउँदै भन्यो हेर् त तेरो चरित्रवान् साथीको लीला …, मैले पत्रिका हेरेँ, नभन्दै मेरो उही साथीको ठूलो फोटोसहित बलत्कारीमा नाम निस्केको रहेछ । क्रमशः यस्तै-यस्तै धेरै ठाउँमा उनी रङ्गेहात समातिएको खबर आउन थाल्यो । उनी यस कुराबाट कति पश्चात्तापमा थिए थाहा भएन तर मलाई भने कताकता भित्र चिमोटिरहृयो ।
धेरै समयपछि उनी अचानक मेरो घरमा झुल्किए । मैले उनको हालखबर सोध्न नभ्याउँदै कुरा सुरु गरे फलानो र फलानी … कति चरित्र नभएका मान्छे … ।
परासीबजार, नवलपरासी
पल्लव साहित्यिक पत्रिका–१२, औँ अङ्कबाट साभार गरिएको हो ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)