~केशु विरही~
उसमा एक्कासी आएको परिवर्तन देखेर म आश्चर्यचकित थिएँ । हिजो सम्म ऊ त्यती वोल्न पनि रुचाउन्नथ्यो । हाम्रै छाप्रो भएर कलेज जाने गरेपनि ऊ नदेखे झैँ गरेर हिड्थ्यो । वोलाइगए पनि नसुने झैँ गथ्र्यो । उसको व्यवहारले यस्तो भान हुन्थ्यो कि मानौ उसको लागि म एउटा अपरिचित मानिस थिएँ ।
आज ऊ के भएर यसरी एक्कासी मसंग आत्मियता वढाउँदैछ ? सामिप्यता खोज्दैछ ? र एउटा घनिष्ट मित्रको झैँ व्यबहार गर्दैछ । यी सव कुरामा म अनविज्ञ थिएँ ।
दोश्रो दिन उसले मलाई भेट्यो र सञ्चो विसञ्चोको वारेमा साध्यो । अर्को दिन त ऊ घरमै आएछ र आमासंग धेरैवेर दुःखसुखका कुरा गरेर गएछ । आमाका लागि भनेर केही फलफूल पनि लिएर आएको रहेछ ।
‘मबाट जान–अञ्जानमा कुनै गल्ती भएको भए एउटा असल साथी संझिएर माफी दिनुहोला है ।’ एकदिन कलेज जाँदै गर्दा उसंग मेरो भेट भयो । उसले अनुनय मिसाएर यसो भनेको थियो ।
‘माफि नै दिनु पर्ने त्यस्तो के गल्ती भएको छ र ?’ मैले जिज्ञाशा राखे ।
‘त्यस्तो त केही पनि होइन ।’ उसले छोटो जवाफ फर्कायो ।
निश्छलताको आसा पालेर हाम्रो मित्रता मौलाउँदै थियो, निकटता वढ्दै थियो । यही क्रममा एकदिन उसले मलाई सिनेमा हेर्न जाऔ न भन्योे । मैले पनि उसको आग्रहलाई नकार्नै सकिन । मन राखिदिनैका लागि भए पनि हुन्छ भने ।
‘तिमीहरू त अमेरिका जाने भयौ रे । अमेरिका गए पछि त मलाई भुलिहाल्छौ होला है ? तर मलाई नभुल्नु है । मिल्दो रहेछ भने मलाई पनि उतै तान्ने प्रयाश गर्नु है ।’ सिनेमा हेर्ने क्रममा उसले कुरा खुस्कायो ।
त्यस पछि मात्र उसले म प्रति देखाएको सद्भाव र घनिष्टताको असली कारण अनावृत भयो । शरणर्थीलाई तेश्रो देश पठाउने निर्णय र त्यही आडमा आफू पनि अमेरिका जान पाउने लालसामा पो उसले त म प्रति सामिप्यता वढाएको रहेछ । म प्रति देखाएको सद्भावको असली कारण त यो पो रहेछ ।
।। इति ।।
(स्रोत : शारदा साहित्यिक)