~सुन्दर शिरीष~
‘तेरो पोई कहाँ छ ?’
आँगनमा कोहि कड्किएको सुनें । म चुलोमा ढिँडो मस्काउँदै थिएँ । हुर्रिएर आँगनमा पुगें । साँझ झमक्क भएको थिएन । आमा आँगनको डिलमा बसेर जुठा भाँडा मस्काउँदै थिईन । आँगन त टाटेपाटे लुगा लगाएकाहरुले भरिएका थिए । थपिने क्रम बढ्दो थियो । सबैले बन्दुक बोकेका थिए । कोहि आँगन मुन्तिरको बाटोमा पनि थिए । म डराउँदै आमाको गुन्युँ समाउन पुगें ।
‘तेरो पोई कहाँ छ भनेको सुनिनस् ?’ आमालाई खाउँलाझैं गरि हेर्दै एउटा मोटे चिच्यायो । म झन डरले थुरुरु भएँ । तर, उसले भने बन्दुक बोकेको थिएन ।
‘उहाँ त घ’राँ हुनुहुन्न ।’ आमाले विस्तारै भनिन् । उनको स्वर पनि काँपेका थिए ।
‘कहाँ गयो त्यो ? जङ्गल त होला नी हैन ?’ फेरि उसैले सोध्यो । मलाई त्यो मान्छे देख्दै डरलाग्यो । राक्षसजस्तै । उसका आँखा पनि राता राता थिए । आगो निकालिरहेका जस्ता ।
‘शहर जानुभा’छ काम गर्न ।’ आमाले रुँलाझैं गरि भनिन् ।
‘जान्छ शहर, हामीलाई मार्न जङ्गल गएको छ त्यो । कतिन्जेल भाग्छ र अब ?’ मोटेले जङ्गिदै भन्यो । अरु उभिईरहेका थिए । तिनेरुपटि फर्किएर उसैगरी जङ्गियो मोटे ‘ए ! राँडीका छाउरा, के हेरिरा’छौ तिमेरु ? घर खन्तलासी गर ।’
उसले त्यति भन्नसाथ एक हुल घरभित्र पस्यो । धेरै बेरसम्म हुल घरभित्रबाट निस्किएन । बेला बेला केहि फुटेजस्तो छान्द्राङ्छुन्द्रुङ् आवाज आउँथ्यो । आमाको गोडा लगलग काँपिरहेका थिए । र, मेरो पनि ।
हामी आँगनमै थियौं ।
000
‘साब ! केहि फेला परेन ।’ एउटा मोटेको छेउमा आएर तनक्क तन्कदै बोल्यो । उसका पछिपछि अरुपनि आँगनमा आर्लिए ।
‘ओई, तेरो पोईलाई भन्दे खुरुक्क आत्मसर्मपण गर्न जा भनेर । नत्र फेरि एउटा गोली खर्च गर्नुपर्ला ।’ मोटेले राता बल्ढ्याङ्ग्रे आँखा आमातिर सोझ्याउँदै भन्यो, ‘आज त बाँच्यो, अब कति बाँच्ला ।’
त्यो हुल विस्तारै गाउँ पस्यो ।
साँझ झमक्कै भईसकेको थियो । हामी भित्र पस्यौं । ए बा ! मझेरीभरि पीठो पोखिएको थियो । चुलामा बसालेको ढिँडो पनि भुँईभरि पोखिएको थियो । भाँडाकुँडा पनि सबै छरिएका ।
आमाले ती सब एक एक गरि हेरिन् । खुईय गर्दै आँटीमा बसिन् । मेरो डर अझैं हराईसकेको थिएन । मुटु अझैं कामिरहेका थिए । टुकीको धिपधिपे उज्यालोमा आमाको अनुहार हेरें । आमाको आँखाबाट त आँसु पो झरिरहेका थिए ।
‘आमा को हुन् तिनीहरु ?’ मलै आमा छेउ बस्दै साधें ।
‘पुलिस हुन् ।’ आमाले सुस्केरा फ्याकिन् ।
‘अनि किन यस्तो गरेर गा’का त ?’
‘के जान्नु मुर्दारहरुलाई । विनासित्ति दुःख दिन्छन् ।’ आमा त झन पिल्पिलाउन पो थालिन् ।
000
त्यसको एक महिना पछि बा घर आए ।
‘ए ! कान्छा ह्याँ आ’त ।’ म स्कुलबाट घर आउँदा बा आएको थाहा थिएन मलाई । बा को बोली सुन्नासाथ खुसीले उफ्रिएँ । बा सम्झिनासाथ हामी सुरक्षित भएका छौं भन्ने लाग्यो मलाई ।
म बा को छेउ पुग्दा उनी ननफिल्टर चुरोट तान्दै बसिरहेका थिए । बा ले सुकिलो जाकेट पनि लगाएका थिए । रङ्गीचङ्गी भएको । खल्तीको जीपमा पनि बुट्टा भएको । मलाई बा भन्दा पनि बा को जाकेट औधी मन प¥यो ।
‘के पढेर आईस् ?’ बा ले सोधे ।
मैले केहि बोल्नै सकिन । टाउको निहुराएर बसें । बा ले मलाई एक पुरिया विस्कुट दिए ।
पढ्नु पो के थियो र ? युद्ध त्रासदीको समयमा । उहि बिहान दशबजे घरबाट निस्कियो । साँझ घर फर्कियो । स्कुल त त्यै महिनाको पाँच÷सात दिन त हो खुल्ने । कहिले माओवादीको कार्यक्रम, कहिले सेना पुलिसको व्यारोक । एक जान्थ्यो अर्को आउँथ्यो । यसरीनै चलिरहेको थियो स्कुल । मलाई स्कुल जान खास मन थिएन । शैनिक क्याम्पजस्तो लाग्थ्यो स्कुल ।
त्यो रात बा, मसँगै सुते । मैले बालाई घरमा पुलिस आएर गरेको उपद्रो सबै भनें ।
बा आएको भोलीपल्टादेखि घरमा सुत्न छाडे । साँझमै खाना खाएर निस्कन्थे । भोलीपल्टा म ब्युँझदा घर गोठकै काममा हुन्थे । मैले एक दिन आमासँग मुखै खोलेर साधें, ‘बा राती कहाँ जान्छन् ?’
आमाले एक दुई पटक थाहा छैन भनेपनि मैले जिद्दि गरेपछि बा राती जङ्गलमा सुत्न जाने गरेको बताईन् ।
‘घरमा कतिखेर पुलिस आउँछ के ठेगान ।’
000
बा त्यति घर नबसेपनि बाको जाकेट सधैं मुलथामको किलामा झुण्डिरहन्थ्यो ।
एकदिन म घरमा एक्लै भएँ । आमा मेला, दाई बहिनी कता खेल्न गए कुन्नि, घरमा त म एक्लै । पढुँ भनेर झोला झिकें र दलानमा गुन्द्री ओच्छ्याएँ । के जाँगर चल्नु पढ्न । घर भित्र छिरें र यताउता चाहार्न थालें ।
मेरा आँखा बा का जाकेटमा गएर ठोक्किए । बिस्तारै जाकेट निकालें । खल्ती छामछाम छुमछुम पारें । जाकेटको खल्तीमा सुर्तीको ठूटो बाहेक केहि भेट्टिएन । एक छिन जाकेटलाई हेरें । जाकेटको खल्तीमा भएको जीप निक्कै मन प¥यो । म हँसिया खोज्न चोटा उक्लिएँ ।
हँसिया ल्याएपछि जीप काटेर गट्टि निकालें । जाकेट मुलथाममै झुण्ड्याएँ । र, खेल्न दौडिएँ ।
साँझ बा खाना खाएपछि बाहिर निस्किए । एकैछिन पछि बा बाहिरैबाट कराएको सुनियो । ‘ए ! कान्छी, बाहिर जाडो छ जाकेट ले त ।’
आमाले मुलथाममा झुण्ड्याएको जाकेट झिकेर बाहिर पु¥याईदिईन । निक्कै पछि बाले फेरि बोलाए, ‘कान्छा, खाना खाईस् ? यता आईज त ।’
ए बा त गा’कै रैनछन् । म बाको नजिक पुगें ।
बाले म तिर चोर औंला ते¥स्याउँदै सोधे, ‘यो जीब्री कस्ले झिकेको हँ ?’
मैले थाहा छैन भन्ने भावमा मुन्टो हल्लाएँ । बाको हत्केला एक्कासी मेरो गालामा बज्रियो । चार, पाँच, छ, सात पटक ।
म चिच्याउँदै रोएँ । म रोएपछि आमा बाहिर आईन् । मलाई बाले कुट्दै गरेको देखेपछि आमा म माथी झम्टिन आईपुगिन् र खोकिलामा लुकाईन् ।
‘किन कुटेको यस्तरी ? बौलायौ कि क्याहो ?’ आमाले बा तिर हेर्दै भनिन् ।
‘कुट्ने मात्र कहाँ हो र यसको त छाला काढ्छु । फटाह ।’ बा जङ्गिए ।
‘किन ? के ग¥यो यसले ?’ आमाले मलाई हेर्दै भनिन् ।
‘ह्याँ हेर न, यस्तो नयाँ जाकेट काटेर जीब्री निकालेछ ।’ बा मलिन भएर भने ।
आमा जाकेट हेरेर चुप भईन् । म घुँक्क घुँक्क गरेर आमाको काखमा घोप्टिएको थिएँ ।
‘मुजी, अब यस्तो गर्छस् ? फेरि फटाह बन्छस् ? तँलाई यस्तै सिक्न स्कुलाँ पठाको हो ?’ बाले मेरो कान तान्दै भने । म अझै घुँक्क घँुक्क गर्दै थिएँ । आमाले बा को हात मेरो कानबाट छुटाइदिईन् ।
बा फ्यात्त जाकेट फलेर आँगनको डिल हुँदै बाटोमा ओर्लिए ।
000
बा को जाकेट पीँढीको एक छेउमा थुप्रिएको थियो । खल्ती ह्वाङ्गै । छेउमा खल्तीबाट झरेको ठुटो सूर्तीमात्र थियो । बा निक्कै पर पुगिसकेका थिए ।
(स्रोत : Nepalpati)