~सरिता तिवारी~
त्यो बेला असार सबैभन्दा दुख्याहा महिना लाग्थ्यो मलाई । मकै भाँच्ने र थन्क्याउने माचो यही बेला, भल छोपेर आफ्ना-आफ्ना खेत रोप्न तारिख मिलाउनुपर्ने यही बेला, दिनदिनै खोलाले बाँध बगाइदिएपछि कुरियापिच्छे बाँध लाउन जानुपर्ने बाध्यता पनि यही बेला । भएन, बस्तुभाउ गोठमा बाँधिराखेर तिनलाई बारीको घाँस काट्दै ख्वाउनुपर्ने चटारो उस्तै । स्कुल असार र साउन ड्याङ्गै दुई महिनालाई बिदा हुन्थ्यो । हेडमास्टरदेखि स्कुलका साथी-संहाती जम्मै भेटिन्थ्ो खेत-खेतमा ।
उज्यालो हुन नपाउँदै गाँस टिपेर काँधमा स्याखु भिरेर फाँटमा पुग्दा साताको एकबार लाग्ने हाटजस्तो गुल्जार लाग्थ्यो खेत । कुलाका गौँडा-गौँडामा पानीका लागि हुने छिनाझप्टी र हात हालाहाल प्रत्येक दिनका सामान्य घटना हुन्थे । दिनको उज्यालोमा मात्र होइन खेतमा पानी फर्काउन रातको निद्रा हराम गर्दै भए पनि निशाचरझैँ हिँडिरहेका हुन्थे गाउँलेजन ।
दुःख अवश्य थियो । तर किसानका छोराछोरी भएपछि यी दुःखलाई सामान्य ठान्नुमा भलाइ ठहथ्र्यो । हामी दुःखमा अभ्यस्त थियौँ । हिलोले हातगोडा घिनाउनु, त्यसमाथि बारम्बार हिलो र पानी परिरहँदा त्यो फैलँदै र गहिरिँदै घाउमा रूपान्तरित भएपछि हातले भात मुछ्न पनि दिगमिग लाग्नु कुनै नौलो कुरा थिएन । दिनभरिका काम फत्ते गरेपछि भरे औँलाका कापभित्रसम्म पुग्नेगरी चुकअमिलो दल्यो । एकैछिनलाई हुन्थ्यो त्यसको डहन, त्यसपछि बिस्तारै बन्द हुन्थ्यो चिलाउन र लाग्थ्यो निद्रा ।
ओहो ! कति बिघ्न चटारो ! कति सारै हतारो ! ‘बाउआमा मरे पनि यही बाटो ल्याउने हुन् भन्दै मलामी पर्खने बेला हो यो’ भन्थे जान्नेसुन्ने । यस्तो हतारोमा पनि पाका रोपाहारहरू असारे गीत गाउँन भ्याउँथे-
असारै खानू दुधिला मकै साउनै खानू खीर,
घरमा छैन सुकिलो वचन मनमा छैन थिर ।
असार मास कुटेका च्यूरा म कति साँचुला ?
सौताको हात दुई डल्ली भात म कति बाचँँला ?
ख्याल हैन साँचो, बेलाउँती काँचो म कति बाचुँला ?
मन हुरुक्कै हुन्थ्यो यस्ता गीतले । पछि थाहा भयो, यस्ता गीतलाई ब्लुज भनिँदो रहेछ । ब्लुज अर्थात् विरह र वेदनाका गीत । असारको मेलो जतिसुकै हतारोको होस्, खुब लय पुर्याएर स्वर तानीतानी गाइन्थ्यो यी गीत ।
बेफुर्सदी कतिसम्म भने, बोटैमा पाकेर झर्ने तरखरमा हुन्थे करेसाका रूखकटहर । टिपेर खान कसले भ्याओस् ! कटहरको बासनाले घर-आँगन, गोठ जतासुकै आक्रमण गर्न थालेपछि अधैर्य हुन्थ्यो मन । त्यसको हरहर बासना सम्झँदै निस्कियो बिहान र साँझ थकाइले लखटट्टू भएर फर्कियो । कल्पिँदा-कल्पिँदै कटहर खस्थ्यो कुनै दिन भुइँमा ‘भ्यात्त !’ बयाएर खानै नसकिने अवस्थामा । अनि थक-थक् लाग्थ्यो ।
बाढीले खानेपानीको मुहानमा क्षति गर्दिन्थ्यो बर्सेनि । गाउँका धाराहरूमा पानी होइन हावा बगेको हुन्थ्यो टुटीबाट । अनि अप्ठ्यारो ठाउँमा आएको पिलोझैँ कहिनसक्नुको गाह्रो हुन्थ्यो दिनचर्या । एक गाग्रो पानी लिन झन्डै अढाई किलोमिटर पूर्व देवकोटाको इनारमा पुग्नुपथ्र्यो या त्यत्तिकै दूरीमा पर्ने उत्तरतर्फको गाँडापानीको मूलमा । यस्तो बेला पानी ल्याउने जिम्माबाट सकेसम्म उछिट्टनिे मन हुन्थ्यो तर कसोकसो प्रायः मै पर्थें फेला ।
अलिकति ठूलो पानी पर्यो कि हाम्रो काठेघर बाछिटै-बाछिटाको क्रीडाभूमि भैदिन्थ्यो । ठाडा फलेकहरूले बारेर बनाइएको घरमा फलेकका चरहरूबाट सोझै पस्थ्यो हावा र पानीसितको हुन्डरी । माथिल्लो तलामा त तै सेफ्टी ठोकिएको थियो र त्यहाँ विध्वंसको मात्रा कम हुन्थ्यो । भुइँतला भने हिल्याएर रोप्न ठिक्क पारेको गरोजस्तो हुन्थ्यो । उठ्नसम्म उठ्थ्यो रिस । सराप्नुसम्म सरापिन्थ्यो प्रकृतिलाई । तर प्रकृतिले मच्चाएको उपद्रोसित कसको के जोर !
यस्ता दुःख र असुविधा हाम्रा भागमा मात्रै परेका हुन्थेनन् । हाम्रा अधिकांश छिमेकी, इष्टमित्रहरू सप्पैका साझा भोगाइ थिए यी र बुभ\mथ्यो चित्त । यद्यपि गाउँमा पुगिसरी आएका केही कुलीनहरू पनि थिए । उनीहरू हामीझैँ झरीबादल र घाम सहेर स्याखु बोक्दै खेतमा जाँदैनथे । फतक्क कुहिनेगरी तिनका हातगोडा हिलाले खाँदैनथे । तिनका घरभित्र वषर्ाको हुरीबतास र पानीको नाङ्गो क्रीडा हुँदैनथ्यो । ती असाध्यै निम्नस्तरको ज्यालामा दलाएर सामान्यजनका पसिनामा रजाइँ गर्न खप्पिस थिए । फोनिक्स साइकलमा चढेर छाता ओढ्दै खेताला कजाउने ती मानिसहरू सामन्तका सानातिना प्रतिनिधिजस्ता लाग्थे । तिनका सुकिला लुगामा म तिनको खेतमा काम गरिरहेका अति निम्नवर्गको मानिसका निम्छरा आँसुका टाटाहरू मात्रै देख्थेँ । सायद भर्खर-भर्खर पढ्न थालेका ‘युवाहरूको गीत’ वा ‘अग्निदीक्षा’ को प्रभाव हुन्थ्यो मेरो मथिङ्गलमा ।
वषर्ा र बाढीको प्रकोप त नियमित कुरा थिए । हरर मुभीको डरलाग्दो भिलेनजस्तो थियो झराही खोलो । यो ठाडो खोलो हिउँदभरि चानुमानु क्यै थाहा नहुनेगरी सिरानतिरै बिलाउँथ्यो । तर जसै वषर्ा लाग्थ्यो, किनारका खेत र सुकुम्बासी बस्तीमा हाहाकार मच्चाउने गरी गर्जंदै ओरालो झथ्र्यो । मैले यो खोलाको रौद्ररूप धेरैपल्ट देखेकी छु । हरेक वषर्ामा यसले खोसेको रातको निद्रा कतिसम्म कष्टसाध्य हुन्थ्यो, भोगेकी छु । हाम्रो घर खोलादेखि करिब सात सय मिटर वल्तिर भए पनि जगजगी लाग्थ्यो रातभरि । कुनै किनारबाट भङ्गालो पारेर खोलो गाउँतिर पसिहाल्यो भने जिन्दगीको कुनै गुञ्जायस हुन्थेन । रातमा पसेको खोलाले कसैलाई कुनै त्यस्तो विशेष छुटको अफर गर्नेवाला थिएन । गड्गडाउँदै पसेको खोलाले लगेर सबै चिजलाई मिसाउने भीमकाय गन्तव्य हुन्थ्यो नारायणी नदी । हरेक वषर्ायाममा खोलासितको तीव्र भय आफूभित्र दमाहाझैँ बजिरहेको सुनेर पनि सामान्यजस्तै अनुभूतिमा बाँच्नुको विकल्प थिएन ।
खोलामा पुल थिएन । दुई लेनको साधारण कजवे थियो । वषर्ामा यही कजवे पूर्व-पश्चिम यात्रा गर्ने यात्रुहरूका लागि कठोर मृत्युमार्ग बन्थ्यो । प्रत्येक बाढीमा दुस्साहसपूर्वक गाडी तार्न खोज्ने महसुर ड्राइभरहरूको हिम्मत र कौशलको कठोर परीक्षा लिन्थ्यो यसले । यसरी तारिनेमध्ये केही गाडीले जब गुमाउन पुग्थे सन्तुलन, तब सुरु हुन्थ्यो गाडीमा सवार मानिसहरूको करुणामय गुहार । पूर्व र पश्चिम दुवैतिरको किनारमा बसेर आ-आफ्ना धड्कन थामेर यो दृश्य हेरिरहेका मानिसहरू विकल्पहीन मूर्तिजस्ता भइसकेका हुन्थे । महाभारत पर्वत श्रेणीका जङ्गलहरू काटेर बगाउँदै ल्याएका यमान-यमानका रूख, ढुङ्गा र मुढासहितको विशाल दैत्यस्वरूपको झराही खोलाले सवारीलाई आफ्नो गाँस बनाइरहेको दृश्यले जोसुकैको छाती फाट्थ्यो । कलेजो चुँडिएझैँ हुन्थ्यो । सास अवरुद्ध भएझैँ हुन्थ्यो । हातगोडा गलेर फतक्कै हुन्थे । आत्मरक्षाको प्रयत्न गरिरहेका पल्टिरहेको गाडीका यात्रुहरू निख्खर माटो रङ्गको धमिलो पानीमा हात हल्लाउँदै प्राणको भिक्षा मागिरहेका हुन्थे । गाडीबाट हाम्फालेर बाँच्न खोज्नेहरूमध्ये अब्बल श्रेणीको पौडीबाज मात्रै सक्थ्यो बाँच्न । धेरै त तीव्र गतिको बहावसित डुब्दै-उत्रँदै बगिरहेका देखिन्थे । केही भाग्यमानीहरू रूखका जरा या हाँगा समातेर जिन्दगीको किनारमा निस्कन सक्थे । बाँकीलाई अत्यन्तै निर्ममतापूर्वक निल्थ्यो खोलाले । यो खोलाले यसरी कति मानिसहरूको बलि खाएको छ, कसैलाई थाहा छैन । तर किनारमा छाप्रा हालेर बसेका गाउँलेहरू भन्थे- ‘राति हुँदो बचाऊ ! बचाऊ ! भन्दै पर्लाप गरेको सुनिन्छ । हाहाकार र कोकोहोलो सुनिन्छ । आबुई ! खोला’ डिलाँ बस्न कम्ता डर हुन्छ !’ तै बस्थे फेरि मानिसहरू । कहाँ जाऊन् ? यही खोलो त थियो तिनको पालनकर्ता । यसैका छातीबाट निकालेको गिटी बालुवाले धान्थ्यो तिनको जिन्दगी ।
यो ज्यानमारा खोलाले एकचोटि हाम्री ठुल्दिदीलाई झन्डै झन्डै कालको मुखमै पुर्याइदिएको थियो । धन्न्ा दिदी बाँचेर फर्किन् । यसले मेरो पनि परीक्षा लिएको थियो । त्यो पनि दुई-दुईपल्ट । एकपल्ट म सानै हुँदा हो । खोलापारि हामीले घाँस काट्ने बारी किनेका थियौँ । घाँस काट्न जाने मेरो उमेर थिएन त्यो । तर म आमासित पछि लागेर गएकी थिएँ । हजुराँ र एउटी दिदी नाता पर्ने पनि हुनुहुन्थ्यो । अघि पारि तर्दा खोलो सानो थियो, गोलीगाँठा मात्रै डुब्ने । फेरि, पानी परेको पनि थिएन । हामी तर्न लाग्दा पनि खोलो अघिकै जस्तो थियो । आमाहरू घाँस बोकिरहनुभएको थियो, म रित्तै । हामी तर्दातर्दै गड्गडाउँदै आई त हाल्यो बाढी ! पानी नपरीकन कसरी आयो यत्रो बाढी ? खोलाको शिरमा बेसरी पानी परेको हुँदो हो । हामी खोलाको ठ्याक्कै बीच भागमा थियौँ । यस्सो मास्तिर एउटा बडेमानको ढुङ्गा थियो । हामी त्यही ढुङ्गामाथि उक्लियौँ र किनारतिर फर्केर चिच्याउन थाल्यौँ । खोलाको डिलमा ट्रक रोकेर बसेका चालकहरूले प्रतिउत्तर दिए- ‘नआत्तिनुस्, क्यै हुन्न । हामी तार्छम् तपैँहोरलाई !’ तर खोलो झन्-झन् बढिरहेको थियो । हामी उभिएको ढुङ्गै डुबाउँछ कि झैँ गरी । त्यसको आवाज झन् झन् डरलाग्दो हुँदै गइरहेको थियो । यस्तो अवस्थामा पनि आमाहरूले घाँसको भारी छोड्नुभएको थिएन । एकजनालाई दुईजनाले एकेकओटा हातमा समातेर ट्रकको चालकहरूबाट उद्धार भयो त्यो दिन । म त इत्रुकी थिएँ । कसैले काखमा बोकेर तारेको थियो र बाँचेका थियौँ हामी ।
अर्कोपल्टचाहिँ म आफै घाँस काट्न सक्ने भएपछि हो । वषर्ा नलाग्दै टौवामा सिद्धिसक्थ्यो पराल । असार निस्कँदाननिस्कँदै खेत रोपेपछि घाँस काट्ने ठाउँ हुन्थेन । घाँस काट्ने बारी सधैँ किन्नुपथ्र्यो । प्रायःसबैले किन्थे घाँसबारी । यसपालि पनि घाँसबारी खोलापारि नै थियो । एक मान्छेबराबर अग्लो सपि्रएको घाँस पाइन्थ्यो त्यहाँ । त्यै घाँसको बोक्न सक्नेसम्मको ठूलो भारी बनाएर ल्याइन्थ्यो । हामी चार-पाँच कतिजना थियौँ कुन्नि ! योपल्ट पनि एकाएक बढेको थियो खोलो, हामीले तर्दातदै । सबैको पिठ्यूँमा घाँसका गह्रुँगा भारी थिए । खोलाको बीचमा हुन्थ्यौँ भने बाँच्ने सम्भावना शून्य हुन्थ्यो । तर हामी करिब-करिब किनारतिर थियौँ । हामी बाढीसितको भौतिक डरभन्दा पनि मानसिक आतङ्कले थरथर कामिरहेका थियौँ । बाढी त्यत्रो भयानक पनि थिएन र हेप्ने खालको साधारण पनि थिएन । कसो-कसो ढुङ्गामा लर्कियो मेरो गोडो र सम्हालिने प्रयत्नमा म छोडिएँ अरूभन्दा पछाडि । अरू सबै पारी तरिसक्दा म खोलासितको सङ्घर्षमै थिएँ । भारी नहुँदो हो त म निस्किसक्थेँ तर घाँसको माया मान्नु महँगो परिरहेको थियो । कोसिस गर्दागर्दै भई त गएँ म असफल ! र बग्न थालेँ उँधो । ‘दिदी !’ मैले हकानिएर सान्दिदीलाई बोलाएपछि बल्ल फर्की हेरे उनीहरूले ।
‘भारी छोड्दे ! भारी छोड्दे कान्छा !’ मेरो पिठ्यूँमा अझै थियो भारी । दिदीले भारी छोड्् भनेपछि थाप्लोबाट छुटाएँ नाम्लो र बहाबसित लड्दै बल्लतल्ल डिलमा निस्किएँ । मेरो भारी भने बगिरहेको थियो । तर कठै ! हामीलाई घाँसको मायाले अझै कहाँ छोडेको थियो र ? सबैजनाले केही तल पुगेर निकाली छोड्यौँ भारी ।
र तर्तर् पानी चुहाउँदै बोकेर ल्याएँ मैले ।
सं. २०५३ पछि पढ्ने भइटोपलियो । त्यसपछि छोडियो गाउँ र गाउँका दुःख । दुःखबाट निवृत्ति खोज्नु सबैको स्वभाव हो तर त्यसलाई अनादर गर्नु एक असल गुरुप्रतिको कृतघ्नताजस्तै दुच्छर कुरा हो । मलाई जीवनका दुःखहरूप्रति असीम आदर छ । तिनैले बनाएको एक जिउँदोजाग्दो मानिस हुँ म । आज दुःखका स्वरूप बदलिएका छन् र तीसित पनि आदरपूर्वक लड्न कटिबद्ध छु । गन्दै छु, मैले खेतमा नटेकी अठारवटा असार बितिसकेछन् । यिनै अठार वर्षका बीचमा झराही खोलाले पुल पाएको छ । जीवनको नृशंस अन्त्य हेर्नुपर्ने र बेहोर्नुपर्ने नियतिबाट खोला किनारका गाउँलेजन र यात्रुहरूले त्राण पाएका छन् । असार भयानक चटारो र माचोको दुख्याहा महिना छैन हिजोआज । खेत रोप्दारोप्दै महिनौँसम्म निको नहुने घिनाहा घाउ लिएर हिँड्दैनन् मानिसहरू । आजकल युरो, डलर, यान, रियाल आदिले रोपिन्छ खेत । त्यो पनि सीमापारिबाट आउने ठेक्कावाल पुरुष रोपाहारबाट । यो परिवर्तन हो मेरो गाउँको र यस्ता थुप्रै गाउँहरूको । यो परिवर्तनबाट हाम्रो मुलुकको आर्थिक परनिर्भरताको ग्राफ कति माथि उक्लेको छ ? यसको हिसाबकिताब क-कसले र कहिले गर्ने हो ? यो एउटा अनुत्तरित प्रश्न बनेको देख्छु म ।
यतिखेर त केवल स्मृतिविम्ब हुन् यी, असारसितै ओइरिएर आइदिए । उत्पात नयाँ कुरा पनि कहाँ हुन् र यी ? सम्झनका लागि मात्र हुन्≤ केही प्रेरणा र केही विषादका कमजोर बाछिटा ! बाँच्नु त वर्तमानमा छ ।
प्रकाशित: असार २०, २०७१
(स्रोत : कान्तिपुर – कोसेली)