कविता : काठमाडौं

~पवन भण्डारी “किरण”~

मुटुमा टुकुचाको नमिठो दुर्गन्ध
टी.यु र आर.आर. लगायतमा
हजारौं बेरोजगार पालेर
दिनहुँजसो भरिया कुल्चेर मार्छ,
भोक, गरिबी र कालो राजनीति पालेर
गरिबी निवारण विषयक गोष्ठी
पाँचतारेमा डकार्छ,
अझ राजधानी हुँ भन्छ
बिचरो काठमाडौं।

डिस्को र क्याबिन–थेकमा
गाउँको इज्जत बेच्छ,
महंगीमा भिर्ने
एकसरो लुगा नभएरै होला
एक बित्ता मिनिसमा
“मिस नेपाल” खोज्छ,
म्याकडल्फ र ब्यागवाइपरमा
बर्थडे मनाउँछ,
मध्यरातमा ठमेल, टुंडिखेलमा आएर
अथक नांगो नाँच नाच्छ
अझ आधुनिक बन्न खोज्छ
नांगो काठमाडौं।

दिल्ली र वासिन्टनमा
क्याबिनेट बस्छ।
बर्सेनि विकास बजेट बढाएरै खोक्छ
भोको पेट भए पनि
यसलाई सुटबुट लाउनैपर्छ
आफ्नोपन धेरथोर
मिसावट पाउनै पर्छ
आदर्शको कृत्रिम जीवनशैली
जिउनै पर्छ
बडाहरू मात्रको राजधानी भईकन पनि
अझ नेपाली मात्रको हुँ चन्छ
विकृत पराई काठमाडौं।

स्वाभिमान बेच्ने ठेकेदारहरू बस्ने
अखडा बनेको छ काठमाडौं,
चोरहरूले सपेटाले दाँत माझ्ने
रोदीघर बनेको छ काठमाडौं
मान्छे खाएर बाख्रा बली दिने
भैरव बनेको छ काठमाडौं,

मासु देखाएर सिनो बेच्ने
मःमः हाउस बनेको छ काठमाडौं,
अनि लाखौं मान्छे थुपारेर
अर्को नब्बे साल झैं “पख्लास्” भनेर
धरहरालाई दरबान खटाएको छ,
धूर्त छ भित्रभित्रै
तर निर्भिक छु भन्छ–
काँतर हाम्रो काठमाडौं।

साउन ११, २०६४, काठमाडौं।

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ७ – २०६७ पौष १४ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.