~दीपकप्रसाद ढकाल~
हिँड्न खोजेको थिएँ बनारस । तर, खर्च, व्यक्तिगत सामानको तयारी, बाटोमा सवारीको रुटको अवस्था, सवारी आदिबारे केही पनि जानकारी नलिएरै हान्निएको थिएँ उता । हतारको काम लतरपतर, त्यही बेला जानेँ । जे भए पनि बनारस घुम्दाको आनन्द मज्जालाग्दो थियो ।
करिब बेलुकाको ८ बजे सुनौली पुगेँ । हतारहतार बोर्डर काटियो । सडक सुनसान जस्तै थियो । मेरो मनमा एकतमासको डर लाग्यो किनभने नेपालबाट नजिक नै भए पनि त्यो अर्काको देश थियो । अर्काको देशमा त्यो मेरो पहिलो अनुभव थियो ।
करिब ९ बजेतिर खचाखच भरिएको बस छुट्ने तरखरमा रहेछ । त्यो नै गोरखपुरको अन्तिम बस रहेछ । बनारसको बस दिउँसो ४ बजे नै छुटेको र त्यो नभेट्नुमा म नै कारण थिएँ । त्यसैले काका केही खल्लो अनुभव गर्दै थिए । बसभरिका यात्रु, महिला र केटाकेटी पनि रात्रिबसमा उभिएका, सबै अपरिचित अनुहार, रातको यात्रा, बस र रेलमा भारतमा धेरै चोरी हुन्छ भन्ने भनाइ सानैमा सुनेको लगायतका आन्तरिक र बाह्य परिवेशले म केही डराएको पनि थिएँ ।
करिब रातको १२ बजे हामी गोरखपुर पुग्यौँ । चोक र चौराहामा सवारीको प्रतीक्षामा बसेका रिक्सा चालक, रात्रिकालीन होटल र अन्य पसल, नालीको दुर्गन्ध, घोडसवार सिपाहीको सालिक, बत्तीले झलमल्ल फराकिला सडक मैले गोरखपुर यस्तो देखेँ । त्यो घोडसवार सालिक गोर्खालीको विजयको सान रहेछ तर १८७२ को सुगौली सन्धिपश्चात् इस्ट इन्डिया कम्पनी सरकारको अधिनमा पुगेछ ।
मैले सोचँे कुनचहिँ अदूरदर्शी शासकले नेपालको यत्रो विशाल भूमि, भौतिक पूर्वाधारयुक्त भूमिलाई सम्झौतामा सुम्पियो होला । जे होस्, मैले नेपालका नेतृत्वका कमजोरी, पराधीनतामा रमाउने, आत्मसम्मानलाई जोगाउन नसक्ने पिलन्धरे प्रवृत्तिलाई धिक्कारेँ । केही बेरको हिँडाइपछि बस स्टेसन टाढै भएका कारण रिक्सामा सवार भई वाराणसी जाने बसपार्क पुग्यौँ । रातको साढे १ बजेतिर हामी उत्तर प्रदेश परिवहन सेवा लेखिएका लामालामा बस रोकिएका स्थानमा पुग्यौँ । नेपालमा जस्ता माइक्रो, साना र विविध ढाँचाकाँचाका बस त्यहाँ थिएनन् । सरकारले अहिलेसम्म पनि परिवहन सेवा सञ्चालन गरेको र निजी कम्पनीको मनोमानी नभएको अवस्था मैले थाहा पाएँ । सवारीको आकार त्यहाँको भौगोलिक र जनसांख्यिक स्वरूप अनुरूप हुनुपर्ने भएकाले पनि यसो गरिएको होला । तर, त्यहाँ नेपालका मुख्य बस स्टेसनमा देखिने गरेको जस्तो दलाली र बिचौलियाको बिगबिगी थिएन । नेपाली पछि परेका पनि दलाली संस्कृतिले जस्तो लाग्यो । बसको टिकटदेखि सरकार प्रमुखको कुर्सीसम्ममा यहाँ दलाली र सौदाबाजी चल्छ । नागरिकका सामुचाहिँ तिनले स्वाभिमान र राष्ट्रियताको रटान लाउँछन् । यसभन्दा ठूलो धोका नागरिकलाई के हुनु मेरो मनमा नेतृत्वको चरित्रप्रति धृणा पैदा भयो ।
बसको यात्रा निकै कष्टकर र पीडादायी भयो । रातको समय, बसको थर्थराहट, चिसो सिरेटो, ठाउँठाउँमा सवारीका निम्ति रोक्दै गुड् दै गरेको बसको गति, एक तमासका मैदानी फाँट, पट्यारलाग्दा अँध्यारा भाग सबैलाई छिचोल्दै बस आजमगढ, गाजीपुरलगायतका स्थानीय सहर पुग्यो । करिब बिहानको ४–५ बजेतिर विविध प्रयोजनले वाराणसी हिँडेका सवारी चढ्न थाले । केही सवारीले हाम्रो अवस्थालाई नजिकबाट नियाल्न थाले । ठूला झोला, गहुँगोरो छाला, केही चुच्चा नाक, अनिदो र राता आँखा यी सबैलाई उनीहरूले नियाले । विकासको गतिमा अगाडि बढेको देश भारत भनेर अन्तर्राष्ट्रिय मञ्चमा चर्चा हुन थाले पनि यो ठाउँमा त्यसको खासै संकेत देखिएन । भारत भनेको त्यति उत्तरप्रदेश मात्र पनि होइन भन्ने ठानेँ ।
करिब बिहानको ८ बजेतिर हामी वाराणसीको केन्ट क्षेत्रमा झर्यौँ । मैले आकासे पुल ठानेर माथि हेरेको ठूलो पुल त रेलको लिग पो रहेछ । मैले काठमाडौँका चोकमा देखेका फड्केजस्ता पुलका तुलनामा यी त निकै विशाल थिए । यी सबै संरचना ब्रिटिस सरकारका पालामा बनेका हुन् भन्ने जानकारी मैले पाएँ । ब्रिटिसहरूको कामको मैले मनमनले प्रशंसा गरेँ किनभने तिनले कर्मवादी सोच अनुरूप त्यो भूमि बनाए । उपनिवेशको देशमा एक दिन हाम्रो साम्राज्य अन्त्य हुन सक्छ भन्ने सोचाइलाई तिनले बिर्सिए र संरचना निर्माण गरे ।
बिहानको समय, प्राय: सवारी गंगाघाटमा जाने सोच अनुरूप घाटतिर लाग्दै थिए । स्थानीय युवा (पन्डा) घाट घुमाउने, डुंगा सवार गराउने लगायतका सूची फलाक्दै हाम्रानजिक आउँदै र बिलाउँदै थिए । भारत जनसंख्याका हिसाबले विश्वको दोस्रो ठूलो देश भनी हाजिरजवाफमा मिलाएको घटनालाई मैले अहिले अनुभव गरँे । जता हेर्यो, त्यतै स्याउँस्याउँ कीराजत्तिकै मान्छे । मैले सञ्चारका साधनमा देखेको गंगा किनारको विशाल तट कति खेर आउला भन्ने कल्पना गरेँ । केही क्षणको हिँडाइपश्चात् घाट पुगियो ।
असंख्य डुंगा, तीर्थ यात्रु, घाटमा टल्किएको सूर्यको किरण, आँखाले नभ्याउन्जेलसम्म देखिने नदी किनार, राजेन्द्रपसाद घाट, मणिकणिका घाट, छिनछिनमा राम नाम सत्य हे, राम नाम सत्य हेका आवाज सबैले मलाई वाराणसीको विम्ब दिए । वाराणसी घाट कुनै दिन शवविहीन भए कुशको शव बनाएर भए पनि दाहसंस्कार गर्नु पर्ने मान्यता मैले सुनेँ । तर, त्यस्तो अवस्था सायद कहिल्यै आउँदैन कि जस्तो मलाई लाग्यो । किनभने, मिनेट मिनेटमा परमधाम हुनेको शोकमा राम नाम सत्य हेका आवाजमा हूलका हूल मान्छे दौडिएका देखिन्थे । मैले सोचेँ, बाचुन्जेल मानिस मलाई एक दिन मर्नु पर्छ र सबै छोड्नु पर्छ भन्ने सबै बिर्सन्छ । तर, यो सार्वभौम सत्यलाई धर्तीका अन्य प्राणीले जस्तै मानिसले पनि भोग्नैपर्छ ।
त्यस दिन वाराणसीका विविध गल्ली डुल्नमा बित्यो । सच्चिदानन्द महाविद्यालय, हरिश्चन्द्र महाविद्यालय, क्विन्स कलेज, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, लौरावीरा, दूधविनायकलगायतका स्थानमा घुमेर नै दिन बित्यो । मलाई विशेषत: हरिशचन्द्र महाविद्यालयको स्मरण अधिक गाढा बस्यो किनभने त्यो नेपालको राजनीतिका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाले समेत अध्ययन गरेको संस्था थियो । यसका अतिरिक्त नेपालका साहित्य सिर्जना र समालोचनामा हालसम्म पनि कलजयी बनेका प्राय: व्यक्तिका एक न एक किस्सा यस सहरसँग जोडिएको घटनापछि सर्जक, समालोचक मोहनराज शर्माबाट थाहा भयो । त्यस दिनको थकानलाई हामीले चित्रघन्टा मार्गस्थित मेहरा गेस्ट हाउसमा बिसायौँ ।
भोलिपल्ट हाम्रो यात्रा बनारस हिन्दु विश्वविद्यालयको भ्रमणमा केन्द्रित भयो । गेटमा पुगेर रिक्सा चालकलाई बिदा गरी हिँडेरै घुम्ने सोचका साथ हामी भित्रियौँ । तर, यो हाम्रो दुष्कल्पना मात्र रहेछ । यसको भौगोलिक क्षेत्रफल र विविध संकाय एवं विभागमा जाने बाटोमै हराइएला जस्तो । यसको क्षेत्रफलको विशालताको विषयमा धेरै प्रचलित भनाइ मदनमोहन मालवीयसँग जोडिएको पाइयो ।
यिनले दिनभर हिँडेर पुगेको विन्दुसम्मको दूरीलाई अर्धव्यास मानेर त्यसको वरिपरिको भाग बनारस हिन्दु विश्वविद्यालयलाई प्रदान गरिएको जानकारी पाएँ । यो वास्तविकता बुझेपछि मैले घुमेर भ्याउने धृष्टता गरिनँ । जमिनको व्यवस्थित चक्लाबन्दी, बाटोको योजनाबद्घ चिरफार, फोहर व्यवस्थापनको दीर्घकालीन योजना, प्रत्येक विभागका आ–आफ्ना सम्पन्न भवन, संस्कृतका ज्ञानवद्र्घक सूक्ति, चोक–चोकमा सुरक्षा तैनाथी, राजनीतिक नाराविहीन भित्ता सबैलाई मैले निकै उत्साहपूर्वक नियालेँ । मैले त्रिभुवन विश्वविद्यालय विभागका भवन, वर्षौंसम्म पानी भन्न नपाएका शौचालय, जताततै फोहर, राजनीतिका आदर्श नारा, राजनीतिका नाममा वर्षौंसम्म चिया दोकान र चाकडीको जात्रामा हिँडेका युवा, राजनीतिक दलका हन्डी खाएका प्रोफेसर सम्झेँ र हाम्रो पछौटे चिन्तन एवं व्यवहारप्रति क्रोधित भएँ ।
विश्वमा प्रयोगमा आइसकेका हरेक वादलाई हामीले राजनीतिमा अपनायौँ तर हामी सुध्रिएनौँ । सदैव दरिद्र चरित्र बोकेर हिँडेपछि शरीरमा नयाँ लुगा लगाएर हिँड्दैमा केही नहुने रहेछ । भेटघाटका सिलसिलामा भारतीय भाषा विभागका प्राध्यापकहरू दिवाकर प्रधान र सञ्जय राईको आतिथ्य सत्कार निकै स्मरणीय थियो । अन्तत: छोटो भ्रमणलाई लम्ब्याउने चाहना हुँदाहुँदै पनि फर्कनुपर्ने बाध्यता आयो । हामी सडक, चोक, चौराहा, स्याउँस्याउँती मान्छे, कर्ममा जुटेका सडकपेटीका हात सबैलाई आँखामा विम्बित गर्दै पुन: बसपार्क फर्कियौँ र दिउँसो ४ बजे पुन: गएकै बाटो दोहोर्याई सुनौली झर्यौँ ।
घर पुगेको धेरै दिनसम्म ध्वनि गुन्जिरह् यो : ओ बनारस ! ओ बनारस !
प्रकाशित: माघ १, २०७२
(स्रोत : नेपाल साप्ताहिक)