~यज्ञश~
पोखराको फरेस्ट्री क्याम्पसको दुई-तीन चक्कर लगाएपछि मेरो पढाइको हेलिकप्टरले अन्तत: आदिकवि भानुभक्त क्याम्पस दमौलीमा ल्यान्डिङ गरेको थियो । भागेर फिल्म हेर्ने बानी स्कुल पढ्दै लागिसकेको थियो । ०५३ मा एसएलसीको ट्युसन पढ्नका लागि दुई महिना दमौलीको डेरा बसाइले त्यो बानीलाई ‘एडिक्सन’ बनाइसकेको थियो । डेरामा बसेको पुरानो घरको टिनको छानामा बसेर दिनभरि फिल्मको गफ गर्नु दैनिकी थियो । गुल्मोहरको चौतारोमा ‘ चौतारी-टेनिस’ खेल्नु र ४ बजेतिर आइपुग्ने तातो पाउरोटीको खाजा खानु हाम्रा अतिरिक्त क्रियाकलाप थिए ।
भागेर फिल्म हेर्न आउँदा दोस्रो हाफ जहिल्यै तनावग्रस्त हुन्थ्यो । घरबाट पैसा चोरेको, स्कुल हापेर हिँडेको जस्ता कुरा पहिलो हाफमा खास सम्झिइन्थेन, फिल्मको रमझममा बिर्सिइन्थ्यो । मध्यान्तरमा बल्ने बत्तीले चाहिँ फिल्मी दुनियाँबाट वास्तविकतामा ल्याइदिन्थ्यो । अनि, स्कुल, घर, बाटो र आमा सम्झिएर तनाव सुरू हुन्थ्यो ।
आईए पढ्नका लागि दमौलीमै डेरा लिएपछि यो तनाव दूर भयो । अब फिल्म सकेर फर्किंदा ज्यान फालेर दौडिनु पर्थेन । मजाले नाइट सोमा फिल्म हेरेर आफ्नो डेरामा आएर सुत्न पाइन्थ्यो । फिल्म हेर्न भाग्दा बाटोमा भेटिने कसैले घरमा कुरा लाइदेला भन्ने डर पनि थिएन । लामो संघर्ष गरेर सत्तामा आएको पार्टीजस्तो अब मेरो सुखभोगको पालो आएको थियो, फिल्मी सुखभोग ।
यो काममा मैले आफूलाई कत्ति पनि पछाडि पारिनँ । राष्ट्रकवि माधव घिमिरेकी जेठी छोरी शान्ति म्याडमको घरअघिल्तिर थियो, फिल्म हल, मेनका चलचित्र मन्दिर ।
दमौली जिल्लाको मात्रै सदरमुकाम थिएन, अरु धेरै चीजको पनि थियो । ट्युसन पढ्न बस्दै मैले यो थाहा पाएको थिएँ । सिलाजित बेच्नेदेखि, नागरिकता बनाउनेसम्म, ट्युसन पढाउनेदेखि जादु देखाउनेसम्म सबै सीप भएका मानिसको यो सदरमुकाम थियो । यीमध्ये मलाई दमौलीका दुइटा जादु चढे, एउटा फिल्मको जादु, अर्को सडकमा देखाइने जादु ।
साँझपख म ट्युसन पढ्न जाने बाटोमा एउटा जादुगर हुन्थ्यो । पृथ्वी राजमार्गको माथिपट्टकिो खाली ठाउँ यो जादुगरको अड्डा थियो । आफ्नो टो लीसहित यो पगडीवाल जादुगर विभिन्न करामत देखाइरहन्थ्यो । ऊ कहिले मानिस गायब बनाउँथ्यो, कहिले मानिसको छातीमा चक्कु रोप्थ्यो, कहिले बा ँसुरीलाई चक्कु बनाएर पेटमा रोप्थ्यो । मलाई यसको जादुको जादु लाग्न थाल्यो । म ट्युसनका लागि अलि चाँडै निस्किन थालेँ । ट्युसनभरि पनि मेरो दिमाग यसकै जादुमा घुम्न थाल्यो । मान्छेको मुटु-कलेजो नै बाहिर निकालेर मान्छे कसरी बाँच्छ ?
हेर्दै जाँदा थाहा भयो, यसको जादुमा हरेक दिन केही हराउँथ्यो । जादुगरले आफ्नो सबभन्दा गजबको करतबमा सधैँ एउटा जालले छोपेको केटोलाई गायब गथ्र्यो । हरेक दिन त्यो केटो जालबाट गायब हुन्थ्यो र भोलिपल्ट जादु देखाउने बेला मात्र देखापथ्र्यो । यो केटो कहाँ गायब हुन्छ ? मेरो दिमागमा यो प्रश्न धेरै दिन चल्यो ।
हरेकपटक मान्छे उडाउने अन्तिम करामत देखाउनुअघि जादुगर मानिसहरुसँग पैसा माग्थ्यो । जादुको यो भाग मलाई सबभन्दा मन नपर्ने हुन्थ्यो । एक त मसँग पैसा हुन्थेन । भए पनि पाँच रुपियाँले एउटा फिल्मको टिकट आउँथ्यो, म यसलाई किन दिन्थेँ । सायद, अरु धेरै दर्शकले पनि यस्तै सोच्थे र पैसा दिन्थेनन् । यसैले होला, जादुगर टि्रक गथ्र्यो ।
टेबुलमा मानिसलाई सुताएर कालो लामो पर्दाले छोपेपछि जादुगर दर्शकतिर फर्किन्थ्यो । आफ्नो ह्याट खोलेर हातमा लिन्थ्यो र भन्थ्यो- मेरो जादुको पारिश्रमिक यसमा हाल्देऊ । एक-दुई जनाबाहेकले यो टोपीमा पैसा हाल्थेनन् । अनि, उसको टि्रक सुरू हुन्थ्यो । जादुगर एकदम रिसाएर गर्जिन्थ्यो- ‘अब म एउटा मन्त्र फुक्छु । यो मन्त्र पढेपछि गोजीमा पैसा भएर पनि ज-जसले दिएका छैनन्, ती सब यहाँ अगाडि आएर ढल्नेछन् र रगत छाद्नेछन् ।’ अनि, ऊ मन्त्र भट्याउँथ्यो र हातमा लिएको लाठी भुइँमा बजाथ्र्यो । अचम्म के भने हरेकपटक उसले लाठी भुइँमा बजार्दा एक जना अगाडि आएर ढल्थ्यो र बेहोस हुन्थ्यो । बेहोस भएको मान्छेलाई देखाएर जादुगर भन्थ्यो- ‘अब कोही यहाँबाट कसैले हलचल गर्यो भने यो मानिस मर्नेछ । खबरदार कोही यहा ँबाट यत्तिकै गयो भने !’
यो क्रम कतिन्जेल चल्थ्यो मलाई थाहा हुन्थेन । किनभने, उसले पैसा उठाइसकेर मान्छे उडाइन्जेलमा मेरो ट्युसनको समय आइसक्थ्यो । र, धेरै बेर बस्दा कतै म पनि ढल्ने त होइन भन्ने डर पनि बिस्तारै पलाउँथ्यो । यसैले म भीडबाट सुटुक्क निस्केर हिँड्थेँ ।
जादुको यो किस्सा अधुरो थियो । के जादुगरले साँच्चिकै मान्छे उडाउँछ ? इन्द्रजालबाट गायब भएको त्यो केटो कहाँ जान्छ ? यी प्रश्न बाँकी थिए ।
००००००
क्याम्पस पढ्न थालेपछि जीवनको लय बदलियो । दमौली बजार मात्र होइन, मादी-सेतीको दोभान, पञ्च मन्दिर, बाल उद्यान र मादीको पुल नयाँ अड्डा बने । धेरैका लागि दमौलीमा धेरै चीज थिए । मेरा लागि चाहिँ एकाबिहानै उठेर बुल्दी खोला तरेर पढ्न जानुपर्ने क्याम्पस, एकदमै ठूला लामखुट्टे, तराई को जस्तो गर्मी, केही मिल्ने साथी र फिल्म हल थिए ।
हरेक शुक्रबार दमौलीबाट घर जाने चलन थियो । शुक्रबार गयो, एक साताका लागि दाल, चामल र पैसा लिएर शनिबार फर्कियो । हरेक साता मट्टीते लका लागि २० रुपियाँ छुट्याइएको हुन्थ्यो । तर, मेरो भागको यो पैसा सोमबारसम्ममा करिब सकिन्थ्यो । राम्रो लागेको फिल्म दोहोर्याएर हेर्ने र अरुलाई पनि हेराउने बानी जो थियो । यसका कारण एक लिटरको ठाउँमा आधा लिटर मट्टीतेल किन्ने बानी बन्दै गयो । १० रुपियाँको मट्टीतेल, १० को फिल्म ।
आधा लिटर तेल चाँडै सकिन्थ्यो । जहिले पनि स्टोभ भ्यार्रभ्यार्र गरिहाल्थ्यो । यसको नयाँ खाले समाधान खोजियो, ट्यांकी ढल्काउने । सुरु सुरुमा टं्याकी हातैमा समाएर ढल्काइन्थ्यो । यसरी पनि बल्न छाडेपछि ट्यांकीमुनि इँटा र कचौरा राख्न थालियो । यसरी पिँधमा रहेको अन्तिम थोपासमेत बाल्ने गरे पछि यसको साइड इफेक्ट देखिन थाल्यो । अब स्टोभ त बल्थ्यो तर पहिलेजस्तो नीलो ज्वाला आउँथेन । रातो न रातो बल्थ्यो । यसले धूवाँ पनि बढी निकाल्थ्यो र बर्नर चाँडै फुट्थ्यो । १० रुपियाँको मट्टीतेल जोगाउने चक्करमा सय रुपियाँको बर्नर फेर्नुपर्ने हुन थाल्यो । तैपनि, फिल्मी नशा उत्रिएन ।
दमौली बजारका लोकल मानिसहरु प्राय: शनिबारको दिन मर्निङ सोमा मात्रै फिल्म हेर्थे । यो सोमा पैसा पनि आधा लाग्थ्यो । साँगेको जनजुक्त माविमा हुँदै मैले यो किस्सा सुनेको थिएँ । दमौली बजारको दक्षिणी छेउको घरमा मासिक डेढ सय रुपियाँको डेरा लिएपछि मैले यो सोख पनि पूरा गरेँ । आफूलाई सदरमुकामवासी बनाएँ ।
क्याम्पस जाने-आउने बाटोमा एउटा अग्लो घर थियो । यो घरको भित्तो मेरा लागि निकै उपयोगी थियो । हरेकपटक फिल्म फेरिँदा नयाँ फिल्मको पोस्टर यसमा टाँसिन्थ्यो । एक दिन यो स्टेसनमा जंग नामक हिन्दी फिल्मको पोस्टर देखियो । अजय देवगन, मिथुन चक्रवर्ती र आदित्य पंचोलीजस्ता तीन एक्सन हिरोको यो फिल्मको चर्चा मैले निकै सुनेको थिएँ । यो त कुनै हालतमा फस्ट सो हेर्नुपर्ने फिल्म थियो ।
पहिलो सो भ्याउने गरी म बजारको दक्षिणी छेउको डेराबाट उत्तरी कुनाको हलतिर निस्किएँ । बजारको मूल सडकबाट तीव्र वेगमा हिँडिरहेको मेरा अगाडि एउटा साइकल आएर रोकियो । साइकलवालाले मेरो नाम सोध्यो र भन्यो- म तीन दिनदेखि तपाईंलाई खोजिरहेको छु ।
यी मानिस जिल्ला शिक्षा कार्यालयका पियन थिए । जिल्ला शिक्षा अधिकारीले मलाई धुईपत्ताल खोजिरहेका छन् भन्ने खबर यिनै साइकलवालाले दिए ।
मैले खबरीलाई भनेँ- ‘तीन घन्टापछि आए हुँदैन ?’
उसले वाल्ल परेर मलाई भन्यो- ‘हुँदैन ।’
‘एउटा जरुरी काम छ क्या ?’ मैले जिद्दी गरेँ ।
‘हुँदैन । जहाँ भेटियो, त्यहीँबाट समाएर ल्याउनू भन्नुभएको छ,’ उनी डेग चलेनन् ।
‘तपाईं जाँदै गर्नु न त, म आउँछु,’ मैले आत्मसमर्पण गरेँ ।
‘हुँदैन, सँगै हिँड्नूस्,’ उनले पत्याएनन् ।
बाध्य भएर म यिनको पछि लागेर शिक्षा कार्यालय पुगेँ । पुग्नासाथ जिल्ला शिक्षा अधिकारीले मलाई एउटा चिट्ठी दिए । मैले चिट्ठी पट्याएर गोजीमा हालेँ, खोलेर पनि हेरिनँ । उनले आफूले खोजेको र अरु केही कुरा बताए । तर, उनले के के भने मैले राम्ररी सुनिनँ । मेरो मनमा फिल्म कति मिनेट छुट ्यो भन्ने हिसाब चलिरहेको थियो । निस्केर मैले घडी हेरेँ । १२ बजेर ३० मिनेट गइसकेको थियो । फिल्म आधा घन्टा छुटिसकेको थियो । यो धेरै दु:खको कुरा थियो ।
चिट्ठी गोजीमा राखेर म सरासर फिल्म हलमा पुगेँ । पहिलो सो सकिन अझै दुई घन्टा बाँकी थियो । वरिपरि हल्लिएर, रल्लिएर मैले त्यो समय बिताएँ । र, कुनै अपराधीजसरी दोस्रो सोमा हलमा छिरेँ ।
यो एक्सन फिल्म गजब थियो, फाइटै फाइटले भरिएको । मध्यान्तरको बत्ती बलेपछि मैले पकेटबाट चिट्ठी निकालेँ र पढेँ । जिल्ला शिक्षा कार्यालयले चलाएको प्रौढ शिक्षाका कक्षाको निरीक्षकका रुपमा नियुक्त गरिएको बेहोरा यसमा लेखिएको थियो । पढेर चिट्ठीलाई फेरि गोजीमा हालेँ । फस्ट सो छुटेको ‘सदमा’ अझै बाँकी थियो ।
फिल्म सकेर निस्किँदा बल्ल चिट्ठी सम्झेर हल्का खुसी लाग्यो । जागिर पाइएको थियो, अब फिल्म हेर्ने पैसा खोज्न कतै जानु पर्थेन । मेरो ओँठमा मुस्कान आयो ।
००००००
बजारमा जादु चलिरहेको थियो । अब मेरो ट्युसन थिएन, त्यसैले त्यो बाटो म हिँड्दिनथेँ । कहिलेकाहीँ बाटो पर्दा टाढैबाट हेर्थें । मानिसहरु झुम्मिएर जादु हेरिरहेका हुन्थे । जादुगर उसै गरी गर्जिएर भुइँमा लाठी बजारिरहेको हुन्थ्यो । इन्द्रजालबाट केटो उसै गरी गायब हुन्थ्यो ।
एक दिन एउटा नाइट सोमा अचानक त्यो केटो भेटियो, फिल्म हलमा । त्यो मिथुनको कुनै फिल्म थियो । मध्यान्तरको बत्तीमा केटो देखियो । केटो मभन्दा अगाडिको सिटमा बसेर फिल्म हेरिरहेको थियो । हाफ टाइमको बत्ती बलेपछि पिसाब आए पनि नआए पनि ट्वाइलेट जाने नियमित फिल्म हेर्नेको अघोषित नियम थियो । म उठेर ट्वाइलेट गएँ । गायब भएको केटो पनि आयो । उसको पछिपछि जादुगर पनि आयो । लौ जादुगर पनि फिल्म हलमा ! म चकित भइरहेको थिएँ । हलमा फर्किएपछि भने धन्नै बेहोस भइनँ ।
जादुगर र केटोको लाइनमा अरु पनि केही मानिस थिए । मैले नियालेर हेर्दा यिनलाई चिनेँ । जादुगरले लट्ठी बजार्दा अगाडि आएर ढल्ने मान्छे यिनै थिए । यी त जादुगरकै मानिस रहेछन् । र, हरेक दिन लुगा र हुलिया बदलेर तिनै मान्छे बेहोस भएको नाटक गर्दा रहेछन् । यिनलाई बेहोस भएको देखेर मानिसहरु डराएर पैसा दिन्थे । र, यीचाहिँ त्यही पैसाले नाइट सोमा फिल्म हेरिरहेका थिए ।
जादु त पूरै घोटाला रहेछ । यिनको फिक्सिङ मेरा अगाडि खुलस्त भयो । यो घटनापछि सडकको जादुबाट मेरो विश्वास पूरै उठ्यो । तर, हलको जादु कायम थियो । हलमा हरेक महिना नयाँ नयाँ जादुगर आउँथे र अनेक खेला देखाउँथे ।
फिल्म काल्पनिक हो, यसमा देखाउने सबै कुरा नक्कली हुन् भन्ने थाहा हुँदाहुँदै पनि यसले मानिसलाई किन तान्छ ? सायद, यसमा मानिसको कमी पूरा गर्ने शक्ति हुन्छ । वास्तविक जीवनमा पूरा गर्न नसकेका सपना, बन्न नसकेको चरित्र वा पाउन नसकेको उपलब्धि हामी फिल्म र तिनका पात्रमार्फत पाउँछौँ । कुनै चरित्रमा आफूलाई आरोपित गरेर त्यसले गर्ने काममा आफ्नो अंश खोज्छौँ । यसैले होला, अहिले पनि राम्रो फिल्म हेर्दा मलाई ठूलो आत्मसन्तोष भएजस्तो लाग्छ, मानौँ त्यो उपलब्धि आफैँले पाएको हो । आफ्ना कमी पूरा गर्न पाइने भएकाले होला, फिल्म झन्झन् लोकप्रिय हुँदै गएको ।
जीवनमा यस्ता धेरै फिक्सिङ र घोटालाहरु छन्, जसको कहिल्यै पर्दाफास हुँदैन । र, यही जीवनमा धेरै कमी-कमजोरी पनि छन्, जसलाई आफैँ सुधार्न सकिँदैन वा त्यो अवसर गुमिसकेको छ ।
हरेक गल्लीमा अनेक भेष धारण गरेर कुनै न कुनै जादुगर लाठी बजारिरहेको देखिन्छ । डराई डराई आफ्नो खल्तीबाट पैसा निकालिरहेका मानिस पनि भेटिन्छन् । त्यो जादुगर र यी जादुगरमा खालि एउटा फरक छ । त्यसको भेद नाइट सोमा खुलेको थियो, यिनको भेद खुल्ने कुनै सो छैन ।
प्रकाशित: आश्विन १२, २०७१
(स्रोत : नेपाल साप्ताहिक)