संस्मरण : दमौलीको जादुगर

~यज्ञश~Yagyash

पोखराको फरेस्ट्री क्याम्पसको दुई-तीन चक्कर लगाएपछि मेरो पढाइको हेलिकप्टरले अन्तत: आदिकवि भानुभक्त क्याम्पस दमौलीमा ल्यान्डिङ गरेको थियो । भागेर फिल्म हेर्ने बानी स्कुल पढ्दै लागिसकेको थियो । ०५३ मा एसएलसीको ट्युसन पढ्नका लागि दुई महिना दमौलीको डेरा बसाइले त्यो बानीलाई ‘एडिक्सन’ बनाइसकेको थियो । डेरामा बसेको पुरानो घरको टिनको छानामा बसेर दिनभरि फिल्मको गफ गर्नु दैनिकी थियो । गुल्मोहरको चौतारोमा ‘ चौतारी-टेनिस’ खेल्नु र ४ बजेतिर आइपुग्ने तातो पाउरोटीको खाजा खानु हाम्रा अतिरिक्त क्रियाकलाप थिए ।

भागेर फिल्म हेर्न आउँदा दोस्रो हाफ जहिल्यै तनावग्रस्त हुन्थ्यो । घरबाट पैसा चोरेको, स्कुल हापेर हिँडेको जस्ता कुरा पहिलो हाफमा खास सम्झिइन्थेन, फिल्मको रमझममा बिर्सिइन्थ्यो । मध्यान्तरमा बल्ने बत्तीले चाहिँ फिल्मी दुनियाँबाट वास्तविकतामा ल्याइदिन्थ्यो । अनि, स्कुल, घर, बाटो र आमा सम्झिएर तनाव सुरू हुन्थ्यो ।

आईए पढ्नका लागि दमौलीमै डेरा लिएपछि यो तनाव दूर भयो । अब फिल्म सकेर फर्किंदा ज्यान फालेर दौडिनु पर्थेन । मजाले नाइट सोमा फिल्म हेरेर आफ्नो डेरामा आएर सुत्न पाइन्थ्यो । फिल्म हेर्न भाग्दा बाटोमा भेटिने कसैले घरमा कुरा लाइदेला भन्ने डर पनि थिएन । लामो संघर्ष गरेर सत्तामा आएको पार्टीजस्तो अब मेरो सुखभोगको पालो आएको थियो, फिल्मी सुखभोग ।

यो काममा मैले आफूलाई कत्ति पनि पछाडि पारिनँ । राष्ट्रकवि माधव घिमिरेकी जेठी छोरी शान्ति म्याडमको घरअघिल्तिर थियो, फिल्म हल, मेनका चलचित्र मन्दिर ।

दमौली जिल्लाको मात्रै सदरमुकाम थिएन, अरु धेरै चीजको पनि थियो । ट्युसन पढ्न बस्दै मैले यो थाहा पाएको थिएँ । सिलाजित बेच्नेदेखि, नागरिकता बनाउनेसम्म, ट्युसन पढाउनेदेखि जादु देखाउनेसम्म सबै सीप भएका मानिसको यो सदरमुकाम थियो । यीमध्ये मलाई दमौलीका दुइटा जादु चढे, एउटा फिल्मको जादु, अर्को सडकमा देखाइने जादु ।

साँझपख म ट्युसन पढ्न जाने बाटोमा एउटा जादुगर हुन्थ्यो । पृथ्वी राजमार्गको माथिपट्टकिो खाली ठाउँ यो जादुगरको अड्डा थियो । आफ्नो टो लीसहित यो पगडीवाल जादुगर विभिन्न करामत देखाइरहन्थ्यो । ऊ कहिले मानिस गायब बनाउँथ्यो, कहिले मानिसको छातीमा चक्कु रोप्थ्यो, कहिले बा ँसुरीलाई चक्कु बनाएर पेटमा रोप्थ्यो । मलाई यसको जादुको जादु लाग्न थाल्यो । म ट्युसनका लागि अलि चाँडै निस्किन थालेँ । ट्युसनभरि पनि मेरो दिमाग यसकै जादुमा घुम्न थाल्यो । मान्छेको मुटु-कलेजो नै बाहिर निकालेर मान्छे कसरी बाँच्छ ?

हेर्दै जाँदा थाहा भयो, यसको जादुमा हरेक दिन केही हराउँथ्यो । जादुगरले आफ्नो सबभन्दा गजबको करतबमा सधैँ एउटा जालले छोपेको केटोलाई गायब गथ्र्यो । हरेक दिन त्यो केटो जालबाट गायब हुन्थ्यो र भोलिपल्ट जादु देखाउने बेला मात्र देखापथ्र्यो । यो केटो कहाँ गायब हुन्छ ? मेरो दिमागमा यो प्रश्न धेरै दिन चल्यो ।

हरेकपटक मान्छे उडाउने अन्तिम करामत देखाउनुअघि जादुगर मानिसहरुसँग पैसा माग्थ्यो । जादुको यो भाग मलाई सबभन्दा मन नपर्ने हुन्थ्यो । एक त मसँग पैसा हुन्थेन । भए पनि पाँच रुपियाँले एउटा फिल्मको टिकट आउँथ्यो, म यसलाई किन दिन्थेँ । सायद, अरु धेरै दर्शकले पनि यस्तै सोच्थे र पैसा दिन्थेनन् । यसैले होला, जादुगर टि्रक गथ्र्यो ।

टेबुलमा मानिसलाई सुताएर कालो लामो पर्दाले छोपेपछि जादुगर दर्शकतिर फर्किन्थ्यो । आफ्नो ह्याट खोलेर हातमा लिन्थ्यो र भन्थ्यो- मेरो जादुको पारिश्रमिक यसमा हाल्देऊ । एक-दुई जनाबाहेकले यो टोपीमा पैसा हाल्थेनन् । अनि, उसको टि्रक सुरू हुन्थ्यो । जादुगर एकदम रिसाएर गर्जिन्थ्यो- ‘अब म एउटा मन्त्र फुक्छु । यो मन्त्र पढेपछि गोजीमा पैसा भएर पनि ज-जसले दिएका छैनन्, ती सब यहाँ अगाडि आएर ढल्नेछन् र रगत छाद्नेछन् ।’ अनि, ऊ मन्त्र भट्याउँथ्यो र हातमा लिएको लाठी भुइँमा बजाथ्र्यो । अचम्म के भने हरेकपटक उसले लाठी भुइँमा बजार्दा एक जना अगाडि आएर ढल्थ्यो र बेहोस हुन्थ्यो । बेहोस भएको मान्छेलाई देखाएर जादुगर भन्थ्यो- ‘अब कोही यहाँबाट कसैले हलचल गर्‍यो भने यो मानिस मर्नेछ । खबरदार कोही यहा ँबाट यत्तिकै गयो भने !’

यो क्रम कतिन्जेल चल्थ्यो मलाई थाहा हुन्थेन । किनभने, उसले पैसा उठाइसकेर मान्छे उडाइन्जेलमा मेरो ट्युसनको समय आइसक्थ्यो । र, धेरै बेर बस्दा कतै म पनि ढल्ने त होइन भन्ने डर पनि बिस्तारै पलाउँथ्यो । यसैले म भीडबाट सुटुक्क निस्केर हिँड्थेँ ।

जादुको यो किस्सा अधुरो थियो । के जादुगरले साँच्चिकै मान्छे उडाउँछ ? इन्द्रजालबाट गायब भएको त्यो केटो कहाँ जान्छ ? यी प्रश्न बाँकी थिए ।

००००००

क्याम्पस पढ्न थालेपछि जीवनको लय बदलियो । दमौली बजार मात्र होइन, मादी-सेतीको दोभान, पञ्च मन्दिर, बाल उद्यान र मादीको पुल नयाँ अड्डा बने । धेरैका लागि दमौलीमा धेरै चीज थिए । मेरा लागि चाहिँ एकाबिहानै उठेर बुल्दी खोला तरेर पढ्न जानुपर्ने क्याम्पस, एकदमै ठूला लामखुट्टे, तराई को जस्तो गर्मी, केही मिल्ने साथी र फिल्म हल थिए ।

हरेक शुक्रबार दमौलीबाट घर जाने चलन थियो । शुक्रबार गयो, एक साताका लागि दाल, चामल र पैसा लिएर शनिबार फर्कियो । हरेक साता मट्टीते लका लागि २० रुपियाँ छुट्याइएको हुन्थ्यो । तर, मेरो भागको यो पैसा सोमबारसम्ममा करिब सकिन्थ्यो । राम्रो लागेको फिल्म दोहोर्‍याएर हेर्ने र अरुलाई पनि हेराउने बानी जो थियो । यसका कारण एक लिटरको ठाउँमा आधा लिटर मट्टीतेल किन्ने बानी बन्दै गयो । १० रुपियाँको मट्टीतेल, १० को फिल्म ।

आधा लिटर तेल चाँडै सकिन्थ्यो । जहिले पनि स्टोभ भ्यार्रभ्यार्र गरिहाल्थ्यो । यसको नयाँ खाले समाधान खोजियो, ट्यांकी ढल्काउने । सुरु सुरुमा टं्याकी हातैमा समाएर ढल्काइन्थ्यो । यसरी पनि बल्न छाडेपछि ट्यांकीमुनि इँटा र कचौरा राख्न थालियो । यसरी पिँधमा रहेको अन्तिम थोपासमेत बाल्ने गरे पछि यसको साइड इफेक्ट देखिन थाल्यो । अब स्टोभ त बल्थ्यो तर पहिलेजस्तो नीलो ज्वाला आउँथेन । रातो न रातो बल्थ्यो । यसले धूवाँ पनि बढी निकाल्थ्यो र बर्नर चाँडै फुट्थ्यो । १० रुपियाँको मट्टीतेल जोगाउने चक्करमा सय रुपियाँको बर्नर फेर्नुपर्ने हुन थाल्यो । तैपनि, फिल्मी नशा उत्रिएन ।

दमौली बजारका लोकल मानिसहरु प्राय: शनिबारको दिन मर्निङ सोमा मात्रै फिल्म हेर्थे । यो सोमा पैसा पनि आधा लाग्थ्यो । साँगेको जनजुक्त माविमा हुँदै मैले यो किस्सा सुनेको थिएँ । दमौली बजारको दक्षिणी छेउको घरमा मासिक डेढ सय रुपियाँको डेरा लिएपछि मैले यो सोख पनि पूरा गरेँ । आफूलाई सदरमुकामवासी बनाएँ ।

क्याम्पस जाने-आउने बाटोमा एउटा अग्लो घर थियो । यो घरको भित्तो मेरा लागि निकै उपयोगी थियो । हरेकपटक फिल्म फेरिँदा नयाँ फिल्मको पोस्टर यसमा टाँसिन्थ्यो । एक दिन यो स्टेसनमा जंग नामक हिन्दी फिल्मको पोस्टर देखियो । अजय देवगन, मिथुन चक्रवर्ती र आदित्य पंचोलीजस्ता तीन एक्सन हिरोको यो फिल्मको चर्चा मैले निकै सुनेको थिएँ । यो त कुनै हालतमा फस्ट सो हेर्नुपर्ने फिल्म थियो ।

पहिलो सो भ्याउने गरी म बजारको दक्षिणी छेउको डेराबाट उत्तरी कुनाको हलतिर निस्किएँ । बजारको मूल सडकबाट तीव्र वेगमा हिँडिरहेको मेरा अगाडि एउटा साइकल आएर रोकियो । साइकलवालाले मेरो नाम सोध्यो र भन्यो- म तीन दिनदेखि तपाईंलाई खोजिरहेको छु ।

यी मानिस जिल्ला शिक्षा कार्यालयका पियन थिए । जिल्ला शिक्षा अधिकारीले मलाई धुईपत्ताल खोजिरहेका छन् भन्ने खबर यिनै साइकलवालाले दिए ।

मैले खबरीलाई भनेँ- ‘तीन घन्टापछि आए हुँदैन ?’

उसले वाल्ल परेर मलाई भन्यो- ‘हुँदैन ।’

‘एउटा जरुरी काम छ क्या ?’ मैले जिद्दी गरेँ ।

‘हुँदैन । जहाँ भेटियो, त्यहीँबाट समाएर ल्याउनू भन्नुभएको छ,’ उनी डेग चलेनन् ।

‘तपाईं जाँदै गर्नु न त, म आउँछु,’ मैले आत्मसमर्पण गरेँ ।

‘हुँदैन, सँगै हिँड्नूस्,’ उनले पत्याएनन् ।

बाध्य भएर म यिनको पछि लागेर शिक्षा कार्यालय पुगेँ । पुग्नासाथ जिल्ला शिक्षा अधिकारीले मलाई एउटा चिट्ठी दिए । मैले चिट्ठी पट्याएर गोजीमा हालेँ, खोलेर पनि हेरिनँ । उनले आफूले खोजेको र अरु केही कुरा बताए । तर, उनले के के भने मैले राम्ररी सुनिनँ । मेरो मनमा फिल्म कति मिनेट छुट ्यो भन्ने हिसाब चलिरहेको थियो । निस्केर मैले घडी हेरेँ । १२ बजेर ३० मिनेट गइसकेको थियो । फिल्म आधा घन्टा छुटिसकेको थियो । यो धेरै दु:खको कुरा थियो ।

चिट्ठी गोजीमा राखेर म सरासर फिल्म हलमा पुगेँ । पहिलो सो सकिन अझै दुई घन्टा बाँकी थियो । वरिपरि हल्लिएर, रल्लिएर मैले त्यो समय बिताएँ । र, कुनै अपराधीजसरी दोस्रो सोमा हलमा छिरेँ ।

यो एक्सन फिल्म गजब थियो, फाइटै फाइटले भरिएको । मध्यान्तरको बत्ती बलेपछि मैले पकेटबाट चिट्ठी निकालेँ र पढेँ । जिल्ला शिक्षा कार्यालयले चलाएको प्रौढ शिक्षाका कक्षाको निरीक्षकका रुपमा नियुक्त गरिएको बेहोरा यसमा लेखिएको थियो । पढेर चिट्ठीलाई फेरि गोजीमा हालेँ । फस्ट सो छुटेको ‘सदमा’ अझै बाँकी थियो ।

फिल्म सकेर निस्किँदा बल्ल चिट्ठी सम्झेर हल्का खुसी लाग्यो । जागिर पाइएको थियो, अब फिल्म हेर्ने पैसा खोज्न कतै जानु पर्थेन । मेरो ओँठमा मुस्कान आयो ।

००००००

बजारमा जादु चलिरहेको थियो । अब मेरो ट्युसन थिएन, त्यसैले त्यो बाटो म हिँड्दिनथेँ । कहिलेकाहीँ बाटो पर्दा टाढैबाट हेर्थें । मानिसहरु झुम्मिएर जादु हेरिरहेका हुन्थे । जादुगर उसै गरी गर्जिएर भुइँमा लाठी बजारिरहेको हुन्थ्यो । इन्द्रजालबाट केटो उसै गरी गायब हुन्थ्यो ।

एक दिन एउटा नाइट सोमा अचानक त्यो केटो भेटियो, फिल्म हलमा । त्यो मिथुनको कुनै फिल्म थियो । मध्यान्तरको बत्तीमा केटो देखियो । केटो मभन्दा अगाडिको सिटमा बसेर फिल्म हेरिरहेको थियो । हाफ टाइमको बत्ती बलेपछि पिसाब आए पनि नआए पनि ट्वाइलेट जाने नियमित फिल्म हेर्नेको अघोषित नियम थियो । म उठेर ट्वाइलेट गएँ । गायब भएको केटो पनि आयो । उसको पछिपछि जादुगर पनि आयो । लौ जादुगर पनि फिल्म हलमा ! म चकित भइरहेको थिएँ । हलमा फर्किएपछि भने धन्नै बेहोस भइनँ ।

जादुगर र केटोको लाइनमा अरु पनि केही मानिस थिए । मैले नियालेर हेर्दा यिनलाई चिनेँ । जादुगरले लट्ठी बजार्दा अगाडि आएर ढल्ने मान्छे यिनै थिए । यी त जादुगरकै मानिस रहेछन् । र, हरेक दिन लुगा र हुलिया बदलेर तिनै मान्छे बेहोस भएको नाटक गर्दा रहेछन् । यिनलाई बेहोस भएको देखेर मानिसहरु डराएर पैसा दिन्थे । र, यीचाहिँ त्यही पैसाले नाइट सोमा फिल्म हेरिरहेका थिए ।

जादु त पूरै घोटाला रहेछ । यिनको फिक्सिङ मेरा अगाडि खुलस्त भयो । यो घटनापछि सडकको जादुबाट मेरो विश्वास पूरै उठ्यो । तर, हलको जादु कायम थियो । हलमा हरेक महिना नयाँ नयाँ जादुगर आउँथे र अनेक खेला देखाउँथे ।

फिल्म काल्पनिक हो, यसमा देखाउने सबै कुरा नक्कली हुन् भन्ने थाहा हुँदाहुँदै पनि यसले मानिसलाई किन तान्छ ? सायद, यसमा मानिसको कमी पूरा गर्ने शक्ति हुन्छ । वास्तविक जीवनमा पूरा गर्न नसकेका सपना, बन्न नसकेको चरित्र वा पाउन नसकेको उपलब्धि हामी फिल्म र तिनका पात्रमार्फत पाउँछौँ । कुनै चरित्रमा आफूलाई आरोपित गरेर त्यसले गर्ने काममा आफ्नो अंश खोज्छौँ । यसैले होला, अहिले पनि राम्रो फिल्म हेर्दा मलाई ठूलो आत्मसन्तोष भएजस्तो लाग्छ, मानौँ त्यो उपलब्धि आफैँले पाएको हो । आफ्ना कमी पूरा गर्न पाइने भएकाले होला, फिल्म झन्झन् लोकप्रिय हुँदै गएको ।

जीवनमा यस्ता धेरै फिक्सिङ र घोटालाहरु छन्, जसको कहिल्यै पर्दाफास हुँदैन । र, यही जीवनमा धेरै कमी-कमजोरी पनि छन्, जसलाई आफैँ सुधार्न सकिँदैन वा त्यो अवसर गुमिसकेको छ ।

हरेक गल्लीमा अनेक भेष धारण गरेर कुनै न कुनै जादुगर लाठी बजारिरहेको देखिन्छ । डराई डराई आफ्नो खल्तीबाट पैसा निकालिरहेका मानिस पनि भेटिन्छन् । त्यो जादुगर र यी जादुगरमा खालि एउटा फरक छ । त्यसको भेद नाइट सोमा खुलेको थियो, यिनको भेद खुल्ने कुनै सो छैन ।

प्रकाशित: आश्विन १२, २०७१

(स्रोत : नेपाल साप्ताहिक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.