~साइमोन आर्मिटेज~
अनु : सुरेश हाचेकाली
म र त्यो केटा
हामी दुवै जना
पाठशालाको आँगनमा सँगै बाहिर निस्किएका थियौँ
उसको नाम र अनुहार
मेरो स्मृतिमा छैन सुरक्षित ।
हामी मापन गरिरहेका थियौँ
मानव ध्वनिले ढाक्न सक्ने विस्तृति
उसले सके जति चिच्च्याउनु पर्ने थियो
सङ्केतका लागि
मैले उठाउनु पर्ने थियो हात
ऊ भन्दा धेरै पर गएर
ध्वनिको पहुँच पुग्न सक्ने उपल्लो बिन्दुसम्म ।
ऊ पार्कभन्दा माथि पुगेर चिच्यायो
मैले हात उठाएँ
ऊ सडकको छेउबाट असीमित चिच्यायो
यसरी नै चिच्यायो
पहाडको फेदीबाट
‘फ्रेटवेल फार्म’को निकै परबाट
र मैले हात उठाएँ ।
ऊ हाम्रो सहर छोडेर गयो
पश्चिम अस्ट्रेलिया
मुखको छानामा बन्दुकको प्वाल लिएर
बीस वर्ष अगाडि दिवङ्गत भयो ऊ ।
नाम र अनुहारले
कदाचित सम्झन सक्दिनँ म त्यो केटोलाई
अब तिमी चिच्याउन बन्द गर
ध्वनिको भौतिक पहुँच भन्दा धेरै परसम्म
म सक्छु तिमीलाई सुन्न ।
The Shout
साइमोन आर्मिटेज
[कवि साइमोन आर्मिटेज इङ्ग्ल्याण्डको हर्डर्सफिल्डमा सन् १९६३ मा जन्मिएका थिए । सन् १९८९ मा उनका कविताहरूको पहिलो सङ्ग्रह ‘जुम’ निस्किएपछि उनको लोकप्रियता बढेर गयो । उनले केही उपन्यासहरू पनि लेखेका छन् । विश्वविद्यालयमा प्राध्यापन गर्ने आर्मिटेजले ‘चिच्च्याहट’ शीर्षकको कवितामा विज्ञानको प्रयोगको दायराभन्दा कविताको दायरा धेरै फराकिलो हुने तथा जहाँनिर वस्तुगत प्रयोग र साधारण भाषा टुङ्गिन्छ, त्यही बिन्दुबाट कविताको यात्रा सुरु हुने दार्शनिक सत्यलाई एउटा घटनाको प्रस्तुतिद्वारा पुष्टि गरेका छन् ।]
(स्रोत : नेपाली कलासाहित्य डट कम)