~नारायण तिवारी~
घरबाट निस्किएको छु । मधेस आन्दोलनको मौसम छ । रिक्सा पाइने हो कि नपाइने हो, सोच्दै अघि बढिरहेको छु पैदल ।
त्यसो त म रिक्सा चढ्ने मान्छे कहाँ हो ? अहा ! कुनै भारी सामान वा धेरै सामान ल्याउनु पर्यो भने वा श्रीमती, केटाकेटीसित कतै टाढा जानु पर्यो भने चढ्ने हो रिक्सा । त्यो पनि केटाकेटीका बलले । केटाकेटीमा पनि छोरी जिद्दी गर्छे । भन्छे, ‘नाई हिँडेर नजाने, रिक्सा चढ्ने !’
छोरोलाई जे गरे पनि हुन्छ । अब त ऊ ठूलो भइसक्यो, सँगै हिँड्दा पनि हिँड्दैन । १२ कक्षा पढ्ने छोरो र आठ कक्षा पढ्ने छोरीसमेत एउटै रिक्सामा अटिने कुरा पनि त भएन । चढिन्थ्यो सबै जना कुनै बेला एउटै रिक्सामा, जुन बेला उनीहरू धेरै साना थिए, काखमा बस्थे, अट्थे । तर, अब…?
कहाँको कुरा कहाँ सोच्न थालेछु । शान्तिचोक आइपुगेको छु । रिक्सा खाली देख्छु, पैदल जाउँ कि रिक्सामा भन्ने दोधारमा छु । आ, कहिले त एक्लै पनि चढौँ न रिक्सा…!
लगाएको सुटतिर नियाल्छु, टाई छाम्छु । थोरै खिस्रिक्क हुन्छु किनभने सुट बिहेदेखि उही चलिरहेको छ । नयाँ सुट होइन । हो, ड्राइक्लिनर्समा धुन दिएर नयाँ बनाउने प्रयत्नचाहिँ भएको हो ।
अर्को मनले खुसी प्रकट गर्छु । अनुहारमा हाँसो उमार्छु । जे भए पनि सुट सुट हो । फेरि यो नयाँ टाई…! श्रीमतीले भनेकी थिई, ‘पर्दैन त्यो थोत्रे टाई लगाउन…।’ उसले भन्न सकेकी थिइन, ‘पर्दैन त्यो थोत्रे सुट लगाउन…।’
खैर, केही दिनअघि उसले एउटा झिल्के टाई किनेर ल्याइदिएकी थिई र भनेकी थिई, ‘ल, यसपालि साथीको छोरीको बिहेमा, सुटमा यो टाई पनि लगाएर जानू । सुट मात्रै लगाएर जाने होइन…!’
हो, यही टाई–सुटको इज्जत राख्न पनि रिक्सा चढेर त जानै पर्यो, सोच्छु ।
यस्तो सोच्दिनँ, मानिसहरू निजी गाडी चढेर जाँदा हुन्, यो रिक्सा चढ्नु पनि त इज्जत बढ्नु त होइन नि हौ…!
मानिसको जस्तो औकात हुन्छ, त्यस्तै सोच्ने न हो । सोचको पनि त दायरा होला, सिमाना होला, आयतन होला…। वाह ! क्या जिन्दगी…कुरा खेल्न थाल्छन् । कुरा खेल्न रोक्ने हैसियत कसको ? औकात कसको…? यो सार्वभौम अधिकार वा स्वतन्त्रताको उपभोग गर्दै खुसी हुन्छु ।
रिक्सा देखिरहेको छु, उसलाई ईसारा गर्दै अर्थात् ‘म जान्छु है तिम्रो रिक्सामा’ भन्ने संकेत दिँदै शान्तिचोकको अशान्त किराना दोकानमा उभिन्छु । अशान्त किराना दोकान यस अर्थमा कि त्यहाँ एकै दोकानका दुई दोकानदार आपसमा कुन विषयलाई लिएर हो, झगडिँदै हुन्छन् । दोकानमा आएको म ग्राहकलाई देखेर उनीहरू दुवै चुप लाग्छन् ।
अघिसम्म अँध्यारी श्रीमती दोकानदारको अनुहार हँसिलो हुन्छ । खुल्छ ।
नम्रतापूर्वक बोल्छिन्, “दाइलाई के दिउँ होला ?”
“खाम दिनोस् ।” मेरो जवाफ सुनेपछि उनको खुलेको अनुहारमा फेरि कालोमैलो बादल लागेको हो कि, हो कि जस्तो ठान्छु । तर, सरक्क एउटा खामको पाकेट मतिर
बढाइदिन्छिन् । नबोली ।
म भन्छु, “एउटा मात्रै चाहिएको ।”
श्रीमती दोकानदारको अनुहारमा झन् कालोमैलो बढेको देख्छु ।
कुना पसेको श्रीमान्तिर फर्केर कराउँदै उनी दोकानबाट छिन्मा बेपत्ता पो भइन् ।
उनले कराएको सुनियो, “खाम दिनू, म कोठामा जान्छु । केटाकेटीलाई खाजा बनाउँछु ।”
श्रीमान् दोकानदारको अनुहारमा न खुसीको, न दु:खको केही भाव देखिएन । बोल्दा पनि बोलेन श्रीमान् दोकानदार ! फुंग उडेको अनुहार देखाएर उसले मलाई एउटा खाम बेच्यो । मैले खाम किनेँ र रिक्सातर्फ लम्किएँ । रिक्सावाला मतिरै हेर्दै थियो । मानौँ भनिरहेको होस्, कत्ति ढिलो, छिटो गर्नूस् न !
म रिक्सामा बसेपछि उसले सोध्यो, “कत्त जेबे ?”
मैले भनेँ, “हाटखोला चल ।”
उसले फेरि भन्यो, “पचास टका लगते…!”
उसले रिक्सा अघि बढाइसकेको थियो । मलाई उत्रिनु कि बस्नुको संकटले अचानक घेर्यो । तर, सुटको इज्जत पनि त राख्नु पर्यो, तत्कालै रिक्साबाट उत्रिएर पैदल हिँड्न सकिन्थ्यो । भन्न सकिन्थ्यो, ला राख् तेरो पचास रुपियाँ ! म पैदल हिँडेँ । र, चल्दिन सक्थेँ पैदल ! यस्तो पैदल त कति हिँडेँ हिँडेँ । कति टाढा–टाढासम्म पैदल हिँडेको छु, यो जाबो हाटखोला के हो….? तर, उही मनमा गन्थन गर्नुबाहेक यथार्थमा रिक्सामा उपरखुट्टी लगाएर मुखमा ठट्टाको भाव उमार्दै रिक्सावालासित नोँकझोँक गर्दै अघि बढेँ । गुड्दै गरेको रिक्सावालालाई मैले भनेँ, “कथी करैछ, मौका के फायदा उठ्बैछ ? बन्द ओ तुहीँ करैछ, अ ढेवा ओ तुहीँ बढ्बैछ ?”
“कहाँ हम बन्द करैछिए दाजु ! यी नेता सब त उल्टे हम्रा अर्के जान मार् रहल छे । यत्तेक दिना बन्द कहीँ होइछे । हम्रा पेसेन्जर कहाँ भेट रहल छे यी बन्द मे । सब के मार् पड रहल छे दाजु…! मरैछिए हम्रा अर् के…।”
उसले आफ्नो भनाइमा धेरै पीडा ओकलिरहेको लाग्यो । मैले सोचेँ, जा यो पचास रुपियाँ तेरै पीडाको नाममा…।
अचानक झस्किएँ, रिक्सावालाको भाडा ५० रुपियाँ र मधेसी आन्दोलनकारीले घोषणा गरेको ५० लाखमा के कुनै तादात्म्य छ ?
फेरि ठट्टाझैँ गरी बोलेँ, “तु नही गेल, पचास लाख लेइला…?”
उसले सायद बुझेन । वा, बुझेर पनि बुझपचायो, बोलेन ।
मैले फेरि दोहोर्याएँ, “यी मधेसवादी नेता सब घोषणा कर्लके आन्दोलनमे मरैवालाके पचास लाख देबे । वहा बात कहलिए…।”
“धूर…! के देते पचास लाख ? एकर वापके घरसे लाब्ते…सार सब्…।” ऊ रिसायो, मसित होइन, आन्दोलनकारी नेतासित ।
फेरि बोल्यो, “पहिले कहै छेले राजा के हटाऊ । राजा त हट् गेले अब कथि चाहि ? अपन देसमे मिलजुलके रही अ विकासमे सब गोडे जुटै के बेर मे कथि के यी लडाइँ करै छे सार सब…।”
वाफ् रे, यो रिक्सावाल त केही जान्दैन भनेको त सबथोक जान्दो रहेछ । हच्किन्छु, अहँ ऊसित ठट्टा गरेर बोल्नु हुँदैन । ऊसित मात्रै किन कसैसित पनि यस्तो संवेदनशील विषयमा उडाएर गफ गर्नु हुँदैन ।
त्यसपछि धेरैबेर गुम्म बसेँ । तर, चिन्तनाले के गुम्म परिरहन दिनेथ्यो होला !
गोजीमा छामँे । भएभरका रुपियाँ हातमा झिकेर हेरेँ । भएभरका भने पनि जम्मा हातमा देखियो पाँच सयको एउटा नोट, एक सयको अर्को नोट, ५० को अर्को, २० को अर्को र १०, पाँचको एक–एक नोट । खुद्रा रेच्कीलाई गोजीबाट बाहिर झिकेको थिइनँ ।
भएछ त जम्माजम्मी रुपियाँ ६ सय ८५… अब खाममा कति हालाै ?
केटाकेटीदेखिको साथी, ‘तँ–तँ’ ‘म–म’ गर्ने साथी । उसकी छोरीको बिहे । पाँच सय त घटीमा दिनैपर्छ । श्रीमतीलाई भनेको सम्झिएँ ।
उसले केही भनिनँ । नाइँ, हुन्न पनि भनिनँ, हुन्छ पनि भनिनँ । तर, निकालेर दिई पाँच
सय रुपियाँ ।
त्यसपछि मैले अरू दाँत ङिच्याएँ, ‘अरू देऊ न, रिक्सा चढेर जान्छु ।’
उसले नबोली अरू एक सय थपिदिई । तर, बोली, “नुन छैन, आउँदा ल्याउनु होला ।”
फेरि कनेँ, “अरू देऊ न त, पुराना धेरै साथीभाइ पनि भेट होला । यसो चियासिया खानु पर्ला….।”
ऊ यसपल्ट भने विस्फोट भई, “यी लोग्नेमान्छेहरू कस्तो कुरा नबुझ्ने । घरखर्च पुर्याउन धौ–धौ छ । भोलि बिहान दूध कुन पैसाले ल्याउनुपर्ने हो, थाहा छैन । एकोहोरो लाग्या छ, लाग्या छ….।”
त्यसपछि उसले फन्किँदै बाकस खोली र रन्थनिँदै दुई–चारवटा नोट हातमा राखिदिई ।
र, बोली, “लु, जे–जे गर्नुपर्छ गर्नू । मसित भएको यत्ति हो । भोलि छोराछोरीलाई दूध कसरी ख्वाउने हो, आफैँ जान्नू !”
ऊ रिसाए पनि मेरो मुख हँसिलो भयो । मनमनमा भनेँ, बूढाबूढी भइसकेका केटाकेटीलाई सधैँ केको दूध !
रिक्सामा छु, उपरखुट्टी लगाएकै छु । हातमा पैसा छ, खाम छ । कति हाल्नू ? यो समस्या पनि हातमै छ । समाधान पनि हातमै छ ।
‘हाटखोला आउन लाग्यो, छिटो गर् अजय, छिटो खाममा पैसा हाल् र खाम कोटको खल्तीमा राख्…।’ मेरो मनले हतार लगाउन थाल्यो । यस्तैमा एउटा नोट थपक्क खामभित्र हालेँ । यसो गरिरहँदा मुख–मुद्रा केही खिस्रिक्क थियो, केही हँसिलो ।
हाटखोला चोकमा नै थियो पार्टी प्यालेस । पार्टी प्यालेसको नाम थियो– अजय पार्टी प्यालेस । यो पनि क्या गजब ! म, जिन्दगीमा समस्या, अभावबाट सधँै हारिरहने अजय र यो सधैँ धूमधामसित भोज पार्टी गरेर टन्न कमाइरहने– अजय पार्टी प्यालेस । भएन त गज्जब…।
रिक्सा रोकियो । उत्रिएँ । रिक्सावालाको हातमा ५० को नोट थमाइदिएँ । घटीबेसी गर्ने मेरो हातमा थिएन ।
त्यसपछि नजिकै रहेको पार्टी प्यालेसमा नजर फिराएँ । बाहिर नै केही साथी थिए– किरण, गोपी, बल्लभ, सुशील…।
उनीहरू कराए, ‘एई, कत्ति ढिलो आएको ?’ उनीहरूले भित्र लिएर गए । भित्र अरू साथीहरू देखिए– दीपक, राधेश्याम, प्रदीप, आनन्द, ज्योति, वासु आदि आदि ।
छोरीको बाबु मेरो लंगौटिया साथी सुमन खुसी हुँदै मनिर आयो । उसले अँगालो मार्यो । भन्यो, “खोइ, भाउजूलाई ल्याइनस् ?”
“उसलाई सञ्चो थिएन…।” यत्ति बोलेँ । कसरी भनुँ, सञ्चो थिएन होइन, बिहेमा आउने उसको लुगा थिएन । मनमनमा भनेँ ।
“जुन लुगा लगाएर गए पनि हुन्छ नि हौ !” मैले भनेकै थिएँ । उसले यत्रा–यत्रा आँखा फुकालेर हेर्दै भनेकी थिई, “अरू कस्ता–कस्ता दामी सारी लगाएर आउँछन्, म भने यस्तै झुत्रे, पुरानो, थोत्रे लगाएर जाउँ ?”
प्रश्न मैतिर तेर्सिएको थियो ।
उसले याने मेरो साथी याने केटीको बाबुले फेरि स्वागतद्वारतर्फ आफूलाई कुदायो, मलाई अरू साथीहरूका झुन्डमा छोडेर ।
हामी गफ गर्न लाग्यौँ । पुराना कुरा गर्यौँ । नयाँ कुरा गर्यौँ ।
धेरै साथी सपत्नी हाजिर थिए । चिनेका साथीका पत्नीहरूलाई ‘नमस्कार’ गरियो । नचिनेकासित परिचय आदान–प्रदान गरियो ।
मैले किरणलाई भनेँ, “बेहुली नानीकहाँ जाउँ न !”
उसले मलाई तानेर ‘ए, गएको छैनस् !’ भन्दै बेहुली नानी सजिएर बसेको ठाउँमा पुर्यायो । र, मलाई एक्लै पारेर फर्कियो ।
बेहुली नानी आफ्ना साथीहरूबाट घेरिएकी थिइन् । बा, आफन्त दिदीबहिनीबाट । जेहोस्, उनी मतर्फ आकर्षित भइन् ।
मैले बेहुली नानीलाई खाम अघि बढाइदिएँ । बेहुलीकी साथीले लम्किएर बेहुली नानीका हातबाट खाम आफ्नो हातमा लिइन् ।
बेहुली नानी सोध्दै थिइन्, “अनि हजुर…?”
म भन्दै थिएँ, “तिम्रो बुबाको म पुरानो साथी, केटाकेटीदेखिको ।”
बेहुली नानीको साथीले खामबाट नोट झिक्दै थिइन् र बोल्दै थिइन्, “नाम ?”
म असिनपसिन भएझैँ गरी बोल्दै थिएँ, “अजय । अजय शर्मा मेरो नाम…।
बेहुली नानीले एक सयको नोट ब्यागमा राख्दै थिइन् । र, बेहुली नानीकी साथीले खातामा टिप्दै थिइन् मेरो नाम । र, सायद टिप्दै थिइन्– एक सय रुपियाँ गोडधुवा । बेहुलीको बुबाको साथीबाट, त्यो पनि पुरानो साथीबाट । केटाकेटीदेखिको लंगौटिया साथीबाट ।
बेहुली नानीको बुबा अर्थात् मेरो लंगौटिया साथी गेटमा होला कसैलाई स्वागत गर्दै– अहँ, उसलाई पनि देखिनँ । म त्यसै गेटबाट एकोहोरो हँुदै बाहिरिएँ । यतिबेला मेरो दिमाग शून्य–शून्य थियो । खालि एउटै कुराले भने दिमागलाई टन्–टन् गरेर हानिरहेको थियो । मानौँ ठूलो भारी घनले हिर्काइरहेको थियो कि, त्यो खाम कसैले खोलेर हेर्न सक्छ, नाम नलेखेरै दिए पनि नाम टिप्न सक्छ, यस्तो किन सोचिनँ…?
आँखा वरिपरि अँध्यारै–अँध्यारो देख्दै याने कसैलाई नदेख्दै र कानमा उही ठूलो घन बज्रिएर कान नसुन्ने हुँदै म यतिबेला हाटखोलाको अजय पार्टी प्यालेसबाट हुत्तिँदै टाढा–टाढा पुगिसकेको थिएँ । शून्य–शून्य हुँदै पैदल हिँडिरहेको थिएँ..।
प्रकाशित: पुस २३, २०७२
(स्रोत : नेपाल साप्ताहिक)