हास्य-व्यङ्ग्य : गिरगिर

~चर्चित ढुंगेल~Charchit Dhungel

खाडी देशको माटो टेकेकै दिन ‘गिरगिर’ शब्द सुनिन थाल्छ। ‘गिरगिर’ शब्दको माने ‘किचकिच’ हो। उता हाम्रो देशतिर कराएर, गाली गरेर कसैको सातो लिनुलाई ‘किचकिच’ भनिन्छ तर कसैलाई धम्क्याएर, झाँको झारेर थुरथुर पार्नुलाई यतातिर ‘गिरगिर’ भनिन्छ। पहिले नै खाडीमा पसिना बगाएर पानी खाइसकेका भुक्तभोगीहरुलाई ‘गिरगिर’ शब्द नौलो होइन तर पहिलोचोटी यताको सफरमा आएकाहरुलाई ‘कौतुहलको कोलाज’ भएर ‘खजुरको रुख’ ठिङ्ग उभिएजस्तै बाटो छेकेर उभिन्छ ‘गिरगिर’ शब्द। जीवनमा ‘मिनिङ्ग’ थाहै नभइ मान्छेले अनेक शब्द सुन्छ, उच्चारण गर्छ। त्यस्तै यता खाडीमा खोसि्रन आएका कामदारहरुले ‘गिरगिर’ शब्दको असली माने थाहै नपाइ सुन्न थाल्दछन्। जसै दिनहरु यताको बसाइमा लम्बिन्छन् ‘गिरगिर’ सहने बानी लाग्दै जान्छ।

खाडी खसेको भोलिपल्ट ‘राम्रैसँग आइपुगेँ’ भन्नलाई फोनमा ‘हेल्लो’ भनिनसक्दै ‘साहुले ”किचकिच” गरेर मार्न लागिसक्यो, पैसा चैँ बेलैमा पठा है नानी’ भन्ने नम्र ‘गिरगिर’ सुरु हुन्छ। पहिलो सेलरी थापेर गन्न नभ्याउँदै दैलोमा उभिएर स्वास्नीले फोन्छे, ‘कान बुच्चै भएको छ, एकजोर मुन्द्रा हाल्न पाए हुन्थ्यो। ऋण त पछि तिर्दै गरौँला, यसो एक तोला सुन आउने पैसो पठाइदिनुस्।’ स्वास्नीको यो ‘हुकुमी गिरगिर’ सुनिनसक्दै चेलीबेटीको ‘घुर्क्याउनी गिरगिर’ सुन्नुपर्छ। दिदी भन्छिन्, ‘मेरो भाइ भनेको तैँ त होस् नि। अरुको त कुरो छोड्दे, तेरै मात्र आस छ। भाञ्जाले ‘बिजुली साइकल’ भनेर घरै उचाली सक्यो। ए मेरो भाइ, पठाइदेन गोडातिसेक हजार।’ दिदीलाई ‘हुन्छ, पठाइदिन्छु’ भनेर थपथप्याइ नसक्दै अर्की बहिनीको ‘मिस्डकल’को ‘नोटिफिकेसन’ले ‘इरिटेसन’ बनाउँछ। ‘के परेछ त’ भनेर फोन्दा बहिनी भन्छे, ‘दाजु, अहिले माइत आएकी छु। भाञ्जाको हातमा एउटा भए पनि बाला बनाइदिने दाम पठाइदे। पहिलोचोटी आएको भाञ्जालाई ‘रित्तै’ पठाउँदा ‘तिमेरकै नाक’ जाने हो। तीनभाइ मिलेर यत्ती गर।’

बहिनीको ‘आग्रह गिरगिर’ सुनेर ‘अर्को महिनासम्म पर्खि, पठाइदिउँला’ भनेर फोन काटिनसक्दै ‘कल वेटिङ्ग’ भएर भाइको नामको कल देखिन्छ। भाइको आइफोन र ल्यापटप पठाइदिनुपर्ने ‘गिरगिर’ सुनेपछि काम गर्ने जाँगर वालुवासँगै उड्छ। यसरी पैसा माग्ने ‘गिरगिरे’ कल आउँदा कत्तिलाई त काल आए जस्तै लाग्दो हो।

उता भारतीय अभिनेता जेनेलिया डिसुजा र रितेश देशमुखले झ्याँइ पारेको फोटो फेसबुकमा फैलिएजस्तै ‘गिरगिर’ गर्नेहरु पनि देशदेशान्तरमा फैलिएका छन्। सामाजिक सञ्जालले त धेरैलाई बेहाल बनाएको छ। एकदिन फेसबुकमा छिर्ने बित्तिक्कै फुपुकी नातिनिको ‘गिरगिरभरे म्यासेज’ आयो, ‘मामा, त्यतातिरबाट यता नेपालतिर मोवाइलबाट ‘ब्यालेन्स ट्रान्सफर’ गर्न मिल्छ अरे, यो भाञ्जीलाई दुईचार हजार ट्रान्सफर गरिदिनु न।’ अर्का एक नातेदारले ‘फूलको झारले रेटे’ जस्तै गरी ‘गिरगिर’ गर्न थाले, ‘तपाईँ त मालामाल पैसो कमाउनु हुन्छ रे। ‘चाँदी कटाइ’ छ रे तपाईँको। हाम्लाई पनि यसो सके भिषा नसके ‘डो’ पठाइदिए खाएर भाग्ने थिएनौ, आएर तिर्ने थियौँ।’ अर्का एकजना ‘ओल्ड इज गोल्ड’ साथीले फेसबुकको वालमै प्वाल पर्नेगरी ‘खबरदारी गिरगिर’ लेखेछन्, ‘के हो मित्र, पैसाको मुख देखेपछि बैँसको साथी पनि चिन्न छोडियो? हाइहेल्लोसम्म छैन होइन? खाएर पचाएर नतिर्ने त होइनौ नि हामी पनि, बेलामा तिर्ने थियौँ। ‘साउँब्याजै हानेर हिँड्ने’ सोचियो कि के हो? एउटा माघले जाडो जान्छ भने जाओस्।’ अर्की एउटी इजरायलतिरकी ‘केयरगिभरे सोल्टिनी’ले भित्ताको फोटोमा ‘गिरगिरे कमेन्ट’ हानिछन्, ‘कमाउने भएपछि परिवर्तन भइएछ नि सोल्टीज्यु। हामीलाई ‘कुकाठै’ ठान्न थाल्नु भो त। तपाईँको भन्दा त हामी नै बेसी कमाउँछौँ त। तर पनि हामीमा घमण्डको ‘घ’ पटक्कै छैन। तपाईँले चैँ यसरी किन चटक्कै माया मार्नु भएको?’

बाउपट्टिका, साहुपट्टिका, ससुरालीपट्टिका, मावलीपट्टिका र आफैँपट्टिका नातेदार र साथीभाइको ‘गिरगिर’को जवाफ दिएर वाक्क, दिक्क र हारदिक्क नहुने यो खाडीमा कोही भेटियो भने त्यो ‘नमुना’ हो। तर त्यही ‘नमुना’ले पनि फोरम्यानको, एकोमोडेसन इन्चार्जको, स्टोरकिपरको, चार्जेन्टको, ड्राइभरको, सुपरभाइजरको, एकाउन्टेण्टको, इन्जिनियरको वा मुदिरको ‘गिरगिर’ सुनेकै हुन्छ, सहेकै हुन्छ। खाडी आएको मान्छेले बरु ‘खब्बुस’ र ‘खजुर’ नखाला ‘गिरगिर’ खाएकै हुन्छ।

तर यता ‘भिमु– भिजेको मुसो’ भएर अठार घण्टा घोटिँदाको पीडा अनुभव गर्ने र गर्ममा तल र माथिको तातोले लखतरान पारेर शरिर खाएको देखेर मनको बह बुझ्ने कोही छैन। चिनारुहरु जस्लाई पनि पैसो चाहिएको छ र नै होला यता हुनेहरुले ‘गिरगिर’ पाइएको छ। फर्किएर घर जानेहरुलाई पनि पँधेरोमा ‘अँधेरो मुख लाउने गरी’, चौतारी र चिया पसलमा ‘उल्टी आउने गरी’ कुरा काटेर ‘गिरगिर’ गरेको भोगेर आउनेहरुको ‘कथा’ सुनिनसक्नुको छ।

March 20th, 2012

(स्रोत : Mysansar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.