~तुलसी पान्डे~
जीवनका हर पाइलामा
संयम हुन सिक,
अशान्तिमा रूझेको यो देशलाई
शान्त पार्न सिक
तिमी पंक्षी होइनौ तर पनि
अडिग भई अग्ला हिउँचुली
अनि शिखर चुम्न सिक
जहाँ बुद्ध जन्मे अनि
सीता र भृकुटी उदाइन
शिर ठड्याई गौरव गर्दै
त्यही देशको हुन सिक
बलिष्ठ पाखुराले उठाएको ढुंगाले
नेपालकै भित्ता ठडियोस्
धरधरी चुुहिएको नेपाली पसिनाले
नेपालकै धरती भिजोस्
पुर्खाको आर्जनलाई शहीदको रगतलाई
अनि प्रकृतिका सुन्दर बरदानलाई
विश्वासले अड्याउन सिक
हृदयले स्पर्श गर्न सिक
नेपाल आमाको चित्कार सुन
हे युवा हो गुहार गुहार
अब तिमी नै उठ्न सिक
हातमा हात मिलाई जुध्न सिक
अन्याय अत्याचारको अन्त्य गर्न
नेपाल आमाको घाउ कोतर्ने यी किरा मार्न सिक
यो शान्त देशको भविष्य तिम्रै हातमा छ
अब यो देश बनाउन सिक
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक १३ – २०६६ माघ २७ गते बुधबार)