लघुकथा : याचना

~केशु बिरही~Keshu Birahi_new

उसले जीवनमा कहिल्यै पनि अरुको अघि हात पसारेन । कुनै कुराको पनि याचना गरेन । उसले अरुलाई दिन मात्र जान्यो । लिन कहिल्यै पनि जानेन । जीवन भरी दान मात्र गरिरह्यो वाल्यकालमा होस या किशोरावस्थामा होस उसको कहिल्यै केही पनि डिमाण्ड थिएन । यस्तो भए खान्छु । उस्तो भए खाँदिन कहिल्यै पनि भनेन ।जे दियो त्यसैलाई खुशी मानेर खाइदियो । रमाइलो मानेर लाइदियो । यस्तै यस्तै चर्चा सुनिन्थे उसका वारेमा । ऊ ठूलै भए पछि घरमा अंश वण्डा भयो ।

दाजुहरूले भए भरको राम्रो राम्रो जग्गा जमीन आ –आफ्नो नाममा पार्दा मात्र होइन आमाको मुत्यु पछि बाबुले कान्छी आमा भित्र्याए । वचेखुचेको सम्पति कान्छी आमाले दावी गर्दा पनि उसले कुनै गुनासो गरेन । अरु के डी भी परेर अमेरिका गएको अति मिल्ने साथीले तँलाई केही चाँहिन्छ कि भन,भन्दा समेत उसले केही चाँहिदैन भन्यो ।

अपुताली परेको आफ्नै कान्छा बाउको सम्पति पनि उसले खान मानेन । अरुको लिनु कहाँ हो कहाँ उसले आफूसंग भएको सवै सम्पति गरिव गुरुवालाई वाँडिदियो । भएको एउटा घर पनि विध्यालयको नाममा गरिदियो । ऊ दानी कहलियो । उसको त्यस्तो व्यबहार देखेर आफन्त तथा छरछिमेकीहरू चकित भए । कस्तो कुनै कुराको पनि मोह नभएको मानिस रहेछ भने । कतिले त जीवनको मोह नवुझ्ने कस्तो लठ्ठक रहेछ भन्न पनि पछि परेनन । तर आज अचम्म भएको छ । ऊ दुई हात पसारेर केही मागिरहेको छ । सवैसंग याचना गरिरहेको छ । तर उसको याचना कुनै भौतिक सम्पति प्राप्तिको लागि भने थिएन । उसले त आफू उभिएको एक पाइला माटो मागिरहेको थियो । किन भने उस्ले टेकेको माटो विखण्डित गर्ने प्रपंच भैरहेको थियो ।

– तेह्रथुम

keshubirahi2008@yahoo.com

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.