~शशिधर भण्डारी~
कुनै पनि भाषाको आधार र अपनत्व हुन्छ। आधार र अपनत्वको पृष्ठभूमिबाट भाषाले अधिरचनामा एउटा रूप लिन्छ। नेपाली भाषाको आधार निर्माण, अपनत्व र अधिरचनामा यसको सुन्दर तस्वीर निर्माणको इतिहासमा नेपाली भाषाको पक्षमा उठेको झर्रोवादी आन्दोलनको ऐतिहासिक महत्व रहेको छ। त्यसका लागि डा. तारानाथ शर्मा कम्ती स्तुत्य हुनुहुन्न। उहाँको पातलो “सर्मावाद” नेपालको प्रगतिवादी आन्दोलनमा समेत चर्चाको शिखरमा रहिरहयो। चाहे जुन रूपमा होस्।
केही भाषा शास्त्रीहरूको तर्कका आधारमा मूल्यांकन गर्दा विश्वमा संसकृत मात्र त्यस्तो एउटा भाषा हो। जुन भाषा महर्षि पाणिनीको व्याकरणलाई नाघेर वा परिमार्जन गरेर अगाडि गएको छैन। हजारौं वर्षदेखि संस्कृत व्याकरण अटल र स्थिर रहेको देखिन्छ। तर आर्यव्रतमा बोलिने भाषाको मात्र होइन। यूरोपमा बोलिने रूसी, जर्मनी, फ्रेन्च लगायतका भाषाहरूको जननी भाषा संस्कृत हो। तसर्थ संकृस्त भाषा स्थिर भए तापनि त्यसका सन्तानहरू गतिशील छन्। नेपाली भाषा त संस्कृतको धेरै नजिकको भाषा मात्र होइन सजिलो, गतिशील र इतिहासमा असाध्य दु्रत गतिमा विकास भएको भाषा हो, यो विकासको प्रवाहमा इतिहासको एउटा खन्डहरमा आउँदा जर्रावादी आन्दोलनको पनि महत्वपूर्ण योगदान रहेको तथ्यलाई नर्कान सकिंदैन। तर यो गतिशील र द्रुत गतिमा विकास भएको भाषा हुनाले झर्रोवादको परिकल्पनाको घेरामा मात्र अड्न सकेन र अडाउन पनि सकिंदैन।
भाषा मानव जातिको विचार विनिमय गर्ने साधन हो। भाषा र चिन्तनको गहिरो सम्बन्ध छ। चिन्तनको गतिशीलताको बेगमा मानवको प्रत्यक्ष ज्ञानलाई बौद्धिक ज्ञानको स्तरसम्म उठाउन भाषाको पनि गतिशीलता अनिवार्य बन्न जान्छ। महर्षि पाणिनीको संस्कृत व्याकरण बदलिएन संस्कृतका सन्तान भाषाहरू गतिशील भए। तसर्थ जननी भाषा स्थिर मात्र रहेन, विकास पनि त भएन। मार्क्सवादले सबै कुरालाई वर्गीय रूपमा हेर्छ तर भाषालाई विकासको सिद्धान्तमा हेर्दछ किनभने समाजमा वर्गको उत्पत्ति हुनु भन्दा पहिले भाषाको उत्पत्ति भएको थियो। भाषाले प्रकृतिका विरूद्धको संघर्षमा एउटा औजारको भूमिका निर्वाह गरेको थियो। भाषा एंगेल्सको निषेधको निषेध भन्ने सिद्धान्तको बाटोबाट पनि अगाडि बढ्दैन। क्रमबद्ध विकास यसको तरिका भएको परिवेशमा झर्रोवाद पनि त्यही क्रमबद्ध विकासको एउटा आयाम हो। विकासको गतिको सिलसिलामा अगाडि आउने कुनै पनि आयामलाई त्यही रोक्न सकिंदैन तर बिर्सन पनि हुँदैन। रोक्दा विकासको गतिमा अवरोध हुन्छ बिर्संदा भाषिक आधार र अपनत्व गुम्छ। त्यसकारण अपनत्वको पक्षमा उठेको झर्रोवादको झन्डालाई विकासवादको उत्ताउलो उन्मादले ढाल्न हुँदैन। क्रमिक विकाससँग भाषालाई साँगुरो बनाउने होइन शब्द भन्डार बढाउँदै समृद्ध बनाउनुपर्दछ। भाषाका प्रगतिवादी पक्षधरहरूले भावी विश्व समाजमा एउटै मानवीय भाषाको परिकल्पना गरेका छन्। त्यो परिकल्पना विभिन्न भाषाहरूका बीचको शाब्दिक आदान प्रदान र भाषाहरूलाई फल्न फुल्न दिने सिद्धान्तबाट मात्र पूरा हुन सक्दछ। तर अहिलेसम्मको भाषाको इतिहास एउटाले अर्कोलाई विस्थापित गर्ने संघर्षबाट गुज्रँदै आएको छ। त्यसैले अन्तर भाषिक समृद्धिका स्थानमा जटिल भाषा प्रतिस्थापन हुँदै त्यो ठाउँ सरल भाषाले लिने गरेको परिदृश्य हाम्रा अगाडि छ।
भाषाशास्त्रमा आधार र अधिरचना ऐतिहासिक भौतिकवादका महत्वपूर्ण अवधारणा हुन्। आधारले समाजको आर्थिक संरचनालाई जनाउँछ भने अधिरचनाले राजनीतिक, धार्मिक, नैतिक, दार्शनिक, कानुनी, राजनीतिक आदि विचार संस्थान तथा संगठनलाई जनाउँछ। कैयौं मार्क्सवादीहरूले त भाषालाई अधिरचना नै मान्दछन्। भाषालाई अधिरचना मान्ने हो भने त सामाजिक व्यवथा जस्तै एउटा चरणमा त्यो ध्वस्त हुन पर्दथ्यो तर भाषाशास्त्रको इतिहासमा त्यस्तो दृष्टान्त देखिंदैन।
वर्गस्थितिसित भाषाको सम्बन्ध नै हुँदैन भन्ने होइन। वर्गस्तर अनुसार भाषामा विशिष्ट शब्द, वाक्यांश वा औपचारिक अति औपचारिक प्रस्तुतांश मिलाउने प्रचलन विश्वका अधिकांश भाषाहरूमा पाइन्छ। नेपाली भाषामा झन “आइवक्सियोस्” “खाइवक्सियोस्” जस्ता शाही भाषाका प्रस्तुतिहरू एउटा वर्गस्तरबाट अन्य वर्गस्तरतिर पनि सदैै गइरहेका छन्। तर त्यसमा भाषिक व्याकरण भिन्न हुँदैन। त्यसैले स्टालिनले यसलाई भाषिक वर्गीयता नबताएर सीमित घेरामा रहेको एक प्रतिशतको भिन्नता बताएका छन्। एकथरी विद्वानहरूले भाषालाई चिन्तनबाट अलग गराउन बहिरा र संकेत भाषासँग तुलना गरेर व्याख्या गर्ने गरेका छन् तर स्टालिनले त्यसप्रकारको तर्कलाई चिन्तन र ज्ञानको निरिहता बताएका छन्।
भाषिक घृणा एउटा पिछडिएको चिन्तन प्रणालीको परिणाम हो। एक भाषाले अर्को भाषालाई घृणा होइन सम्मान गर्न सिक्नुपर्दछ। भाषिक सम्मान सभ्यताको परिचय पनि हो। भिन्न भाषा प्रतिको असहिष्णुता र भाषामा रहेको अवैज्ञानिकताका कारण विश्वमा अस्तित्वमा रहेका ६ हजार भाषा मध्य अहिले विश्वमा ३ हजार भाषा मात्र अस्तित्वमा रहेका छन्। भाषिक सम्मानको इतिहासमा भारत मात्र एउटा उदाहरण होइन, स्वीट्जरल्यान्डको संसदमा पनि केही सांसदहरू फ्रेन्च भाषामा बोल्छन् तर त्यसको अर्थ स्वीस भाषाको घृणाका रूपमा त्यहाँ बुझंदैन। भाषिक अपनत्वमा मात्र जोड दिने चिन्तनप्रणाली पनि चेतनाको विकासमा पछाडि परेका प्रशस्त उदाहरण छन्। उदाहरणका लागि केन्यमा स्वाहिली भन्ने मुख्य भाषा हुँदाहुँदै त्यसलाई प्रचलनमा नल्याई ५ कक्षासम्म स्थानीय, जातीय भाषामा शिक्षा दिने नीति बनाइयो तर तान्जानियाले यस्तो भाषिक संर्कीणतालाई प्राथमिकतामा नराखेर प्रचलित भाषालाई स्थान दियो। त्यसको स्वाभाविक परिणाम केन्याको विकास र क्षमता अभिवृद्धि तान्जनियाको तुलनामा धेरै पछाडि पर्यो। नेपालमा नेपाली भाषाले गरेको विकासलाई माइनस गरेर जनजातीय वा अन्य भाषाका लिपिहरू खोज्नु ऐतिहासिक र पुरातत्वको खोजका हिसाबले उपयुक्त भए तापनि व्यवहारिक जीवनका लागि बेकार नै हो। त्यसप्रकारको चिन्तन प्रणालीले अगाडि होइन पछाडि फर्काउँछ।
तात्कालिन सोभियत संघमा पनि भाषाको प्रश्नमा उदारवादी र कडा विचारहरू देखा परेका थिए। त्यतिबेला राष्ट्रका उच्च पदस्थ र गर्वनरहरूले आफ्ना छोराछोरीहरूलाई रूसी भाषा पढाउँथे तर भाषण गर्दा रूसी भाषाको कडा आलोचना गर्दथे। लेनिनले यस्तो व्यवहारको निर्मम आलोचना गरेका थिए। लेनिनले यो ढोंगलाई आफ्नो गालामा आफै थप्पड हान्ने प्रवृत्ति बताएका थिए। आज नेपालमा केही जनजातिहरूले आफ्ना भाषाका लिपि र भाषा खोज्न थालेका छन्। ऐतिहासिक खोज र इतिहास अध्ययनका लागि र आफ्नो पहिचानका लागि त्यो खोजको महत्व छ तर त्यही भाषामा पाठ्यक्रम बनाउने एकोहोरो जोडले त्यो जातिलाई माथि उठाउँदैन पछाडि पार्दछ। त्यसैले आफ्ना छोराछोरीलाई आफ्नै मात्र भाषामा शिक्षा दिने दिशामा जनजातिहरू जान सक्दैन। यो समयको चाँप हो त्यसैले लेनिनकालको सोभियत रूसमा जस्तै छोराछोरीलाई नेपाली र अंग्रेजी पढाउने तर ती भाषाको खेदो पनि खन्ने संस्कृति हामी कहाँ पनि स्थापित हुँदैछ। त्यसो त हामी यतिबेला अंग्रेजी भाषालाई साम्राज्यवादी भाषा भनेर इन्कार गर्न थाल्यौं भने वा कम्तीमा पनि हिन्दी बुझेनौं भने दुनियाँलाई बुझ्न कठिन हुन्छ। आफ्नो भाषाको विकासमा लाग्नु एउटा महत्वपूर्ण काम हो। त्यही काम गर्न सामाग्री पाउन धेरैले बोल्ने विकसित भाषा नजानी घरै छैन। चीजलाई बुझाउन एउटै भाषामा पनि अन्तर हुन्छ। उदाहरणका लागि अंग्रेजीमा अमेरिकीहरूले रंगलाई अययिच भन्दछन् भने ब्रिटिसहरूले अययिगच भन्दछन्। लेनिनले भाषालाई क्रमिक विकासवादको सिद्धान्तको आलोकका रूपमा लिएका छन्। भाषालाई चिन्तनको प्रतिक्रियाका रूपमा लिंदै स्टालिनले “रूसी भाषाले अक्टुवर क्रान्ति अघि रूसी पूंजीवाद र रूसी पूंजीवादी संस्कृतिका त्यसरी नै सेवा गरेको थियो। जसरी अहिले त्यसले रूसी समाजको समाजवादी व्यवस्था र समाजवादी संस्कृतिको सेवा गर्दछ।” भनेका छन्।
नेपाली समाजमा भाषा विज्ञानका सन्दर्भमा स्पष्ट र स्तरीय दृष्टिकोणको विकास हुन नसकेका कारणले राजतन्त्रको अन्तसँगै नेपाली भाषालाई पनि अन्त्य गर्न पर्दछ भन्ने तहसम्मका अभिव्यक्तिहरू प्रकट भए। यो भाषालाई कामकाजको भाषा मान्न हुँदैन भन्ने सोंचाइहरू देखा परे। यो भाषा जस्तो चिन्तनको प्रतिक्रिया जनाउने साधनलाई वर्ग, भाषा र सम्प्रदायमा गिराउन खोज्नु गए गुज्रेको चिन्तनप्रणालीको उपज हो। भाषाको टिकाउपनको कारण त्यसको व्याकरण व्यवस्था, शब्द भन्डार र सहज उपयोग हो। अंग्रेजी भाषा सहज उपयोगका रूपमा भारतमा स्थापित भएको कारणले १५ अगस्त १९४७ मा अंग्रेजहरू साम्राज्य छोडेर गए तर अंग्रेजी भाषा भारतमै बसिरह्यो। तुर्क एकीकरणकर्ताहरूले बहकन जातिहरूको भाषालाई अपांग बनाउन सय वर्षसम्म प्रयत्न गरे। बल्कन भाषाले तुर्कहरूका केही शब्द आत्मसाथ गर्यो, मूल शब्द भन्डार र व्याकरणको व्यवस्थापनलाई जोगाउँदै सरलीकृत गर्दै जाँदा बल्कन भाषा अपांग भएन थप समृद्ध भयो। त्यसकारण भाषाको मूल शब्द भन्डार र व्याकरण व्यवस्थापनलाई जोगाउन सक्ने हो भने आगन्तुक शब्दहरूले भाषालाई थप समृद्ध, सरल र धनी बनाउँछन्। नेपाली भाषाको विकास एउटा लामो कालखन्डबाट भएको छ। नेपाली समाजमा बोलिने तामाङ, मगर, नेवारी, भोटे, तमु, भोजपुरी, मैथली, उर्दु, थारू, किराँत आदि सबै भाषाका ऐतिहासिक पृष्ठभूमिहरू छन्। अब हिन्दी र अंग्रेजी भाषाको प्रभाव त झन बढेको छ। ती सबै भाषा प्रति सम्मानको भावना राख्नु पर्दछ र विकासका लागि अवसर दिनुपर्दछ। निषेध गर्ने होइन, भाषा क्रमिक विकासवादको बाटोबाट हिंड्ने र सामाजिक व्यवहारको महत्वपूर्ण माध्यम भएकोले युग सापेक्ष विकसित र सामाग्रीयुक्त भाषालाई आत्मसाथ गर्नै पर्दछ।
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३७ – २०६७ श्रावण १९ गते, बुधबार)