लेख : नाम उर्फ उपनाम

~पदमसिंह कार्की~Padma singh karki

न्वारानको नाम तीर्थमाधव जुरे पनि लक्ष्मीपूजाको रात जन्मेकै कारण लक्ष्मीप्रसाद देवकोटाका रूपमा प्रकट भए । पूर्णिमामा जन्मेका पूर्णलाल श्रेष्ठ औपचारिक रूपमा सहिद गंगालाल भएर अमर रहे । त्यसै गरी चूडामणि बनारसको प्रसादका रूपमा विश्वेश्वरप्रसाद कोइराला बनेर नेपाली राजनीतिको शिखर पुरुष कहलिए भने बनारसमा युगवाणीको सम्पादन गरिरहेका लीला नटेश्वर शर्मा प्रसिद्ध समालोचक ईश्वर बरालका रूपमा स्थापित भए ।

प्रवासमा गोपाल सिंहले पहिचान हेतु ‘नेपाली’ उपनाम राखे भने आधा शताब्दीपछि गीतकार ‘गोपालजी नेपाली’ भएर झुल्किए । नाटककार भीमनिधि तिवारीको उपनामको विरासत बोकेर पत्रकार गोविन्दानन्द ‘वियोगी’ भए । उनकै भाइ वासुदेवानन्द वैद्यचाहिँ कवि ‘वासु शशी’ भए । प्रजातन्त्रको पूर्वसन्ध्यामा महाकविका भाइ मधुसूदन देवकोटाले ‘विरही’ बनेर शारदा पत्रिकामा कविता छपाएको तीन दशकपछि हरिहर आचार्यले ‘विरही’को परिचय पत्रकारितामा चम्काए ।

उपनामको लहरमा प्रशासक सुन्दरप्रसाद शाह ‘दु:खी’ हुँदा गोविन्दबहादुर मल्ल ‘गोठाले’ भए । केदारमान श्रेष्ठ ‘व्यथित’, लवबहादुर प्रधान ‘गाउँले’, श्यामप्रसाद ‘वैष्णव’ र पूर्णप्रसाद ‘ब्राह्मण’ अनि नाम नै फेरेर मधुसूदन राजभण्डारी ‘चित्तरञ्जन नेपाली’ इतिहासकार भए भने लोकबहादुर थापा गजलकार ‘बुँद राना’ भए । त्यसैको सेरोफेरोमा प्रगतिशील फाँटमा रामेश्वर चालिसे रमेश ‘विकल’ भए भने फणिन्द्र ‘खेताला’ हुँदै बलराम ‘श्रमजीवी’ अनि महाकाव्यकार मोदनाथ पौडेल ‘प्रश्रित’ बने । त्यसै गरी वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्मा ‘सेवक’का नाममा सबैजसो विधामा छाए ।

वीरगन्जमा जन्मेका चन्द्रप्रसाद प्रधान, उपन्यास विधामा हृदयचन्द्र सिंह भएर कीलो नै गाडे । उनैका भाइ गोविन्दप्रसाद प्रधान समालोचक कृष्णचन्द्रसिंह प्रधानमा दरिए । कुलचन्द्र कोइरालाले ‘पाखयामनु’ जोडे भने चेतमान सिंह भण्डारी उर्फ मनु ब्राजाकी गजलतिर लहसिए ।

उता हास्यव्यंग्यकारले त उपनामलाई पेवा नै बनाए । केशवराज लामिछानेले पिँडाको थातवासको सम्झनामा ‘पिँडाली’लाई गम्काएको सिको गर्दै भतिज जैनेन्द्र लामिछानेले ‘जीवन’ उपनामलाई दिगो बनाए । समकालीन वासुदेव लुइँटेल ‘भूतको भिनाजु’ भए । भैरव अर्यालले ‘ अपरिचित’ रोजे भने रामकुमार पाण्डे ‘टपर टुइँया काजी’का रूपमा चिनिए । नेपाली व्यंग्य चित्रमा पनि विशिष्ट कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’का रूपमा चिनिए । अनि श्यामकृष्ण श्रेष्ठ ‘खोकना’ भए ।

यही मेसोमा श्रीधर खनालले ‘दीर्घबाहु’को नामले जासुसी उपन्यास नै लेखे । यही मेसोमा जन्मथलोको उपनाम गाँस्नेहरूको पनि कमी छैन । भाषाविद् बालकृष्ण पोखरेल ‘रूपावासी’ भएजस्तै ‘मन्थलीय’ र सिन्धुलीय मात्र होइन, हिरण्य भोजपुरे र लक्ष्मण गाम्नागेसम्म क्रमभंग भएन ।

नेपाली कविताका लोकप्रिय कवि भूपेन्द्रमान शेरचनले जनवाद र धनवादको जुहारी लेखेर बनारसमा ‘सर्वहारा’ भए । पछि मात्र भूपी शेरचन भए । गीतकार तथा कवि हरिभक्त कटुवालको न्वारानको नाम हुमबहादुर हो भने प्रवासी प्रसिद्ध उपन्यासकार लीलबहादुर क्षत्रीको उपनाम ‘कालीकोटे’ हो । पूर्वकुलपति तिलविक्रम नेम्वाङको उपनाम ‘वैरागी काइँला’को बिँडो थाम्दै प्रदीपकुमार राईले ‘व्याकुल माइला’ मात्र होइन, ‘सयौँ थुंगा फूलका हामी’ लेखेर गणतन्त्र नेपालका राष्ट्रिय गानका रचयिताका रूपमा राष्ट्रिय सम्मान नै हात पारे । गायक गणेश राई ‘रसिक’, दार्जीलिङका अच्छा राई ‘रसिक’ दुवै बिर्सन नसक्ने उपन्यासकार पनि हुन् ।

पत्रकार किशोर नेपाल कथाकारका रूपमा ‘झुत्रे’ नामले चिनिन्छन् भने शंकरप्रसाद श्रेष्ठ कवितामा ‘शैलेन्द्र साकार’ हुन् । नेपाली गद्य साहित्य शिरोमणि शंकर लामिछानेको अतिरिक्त नाम शंकर गार्गेय हो भने शिरीषको फूलमा मदन पुरस्कार पाउने ‘पारिजात’ वास्तवमा विष्णुकुमारी वाइवा हुन् भने ‘छिन्नलता’ रमलादेवी शाह हुन् । अनि, मञ्जु तिवारीले ‘काँचुली’ राख्न रोजिन् । कुलपति गंगाप्रसाद उप्रेतीले पनि ‘परिमल’ उपनाम धारण गरे ।

साहित्यमा बेग्लै ब्रान्ड नामबाट चिनिने हेतुले राजा महेन्द्र ‘मवीवी शाह’ भए । अनि, कमलमणि दीक्षित ‘कदी’ भए । गोरखापत्रका सम्पादकद्वय बालमुकुन्ददेव पाण्डे र रामचन्द्र न्यौपाने ‘वादेपा’ र ‘राचन्यौ’ अनि धनुषचन्द्र गौतम ‘धच गोतामे’ मात्र भएर छोट्टिए । चन्द्रप्रकाश ‘सीपी’ भए । छत्रकेशरी ‘सीके’ प्रसाईंजस्तै राधाकृष्ण ‘आरके’ मैनाली भए । मोहनविक्रम सिंह ‘एमबी सिह’ भए । दुर्गाप्रसाद ‘डीपी अधिकारी’ र खड्गप्रसाद ओली ‘केपी’ ।

साहित्यकारको हकमा गीतकार शंकर कोइराला ‘एस्पी कोइराला’मा प्रकट भए भने राजेश्वरदत्त चटौत आरडी प्रभाषका रूपमा कोशकार बने । रत्नदास खड्गी जात लुकाउन ‘प्रकाश’ बनेझैँ जुठबहादुर खड्गी माओवादी गायक जेबी टुहुरे बने । तर, दानवीर रामबाबु प्रसार्इं र विद्यावीर बालकृष्ण पोखरेलले जटिल नाम राखेर उच्चारण गर्न हम्मे पारे ‘खनुपरुदे’ र ‘केकेमनुचक्यो’ । गोविन्दबहादुर मानन्धर नेपाल भाषामा ‘धुस्वाँ’ सायमी भए । प्रजातन्त्रको नाममा नाटककार बालकृष्ण समले ‘शेर’ झिके भने समालोचक तारानाथले झर्रोवादका नाममा ‘ताना’ मात्र लेख्न थाले ।

छद्म नामको चलन भूमिगत र छापामार हुँदै प्रजातन्त्रमा पनि उपयोग हुन थाल्यो । पण्डित जवाहरलाल नेहरूले प्रधानमन्त्री छँदा ‘चाणक्य’का उपनामले आफ्नैविरुद्ध लेखेको आलोचनात्मक राजनीतिक टिप्पणी उल्लेख्य रह्यो । पञ्चायत कालमा मदनमणि दीक्षितको समीक्षामा र मातृभूमिमा ‘चक्रपाणि’ र ‘सञ्जय’ नामले गोपालचन्द्र गोतामेको टिप्पणी खोजेर पढिन्थ्यो । एमालेका नेताले पनि यो परम्परालाई धानेको देखिन्छ । मदन भण्डारी ‘सागर’, माधव नेपाल ‘निरज’, झलनाथ ‘अभिमन्यू’, प्रदीप नेपाल ‘सञ्जय’को छद्मनामले पत्रपत्रिकामा झुल्कन्थे । यता माओवादी नेताहरू पनि जनयुद्धताका पुष्पकमल ‘प्रचण्ड’, बाबुराम भट्टराई ‘लालध्वज’, देव गुरुङ ‘कान्छाबहादुर’ र मोहन वैद्य ‘किरण’देखि नेत्रविक्रम चन्द ‘विप्लव’का छद्मनाम यथावतै छन् । सहिद दशरथ चन्दले ‘सुशील’, प्रदीप गिरीले ‘देवराज’ र नारायणमान विजुक्छें ‘रोहित’ भएर भारतमा लेखेका लेख  सान्दर्भिक नै छन् ।

प्रकाशित: माघ १, २०७२

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )

This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.