कविता : विषमता

~मित्रमणि आचार्य~

एक्लै सोच्दैछु/योजना कोर्दैछु
कसरी बाँच्ने, कसरी रहने?
हिजो मात्र/रमेश पक्डियो रे…।
रोएको अपराधमा/आफ्नो छोरो मरेको शोकमा
आफ्नो परिवारलाई साथ दिएकोमा।
हिजो ऊ हाँस्नुपर्थ्यो रे !
किन भने, त्यस देशको शासकको छोरो जन्मिएको रे !
त्यसको उपलक्ष्यमा
दश हजारको रक्सी सकियो रे
तर विचरा उसको छोरो
औषधी नपाएर मरेको रे !
तीन दिन अघि मात्र/ऊ छुटेको थियो जेलबाट
वर्षौं बन्दी बनिएको खोरबाट,
यातनागृह र कालकोठरीबाट
चार वर्ष अघिदेखि बन्दी भएको थियो
हाँसेको, खुसी भएको अपराधमा
जुन दिन हिजो मरेको छोरो जन्मिएको थियो
यस संसारमा आएको थियो !
बाबुलाई चिन्नै पाएन,
बोल्न पाएन/माया ममता पाएन
यस्तै छ यहाँ/प्रजातन्त्रको नाम छ
बोल्नेको मुखमा चुकुल/हाँस्ने र रुनेलाई जेल।
अब सोच्दै छु/हाँस्नु र रुनु बीचको अवस्था
विचार गर्दैछु/योजना कोर्दै छु/ म सोच्दैछु।

२०४० चैत्र २५, रामपुर, चितवन

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २४ – २०६८ बैशाख २० गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.