~सागर कुँवर~
युग हाँक्ने लाल योद्धाहरु हो
समयको मागलाई बुझ
इतिहासको स्वर्णिम घडीमा
विश्वको कालो इतिहासलाई
ध्वंस गरी,
नयाँ इतिहास लेख्न,
रगतको मसी कलममा भर !
नयाँ युगको आमा बन
तिमीलाई नयाँ युगले स्वागत गरिरहेछ
परिवर्तनका सम्वाहक तिमीहरु
इन्कलावका हुकार हौ,
नयाँ मान्छेहरु तिमी
बम बारुद र गोलीसँग
आँधीहुरी र चट्टान बन।
विश्व परिवर्तन गर्न
शोषण, दमन र उत्पीडनका विरुद्ध
फोक्ल्यान्डको टापुमा,
वासिङटन र दिल्लीमा,
जहाँ शोषण छ
ती सबै ठाउँमा तिमी,
अणु र एटम बम बन !
यहाँ कहिल्यै पनि
पूँजीवादको टुक्रा नरहने गरी
ध्वस्त बनाउ !
साम्यवादको फूल रोप
युग सापेक्ष नयाँ
इतिहासको निर्माण गर्न
त्याग तपस्या र बलिदानको
महासमरमा लाग
तेरो मेरो भावनालाई हटाई
एक हौं भन्ने सन्देश जगाउ
र,
विश्वमा क्रन्तिको उद्घोष गर्दै
नयाँ–नयाँ लालकिल्ला बनाउ
लाल योद्धाहरु
तिमी जागे मात्र
युद्धको आँधी आउँछ,
सृष्टिको नियम उल्टन्छ,
पूँजीवादको मुटु हल्लिन्छ
संसार थर्कन्छ !!
त्यतिबेला,
श्रमजीवी साराजनले गाउने छन् –
इन्कलावाद जिन्दावाद
साम्राज्यसाद मुर्दावाद
क्रान्ति अमर रहोस् !!
–बागलुङ
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २० – २०६७ चैत्र २३ गते, बुधबार)