~गिरीप्रसाद बुढा~
अत्याचारको डरलाग्दो खुकुरी उठाएर
हामी जनतालाई अचानो पार्नेहरू
फगत आफ्नो स्वार्थको खातिर
दुःखी र गरिब मान्छेलाई मार्नेहरू
तिनीहरूको सत्यनाश भए हुन्थ्यो
तिनीहरू किरा परी मरे हुन्थ्यो
कम्तिमा पनि
हिटलरको मृत्यु सँगै
उसको तानाशाह पनि गए जस्तो
तिनीहरूको सत्यनाश सँगै
तिनका स्वार्थ र अत्याचारहरू पनि
खरानी हुँदा हुन
सत्ताको “स्वर्ग” मा उक्लन
हामी जनतालाई भर्याङ पार्नेहरू
हामै्र रगत र पसिना माथि रजाई गर्दै
हाम्रै सुख हरण गर्नेहरू
हैजा लागेर सोत्र्यान्नै परे हुन्थ्यो
तिनहिरू काग र गिद्दका चारो भए हुन्थ्यो
गुलियो तर जुठ्ठा आश्वासन बाँडेर
हामी जनतालाई बेबकुफ बनाउन खोज्नेहरू
आफू घुम्ने कुर्सीमा मोज गर्न
हामी जनतालाई भेंडा बनाउन चाहनेहरू
तिनीहरूको टाउकोमा चिर्को परे हुन्थ्यो
तिनीहरू हाम्रो आँखा सामु खुत्रुक्कै मरे हुन्थ्यो
कम्तिमा पनि
मृत प्राणीको शरीर सँगै
जुम्राको अस्तित्व मेटिए जस्तै
तिनीहरूका मृत्यु सँगै
तिनका लोभ र क्रोधहरू पनि मेटिंदा हुन
हाम्रो देशलाई निल्न खोज्ने
तिखा दाह्रा भएका जन्तुहरू
हाम्रो देशलाई चिथोर्न खोज्ने
विषालु नंग्रा भएका दुष्टहरू
तिनीहरू जम्मै सखाफ भए हुन्थ्यो
तिनीहरू जम्मै एकै चिहान भए हुन्थ्यो
कम्तिमा पनि
मरेको बाघ सँगै
उसका दाह्रा र नंग्राहरू गलेर गए जस्तै
उनीहरूका लास सँगै
उनका दाह्रा र नंग्राहरू पनि गलेर जाँदा हुन्
तर अझै
निर्लज्ज बाँच्न खोजिरहेछन्
यी जनतामारा र देशघातीहरू
अघाउन्जेल बाँच्न चाहिरहेछन्
दुनियाभरीका प्रतिक्रियावादीहरू
हामीले चाहेर पनि किन मर्दैनन यिनीहरू?
छिट्टै यी जनतामाराहरू मरे
हामी जनता सुखमा बाँच्दा हांै
छिट्टै यी देशघातीहरू मरे
हामी देशभक्तहरूले देश बनाउँदा हौं
छिट्टै यी प्रतिक्रियावादीहरू ढले
हामी क्रान्तिकारीहरूले विश्व उठाउँदा हौं
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ४२ – २०६७ भाद्र २३ गते, बुधबार)