कथा : स्वर्ग र नरक

~रामशेखर नकर्मी~

यमराजको अड्डा, राजा महाराजाहरूको खोपी जस्तै हेर्दैमा रहर लाग्दो एक ठूलो कोठा।

यो कोठासँगै दायाँतिर स्वर्ग, बायाँतिर नरक।

स्वर्ग ठूलो, फराकिलो, त्यत्तिकै राम्रो, चारैतिर झलिमिली, उल्लाए र उमंगले भरिपूर्ण छ। त्यहाँ सुगन्धित हावा हररर आइरहेको छ। निर्मल पानी बगिरहेको छ। त्यहाँ बस्नेहरूका लागि खान र लाउन जति भने पनि पाइन्छ, मन लागेको ठाउँमा घुम्न पाइन्छ, मन लागे जस्तो गर्न पनि पाइन्छ। तिनीहरूको हेरचाह गर्ने नोकरचाकरहरू छन्, नाचेर, गीत गाएर रमाइलो गर्ने गन्धर्व–किन्नर र अप्सराहरू छन्। तिनीहरू बिरामी भएमा औषधि गर्ने वैद्य र डाक्टरहरू छन्। तिनीहरूलाई पढाउने , ज्ञान दिने मास्टर, प्रोफेसर र पन्डितहरू छन्। भन्नुस् कि जीवनलाई चाहिने सबैथोक तिनीहरूलाई प्राप्त छ। त्यसैले तिनीहरूलाई हाइसुख छ। तिनीहरू राम्रा छन्, झकमक छन्, सुग्घर, हृष्टपुस्ट र सन्तुष्ट छन्।

परन्तु बायाँतिरको नरकमा भोक, शोक, दर्द, बेदना र रोक बाहेक अरू केही सुख सुविधा छैन। कसैलाई खलखल पसिना बग्नेगरी फलाम तताउन दिइएको छ। कसैलाई ढाडै भाँचिने गरी भारी बोक्न लगाइएको छ। कसैलाई सासै फेर्न नपाउनेगरी खेत खन्न लगाइएको छ। कसैलाई सियोको टुप्पोमाथि सुत्न बाध्य गरिएको छ, आत्थुआत्थु पोल्नेगरी आगोमा हिंडाइराखिएको छ। कसैलाई गोमन र विच्छीले टोकाई राखिएको छ, कुकुर र गिद्धहरूले शरीरको मासु लुटालुट गर्न लगाइएको छ, स्याललाई तातो तातो रगत चुइँचुइँ पिउन दिइएको छ। कसैको जिब्रोको टुप्पो नै काटिएको छ, कसेको आँखा नै निकालिएको छ। कसैको हात छैन, कसैको खुट्टा छैन, कसैको अुनहार नै छैन। नाउँ नै नरक भने पछि कस्तो होला विचार गर्नुहोस्।

दरबार जस्तो यमराजको अड्डाको सबभन्दा माथिल्लो ठाउँमा सबभन्दा मूल्यवान र राम्रो मेचमा मुठामुठा जुंगा भएको यमराज मज्जासँग पंखाको सिरसिर हावा खाँदै आफ्नो अभ्यन्तरले देखेजस्तै स्वर्ग पठाउनुपर्नेलाई स्वर्गमा, नरकमा पठाउनु पर्नेलाई नरकमा पठाइरहेको छ। उसका दाँयावाँया अंगरक्षकहरू र नजिकै चित्रगुप्त छ। सामुन्ने भने भर्खरकी टाइपिष्ट।

एकनासले टपटप पाइप गरिरहेकी टाइपिष्ट तर्सिनेगरी दुईजना यमदुतले एक आत्मालाई यमराजको सामु बजार्न ल्याए। आत्मा हेर्दाखेरी नै घिनलाग्दो छ। परालको छानो जस्तो उसको कपाल अस्तव्यस्त छ।

उसलाई देख्नासाथ यमराजको अनुहार घिनले खुम्चेर गयो। राँगाको जत्रो आँखापारी यमदुतसँग सोध्यो–“यो को?”

यमदुतहरूले दश औंला जोडेर बिन्ति गरे–“ सरकार ! यो इनाचो (भक्तपुरको एक टोलको नाम) मा बस्ने सुकुचा, तहाफल्चा (एकपार्टीको नाम) भत्कँदा त्यसमा पुरिएर मरेकोले समातेर ल्याएको हामीले।”

“पाटीमै मरेछ राम…राम…”–यमराजले समवेदना व्यक्त गर्दै भन्यो–“ अर्घजलसम्म पनि पाएन हैन त?”

“पाएन सरकार !” चित्रगुप्तले निहुरेर बिन्ति गर्‍यो।

“चित्रगुप्त निकाल यसको फाइल” यसमराजबाट एक्कासी नै हुकुम भयो–” सरकार ! देउताप्रति भक्तिभाव भएको प्राणी हो यो। मन्दिर जाने, देउताको नाउँ लिने आदि धर्मकर्म गरेर आएको छ यसले। राजा भनेको साक्षात् नारायणको अवतार भनेर टोलमा पुराण भन्ने पंडितले भनेको कुरामा विश्वास राखेर, तीन कोस हिंडेर, राजाको दरबारको ढोकामा पाँच घ48टाभन्दा बढी समय पर्खेर राजाको दर्शन पनि गरेर आएको छ यसले। परन्तु के गर्ने ! यस्ता सबै पु48यहरू अन्तमा व्यर्थै पठायो यसले।”

“व्यर्थै पठायो !” यमराजको मुख आश्चर्यले खुलेको खुल्यै रह्यो।

“कुरा के भयो भने प्रभु” चित्रगुप्तले बिन्ति गर्‍यो– “देउताको जति भक्तिभाव गरे पनि, राजामा जतिसुकै आस्था राखे पनि, यो कहिल्यै पनि सुखी हुन सकेन। उल्टो खान नपाएर झन् झन् बाँच्न नै गाह्रो भएर गयो।”

“खान पाए?” यमराज झनै चकित भयो–“के दुध र भात पनि खान पाएन?”

“उँ … के भनेको त्यो?” चित्रगुप्तले भन्नुभन्दा पहिले नै सुकुचाले मुखमा आएको कुरा गाह्रो मान्दै भन्यो –“पिठोको माड बनाएर त खान पाइएन, दूध र भातको कुरा !”

“माड बनाएर पनि खान पाएन !” यमराज झन् आश्चर्य हुँदै करायो –“यस्तोगरी के को अनिकाल आयो नि?”

मनमा (टाँसिएका) थुप्रै थुप्रै दुःखदर्दहरू उप्काउनु जस्तै यहाँनेर पनि सुकुचाले नै निडर भएर उत्तर दियो –बेसाहा भाउ महंगो। महंगो बेसाहा भाउले गरिबहरूको ढाडै भाँचिदियो, अनि, तैपनि सरकारले यसमा किन किन वास्ता नै गरेन। उसलाई त महंगी बढे हुन्छ जस्तो छ, झन् झन् महंगी बढाउन मन लाग्छ जस्तो छ। सस्तोमा ख्वायो भने धेरै खान पाएर गरिब जनताहरू बलिया हुन्छन् भनेर डराएको जस्तो छ। चोरलाई सज्जन पार्ने, सज्जनलाई चोर गर्ने जस्ता काममै व्यस्त। चाकडी गर्न नसकिकन कतै केही काम हुँदैन। आत्मा नै बेच्न सक्यो भने सबै हुन्छ। यसले मान्छेहरूलाई कतिसम्म स्वार्थी बनाइदियो भने कसैले कसैलाई विश्वास गर्दैन। ऊ उसको सी.आई.डी. ऊ उसको गुप्तचर। ऊ उसको शत्रु ऊ उसको शत्रु। मित्रता भए पनि स्वार्थको मात्रै मित्रता। बाजा र बाजावालको श्रम र श्रमिकको लेखक र कलमको जस्तो साँच्चिकैको मित्रता त मान्छेहरूको बीचमा छँदै छैन। व्यक्तिगत स्वार्थ, पद, अनि एक टुक्रा खोक्रो मर्यादाको निम्ति टोल टोलमा झगडा, गाउँ–गाउँमा कोतपर्व, जहाँतहीं भ्रष्टाचार, विश्वासको हत्या, नैतिकताको व्यापार ! यस्तो गएगुज्रेको अवस्थामा, हाहाकारी व्यवस्थामा हामी जस्ता गरिब प्राणीले पिठोको माड बनाएर खान पाउँछौं र?”

गर्मीले गर्दा पसिनाले भिजेको शरीरमा हावा पसेपछि जसरी शीतल हुन्छ। त्यसरी नै यी सबै एकैपल्ट भन्न पाएकोमा सुकुचाको मन हलुंगो भएर आयो।

यमराज जसरी मुख बाएर बसेको थियो त्यसरी नै बसिरह्यो। खाउँला जस्तो गरी सुकुचालाई हेरिरहेको उसको आँखा धेरैबेरसम्म उस्तै रह्यो। यति खेरै चित्रगुप्तले हतार हतार बिन्ति गर्‍यो –“सरकार ! एकदिन यसका केटाकेटीहरू भोक सहन नसकेर क्वाँ क्वाँ रून थाले। “खानु पर्‍यो भन्या… खानुपर्‍यो” भन्ने पिचासहरूको जस्तो केटाकेटीहरूको स्वर सुन्न यसको मुटु फुट्ला जस्तो भएर आयो। आँखाबाट आँसुको भेल बग्यो , फुट्नै लागेको मुुटुलाई सम्हाल्दै दुई माना चामल भए पनि उधारो ल्याउने आशाले यो एक चामल पसलमा गयो। पसलेलेलाई रूँदै दुःख पोख्यो –“खानै पाएन साहुजी, भोकले बच्चाहरू मर्न लागिसके, बिन्ति … चामल दुई माना …।” तर पसलेले चामल दिएन, बरू नराम्रोसँग गाली मात्रै गर्‍यो –“तिम्रा बच्चाहरू मरे पनि के बाँचे पनि के । खान पाएनन् भने चोर्न जा… डाँका डाल्न जा। त्यति पनि गर्न सकिनस् भने मर्न जा… उधारो दिन्न …।”। त्यतिखेर यसको आँखाबाट अनगिन्ती फिलिड्डाहरू निस्के, धर्तीले फन्फन् घुमेर देखायो। आत्तिएर त्यसैदिनको राती यो चोर्न निस्क्यो। तर चोरेको पचाउन सकेन उसले।”

“डि.एस.पि. को दाहिने हात हरिदा साहुले भन्या जस्तै गर्न सकेको भए पच्थ्यो पनि के गर्ने, उसको त्यत्रो ठूलो मुख मैले कसरी भर्न सक्थें।” सुकुचाले यहाँ पनि मुखमा आएको कुरा प्याच्च भन्यो।

“मामाको घरमा गएको सुकुचा राजाको जन्मदिनमा बाहिर निस्क्यो ” चित्रगुप्त भन्दै गयो–“परन्तु यसलाई जेलको भन्दा पनि बाहिरको जीवन असैह्य भयो। यो बाहिर निस्कँदा यसका स्वास्नी छोराछोरीहरूसँग अंगालोमारी इनारमा हाम्फालेर मरिसकिछ। छाती पिट्दै क्वाँक्वाँ रोयो यो। कहिले “याँ हेर …. तिमीहरूले नहुने गर्‍यौं …” भन्दे हृदय विदारक किसिमले रून्छ त कहिले “तिमीहरूले राम्रै गर्‍यौ, खानै नदिने समाजको अनुहार, देशको निर्लज्ज अनुहार हेर्न नपर्नेगरी आनन्दले गयौ”भनेर पनि मनलाई बाँध्यो। तैपनि स्वास्नी र छोराछोरीहरूले छोडेर गएको व्यथाले यसलाई छोडेन। समाजले चोर भन्ने र यसलाई देख्नासाथ घृणा गर्ने काम छोडेन। त्यसबेला यसले आफूलाई मान्छे हो कि पशु , मर्दैछ कि बाँच्दैछ केही ठम्याउन सकेन। त्यसबेलादेखि देवता भन्नासाथ झडड्ड रिसाउने, राजा भनेको नारायणीको अवतार भनेपछि मुख बंग्याउने भएर आयो। प्रमाणका लागि अहिलेकै कुरालाई लिइबक्सियोस् कि सरकार जस्तो पाप–पु48यको अधिषठाता, स्वर्ग र नरकको निर्णयकर्ता, साक्षात् महादेवको अंशलाई समेत पनि प्रमाण गरेन। सरकार, हजुर, प्रभु, जस्ता सम्मानसूचक एक शब्द पनि बोलेन।

यमराजको आँखा झन्झन् ठूलो हुँदै आयो। अनुहार नाङलो जत्रो भए पनि गोलो फर्सी जस्तै फुलेर आयो। चित्रगुप्तले बिन्ति गर्‍यो –“ सरकार ! यसरी पहिले देवताको नाम जपेरजतिर्म कमाएको हो, देवतालाई गाली गरेर, हेला गरेर, त्यत्ति नै पाप कमाएको छ। कालान्तरमा खानै नपाएको, पातकी माग्ने भएर टोलक सबैलाई “यो कहिले मर्ला” भन्नुपर्ने किसिमले दिक्क पारी पार्टीमै मर्नु त बाँच्नु भैरह्यो। एकदिन रात दिनको पानी पराइले पाटी भत्केर त्यहीं प्राण त्याग गर्‍यो।”

“हँ… कुजात हो यो” यमराज सुकुचालाई ठूल्ठूला आँखाले खाउँला जस्तै गरी हेर्र्दै करायो–“दान पनि एक कौडीको गरेको छैन होला त्यसो भए?”

“खानै नपाएको दरिद्रले के दान गर्ला” नाक बिगार्दै चित्रगुप्तले भन्यो–“बरू अरूले जन्मदिनमा दान दिएको –नेवारी परम्परा अनुसार कुनै व्यक्तिको जन्मदिनमा देवीदेवताको पुजा गर्नुका साथै थालमा दही च्यूरा राखी दान गर्ने प्रचलन अहिले पनि छ।) दही च्यूरा समेत खाएर आएको छ, यसले। दत्तात्रय ताजामठ ( भक्तपुरको एक मठ) ले ख्वाएको (धार्मिक मठहरूले गरिब गुरूवाहरूको लागि विभिन्न पर्वमा खुवाउने भात) भन्डारा, हरिदास साहुले ख्वाएको गरिब गुरूवा भोज आदि खाएर अर्काको दशा, पाप समेत समेटेर ल्याएको छ यसले। यसैले, यो नास्तिक हो, चोर हो, आफ्नो स्वास्नीलाई मार्ने, छोराछोरीहरूको ज्यान लिने ज्यानमारा हो। यसले चोरी नगरेकेा भए यसको स्वास्नीले चोरको स्वास्नी भनेको सुन्न पर्ने थिएन, न त छोराछोरीहरूलाई समेटेर इनारमा हाम्फालेर मर्नु नै पर्थ्यो। यो जीवनसँग संघर्ष गर्न नसक्ने डरछेरूवा, स्वास्नी पाल्न नसक्ने नालायक हो। त्यसैले सरकार यो पाखन्डी, पृथ्वीको भारलाई नरकमा थुन्नुपर्दछ। जहाँ सिंगान, खकार, गु मात्रै छ, जहाँ सडाउने कीराहरू प्रशस्त छन्, जहाँ एक सरो सास फेर्नलाई पनि कुँ…कुँ…. कराउनुपर्छ।”

“लैजा पापी, दुरात्मालाई” टेबुलै फुट्ला जस्तो गरी मुड्कीले हान्दै यमराज जाग्यो –“भोगाउन लैजा कर्मको फल।”

यमदुतहरू दुवैले तानेर सुकुचालाई नर्कमा थुन्न लगे। नरकमा गएर सुकुचाले नरकवासीहरूलाई आफ्नो परिचयसम्म दिन नपाउँदै फेरि दुई जना यमदुतले अर्को एक आत्मालाई समातेर यमराजको अगाडि उभ्याउन ल्याए। त्यो आत्माको ठीक उमेरभन्न गाह्रो भए, पनि तीस वर्ष जतिको हुनुपर्छ। दुब्लो, साहै्र दुब्लो। फु….. गर्नासाथ ढल्ने रोगी जस्तो। शिरको एक दुइटा केश फुलिसकेका छन्। अनुहार खैरो। आँखा धसिएको। नाकबाट क ख लेख्न हुन्छ।

“यो कुन जन्तु त?” यमराजले नियालेर हेर्दै सोध्यो।

“यो जन्तु होइन प्रभु यो त कवि हो” चित्रगुप्तले बिन्ति गर्‍यो।

“ए ….. कवि रै छ यो” यमराजले टाउको हल्लाउँदै भन्यो–“मैले त किसानले खेत खन्दा माटोको डल्लाबाट बाहिर निस्केको गड्यौला होला भन्ठानेको। अँ… कुन कवि हो यो? अर्थात् आदिकवि हो कि महाकवि हो कि ,युगकवि हो कि, जनकवि हो कि, कुन कवि हो?”

“प्रभु यो कवि मात्रै हो ” चित्रगुप्तले यमराजसँग बिन्ति गर्‍यो –“सरकारले कुनै मान, उपाधि बक्सेको छैन प्रभु, त्यसैले यो कविता लेख्ने कवि मात्रै।”

“ए … कस्तो कविता लेख्ने रै छ त?” व्यंग्य गरे जस्तैगरी यमराजले सोध्यो।

चित्रगुप्तले ख्वाररर ख्वाररर फाइल पल्टाउँदै भन्यो–“प्रभु यसले लेखेका कविता विद्रोहपूर्ण छन्। त्यसैले विद्रोही कवि भने पनि केही बिग्रिंदैन प्रभु ! ”

यमराज एक्कासी बिउँझेको जस्तो भयो। दुई आँखीभौं असन्तुलित तराजु हल्लिए जस्तै तलमाथि भए। खाउँला जस्तो गरी कविलाई हेरेर चित्रगुप्तसँग सोध्यो–“अँ, विद्रोही रै छ यो, हैन त ! कुन दर्जाको विद्रोही नि? अर्थात् जनद्रोही हो कि सरकारद्रोही?”

चित्रगुप्तले भन्यो –“सरकार ! कविता अर्थात् साहित्य भनेको “सर्वेभवन्तु सुखिनः” हो भन्ने विचारमा यसको विश्वास छैन। बाघा र बाख्रा, कुखुरा र बिरालो, चोरचकारीहरूलाई सँगै राख्ने जस्तै नै गरिब र धनीको बीचमा एकले अर्कोलाई सहयोग गर्ने, एकले अर्काको दुःख–सुख बुझदिने,सबैको सुखशान्तिको निम्ति, खान, लाउनका निम्ति, शोषणरहित समाज बनाउने भन्ने र वर्गसमन्वयको सिद्धान्तलाई पनि केटाकेटीहरूको खेल जस्तो कोरा पद्धति हो, अर्को शब्दमा भन्ने हो भने पुरानो झुत्रो–झात्रो ओछ्यान देखिएला भनेर हतार हतारमा छोपिएको तन्ना हो भनेर पत्यारै नगर्ने कवि हो यो।”

“केमा विश्वास राख्दो रैछ त यो हँ, केलाई पत्याउने?” यमराजले एक्कासी नै हाँडी जत्रो मुख लाएर सोध्यो।

“सरकार !” चित्रगुप्तले यमराजलाई बिन्ति गर्‍यो–“यसको पूरा आस्था त जनताको पक्षमा लिने साहित्यमा छ। राजनैतिक, सामाजिक प्रतिबन्ध र आर्थिक असमानताको विरोध गर्ने, जनताको स्वतन्त्रतालाई बाँधी राखेको सिक्री चुंडाल्ने, अनि निम्नवर्गको जीवन, तिनीहरूका आशा आकांक्षा र व्यथालाई छर्लड्ड पार्ने, तिनीहरूमा चेतना जगाउने–यसको कविताको विषयवस्तु हो।”

“हुँ………” यमराजले मुख बंग्यायो।

चित्रगुप्तले भन्दै लग्यो–“परन्तु यो मूर्ख रहेछ। निम्नवर्गलाई नअँगालिकन धनी सामन्तहरूको क्षणिक सुखको निम्ति रोमान्टिक कविताहरू अथवा उनीहरूको गुणगान गरेर श्लोक आदि लेखेका भए सरकारले त्यसैबेला बाध्य भएर राष्ट्रिय सम्मानको उपाधि दिन्थ्यो होला यसलाई पनि। यसरी मर्नु परे पनि त्यहाँ कति ठाउँमा शोकसभा हुन्थ्यो होला, दिवंगत आत्माको शान्तिको कामना गरी कतिले श्रद्धाञ्जली दिन्थे होलान्। अनि त यो त्यसै अमर हुन्थ्यो , आँखा चिम्लेर गए पनि स्वर्गमा पुग्थ्यो। के गर्ने यो नै मूर्ख ! एकातिर यसको मूर्खतामा दया आउँछ, भने अर्कोतिर हाँस्न पनि मन लाग्छ। कविता जस्तो वस्तुलाई त सर्वसाधारणले बुझ्ने गरी लेख्नुपर्दछ भनेर कराई हिंड्ने–पटमूर्ख कवि यो। ल ल ल… सबैले बुझ्ने कविता पनि कविता हुन्छ र? आलोचकहरूलाई भोकै राख्ने कुरा हैन यो। कविता भनेको माकुराको जाल जस्तै गुजुल्टो परेको हुनुपर्दछ, धेरै ठाउँमा अड्केको पो हुनुपर्दछ। च्वाट्ट बुझ्न नसक्ने किसिमले जति लेख्न सकिन्छ, सुन्नेहरूको दिमाग उथलपुथल गर्ने प्रतिक, उपमाहरू प्रयोग गर्न सकिन्छ, नयाँ–नयाँ शब्दहरूको धार बनाउन सकिन्छ त्यत्तिकै राम्रो हुने हो नि ! उत्कृष्ट कविता त पूरा कविता नभएर अलि अलि दार्शनिक निबन्ध पनि मिसिएको हुन्छ। अझ आफूले लेखेको कविताको भाव आफूलाई भन्न गाह्रो हुने भयो झन् उत्कृष्ट हुन जान्छ। आलोचकहरूले पनि त्यसैलाई नै सर्वश्रेष्ठ देख्छन्। यस्ता रहस्यपूर्ण र गुह्य कुरा बुझ्दैन यसले, त्यसैले यस्तरी दुःख खप्न परेको, टि.बी. भएर मर्नु परेको। अन्तिममा पनि न एक थोपा गंगाजल पिउन पायो, न नारायण भन्ने देवताको एक शब्द पनि सुन्न पायो, न त गौदान नै गर्न पायो। त्यसैले सरकार ! यसको कुनै कुरामा पनि तर्ने बाटो छैन। सीधै नरकमा थुन्न लानु पर्दछ यसलाई। यो विद्रोही, देशद्रोही, रामराज्य जस्तो अति राम्रो शासन पद्धतिको यो विरोधी, यो वर्गको पक्षपाती।”

“लैजा थुन्न” रातो आँखाले दारा किट्दै यमराजले हुकुम दियो–“खबरदार…एक थोपा पानी ख्वाउन पाइँदैन। पानी खानु पर्‍यो भन्यो भने मुखमा गोल कोचिदे, पिउनुपर्‍यो भन्यो भने तताइराखेको तेल पिला। काटी दे–गरिबको व्यथा मात्रै दर्शाउने कलम समात्ने हातलाई। राजामहाराजा, सन्तमहन्त, साहुमहाजनहरूको सुख, वैभव, ऐश्वर्यपूर्ण जीवनको ईर्ष्या गर्ने तिनीहरूको उदार र विशाल हृदयलाई हृदय नै नदेख्ने गिदी निकालेर त्यसभित्र गोबर घुसाई दे। अनि थाहा पाउनेछ –चक्रब्यूह जस्तो बलियो सामन्तहरूको विरोध गर्नु, निन्दा गर्नु कति गाह्रो छ भन्ने कुरा।”

यहाँनेर कविको शरीर एक्कासी काँपेर आयो। हाँडी जस्तै भन भन तातेर आयो। उसले दारा किट्दै सिंहको जस्तो आँखाले यमराजलाई हेर्‍यो। यमराज अट्टाहासले हाँस्यो–“ हा हा हा हा” कविलाई पनि गलहत्याएर नरकमा पठायो।

त्यसबेला फेरि एक आत्मालाई यमपासले बाँधेर दुईजना यमदुत भित्र आए। यहाँनेर यमराजको निधारको रौं ठाडो भयो। चित्रगुप्त टोलायो। टाइपिस्टले टाइपराइटरको अक्षरै देखेन। ढोकामा उभिएर हेरिहेका नरकवासीहरूले पनि एक अर्कोको अनुहार ट्वाल ट्वालती हेर्न थाले। किन भने तिनीहरूले अगाडि बंगुर जस्तै मोटो आत्मा देखिरहेका छन्।

यमराजको जय ! धर्मराजको जय !! पाप राजको जय !!! ” आत्माले यमराजको जय जयकार गर्‍यो।

“यो को हो?” यमराजले खुशी भएको अनुहारमा चित्रगुप्तसँग सोध्यो।

चित्रगुप्तले विन्ति गर्‍यो–“यो हरिदास साहु। नाउँ चलेको लखपति साहु।” हरिदास साहु, टाढैदेखि यमराजलाई शिर निहुर्‍याएर सलाम गर्दै अगाडि बढ्यो। अनि दश औंला जोडेर बिन्ति गर्‍यो–“सरकार ! ठूलो मान हानिभयो, इज्जतको कदर भएन। दूध दिने गाई दान गरेर आएर पनि गाईको पुच्छर समाएर वैतरणी तर्न दिएनन् मलाई। ओढ्ने ओछ्याउने, झूल, खाट, ट्रान्जिष्टर, घडी, घर, बगैंचा, पैसा, थाल अम्खोरा चाहिं सबै दान गरेर आएको म ! खै, यी सबै? एउटा त मैले उपभोग गर्न पाउनुपर्ने हो नि ”
“अब त्यतिको दान गरेर आएको भए यस्तो गर्नु नहुने ” यमराजले चित्रगुप्तसँग सोध्यो।

चित्रगुप्तले जवाफ दियो–“दान गरेका सबै दान ब्राम्हणकैमा छन् प्रभु। ब्राम्हण बाजेले चलान गरेर नपठाएसम्म यहाँ हामीले कहाँबाट दिने।”

“लौ भैगो, दान दिएको त पछि आउँछ भनौं।” हरिदा साहुले भन्यो –त्यस्तोगरी “अझ म हरि दास साहु, लखपति साहु” भन्दा पनि टेर्दै टेरेनन् हजुरका दुतहरूले, झन घोक्राई घोक्राई ल्याए। भक्तपुरको नामुद दही एक एक वटा ख्वाउँछु भन्दा मात्रै सास्ती गरेनन्। सरकार यो कुन अपराधको सजाय हो। यस्तो अपमान किन, किन अन्याय, पुर्पक्ष गरिबक्सियोस्।

यति भनी हरिदास साहुले कोटको धुलो झार्‍यो। यमराजले चित्रगुप्तसँग सोध्यो –“चित्रगुप्त, साँच्चै के साहुलाई अपमान, अन्याय भएको हो त? निकाल यसको फाइल, सुना के के छ धर्मकर्म पाप अपराध।”

चित्रगुप्तले साहुको फाइल हेर्दै भन्यो–“प्रभु ! यसका अपराध पनि डरलाग्दा छन्, धर्मकर्म पनि ठूलठूला छन्।”

“सुना बस्तारै !” यमराजले दुइटै हात काखीमा लगेर मेचमा अडेस लिंदै भन्यो।

ढोकामा बसी सुनिरहेका नरकवासीहरूका कान ठाडा भएर आए। एकजना पनि चुइँक्क बोलेनन्, उनीहरूले, चित्रगुप्तले भन्न लागेको कुरामा मन लगाइराखे। चित्रगुप्तले भन्यो –यो चोर हैन, तर चोरेर ल्याएको जुनसुकै माल पनि सस्तोमा किन्ने चोरहरूको साहु हो। झ्यालमा सुकाइराखेको दशैंको सुकुटी पनि चोरहरूसँग सस्तोमा किनेको छ यसले। चोरेर ल्इाएको कोपरा मात्रै यसको एउटा कोठाभरी अहिले पनि बाँकी छ। गाग्री, आरी, दाल, भात पकाउने कसौंडीहरू त कति छन् कति।”

“अहो ! गनेरै साध्य छैन त्यसो भए।” यमराज चकित भएको जस्तोगरी करायो –“यतिका चोरिएका माल लिइराख्दा पनि प्रहरीले एकचोटि पनि समातेर लगेन यसलाई? के एउटा चोरले पनि पोलेन?”

“कसरी समात्छ प्रभु, के भनेर पोल्छ।” हरिदास साहु अगाडि आएर मुसुमुसु हाँस्दै यमराजलाई बिन्ती गर्‍यो–“ठूलठूला कार्य गर्नलाई सर्वप्रथम देवताको पुजा गर्नुपर्दछ, नत्र भूतप्रेतले जस्तो पिरोल्न सक्छ, अनेक किसिमले विध्नबाधाहरू आउँछ। त्यसैले मैले पहिलेनै चाहिने जति देवताहरूलाई आवश्यकतानुसार पुजाआजा गरिराखेको छु। देवताको नाउँ मात्रै लिंदा त सबै पाप मोचन हुने कलियुगमा देवतालाई पुजाआजा नै गर्दा के मात्रै हुँदैन र? सरकारले नै विचार गरी बक्सियोस्।”

यमराजले टाउको हल्लाउँदै चित्रगुप्तसँग सोध्यो–“हो र चित्रगुप्त?”

“सरकार समक्ष झुठ बोल्ने दुस्साहस म कसरी गर्न सक्दछु। सरकारको पाउको धुलो त हुँ नि म। हैन, पत्यार लाग्दैन भने सरकारले नै देवताहरूसँग फोनगरी बक्सियोस्।” बिस्तारै चुरोटको बट्टा टेवुलमा राखेर हरिदासले भन्यो–“खानुस् हजुर… चुरोट। यो हङकङको चुनोट।”

चित्रगुप्तले यमराजको अनुहार हेर्‍यो। यमराजले नदेखेझैं गरी बसिरह्यो।

चुरोटमा आँखा गएर पनि वास्तै नभएको जस्तो अनुहार लगाएर चित्रगुप्तले भन्यो–“हो प्रभु !यसले जतिपल्ट अपराध गर्‍यो त्यति नै पल्ट एक एक ठूलो देवतालाई पुजा गरेर धर्म पनि गरेर आएको छ। वार्ड–वार्डमा कुपनबाट चामल दिएको समयमा यसले आफ्नो वार्डमा चामल दिएको थियो। त्यसबेला यसले आधी चामल त ब्ल्याकबाट बेच्यो, ब्ल्याकबाट नबेचेको चामलमा पनि ढुंगा मिसायो। यो अपराधबाट मुक्त हुन यसले गणेशलाई बोलाएर पुजा गर्‍यो। चन्द्रवीरलाई पिटेर मारेको अपराधबाट मुक्त हुन यसले हेलंबुकी छोरी पार्वतीसँगै महादेवलाई चढाएर खुशी पार्‍यो। यस्तै अरू अरू नुन, तेल, मट्टितेल, कपडा, धोगो महंगो पार्नलाई पनि देवताहरूको पुजा गर्‍यो। तर एउटा अपराध पन्छाएर आएको छैन यसले। त्यो अपराध नगरपंचायतमा प्रधानपंच हुँदा जनताले घर बनाउन, बाटो मर्मत गर्न डिपोजिट राखेको साठी हजार पैसा क्वाप्प खाएर आएको छ।”

“ए साहु ! ” मेचमा अडेस लाएर बसेको यमराज अगाडिको टेबुलतिर अलि ढल्कँदै करायो –“के होयो? नगरपिता भएर त्यस्तो हो? जनताले पत्यार गरेको जनप्रतिनिधिले त्यही जनताको रगत चुस्ने कहाँसम्म दुस्साहस यो?”

“प्रभु सरकार ! दया निधान !!” हरिदास साहु आत्तिएर थर थर काँप्दै करायो –“मैले मात्रै खाएको छैन प्रभु, अरू अरू वार्ड प्रतिनिधिहरूले पनि खाएका छन्। मैले मात्रै खाएको अपराधका लागि भाकल गरिराखेको पनि हो। तर भाकल पूरा गर्न नपाउँदै म यहाँ आउनु पर्‍यो। त्यसै…. त्यसैले……। ”

“त्यसैले –उसैले मलाई केही थाहा छैन।” यमराज रिसाएर करायो –“तिमीले नरकको भोग नगरी सुख छैन।”

हरिदासले खलखल पसिना निकाल्यो। के गरौं के गरौं भएर ऊ चित्रगुप्तको टेबुल नजिक गयो। “प्रभु यो त अनर्थ भयो, नहुनु पर्ने हुन लाग्यो।” भन्दै हातको औंलाले टेबुलमा कोरेर देखायो।
साहुले टेबुलमा हातको औंलाले टेबुलमा कोरेर देखायो।

साहुले टेबुलमा हातको औंलाले कोरेको सबै अक्षर भएर चित्रगुप्तको आँखामा तिरमिरायो। उसले धेरैबेरसम्म टेबुलमा मात्रै हेरिरह्यो। पछि विस्तारै उठेर यमराजलाई टेबुलको अक्षरको अर्थबारे बिन्ति गर्‍यो। यमराज खुशी भएको अनुहारले मुस्कुराउन थाल्यो।
अप्सराहरूले चँवर पंखाले हम्केर बासा (कुनै सम्मानित व्यक्ति बाटोमा वा देव देवताहरू बाटोमा हिंड्दा वा लैजाँदा ओछ्याउने एक प्रकारको कपडा) ओछ्याएको बाटोबाट हरिदास साहुलाई स्वर्गमा लगेको देख्नासाथ नरकमा बसेको एक नरकवासी हिंहिं गर्दै हाँस्यो। ऊ हाँसेको तीतो महशुस गरेर नजिकैको सुकुचाले भन्यो –“के हाँसेको हिंहिं गरेर?”

“हेर्नुहोस् त्यहाँ, साहुलाई स्वर्गमा लगेको। “ नरकवासीले हातको औंलाले देखाउँदै भन्यो –“पूर्व जन्मकै फल हो–यो स्वर्ग नरक जाने भनेको ! के गर्ने हामीले रोपेर आउन सकेनौं – नरकमा बास पर्‍यो।”

“भुत्रो पूर्वजन्मको फल हो।” सँगै बसेर सुनिरहेको कविलाई निकै रिस उठ्यो र मुरमुरायो –अझ पनि बुझेका छैनौं तिमीहरूले? “अफै पनि ब्यूँझेका छैनौं तिमीहरू?”

कवि त्यसरी एक्कासी भावावेशमा आएको देखेर नरकवासीहरू आश्चर्य भए जस्तो, डराएको जस्तो अनुहार बिगारेर पछि पछि सर्न थाले। त्रसित नरकवासीहरूको करूणामय अनुहार हेर्दाहेर्दै कविले आफ्नो दारा किटाई कम गर्दै लग्यो। अनि उसले विस्तारै एक नरकबासीलाई बोलाएर प्रेमपूर्वक सम्झायो।

उसले त्यो कुरा अर्कोलाई बतायो, उसले अर्कोलार्य बतायो। यसरी सबैको मनमा भुइँचालो आयो। सबैको अनुहारमा प्रश्न पलाएर आयो। अन्तमा उक नरकबासीको मुटुमा बेस्करी चिमोटेको जस्तो अनुभूति भयो र उसको अनुहार रक्सी जस्तै बलेर आयो। आँखा ठूलठूलो पारी हात आकाशमा उठाउँदै ऊ कराउन थाल्यो–“बुझ्यौं….बुझ्यौं…राम्रोसँग बुझ्यौं। इनक्लाब।”

उसले त्यति भन्नासाथ सबैको मुखबाट निस्क्यो –“जिन्दाबाद !”

“तानाशाही यमराज !”

“मुर्दावाद !”

एक्कासी नै वातावरणलाई विद्रोहले ढाक्यो। यमदुतहरूले जतिसुकै छेके पनि छेक्नै नसकिने गरी, जति पिटे पनि पिट्नै नसकिने गरी, नरकबासीहरूको जुलुस नरकको ढोका डाङडुङ भत्काएर नदीमा बाढी आए जस्तै अगाडि बढेर आयो। अनगिन्ती नरकबासीहरूको जुुलुसले छोप्न लाग्दा यमराज, चित्रगुप्त र त्यत्तिका यमदुतहरू कहाँ गए, कहाँ गए –सबै हराएर गए। त्यसैबेला नाटक समाप्त भएपछि पर्दा खसे जस्तै अप्रत्यासित ढंगले कसले हो कुन्नि हुलमा एउटा प्लेकार्ड देखायो। त्यसमा लेखिएको थियो “आजदेखि यहाँ स्वर्ग र नरक छैन।”

(स्रोत : बेदना पूर्णाङ्क ६०–६१ बाट)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.