~चन्द्र गुरुङ~
गल्लीतिर
चोकहरूमा
उनकै कुरुप र क्रूर अनुहार डुलिरहन्छन्
फोहरी र तिखा दाँत देखाउँदै
भुकिरहन्छन् कर्कश स्वरमा आतंक ।
निर्दयीहरू एकआपसमा भिडिरहन्छन्
लुछाचुँडी गरिरहन्छन्
डरलाग्दा् अनुहारले फूलहरू तर्साउँछन्
क्रूर नाङ्ग्राले कलिला जीवनहरूको घाँटी अठ्याउँछन्
दुर्गन्धित श्वासले वातावरण दूषित पार्छन्
शान्ति बिथोल्छन्
घिनलाग्दो र रौद्र आवाज निकालिरहन्छन्
हिँड्छन् जथाभावी निर्लज्ज मूत्दै ।
लोभी र धूर्तहरू
¥याल चुहाउँदै हड्डी चाटिरहन्छन्
स्वाद मान्दै चपाइरहन्छन्
एकै गाँसमा सर्लक्क निलुलाझैँ गरिरहन्छन् ।
र, यसबेला
कोठाको अँध्यारो भित्तामाथि झुण्डिएको मानचित्रमा
हड्डीको टुक्रा झैँ देखिएको छ देश ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )