~हेमन्त श्रेष्ठ~
एउटै चेहरा एउटै तन र एउटै आवाज
म देखिरहेछु सुनिरहेछु र भोगिरहेछु
समयको लामो लामो अन्तरालपछि पनि
निरन्तर निरन्तर
आँखा खोल्दा र चिम्लँदा पनि
सपना कल्पना र तरङ्गमा पनि
उही चेहरा उही तन र उही आवाज
खै के हुँदैछ अचेल
मेरो शरीरको यो अदृश्य खोलमा
सर्वाङ्ग सजिएको छ अरु कसैको शरीर ।
के यो अभिष्ट रुप तिम्रो हो?
जसको अनुपस्थितिमा यो हृदय
बगरको सुख्खा बालुवातुल्य हुन्छ
के यो शीतल छाया तिम्रै हो?
जसको विछोडमा
हरेक क्षण मेरो लागी
नीरस कहालीलाग्दो पहाड बन्छ
के तिमी साँच्ची नै पानी हौ मेरो प्यासको
के तिमी साँच्ची नै बसन्त हौ मेरो जीवनको
एउटा अतृप्तिको उन्माद
नाचिरहेछ भैरवकाली भएर
मेरो स्नायुको विन्दु विन्दुमा
एउटा विषाक्त तृष्णा
भौतारिरहेछ काकाकुल बनेर
मेरो रगत नसाहरुमा
सम्भवतः यसैले हुन सक्छ
मेरा यी मनहरु
नराम्ररी अल्झेका छन्
तिम्रो चोलोका तुनाहरुमा ।
ध्रेरै पटक उघारीसकेको छ
नृशंस बनेर आबेशले
लाजका पर्दाहरु
र धेरै पटक बन्द गरिसकेको छ
नैतिक मूल्यले
पाशविक उन्मादहरु
खै कसरी सम्झूँ
तिम्रो पछ्यौरीमा मेरो मफलर अल्झेको दृश्य
अनारजस्तै तिम्रा दाँतहरुमा
चिप्लेर मेरो जिब्रो पछारिएको दृश्य
तिमी आफै भन
कतिपटक अलमलिए मेरा यी औंलाहरु
तिम्रो कुसुमे ब्लाउजका हुकहरुमा
कतिपटक छचल्किसके
यी ओठहरु
तिम्रा शरीरका सुन्दर छालहरुमा
तथापी किन निभ्दैन
छातीको यो उन्मत्त मैनबत्ती?
किन निष्काम हुँदैन
मनभित्रका उत्तप्त ज्वरोहरु?
जस्तो कि तिमी
रक्सीको प्याला भएकी छौ
र म चुस्की लिन खोजिरहेछु
एक पछि अर्को, अर्को पछि अर्को
निरन्तर ओठमा प्याला घोप्ट्याएर
मदहोस हुन चाहिरहेछु
हरक्षण हरपल
तिम्रो स्वप्निल लज्जावनत तनमा
तर उफ ! कस्तो बिडम्बना यो
एउटै बिन्दुमा पुगेर दुर्घटनाग्रस्त हुन्छन् सँधै
मेरा उच्छृड्खल वासनाहरु
तिम्रो दर्शन र सिद्धान्तको टाकुरामा
एउटै बाटो भएर फर्कन्छ सँधै
अभिशप्त अत्यासलाग्दा तिम्रा विचारहरु
मेरो खोक्रो मस्तिष्कका बगरहरुमा
शायद कमजोरी थियो मेरो
कि गिद्ध बनेर युद्ध गर्न सकिन तिम्रो शरीरसंग
शायद महानता थियो तिम्रो
कि माला बनेर समर्पित हुन सकिनौ मेरो गलासँग ।
(स्रोत : Khasskhass)