कथा : मरिचेको चुपी

~उपेन्द्र सुब्बा~Upendra Subba_1

लिम्बू सम्बन्धित एउटा उक्ति चर्चित छ– ख्यालख्यालमा चार इन्च । लिम्बू–लिम्बूबीच फौदारीमा चार इन्च काटे पनि एक बोतल रक्सी राखेर माफ माग्छन् र माफ दिन्छन् पनि । चार इन्च त ख्यालख्याल हो ।

नामले साह्रै सुहाएको मरिचे । डल्ले सानो कद, खिरिल्लो ज्यान, रिसको भने पोको नै । कुरै नबुझी चुपी झिकिहाल्ने । मान्छे हेरेर, स्वभावअनुसार नाम राखेका हुन् वा नामको असर हो, मरिचे मरिच नै थियो ।

प्राय: लिम्बूहरू खुकुरी भिर्छन् तर मरिचेचाहिँ चुपी भिर्छ । उसको चुपीसँग मान्छेहरू खुब डराउँछन् । ऊसँग छुरी, चुपी र तरबारको सानो सङ्ग्रह नै छ । बैंसमा ऊ एकै समय तीनवटा चुपी बोक्थ्यो । दायाँबायाँ कम्मरमा र एउटा ढाडमा । अहिले पनि ऊ एउटा चुपी नभिरी घरबाहिर कतै निस्किँदैन । शिरमा टोपी नहोस्, खुट्टामा चप्पल नहोस् तर ऊसँग चुपी अनिवार्य हुन्छ ।

मरिचे एक समयको नामी फौदारी हो । दाह्रासिं, किङकङ, फाइटरपछि उनको नाम आउँथ्यो । दाह्रासिं मारिएपछि मरिचे आफ्नो गाउँ फर्केको हो ।

मरिचेको गाउँ पान्थरको आङसराङ हो । यहाँको समाज बहुल छ । लिम्बू, बाहुन, क्षत्री, तामाङ र अन्य जातिका मान्छेहरू बसोबास गर्छन् । लिम्बूहरूमा पनि आङदेम्बे, चेम्जोङहरू छन् भने बाहुन–क्षत्रीहरूमा रिजाल, अधिकारी, घिमिरे, पौड्याल, गौतम, थापा आदि छन् । रिजालहरूको वंशावलीअनुसार झन्डै तीन सय वर्षअघिदेखि उनीहरू यहाँ बसोबास गर्दै आएका हुन् । त्यसो र, यहाँका लिम्बूहरूले स्वस्थानीको कथा धेरै अघिदेखि सुन्दै आएका छन् । पञ्चामृतमा के के मिसाएको हुन्छ भन्ने जानेका, बुझेका छन् । र पनि, जोर हातमा थापेर अमृत चाखी आएका छन् । बाहुन–क्षत्रीहरूलाई पनि थाहा छ– ‘सुँगुरको थुतुनो चिसो हुन्छ ।’ र, यो गाउँमा जाँड–रक्सी नखाने बाहुन–क्षत्री र लिम्बू बराबर छन् । यहाँको समाज बडो सद्भावपूर्ण छ ।

छरछिमेकमा सानातिना झैझगडा जहाँ पनि हुन्छन् । आङसराङमा हुने त्यस्ता झैझगडा गाउँ–समाज बसेर मिलाउँदै आएका छन् । तर, मरिचे र गोतामेको झगडा भने गाउँमा मिलेन र अड्डासम्मै पुग्यो । निहुँ भने बच्चाहरू भएका थिए ।

मरिचे र गोतामेका छोराहरू मिल्ने साथी थिए । दुवै दस वर्षका । दुवैको नाम पनि उस्तैउस्तैजस्तो– वामे र रामे ।

स्कुलबाट फर्किंदै गर्दा रामेले बाटोमा वामेले ग्याटिस हान्दै गरेको देख्यो । वामे घाँसको भारी बाटोमा बिसाएर दुदिलोको रूखमा निसाना लाउँदै थियो । बिस्तारै छेउ आएर सिकार भाग्लाजस्तो गरी रामेले सानो स्वरमा सोध्यो, ‘के हो ?’

वामेले पनि सासले मात्र भन्यो, ‘फिस्टा ।’

रामेले दुदिलोको रूखमा हेर्‍यो, फिस्टा चरा वल्लो डाली पल्लो डाली गर्दै नाचिरहेको थियो ।

‘खोई ले म हान्छु, एकचोटिमा मारिदिन्छु ।’ रामेले ग्याटिस माग्दै भन्यो ।

वामेले पनि केही नबोली ग्याटिस रामेलाई दियो । झन्डै एक घन्टादेखि त्यही एउटा फिस्टालाई तारो हान्दाहान्दा वामे थाकिसकेको थियो । वामेले राखेको फित्कौलीको ढुङ्गा रामेलाई मन परेन । वामेको ढुङ्गा लाम्चो थियो । रामेले ठिक्कको सानो गोलो ढुङ्गा खोजेर ल्यायो र फिस्टालाई निसाना बनायो । फिस्टा दुईजनाको ठीकमाथि डालीमा आएर नाचिरहेको थियो । दुवैका आँखा फिस्टामा थिए । रामेलाई फिस्टा मार्छु नै लागको थियो । वामेलाई पनि रामेले मार्छ नै लागेको थियो । फिस्टा एक सेकेन्ड एक ठाउँ बस्ने होइन । रामेले राम्ररी निसाना साँध्ने मौका पाएको थिएन । वामेचाहिँ ‘हान् न हान्’ भन्दै थियो । रामेले ग्याटिस सक्दो तन्काएर हान्यो । रामेले हानेको ढुङ्गा दुदिलोको सुकेको हाँगामा लागेर सीधा फर्कियो र वामेको निधारमा लाग्यो ।

वामे ‘आइया’ भन्दै निधार समाएर थचक्कै बस्यो र रुन थाल्यो । रामे एकछिन अक्कमक्क पर्‍यो । वामेलाई हेर्दै घरी फिस्टालाई हेर्दै उभियो । फिस्टा उसरी नै डालीडाली नाच्दै, ‘चि चि चु चु’ कराउँदै थियो, ‘खुच्चिङ वामे खुच्चिङ’ भनेजस्तो । रामेले वामेको हात हटाएर हेर्‍यो, उसको दाहिने आँखामाथि निधारमा सानो टुटुल्को देख्यो ।

‘ह्या, केही भएको छैन मुला । लिम्बूको छोरा भएर यति सानो कुरामा रुन्छस् ?’ रामेले सान्त्वना दिँदै भन्यो ।

रामेले भनेपछि वामेलाई ‘लिम्बू हुँ’ भन्ने याद भयो कि कऽन्नि ? रुन छोड्यो । वामेलाई हातमा ग्याटिस थमाएर रामे किताप बोकी हतारै घरतिर कुद्यो । वामे पनि घाँसको भारी बोकेर एक हातले निधार छाम्दै घरतिर लाग्यो । दाहिने हातले निधार छोपेर आउँदै गरेको वामेलाई देखेर आमाले सोधिन्, ‘के भो ?’

चोया काड्दै बसेको मरिचेले पनि छोरालाई पुलुक्क हेर्‍यो । वामेको आँखामा आँसुको डोब देखेर मरिचेले कराएर सोध्यो, ‘के भो जाँ… ?’

वामे बाउसँग डराएर घाँसको भारी बिसाएको ठाउँमै उभियो । आमा छेउमा आइन् र वामेको हात हटाउँदै हेर्न खोजिन् तर वामेले झनै दह्रो गरी दुवै हातले निधार छोप्यो ।

‘मेम्बे, के भो ? हेरुँ भनेको ।’ वामेको हात बल गरेर हटाउँदै आमाले भनिन् । छोराको निधारमा टुटुल्को देखिन् र अत्तालिँदै भनिन्, ‘माई, धन्न आँखामा परेन छ ! होइन के भएर यस्तो भो ? कुम्बाउ हेर्नु त !’
मरिचे पनि अत्तालिएर आयो । छोराको निधार छाम्दै सोध्यो, ‘कल्ले हान्यो तँलाई, आँखैमा ताकेर ?’

बाउसँग डराएर वामे सुँकसुँक गर्दै रुन थाल्यो ।

‘छिट्टो भन् जाँ… !’ मरिचे रिसायो ।

‘रामेले…’

‘त्यो जाँ… गोतामे सन्तानलाई म लिम्बूको पाइन देखाउँछु ।’ वामेले सबै कुरा भन्न नपाई मरिचे जङ्गिहाल्यो । हठातै कम्मरमा भिरेको चुपी झिकेर गोतामेको घरतिर दगुरिहाल्यो ।

मरिचे र गोतामेको घर त्यही तीन सय मिटर वरपर थियो । मरिचे चुपी उज्याएर गोतामेको घर पुग्दा रामे सिकुवाको पिँढीमा भुटेको मकै खाँदै बसिरहेको थियो । मरिचेलाई देखेर रामे घरभित्र भाग्न खोज्यो । ढोकाको चुकुल खोल्न समय लाग्दा मरिचेले समाइहाल्यो । मरिचेले रामेको कानमा समाएर बाख्राको पाठाजस्तै जुरुक्कै उचाल्यो । रामे चिच्यायो ‘आमा मरेँ, आइयौ !’

गोठमा भैंसीको गोबर सोहर्दै गरेको गोतामे हातमा कोदालो लिएर आयो, ‘के गरेको ऐ चितुवा मेरो छोरालाई ?’

छोराको कान छोडेर मरिचे बाउतिर जाइलाग्यो, ‘तँ मसँग लड्नु आको ? लु: आइजा जाँ… !’

मरिचेले झम्टेर आएपछि गोतामेले पनि कोदालो उज्याएर घरको भित्तामा आड लिएर उभियो ।

गोतामेकी स्वास्नी कोठेबारीबाट चिच्याउन थालिन्, ‘गुहार ! गुहार ! मरिचेले ज्यान मार्‍यो, गुहार !’

मरिचे र गोतामे दुवैले पाखुरी सुर्काउँदै एकअर्कालाई तर्साई हेरे । दुईमा कोही पनि पछि नहट्ने भएपछि कल्ले पहिले प्रहार गर्ने भन्दै एकछिन ताकाताक गरे । रिजाल कान्छा र माङ्गेना साइँला छुटाउनलाई कुद्दै आउँदै थिए, दुईजनाको पर्न थालिहाल्यो । गोतामेले कोदालीले हानेको मरिचेले तर्कायो, मरिचेले चुपीले हानेको लागेन । रिजाल कान्छा र माङ्गेना साइँलाले दुईतिर दुईजनालाई च्यापचुप समाइहाले । माङ्गेना साइँलाले मरिचेलाई ठेल्दै जबरजस्ती घरतिर लग्यो ।

गोतामेको औंलाबाट रगत बगिरहेको रिजाल कान्छाले देख्यो, ‘मरिचेको चुपीले लागेजस्तो छ, खोइ खोइ !’

गोतामेकी स्वास्नी आँगनको डिलमा थरथर काम्दै उभिएकी थिइन् । लोग्नेको रगत देखेर उनी बेहोस भइहालिन् ।

——-

तीन दिनपछि गाउँमा कुरा चल्यो– ‘गोतामेले जिल्लामा नालिस हालेको छ ।’

यो कुरा सुनेर मरिचेको अनुहार मरिचजस्तै चाउरियो । गोतामेलाई कुटेँ भन्दै हिँड्ने मरिचेको नौनाडी गलेर आयो । बिरामी होलाजस्तो भएर बिसन्चो भयो । एक बोतल रक्सीमा कुरा नमिल्ने भयो । माफी नपाउने भयो । गोतामे रक्सी खाँदैन । आपत् परेपछि मरिचेले गाउँका दाजु–भाइ गुहार्‍यो ।

‘दुङ्दुङ्गे बोकाजस्तो, जहिले जहिले चुपी झिक्छस्, अब भेटिस् !’ मरिचेको ठूला बाउले भन्यो ।

‘आले, नकराऊ न हाओ । रिसको झोंकमा परिहाल्यो त ।’ निधार मऽसार्दै मरिचेले तनावमा भन्यो ।

‘लिम्बूलाई पो रक्सीले शिर उभ्याउँदा हुन्छ, मान्छ । बाहुनलाई रक्सीले हुन्छ ? लाउँछ त नालिस, खेप अब जीवनभर तारिक ।’ बडाबाउ झन् रिसायो ।

‘त्यस्तो ठूलो झगडा परेको होइन । मैले र रिजाल कान्छाले छुटाको । नडरा दाजु ! जे पर्ला पर्ला ।’ माङ्गेना साइँलाले मरिचेलाई आँट दिँदै भन्यो ।

‘हैट ! बाहुन–क्षत्रीसँग चैँ मुद्दा लडेर सकिँदैन साथी हो, ठूलो कुरा नगरुङ ।’ मिल्तेरी बूढाले दुवै हात कुममाथि उँभो फर्काउँदै भन्यो ।

‘कानुन सबलाई उही हो, किन पो डराउनु ?’ माङ्गेना साइँलाले भन्यो ।

‘सात पढें भन्दैमा जान्ने भएर कानुनको कुरा गर्छस् ! कानुनको नौ सिङ हुन्छ । एक सिङ तँइले आफ्नो देख्या होलास्, बाँकी आठ देख्या छस् ?’ मिल्तेरी बूढा उफ्रिहाल्यो ।

‘मुद्दा लडेर फाइदा त छैन, कालीबहादुरले मुद्दा त जित्यो नि, आखिरमा केही पाएन । तारिक खेप्दा, ओकिललाई पैसा खुवाउँदा खेतबारी बेच्नुपर्‍यो,’ कुनामा बसेको चुक्कापोबा बोल्यो ।

‘त्यै त म भन्दै छु । बाहुन–क्षत्रीसँग झन् सकिँदैन, हामी लिम्बू मुला चार पाँच ठाउँ जाँड नखाई पुगिँदैन है फेदेन, उनीहरू निम्भु खोला र सिवाखोलामा दुई खेप पानी खाएर पुग्छ । अनि यत्रा सकिन्छ ?’ मिल्तेरीको कुरामा सबैले ‘हो’ भने ।

‘अड्डा–अदालतमा गएर बोल्न पनि जानिँदैन,’ चऽक्कापोबाले कऽरा थप्यो ।

‘त्यहाँ त ‘श्रीमान्’ भन्नऽपर्छ,’ उठेर अभिनय गरेर देखाउँदै मिल्तेरी बूढाले भन्यो, ‘हाओ, यो मरिचेले जान्दछ बोल्नु त्यस्तो ? म त देश खाएर शेष भाको मिल्ट्री मान्छे र पो जान्दछु ।’

‘लु सकिँदैन भने केचैँ गर्ने त ? त्योचैं कुरा गरौँ न, यत्राको मिल्ट्री र सिल्ट्री भनिबस्नु,’ माङ्गेना साइँला रिसायो ।

मिल्तेरी बूढा नबोली आफ्नो ठाउँमा बस्यो । रिजाल कान्छा र थापा पनि आइपुगे ।

‘अनि कान्छा, के भन्छ त गोतामे ?’ ठूला बाउले सोध्यो ।

‘बाउ छोराको उपचार खर्च नै दस हजार लाग्यो भन्छ,’ रिजाल कान्छाले भन्यो ।

‘गोतामेको बुढीऔंला नचल्ने भएछ । छोराले पनि देब्रे कान सुन्दैन रे !’ थापाले थप्यो ।

‘दस हजारै त गएन होला हाउ, गोतामेले ढाँट्यो,’ चऽक्कापोबा बोल्यो ।

‘जान्छ नि हाउ, डाक्टरले एसो डिग्री लाएर नापेपछि पैसा त गई पो हाल्छ ।’ मिल्तेरी बूढाले कऽरा थाले, ‘चुक्कापोबाले अस्पताल देखेकै छैन, आरे मान्छे हराइन्छ पो त । त्यत्रो ठूलो घर हुन्छ । तर, सत्ते कुरा गर्नुपर्छ, फेदेनको अस्पतालचैँ मैले पनि देखेको छैन है ।’

मिल्तेरी बूढाको गफ सुन्न मन नलागेर माङ्गेना साइँला उठेर बाहिर गयो ।

‘अङ्गभङ्ग भयो भनेर उजुरी गरेको छ रे, मिल्ने हो भने आजभोलि नै मिलाउनुपर्छ बडा । नत्र एक दुई दिनमा समाउन पुलिस आइपुग्छ । त्यसपछि हाम्रो केही जोड लाग्दैन,’ रिजाल कान्छाले भन्यो ।

‘हँ, मिल्ट्री पुलिसले समाइसकेपछि केही सीप चल्दैन है, मिल्ट्रीमा हुँदा हामीले पनि कति समातेको..’

‘तिम्रो मिल्ट्री गफ एकछिनमा सुनुँला । पहिला यताको कुरा सिध्याउँ,’ ठूला बाउले मिल्तेरीलाई बीचमा रोक्दै भन्यो, ‘गोतामेले तिम्रो कुरा खान्छ, फका कान्छा ! कुरा यतै मिलाउनुपर्छ ।’

‘गाउँ समाजले भनेको कुरा नसुनी हुन्छ त्यसले ? म सम्झाउँछु ।’ रिजाल कान्छाले यसो भनेपछि मरिचेको अनुहार अलिकता उघ्रियो ।

त्यो दिन यतिमै साँझ पर्‍यो ।

दोस्रो दिन ।

गोतामेले क्षतिपूर्ति पाँच हजार नभई नमान्ने भयो । हस्पिटल जाँदा उसको त्यति नै खर्च भएको उसले दाबी गर्‍यो । मरिचेसँग पाँच हजार रुपैयाँ तत्काल नभएकोले गोतामेको घरछेउको आठ मुरी धान फल्ने खेत लेखिदिने भयो ।

‘ए रामे तँ घर जा !’ ठूला बाउले भन्यो ।

‘हाँ, के भनेको बाजे ?’ रामे ठूला बाउको देब्रे भएर बसेको थियो ।

‘बर्बाद भयो ठूला बा ! मेरो छोरा अपाङ्ग हुने भयो,’ गोतामे झन्डै रोयो । उ ब्यान्डेज बाँधेको हातलाई अर्को हातले थामेर बसेको थियो ।

अरू गाउँलेहरू पनि उपस्थित थिए । कुरा मिलाइसकेर रिजाल कान्छा तमसुक लेख्दै थिए ।

‘होइन, बडाबा मरिचेले गोतामेलाई कुटेको, अङ्गभङ्ग गरेको त लेख्न नमिल्ने र छ,’ रिजाल कान्छाले भन्यो ।

‘अनि के गर्ने त कान्छा ? गोतामेले औला नचल्ने भन्छ ।’ ठूला बाउले भन्यो ।

‘हाओ गोतामे, शिरीष घाँस मागेको होइन, फुल्ने बेला भइसक्यो, लाँदैनस् त ? मिल्तेरीले घरभित्रदेखि निस्किँदै भन्यो ।

‘नभ्याएर हो काका, भोलि काटी लान्छु,’ गोतामेको ठूला बाउसँग आँखा जुध्यो, लगत्तै कुरा घुमायो, ‘कसैलाई गुहारेर भए पनि मै लान्छु ।’

‘नलाने हो भने भन है, माग्ने अरू पनि छन्,’ मिल्तेरी ठूला बाउको छेउमा आएर बस्दै भन्यो ।

‘हैट, मिल्तेरी काका पनि, एकछिन चुप लागेर बस्नू ! घर खर्च वा कार्जे खर्चमा भनेर लेख्नुपर्छ होला, नत्र यो त मिसिल बन्छ । पछि पनि कतै मरिचेले झगडा गर्‍यो भने त पासो लाग्छ, मरिचेले चुपी बोक्न छोड्ने होइन,’ रिजाल कान्छाले भन्यो ।

रिजाल कान्छाको कुरा ठूला बाउलाई मन पर्‍यो, ‘ह, दुङ्दुङ्गे पूजा गर्दा भनेर लेख ।’

गाउँले दाजुभाइ सबैलाई फड्के किनारामा साक्षी राखेर मरिचेले दायाँबायाँ औंठाछाप लगायो ।

यसरी ख्यालख्यालैमा मरिचेको खेत गयो । तर पनि मरिचेले चुपी भिर्न भने अझै छोडेको छैन ।

प्रकाशित: आश्विन ३०, २०७२

(स्रोत : Kantipur – Koseli)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.