~मोदनाथ प्रश्रित~
गौतमबुद्धलाई अहिले विश्वका अधिकांश मानिसहरू महाज्ञानी, तार्किक, मानवतावादी, सत्यका अन्वेशक, शान्तिका मार्गदर्शक, सुधारवादी दार्शनिकका रूपमा चिन्दछन् र ठूलो सम्मान व्यक्त गर्दछन्। तर एक समय यस्ता थियो विभिन्न धर्म र दर्शनका अनुयायीहरूले उनलाई “वेदविरोधी, नास्तिक, पाखन्डी, भँडुवा” आदि भनेर घनघोर विरोध गर्दथे। बुद्धका अनुयायीहरूमाथि ठूल्ठूला आक्रमण भएका थिए, भिक्षुहरू मारिएका थिए, विहार गुम्बाहरू भत्काइएका थिए, बौद्ध ग्रन्थहरू उठाइएका थिए र बौद्ध मतका थुपै विद्वान र अनुयाीहरू आफ्नो ज्ञान, आस्था र बौद्धग्रन्थहरूको सुरक्षानिम्ति उत्तरी भारतबाट भागेर नेपाल, श्रीलंका, तिब्बत लगायतका मुलुकमा पुगिबसेका थिए। त्यसबेला कट्टर पन्डित पुरोहितहरू भन्दथे “कसैले हात्तीले कुल्चाएर मार्छ भने बरू मर्नु तर बुद्ध र जैनका मन्दिरमा नजानु।”
बुद्धको समयमा दक्षिण एसियामा उपनिवेशकालीन दार्शनिक आन्दोलन चालु थियो। अध्यात्मवादी र भौतिकवादी दार्शनिकहरूका तातो बहस चर्केको थियो। तर पनि बेदलाई नै ईश्वरवाणी सर्वोच्च ज्ञान र परम प्रमाण मान्ने धार्मिक दर्शनका अनुयायीहरूले बौद्ध र जैनमार्गीहरूमाथि त्यस्तो व्यवहार गरेका थिए। त्यस यता ढाई हजार वर्ष बितेका छन्। धार्मिक क्षेत्रीमा धेरै सुधारवादी आन्दोलन चलिसकेका छन्। दर्शन, धर्म र संस्कृतिहरूको व्यापक विश्लेषणात्मक, तुलनात्मक अध्ययन भैसकेको छ। हरेक कुरालाई तर्क, तथ्य र विज्ञानद्वारा प्रमाणित गर्ने प्रणाली विकसित भएको छ र आजको युगले “विज्ञानको युग” भन्ने सम्मान पाएको छ। तर दुःखको कुरा हाम्रो शिक्षा प्रणालीका तर्क, चिन्तन, विज्ञान, अन्वेषण, तुलनात्मक अध्ययन प्रयोग आदिको कमीले गर्दा आफूलाई महाज्ञानी ठान्ने विद्वान्हरू पनि आफ्ना धार्मिक सोचभन्दा फरक विचार तर्क, विश्लेषण आदि आउँदा बुद्धकालीन कट्टर ब्रहमणजस्तै अत्तालिंदै छन्। परम्पराका विसंगत पक्षहरू औल्याउन खोज्यो भने “धर्म, संस्कृति र परम्परालाई नै ध्वस्त पार्न खोजेको धर्मशास्त्रका निश्कर्षलाई बंगाएर भ्रमित पार्न काम भएका जस्ता अनर्गल आरोप ठाडै लगाउँदैछन्। “लौन नास्तिकहरूले सबै कुरा ध्वस्त पार्न थाले। एक गुरू पुरोहित पन्डितहरू हो ! ए सरकारी भात खाएर विश्वविद्यालयमा पढाउने संस्कृतका प्राध्यापकहरू हो। तिमीहरू किन चुप्प छौं? पाखन्डीहरूको खन्डनमा बोल्ान बोल ! अब हाम्रो पूर्खौली संसार डुब्ने भो सबभन्दा धेरै पाठकले पढ्ने कान्तिपुर पनि धर्मको विरूद्ध अधर्ममा लाग्यो। लौन अब के गरौं, गुहार दिओ। आदि रूपमा हाम्रा धार्मिक मान्यजनहरू त्रसित भएका देखिन्छन्।
रेडियो, टि.भी, पत्रपत्रिका सार्वजनिक संचारका आधुनिक माध्यम हुन्। सबैका विचार प्रसारणका साझा मञ्च छन्। धर्म र परम्पराको प्रचार गर्नु या विरोध गर्नु यिनको उद्देश्य होइन। धर्म, संस्कृति, परम्पराका राम्रा नराम्रा पक्षहरूको गहन विश्लेषण गर्ने पुनर्जागरणको अभियान यूरोपले चौधौ, पन्ध्रौं शताब्दीमा नै चलाएको थियो। दुःखको कुरा, बुद्धचिन्तनको जन्मभूमिमा बसेर पनि त्यो काम हामीले बिसौं शताब्दीमा बल्ल शुरू गर्दैछौं। धर्म, दर्शन, संस्कृति जस्ता विषयमा मात्रै हैन, संसारका कुनै पनि विषयमा तर्क, बहस, खन्डन मन्डल गर्न डरायौं भने हामीले यूरोप, अमेरिका, जापान, चीन आदिको बौद्धिक प्रगतिलाई कहिले भेटौंला?
हाम्रो परम्परागत चिन्तनमा एउटा जब्बर पक्ष के रहेको छ भने बेद, पुराण, धर्मशास्त्र, ईश्वर, देवीदेवता र अध्यात्मवादको प्रबल वकालत गर्नेहरू नै महाज्ञानी हुन, असल मानिस हुन्। ती कुराको बारेमा तर्क टिप्पणी, अन्वेषण, विश्लेषण आलोचनामा आदि गर्नेहरू अल्पज्ञानी, पाखन्डी, धर्म, संस्कृति, परम्पराका पूर्ण ध्वंशक महामूर्ख हुन्। धर्म र परम्पराका कट्टर समर्थकहरूले पनि बुझ्नुपर्ने कुरा के हो भने ईश्वर, धर्म, संस्कृति, अध्यात्मवाद आदिबारेमा चार्वाकपन्थी, बुद्धवादी, भौतिकवादी, मार्क्सवादी आदिले मात्र मतभेद देखाएको छैन, संसारका सबै धार्मिक दर्शन र धर्मशास्त्रहरूभित्रै तमाम मतभेदहरू भरिएका छन्। वेदलाई अर्पोरूषेम, ईश्वरवाणी मान्ने ६ वटा पूर्वीय दर्शनहरू ईश्वरको रूप र कामको बारेमा आफै बाझाबाझ गरेका छन् भने चीनका ताओवादी यूरोपका मुसावादी, प्लेटोवादी, इरानका जडशुत्रवादी, बाइबल मार्गी, इस्लामपन्थी हुँदै वर्तमान बहाइपन्थीसम्मका धर्म र दर्शनमा अनेक मतभेद र विरोध रहेका छन्। ती बारे उदाहरण सहित केही चर्चा गरौं।
न्याय, वैदेशिक, सांख्य, योग, मीमांश र बेदान्त दर्शन बेदलाई मूल आधारमा अकाट्य प्रमाण मान्ने पूर्वीय ६ दर्शन हुन्। बेदलाई ईश्वरवाणी र अकाट्य प्रमाण मानेर ईश्वरको अस्तित्व स्वीकार्ने हुनाले तिनलाई आस्तिक दर्शन भनिन्छ। उसो भए बेद ईश्वरका वाणी हुन् भन्ने कुरा तर्क र तथ्यबाट प्रमाणित हुन्छ त? ऋग्वेदको एउटा ऋचाले भन्दछ–“हे इन्द्र, तिमी चिताएको फल दिनेवाला हौ। हामी शत्रुहरूका गाई लुट्नको लागि लडाईमा जाँदैछौं। तिम्रो सहयोगले हामी शत्रुहरूको रीस र शक्तिलाई समाप्त पार्नेछौं।”
(८/४/२१/११)
के ऋग्वेदको यो ऋचा ईश्वरवाणी हो भन्ने प्रमाणित हुन्छ? के “सम्पूर्ण विश्व सृष्टि गर्ने ईश्वर”ले गाई लुट्न चाहने एकथरीलाई जिताउनु र अर्काथरीलाई हराउन इन्द्रलाई विन्ति गर्ने कुरा तर्कसंगत हुन्छ? महाज्ञानी विद्वानहरू यसो बेदका ऋचाहरूले व्यक्त गर्ने अर्थतिर पनि आँखा लगाउने गर्नुहोस् न।
ईश्वर र सृष्ट्रि वेदवाणीमा, दर्शनमा बाझएका कुरातिर ध्यान दिऊँ। न्याय दर्शन अनुसार ईश्वर जगतको सृष्टि, पालन र संहारकर्ता हो। त्यो जगतको निमित्त कारण हो। त्यसले ब्रमान्डकाल, आकाश, मन र आत्माबाट जगतको सृष्टि गर्छ। वैशेषि दर्शन अनुसार ईश्वरले पृथ्वी, जलस्रोत र वायुका परमाणुहरूबाट संसारको सृष्टि गर्छ। सांख्य दर्शन भन्दछ सम्पूर्ण विश्वसिर्जनाका मूल दुई तत्व हुन्–प्रकृति र पुरूष मूल सांख्यदर्शन अनुसार पुरूष ईश्वर हैन, जीव हा। त्यसैल मूल सांख्य निरीश्वरवादी मानिन्छ। ईश्वरवादी सांख्यलाई योगदर्शन भनिएको छ। मीमांसा दर्शन (पूर्व मीमांसा) अनुसार संसार अनादिकालदेखि चल्दै आएको छ, यसको न कहिल्यै सृष्टि हुन्छ नकहिल्यै अन्त। यस दर्शनका प्रणेता जैमिनीले ईश्वर र आत्म भूमिकाको बारेमा केही पनि भनेका छैनन्। उत्तर मीमांसालाई बेदान्त दर्शन भनिन्छ। बेदान्तका प्रणेता बादराचणका अनुसार ब्रम्हमा नै सबै कुरा ओतप्रोत छ। ब्रम्ह नै संसारको निम्ति कारण (कर्ता) र उपादान कारण (भौतिक वस्तु) हो। उपर्युक्त पाँच दर्शन द्वैतवादी (ईश्वर र भौतिक पदार्थलाई अलग–अलग तत्व मान्ने) हुन् भने बेदान्त दर्शन अद्वैतवादी (ब्रहम र जगतलाई तत्व मान्ने) हो।
बेदान्त दर्शनबाट पनि ईश्वर र सृष्टिबारे भिन्नभिन्नमतका अनेक शाखा बनेका छन्। शंकाराचार्यको बेदान्तअनुसार बृहत सत्य हो। जतग मिथ्या (झुटो) हो। रामायणको बेदान्तलाई विशिष्ट अद्वैत (ईश्वरको प्रधानता भएको) भनिन्छ। त्यसको निम्वार्क शाखा द्वैत अद्वैतवादीहरू भने माध्यवेदान्त द्वैतवादी छ। बल्लभ वेदान्तलाई शद्ध अदैतवादी दर्शन भनिन्छ। बेदलाई प्रमाणग्रन्थ मान्ने ६ वटा दर्शनको बीचमा त यति धेरै मत मतान्तर छन् भने विश्वका अरू दर्शन र धर्महरूमा ईश्वर र सृष्टिबारे झन् कत्ति मत मतान्तर होलान्? चीनको ताओ दर्शनअनुसार ताओ नै सम्पूर्ण सृष्टिको मूल गर्भ हो। अन्तमा त्यसैमा सृष्टिको विलय हुनेछ। ताओलाई जसले जान्दछ। त्यसले उसको व्याख्या गर्न सक्दैन जसले व्याख्या गर्छ त्यसले उसलाई जान्दैन।
इसाई बाइबलले भन्छ–ईश्वरले सात दिन लगाएर पृथ्वी, आकास, सूर्यचन्द्र आदिको सृष्टि गर्यो र त्यसपछि विश्राम लियो। हाम्रा केही पुराणले भन्छन् शेषशायी विष्णुको नाइटाबाट कमल उम्रयो। त्यसमा ब्रम्ह प्रकट भए। ब्रम्ह्माको कानेगुनीबाट दुई दैत्य निस्के। तिनै दैत्यलाई मारेको हाडछाला मासुबाट पृथ्वीको सृष्टि भयो। कतिपय पूर्वीय धार्मिक दर्शनले अबतारवाद मान्दछन्। यहुदी र इसाई धर्मले मसिहा (ईश्वर दूत)लाई ठूलो महत्व दिएका छन् तर इस्लाम धर्मले अवतारवाद मान्दैन त्यसले भन्छ– विश्व मान्छे वा अरू कुनै बस्तु जडमा जीवितको रूपमा प्रकट हुँदैन जो स्रष्टा हो त्यो कहिल्यै सृष्टि बन्न सक्दैन। ईश्वरको दर्शन वाणीकोरूपमा मानिसलाई मिल्दै रहन्छ। त्यो वाणी देवइनमा दैवी ध्वनीको रूपमा आउने गर्छ।
तपाई जति धार्मिक दर्शनहरू र धर्मग्रन्थहरू पढ्दै जानोस् यस्तै अनेक मतमतान्तर र वादविवादहरू पाउनुहुन्छ। यसबाट प्रष्ट हुन्छ ईश्वर एउटा वायुरूपी हात्ती जस्तै छ। जसलाई थरीथरीका आध्यात्मकवादीहरू अन्धाले हात्ती छामे जस्तो गरी त्यसको रूप र आकार प्रकारको वर्णन गर्दछन्। यदि संसारको सृष्टि गर्ने भनिएको ईश्वर एउटै हुन्थ्यो भने महाज्ञानी र ठुला दार्शनिकहरूले त्यसलाई चिन्न सक्थे भन्ने त्यसको रूप, गुण, चरित्रमा बनोट प्रक्रियालाई समान रूपमा बुझ्ने थिए। जब त्यसलाई “ईश्वर दष्टा्र”हरूले असमान रूपले बुझ्दै आएका छन् भन्ने प्रष्ट छ त्यो काल्पनिक कुरा हो। ईश्वरको नाममा एक एक काल्पनिक रूप खडा गरेर त्यसलाई चिन्ने सबभन्दा ठूलो ज्ञानी मै हुँ म फलानो हो र त्यसबारे प्रश्न उठाउनेहरू अज्ञानी, अल्पज्ञानीमा पटमुर्ख हुन् भन्ने भनाई कत्तिको तर्कसंगत, यथार्थपरक र वस्तुवादी हुन्छ?
तथ्यसंगत वस्तुगत विज्ञान संसारका जुनसुकै महाद्वीप या मुलुकमा पनि एकै खालको हुन्छ। विज्ञानको समान सुत्र र सिद्धान्तबाट संसारका सबै वैज्ञानिक र प्राविधिज्ञहरूले समानखाले निष्कर्ष निकाली समानखाले बस्तु उत्पादन गर्दछन्। रेडियो, टि.भी., हवाईजहाज र रकेट निर्माणको सिद्धान्त एउटै हुन्छ। संसारका रसायनिक वस्तुहरूको विश्लेषण सबै मुलुकमा समान हुन्छ।
त्यसैले धर्म संस्कृति र परम्पराप्रति गर्व गर्ने जुनसुकै दार्शनिक, विद्वान, संस्कृतिप्रेमी, इतिहास अन्वेषक या देशभक्तहरूले फरक मतहरूतिर आक्रोस पोख्नुभन्दा ती सबै कुराको समग्र अध्ययनतिर ध्यान दिनु राम्रो होला कि?
थानकोट (वाणस्थली)
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २२ – २०६७ बैशाख ७ गते, बुधबार)