कथा : आत्मबलभित्रको यथार्थ

~सविता श्रेष्ठ ‘बेहोसी’~

श्रेया अहिले अस्पतालको बेडमा केमो चढाएको बोतल हेर्दै सुँक्सुकाइरहेकी छिन्। श्रीमान्ले प्रेमपूर्वक गाला सुमसुम्याएको स्पर्शले उनलाई अझ रुन मन लाग्छ। श्रीमान्को आँसुको थोपा आफ्नो गालामा झरेको हेर्न नसकेर श्रीमान्को आँसु पुछ्दै भक्कानिएर भन्छिन्-सिर्जित ! म बाँच्छु होइन ? मलाई तपाईंको न्यानो काख र मायाको आलिङ्गनमा वर्षौं बाँधिने मन छ। भगवान्सँग मेरो जिन्दगी भिख मागिदिनुहोस्। मैले भनेको नमाने पनि तपाईंले भनेको त मान्छन् होला।’ श्रेयाको मुख छोप्दै सिर्जित भन्छन्- तिमीलाई केही हुँदैन।

सिर्जितको वाक्य पूरा हुन नपाउँदै सिस्टर अगाडि आएर विस्तारै भन्छिन्-सर ! उहाँको अगाडि कमजोर नबनिदिनुहोस्। तपाईंले यसरी आँसु देखाउनुभयो भने उहाँलाई अझ कस्तो होला ? सिस्टर स्वयं आफ्नो टल्पलिएको आँसु लुकाउन खोज्दै भन्छिन्-अहिले उहाँलाई पूरा आराम गर्न दिनुहोस्।

श्रेयालाई केमो चलाएको आज यो पाँचौं डोज हो। उनी यसपटक पनि केमोको असरले शिथिल छिन्, कमजोर छिन्। बेलाबेलामा बान्ता गर्छिन् र उठ्न पनि सक्दिनन्। उनलाई अस्पतालमा बस्ने मन छैन। तैपनि दिन बितिरहेका छन्। प्रत्येक रात आँसुले सिरानी भिज्छ। मनमा अनेकौं तर्कना आउँछन्। मलाई केही भयो भने मेरो परिवार ? छोराछोरी, श्रीमान् एवं आफन्तलाई सम्झिएर आत्तिन्छिन्। श्रेया कोल्टो फेरेर रात बिताउँछिन् भने सिर्जित पनि धेरैजसो रात कोल्टो फेरेर सुकसुकाउँछन्।

राति श्रेया जुरुक्क उठ्छिन् अनि आफ्नो केश छाम्छिन्-धेरैजसो केशको भाग सिरानीमा झरेको देख्दा मन ढक्क फुल्छ, त्यतिबेला उनलाई चिच्याएर रुने मन लाग्छ तर सिर्जितले थाहा पाउँछन् कि भनेर उनी आफ्नो केश सलले छोपेर सुकसुकाउँछिन्।

धेरै दिनपछि आज उनी ड्रेसिङ टेबलको ऐनाअघि काइँयो लिएर केश कोर्न उभिन्छिन्। आफूले सधै केशमा बाँधेर राख्ने सल हटाउन लाग्दा एक्कासि श्रेया चिच्याउँछिन्। एकक्षण स्तब्ध हुन्छिन्। सम्पूर्ण केश झरेर आफूलाई नै अनौठो लाग्ने अनुहार देखेर उनी तर्सन्छिन्। केश नभएको टाउको छाम्छिन्। उनले आफ्नो अनुहार हेर्दै विगतलाई सम्झन्छिन्- यही अनुहार केश हुँदा सबैले कत्ति राम्री। कस्तो राम्रो केश भन्थे। तर आज ……… ! हे भगवान् ! तिमी निर्दयी रहेछौ। मलाई किन यस्तो बनायौ ? भित्तामा झुन्ड्याइएको भगवान्को तस्बिर हेर्दै भन्छिन्-यस्तो रोग त कसैलाई पनि नलागोस्, प्रभु ! कसैलाई पनि नलागोस्-शत्रुलाई पनि यस्तो नहोस्। उनी एक मिनेट पनि उभिन नसकेर भित्ताको सहारा लिई ऐनाअघि नै थचक्क बस्छिन्।

‘भाउजू ! सुप ल्याएकी छु ढोका खोल्नुहोस् न।’ ढोका ढकढकाउँदै श्रेयाकी देउरानी नेहा अनुरोध गर्छिन्। देउरानीको आवाजले श्रेया झस्कन्छिन्। कल्पना गर्छिन्-यो सबै सपना भैदिए कस्तो हुन्थ्यो ?

प्रायः मानिसहरू राम्रा कुरालाई विपना भैदिए हुन्थ्यो, नराम्रा कुरालाई सपना भैदिए हुन्थ्यो भन्ने चाहना राख्छन् तर आफूले सोचेजस्तो कहाँ हुन सक्छ र ? सपना सपनै हुँदोरहेछ। विपना सपनामा परिणत नहुँदो रहेछ। श्रेया गालासम्म बगेको आँसु पुछ्दै सलले केश छोपेर विस्तारै ढोका खोल्छिन्।

नेहा सुप खान कर गर्छे। यति नै बेला सिर्जित पनि अफिसबाट आइपुग्छन्। अफिसको सानो बि्रफकेस भुइँमा राखी मुस्कुराउँदै-आज मेरी श्रेयालाई मेरै हातले सुप ख्वाउँछु भन्दै उनी फ्रेस हुन अर्को कोठामा पस्छन्। श्रेया केही उत्तर दिन सक्दिनन्, भुइँमा टोलाएर हेरिरहन्छिन्।

श्रेया र सिर्जित अफिसमा काम गर्ने भएकाले श्रेयालाई भ्याइनभ्याइ छ। सधैजसो श्रेयाको समय अफिसमा बित्छ। कहिलेकाहीँ मात्र अफिसको कामले श्रेयालाई बाहिर जानुपर्ने हुन्छ। सिर्जितले पनि अफिसका कामले बाहिर हिँडिरहनुपर्ने भएकाले छोराछोरीलाई होस्टेलमा राखेर पढाएका छन्।

एकदिन श्रेयाले बाथरुममा नुहाउँदा एउटा स्तनमा गाँठागुँठी भएको कुरा थाहा पाएर श्रीमान््लाई बताइन्। सिर्जितले उनको स्तनमा छाम्दा साँच्चिकै गाँठागुँठी देखेर अनुहार न्यास्रो बनाए। घरपरिवारको सल्लाहबमोजिम सिर्जितले श्रेयालाई डाक्टरकहाँ पुर्‍याए जहाँ डाक्टरले श्रेयालाई स्तन क्यान्सर भएको प्रमाणित गरे।

श्रेया र सिर्जितलाई त्यतिबेला पृथ्वी नै भासिएजस्तो महसुस हुन्छ। एक्कासि दुवै जना गहभरी आँसु पारी सुकसुकाउन थाल्छन्। उनीहरू एकले अर्कालाई सम्झाउन नसक्ने स्थितिमा हुन्छन्। श्रेयाले यतिमात्र सुनिरहेकी हुन्छिन्-‘पहिलो स्टेप हो अप्रेसन गरेर फालेपछि निको हुन्छ, डराउनु पर्दैन।’ डाक्टरलाई भन्न जति सजिलो थियो होला, तर श्रेया र सिर्जितलाई सहन त्यति सजिलो थिएन। निकै बेरसम्म श्रेया र सिर्जित बाहिर ननिस्केकाले सिर्जितको ड्राइभर भित्र पस्दा सबै कुरा थाहा हुन्छ।

‘सर ! भाउजूको अगाडि नरुनुहोस्, उपचार गरेपछि निको भैहाल्छ। बरू घर हिँड्नुहोस्।’- सिर्जितको ड्राइभरले आश्वासन दिन्छ। रोएर शिथिल बनेकी श्रेयालाई सिर्जित र उनका ड्राइभरको सहयोगले गाडीमा राखेर घर पुर्‍याउँछन्।

श्रेयाको अप्रेसन गर्ने दिन। अस्पतालमा सबै आफन्त, छिमेकी अफिसका साथीहरूले उनलाई घेरेका छन्। डाक्टरलगायत सबैको सहानुभूति उनीमाथि छ। सिर्जित कुनामा बसेर रोइरहेका छन्। उनलाई पनि सबैले आश्वासन दिइरहेका छन्।

श्रेयालाई गाउन लगाइदिएर अप्रेसन गर्ने कोठामा लाने तयारी भैरहेको हुन्छ। श्रेया एक्कासि सिर्जितलाई अंकमाल गरेर रुन्छिन्। त्यो दृश्य देखेर सबैका आँखा रसाउँछन्।

श्रेयालाई अप्रेसनपछि आई.सी.यू.मा राखिएको हुन्छ। बिहान ७ बजे मात्र उनको होस खुल्छ। होस खुल्नासाथ श्रेयाले आफ्नो अप्रेसन सफल भएकोमा डाक्टरहरू एवं भगवान्लाई सम्झेर मनमनै कृतज्ञता चढाउँछिन्। उनी विस्तारै हात उठाएर आफ्नो स्तन छाम्छिन्। आफ्नो एउटा स्तन अप्रेसनपछि फालेको महसुस गर्छिन्। उनका आँखा पुनः रसाउँछन्-श्रीमान् र छोराछोरी अनि घरपरिवार सम्झेर। यति बेला सिर्जीतको ‘श्रेया’ भन्ने आवाज आउँछ, श्रेयाले आवाज आएतिर विस्तारै पुलुक्क हेर्छिन्। आफ्नो अगाडि सिर्जित फूलको बुके लिएर मुस्कुराइरहेका हुन्छन्। बुके हातमा दिएर खुसीको चुम्बनसहितको बधाई दिन्छन्। उनी त्यो बधाईलाई आफ्नो जीवन सम्झेर खुसी हुन्छिन्। त्यही दिनदेखि उनलाई हेर्न आफन्त, छिमेकी, अफिसका मित्रहरूको भीड लाग्छ।

‘श्रेया’ सिर्जित उनलाई घचघच्याउँछन्। उनी झसङ्ग हुन्छिन्। अतीतमा निकै बेर हराएकी छिन्। ‘हजुर !’, मायालु स्वरमा श्रेया बोल्छिन्।

हेर ! सुप पनि चिसो भैसक्यो। म पनि फ्रेस भएर आइसकें। अब त आँ गर। मायालु स्वरमा सिर्जितले भनिरहेका हुन्छन्-धेरै चिन्ता नगर श्रेया। विस्तारै निको भैहाल्छ। श्रेया केही नबोली सुप खाँदै ध्यान दिएर सिर्जितको कुरा सुनिरहन्छिन्।

‘अब रेडिएसन दिएपछि तिमी पहिलेजस्तै विस्तारै सामान्य भैहाल्छौ। तिमी अफिस पनि जान सक्छ्यौ। तिम्रो आफ्नो साहित्य लेखन कार्यमा छुट्टै पहिचान पहिलेदेखि नै छ। त्यसलाई पनि निरन्तरता दिन सक्छ्यौ, तिमीलाई जस्तै यस्तो रोग अरूलाई पनि त लागेको छ, धैर्य गर्नुपर्छ। यस्तो रोगबाट डराउनुपर्दैन, समयमै उपचार गरेपछि निको हुन्छ। आत्मबल पनि रोगलाई निको पार्ने औषधि हो। तिमीले समाजका लागि उदाहरणीय व्यक्ति बनेर देखाउनुपर्छ। समाजका त्यस्ता रोगीहरूलाई प्रोत्साहन दिन सक्नुपर्छ र अरूलाई पनि रोग लाग्न नदिन सचेत गराउनुपर्छ। रोग लागेर पनि अप्ठ्यारो र डर मान्ने महिलाहरूलाई आफ्ना अनुभवका कुराहरू बताएर समयमै उपचार गराउने सल्लाह दिन सक्नुपर्छ।’

सिर्जितको लामो कुराले उनलाई भित्रैबाट आत्मबल मिल्छ। अब उनी हाँसेर जिउन चाहन्छिन्। उदाहरणीय बन्न चाहन्छिन्। आफ्नै कारणले अरू दुःखी बनेको हेर्न चाहँदिनन्। श्रेया त्यही दिन सङ्कल्प गर्दै भन्छिन्-अब म लेखन कार्यलाई निरन्तरता दिन्छु अनि समाज सेवामा लाग्छु।

समय बित्न के बेर र ….

समय-समयमा डाक्टरसँग पुनः परीक्षणपछि श्रेया पहिलेजस्तै अफिस जाने भएकी छिन्। आफूले खोलेको संस्थामा सक्रिय रूपमा लागेकी छिन्। घरपरिवार सबैलाई हेर्न भ्याएकी छिन्। समय मिलाएर उनले आफ्नो लेखन कार्यलाई पनि निरन्तरता दिइरहेकी छिन्। आज श्रेयालाई एउटा साहित्यिक संस्थाले महिलाहरूका लागि महिलाहरूमा पर्न आएको समसामयिक सन्दर्भलाई समेटेर लेखेको उपन्यास ‘आत्मबलभित्रको यथार्थ’ सबैले मन पराई सर्वाधिक बिक्री भएकोमा सम्मान गर्ने भएको छ।

ठूलो हल मानिसहरूले भरिएको छ। धेरै मानिसको भीडमा उनी छुट्टै पहिचान बोकेर स्टेजमा बसेकी छिन्। बधाईको ओइरो लागेको छ। उनको आत्मबल र साहस देखेर उनी क्यान्सर पीडित हुन् भनेर कतिपयलाई पत्याउनै गाह्रो छ।

यतिबेला श्रेयाको सम्मान हुँदैछ। दोसल्ला ओढाई फूलको माला लगाइदिएर बुके र सम्मान पत्रका साथ सम्मान कार्यक्रम हुँदैछ। सिर्जित श्रेयालाई खुसीका साथ बधाई दिन्छन्।

श्रेयाले भन्छिन्-आज म यो स्थानमा आउनु र यो सम्मान पाउनु म मेरा लाखौं शुभचिन्तक, मेरो उपन्यास मन पराई प्रोत्साहन दिनुहुने मेरा पाठकहरू, मेरो परिवार, आफन्त, संघसंस्थाका साथीहरू र थप प्रेरणाका स्रोत श्रीमान् सिर्जितलाई हार्दिक धन्यवाद दिँदै आभार प्रकट गर्न चाहन्छु।

यति बेलै स्टेज तल आफन्त र छोराछोरीहरू खुसी व्यक्त गर्दै हात हल्लाइरहेका हुन्छन्। तालीको आवाजले हल गुञ्जायमान हुन्छ। सबैको बधाई सँगाल्छन्-श्रेया र सिर्जित।

श्रेयाले सिर्जितलाई पुलुक्क हेर्छिन्। सिर्जित पहिलेदेखि नै श्रेयालाई हेरिरहेका हुन्छन्। दुवैका आँखा जुध्छन्, दुवै भावुक हुन्छन्। दुवैको ओठमा सफलताको मुस्कान छ।

माघ २, २०७०

(स्रोत : कान्तिपुर – नारी मासिक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.