~गोपी मैनाली~
‘सञ्चो भएपछि धितमर्ने गरी कुरा गरुला बाबु अहिले असजिलो भो’ । पेटको क्यान्सरबाट छटपटाएकी मेरी आमाले असीम पीडाका साथ यो वाक्य बोलेकी थिइन । बोलीका पछि कति धेरै माया थियो भन्ने कुरा बोल्नै नसक्दा वोलेका यी शव्दबाट थाहा हुन्थ्यो । तर आमालाई थाहा थिएन, ‘धित मर्ने गरी’ कुरा गर्ने दिन आउने छैन । राम, म र युवदाजुले
उहाको रोगको सवै कुरा नवताइ टार्ने गरेकाथ्यौँ । आमाको मनोवल नघटोस भनेर पनि रोगको विषयमा धेरै बताएका थिएनौ । आमालाई भने विमारी अवस्थामा नै भएपनि वरिपरी छोराहरु देख्न पाएकोमा भएको खुसी विमारीको पीडाभन्दा धेरैथ्यो । खुट्टा लागिसकेपछि हामी आमासँग कहिले पो वस्यौ र ? केवल झल्याकझुलुक दशैमा मात्र । यसपाली तीन दाजुहरु दशैमा पनि घर नगएकोमा आमाले गगल्चिएर भनेकि थिइन–‘अर्को साल दशै मान्न पाइएला जस्तो छैन, सपना धेरै विग्रिएको छ, ठूला छोराहरु झन यसै वर्ष आएनन् ।’
बोली रहनु केही दिन अघिको कुरा हो ‘बाबु तिमीले घर बानेश्वरमै बनाउ है ।’ शायद त्यही घरमा आमाले ‘धित मार्ने गरी’ कुरा गर्न चाहेकी थिइन । हामी सवै छोराहरुको घर आमाको चाहना थियो । आमाका ती शव्दमा भक्कानिएको मन दवाउन उनले थाहा नपाउने गरी दा¥हा किटेर उतातिर फर्के, आँख टलपलाए । कतै आमाले मेरा टलपलाएका आँखा देखेकी भए अरु पीडा थपिनसक्थ्यो । अभिनयको पारामा अर्कोतिर फर्के, त्यो वाहेक विकल्प पनि थिएन ।
…
धन्य मेरी आमा १ हामी आठ दाजुभाइ र तीन दिदी बहिनीलाई धरतीमा पैदा गरेर विदा लिइन, दुःखै दुःखमा विदा लिइन । छोरा छोरीको प्रगति र पौरख हेर्ने आमाको चाहना उनको आँखाले देख्न पाएन । हामी एघार सन्तानलाई हुर्काउन आमाले अहोरात्र रगत पसिना वगाइन । तर प्वाख पलाएका चरा झै खुट्टा लागेपछि हामीहरु एक एक गरी सवै आमाबाट भर्रर उड्यौँ । पढाई, भविष्य र आमाकै सपना खोजीका लागि थियो त्यो।
…
आमाहरु कति महान हुन्छन् । आमा नभए संसार कति निर्जन हुने थियो । यो संसार सवै आमाको सिर्जना न हो ।
सवै आमा महान हुन्छन् । मेरी आमा अझै महान । दुई–दुई वर्षको अन्तरमा वा¥ह सन्तान (दाइ चन्द्र भने सानैमा वितेछ) जन्म दिने आमा कागती निचरेको अनुहार, खोपिल्टिएका आँखा, शक्तिहीन शरिरमा के के न जितौलाको उत्साहमा संघर्षशील थिइन । रोशीखोलाबाट जोर गाग्रामा पानी ल्याउँदा होस् वा घरमुनिको पिपले फाँटबाट घासका भारी ल्याउँदा, हामी छुचुन्द्रे ताँतीमा आमाकै अघिपछि हुन्थ्यौ । आमाको अघिपछि रहँदा पनि कति खुसी लाग्थ्यो । तर आमाको दुःख परिश्रमप्रति हामीले सोच्न सकेका थिएनौ ।
हिन्दू पितृसत्तात्मक परम्परा, न्यून मध्यमवर्गीय समाजकी बुहारी, वा¥ह सन्तानकी आमा, शारिरिक अवस्थाको कल्पना गर्न सकिन्छ । त्यत्तिको दुव्लो र जिर्ण शरिर शायदै देखिन्छ । खपटे गाला धरतिको प्रतिरुप थिए, खोपिल्टा आखा मायाका गहिराइ, चाउरिएको निधार उदारताको खानी १ तीनचार दाजुभाइ एकैसाथ आमाको काखमा झुत्ती खेलेर धावा वोल्थ्याँै र आमालाई गिजल्थ्याँै । यत्ति गर्दा पनि दिनभरिको दुःखले थकित, प्राणमात्र अडिएकी आमा कत्ति दुःख नमानी हामी सवैको गिजोलाइ सहज स्वीकार्थिन दुखी सुखको अनुभूतिमा ।
कति पीडादायी हुन्छ अलिकति पनि सुन्न नचाहेको र समाधान नै गर्न नसकिने कुरा एकसी सुन्दा । महिनौदेखिको ज्वरोको सामान्य विमारीको जाँच गर्न लाँदा डाक्टरले भनिदियो–‘के गरेको, पहिल्यै ल्याउनु पर्दैन? तिम्री आमालाई क्यान्सरले खाइसकेछ, यो अवस्थामा अस्पताल ल्याउने हो ? अव ब्रह्माले पनि केही गर्न सक्तैन ।’ राम र म छाँगाबाट खस्याँै, मन भक्कानियो, आँखा टिल्पिलिए, तर दुवैका ओठ निशव्द रहे । रामले सिन्को जस्तै अद्र्धविचेत आमालाई पिठ्यूमा वोक्यो, मैले रामलाई समाए । सम्वादहीन दुईभाइ ट्याक्सीमा आमालाई सुताउदै धुमवाराही आयाँै । छोरा भएर पनि केही गर्न नसकेको पश्चाताप, ईश्वरलाई गुहार र उपचार खर्चको जोहो यस्तै यस्तै कुराहरु मनमा थिए । शायद राममा पनि यस्तै । ट्यक्सीको पूरै यात्रा निशव्द सन्नाटामा रह्यो ।
…
अहिले आमा छैनन् । आमा नभएपछि घर पनि छैन । घर त सवै छोरा छोरीको छ, कोही कहा, कोही कता तर आमाविना घर कति उजाड र शून्य । आमा नभएको चाडवाड पनि हुँदो रहेनछ । दशै छ तर आमाको चुह्लो, वात्सल्य, अर्तिउपदेश र हार्दिकता केही पनि छैन । बुबा पनि खसेपछि परारसाल बच्चालाई हाम्रो जन्मस्थल देखाउन रोशी गयौँ । तर त्यो हाम्रो वाल्यावस्थाको जस्तो थिएन । आमाले दुःख गरेको रोशीखोला उजाड भएछ, आमाको शरिरजस्तै खोलाको पानी पनि सुकेछ । निकै ठूला लाग्ने चारसयफाँटका खेतका गरा पनि निकै साना भएछन्, यही खेतका कारण झण्डै दश वर्ष भोटेहरुले हामीलाई दुख दिएका थिए । बुवालाई गाउ आउन दिएका थिएनन्, मार्ने नियतले श्यामदाजु र ठूलदाजुलाई कुटेका थिए । हामी नावालग, आमा र दुई भाउजु मात्र भोटेले लुट्न वाँकी पाखो वारीमा पसिना चुहाउथ्याँै । हामी आप्mनै वासस्थानमा विस्थापित थियौँ । तर पनि रोशीखोला थियो, आप कटहरका बगैचा थिए । अहिले हामीजस्तै आमाको माया पाएका आँप, कटहर, अम्वा र तित्रीको वगैंचा पनि रहेनछ । वगैचा मात्र होइन, हामीले वेचेपछि हाम्रा घरहरु अर्कै भएछन्, तित्रीको चौतारो भत्किएछ, त्यही चौतारोले आमाको काखपछि हामीलाई काख राख्थ्यो । हाम्रो पिपले फगत पिपले भएछ । रोशीखोला सुसाई पानीसँगै सुकेछ, धार्सिङखोलाको कलकलावट पनि सुकेछ । हामी कान्पु्र जाने धारेको बाटो, जहाँ आमा हामीलाई देखिञ्जेल आखा विछ्याउँथिन, पैरोले उजाड भएछ । यी सव मेरी आमाले देखेकी भए कति रुन्थिन होला । होइन, आमा नभएर न यी सव यस्तो भएको हो ।
…
एकमनले लाग्छ, म कति धन्य छु । ठूलोदाजु औधी माया र वात्सल्यको व्यवहार गर्नुहुन्छ । आफै दमको रोगी, राम्ररी वोली पु¥याउन पनि सक्नुहुन्न तर आफनो रोग, दम र पीडालाई दवाएर भन्नु हुन्छ ‘बाबु तँ अव धेरै दुख नगर ।’ शायद आमा वुवाको अभाव पूरा गर्ने दाजुको प्रयत्न हो यो व्यवहार ।
उदार मानिसहरु दुःख मनभित्र लुकाएर पनि गुलाफ झै फक्रिएका हुन्छन् । हो, ठूलोदाजुको चेहरामा गुलाफ फक्रेसरी प्रसन्नता र चहक छ । सवैभाइ चार दशक काटीसके तर मायाको सगरमाथा भएर हामीलाई ढाकिरहनुहुन्छ ।
वोलिरहने, ख्यालठट्टा, रमझम पनि उत्तिकै प्रीय ठूलोदाजुका लागि । तर कुन्नि के भएर चार पाँच महिनासम्म दाजुको बोलि आएन । युवदाजु, म, राम, नारायण आत्तियौ, हाम्रो घरमा रोग लागे कि निकै खतरा लाग्छ । के दाजुको वोली ल्याउन सकिन्छ ? धन्य डाक्टर, तिम्रो थेरापीले मेरो बोलिरहने दाजुको आवाज पूर्ववत भयो । वोलिरहने मानिसलाई इसारामा वोलेर वाँच्दा कति निराश हुनेथ्यो होला।
महिनाको एकवार कम्तीमा अहिले पनि फोन गर्नुहुन्छ सञ्चो विसञ्चो सोध्नका लागि मात्र भएपनि । देव, र राम विदेशिएकोमा निकै चिन्तित हुनुहुन्छ । भाइहरुको प्रगति पनि होस र नजिकै पनि रहुन भन्ने दाजुको चाहना हो । पोहोर शुभम–सुव्रत अष्टिन जानुअघि पनि दही केराको सगुन र निधारभरि टिका लगाएर कलिला भतिजहरुलाई मन खोलेर आशिस दिनु भयो –‘तिमी वज्याहरु पढेर यतै आउनु नि १’ तर दाजु अस्रुत भैसक्नु भएकोथ्यो ।
सानैदेखि दुःख, अभाव र संघर्ष ठूलोदाजुको नियति हो । हाइस्कूल पढ्दादेखि नै साझावसको सहायक भएर पनि धेरै छरछिमेक र साथी संगतीलाई सहयोग गर्नुभो । आफ्नो भविष्य विगारेर पनि अरुलाई बनाउनु भो । तर उहाले न कसैबाट सहयोगको आशा गर्नुभो, नत कसैले सहानुभूति नै राखे । ठूलो दाजुको जीवनलाई हेर्ने आफ्नै परिभाषा छ ‘यस्तै हो, जे परे त्यै गरौला ।’
…
श्यामदाजु सानैदेखि घरको अभिभावकत्वको दिदै आउनुभो । च्याङ्वेले धान खेत र वारी वर्षैसम्म लुट्यो । आमाका रगत पसीना वगेको खेत लुट्दा पनि प्रहरी प्रशासनले न्याय दिएन । आमाका आँखा आशु रित्तिएर सुख्खा भएका थिए, हामी साना भाइहरु कराउन र रुन मात्र सक्थ्यौ । त्यो दुख सम्झिदा अहिले पनि आङजिरिङ् पुलेर आउँछ । लुटेराप्रति जाइलाग्न मन लाग्छ । श्यामदाजुले नै साहसको विराट धरोहर भएर परिवार जोगाउनु भो । श्यामदाजुलाई साथ दिने ठूलोदाजुवाहेक को थियो र त्यतिवेला ? मेरो दाजुको साहस मार्न धनेले मर्ने गरी पिटेर रगताम्मे पारेर हिलोमा फालेथ्यो । लेख्ने हातको औलो हसियाको उल्टो धारबाट क्याचक्याच पा¥यो । गाउछिमेक पनि डरका मारे भोटे पट्टि, हामी नावालकहरु रुनमात्र सक्थ्यौ । ती दिनहरु मानसपटमा अहिले पनि ताजै छन् । श्यामदाजु नभएको भए हामी सवैको सामुहिक चिहान हुनेथ्यो रोशीखोलाको चारसय र पिपले फाँट । श्यामदाजु पिपलको ठूलो बृक्ष, जसले हामीसवैलाई ओत दिएर यहाँसम्म ल्याउनु भयो । परिवार मात्र होइन, छरछिमेक र नातेदारसम्मको बटबृक्ष हो श्यामदाजु । तर हामी डराउँछौ कुरा गर्न पनि । अभिभावकसँग डराउनु अनुशासन हो शायद । श्यामदाजु हिम्मतको पनि धरोहर, मार्गद्रष्टा र उत्साहको पहाड १ मन त्यसै औडिएर आउँछ दाजुको सामान्य विसञ्चोमा पनि । तर अरु जस्तै हामी दाजुभाई पनि छुट्टिएर वसेका छौ । मनमा जति माया भए पनि एकै कोखका दाजु भाइ छट्टिने रित नै रहेछ ।
…
उमेशदाजु–बौद्धिकता र मिहेनतको अजस्र खानी । के आउँदैन उहाँलाई १ म संगीत र साहित्य लिएर प्रवीणता प्रमाणपत्र पढ्ने विटल्स, एप्सटायन, पप र रक मात्र होइन, चलचित्रका एक्सनदेखि गीतका अन्तरासम्म मलाईभन्दा दाजुलाई नै बढी आउने । गीतादेखि कुरानसम्म, राजनीतिदेखि विज्ञानसम्म । तर जीवनमा कलेजको मुखसम्म देख्न पाउनु भएन । बौद्धिकता र मिहनतले स्वाभिमान र साहस जन्माउने रहेछ । डिठ्ठादेखि सचिवसम्म आफ्नै वौद्धिकताले पुग्नुभो, कहिले कोसँग झुक्नु भएको छ र ? उदार मन, रसिक शैली र धेरै साथित्वको व्यवहारमा उहाँ सदावहार । तुलनात्मक रुपमा अरु भाइजति दुख उहाँले गर्नुभएको छैन । चखेवाको जोडीजस्तै रमा भाउजु र उमेशदाजुको जोडी, तर आमालाई जस्तै रमा भाउजुलाई पनि क्रुर क्यान्सरले लगेपछि भने दाजुमा दुःख र दायित्व पहाड थुप्रियो । पटकौ अवसरहरु संघारमा आए पनि प्राप्ती भएन भएन । र पनि दाजुमा निराशा देखिएन । वौद्धिकता र स्वभिमान उहाका पहिचान, यसैमा स्थापित हुनहुन्छ । बौद्धिकताले उहा आफैभन्दा पनि समाज र देश लाभान्वित भएको छ ।
…
हृदयले बोल्ने युवदाजु। लोभ, लालच र इष्र्या–द्वेष बिनाको सिर्जना । दाजुभाइमा ससानो दुख आउँदा पनि पहिलो छटपटी उहामा नै देखिन्छ । सहयोग, उदारता र माया उहाका पहिचान, तर उहा आफैचाहि कहिल्यै सहयोगको अपेक्षा गर्नुहुन्न । भोकाउँदा पनि खाना माग्नु भएन, पढ्न नपाउदा पनि दुखमै रमाउनु भो । उमेर पुगेका दाजुहरु घरवस्न नहुने, रोशीखोलामा भोटेको हप्कप्दप्की खादा पनि डारउनु भएन । दाजुभाइको प्रगतिमा खुसी हुनुहुन्छ । लोभ र ईष्र्या उहालाई थाहा नै छैन । घरपरिवारमा अलि बढी गाली पनि उहा नै खानुहुन्छ तर पनि त्यसको पर्वाह छैन । आमा, भाउजु र बुवा क्यान्सरमा छटपटिदा मात्र होइन, दाजुहरुको सरुवा बढुवा विग्रदा पहिलो दुखाई युवदाजुलाई नै भयो । देव विदेशिदा कैयन छटपटाउनु भो, राम विदेशिएला भन्ने उत्तिकै चिन्ता छ । चाडवाडमा पनि सवैलाई वरिपरी देख्न चाहनुहुन्छ । ठूलो परिवार, कोही कता, कोही कता, केही न केही तलमाथि, संधैको चिन्ता उहालाई नै । धेरै चिन्ताले उहाको वृत्ति व्यवस्थालाई पनि प्रभाव पा¥यो, कहिले वेसुराजस्तै आफैलाई भुल्नु हुन्छ । परिवारको कुनै सदस्यको आलोचनामा त्यत्तिकै जाइलाग्नुहुन्छ । उहा इमान, निष्ठा र संवेदनको खानी हो । शायद आफ्नै दुःख भुल्न साहित्यको सहारा लिनु भएको छ ।
…
ईश्वर नै छैन भन्ने कुरा देवको हकमा लागू हुन्छ । असाध्यै मिहेनती, प्रष्टवक्ता, तर धेरै असफलता जति उसैको भागमा प¥यो । मुखैमा आएको जागिरको अन्तरवार्ताका दिन पनि भुलेछ । ठूलो सपना र मिहेनत पनि, तर भाग्यको ठगाइ झनै ठूलो, उसको वृत्ति विकास नेपालमा हुन सकेन । केही दिन इञ्जिनियरको जागिर पनि खायो, लक्ष्मी, गङ्गे, भीमे र दुवेले गर्नु शोषण गरेछन् । प्रष्टबक्ता र रुखो व्यवहारका मानिसहरु काम मात्र गर्छन्, सरकारी जागीर उनिहरुको लागि फप्दैन भन्ने प्रमाण पनि हो देवको जीवन कथा । नेपाल उसका लागि फापेन, अवसर र वृत्तिका लागि विदेशियो । परिवारमा सवैभन्दा बढी रमाउने भाइ, खेल्न, खेलाउन, रंगरमिता गर्न र दाजुहरुको छत्रछायामा रहने उ हामी सवैसँग टाढा हुनपुग्यो । अहिले पनि वालकजस्तै छ । सानैमा रुस पढ्न गयो, आमालाई क्यान्सरले सताउँदा उ उतैथियो । आउदा आमा देख्न पाएन, पढाइ विग्रला कि भन्ने डरले हामीले आमाको कुरा गोप्य राख्यौँ । उ अमेरिका गयो, वुवा वित्नुभो । सम्झेर अहिले पनि भक्कानिन्छ । आमाको मुखहेर्ने औसीमा वर्षाधामतिर गएर दान दिने गर्छ रे १ नभएकी आमालाई दानदक्षिणा, धर्मकर्म वाहेक उसले के गर्नसक्छ र ? दशैमा होस् वा तिहारमा, सवै दाजुसंग रहने उसको इच्छा विरलै पूरा भएको छ । अहिले शुभम सुव्रत उसैको अभिभावकत्वमा पढिरहेका छन् । चार दाजु, दुई भाइ र तिन दिदीवहिनी एकैचोटी कुनै चाडमा पनि उससँग छैनन् । गोलाद्र्धको अर्को कुनामा मन दौडिएर गए पनि शरिर पुग्न सक्तैन । चार पटकसम्म बर्जस्टम विमानस्थलमा उसँग छुटेँ, संधै अस्रुत आँखामा उभिन्छ । देख्दा कडा लागेपनि मजस्तै कमलो र कमजोर छ उ ।
…
नारायण घर परिवारप्रति अत्यन्तै सहयोगी छ । धुमवाराहीमा जग्गा किचलो पर्दा होस् वा दाजुहरुको घर बनाउँदा, उ नै अघिसेर खट्यो । दाजुभाइको ससाना समस्यामा उ पनि छटपटिन्छ । कुनै निर्णय लिन परेमा स्पष्ट हुन सक्तैन । विदेशमा जाँदा स्वदेशमा मन र स्वदेशमा रहँदा विदेशमा मन गरेर पनि जागीरमा केही पछि प¥यो । घर परिवारमा पहिलो डाक्टर बन्ने उसको प्रयास राजनीतिमा लहसिएकाले पूरा भएन, बन्यो उ पनि अरु दाजु जस्तै प्रशासक । शायद उसका मनभरि अष्पष्ट चित्र हुनुपर्छ । यो गर्दा राम्रो कि त्यो गर्दा, उ आफैभित्रको भूमरीमा धेरै रुमलिदै आएको छ ।
जनसम्पर्क उसको रुचिको विषय । छिटै मानिससँग नजिक हुने अदभूत क्षमता छ उससंग । धेरैजसो अधिर छ तर संयमता र समयको मूल्य बुझ्द्रैन । उसका जीवनमा आएका आरोहअवरोहले होला, अहिले त झडङ्ग रिसाउन र झर्किन पनि थालेको छ । धेरै काममा थोरैजस, उसको पनि नियति हो । खानपान र जीवनशैली निर्देिर्शत र सूचीवद्ध भएर पनि उ रोगी छ । शायद उसभित्र गुम्सिएका पीडा र रुमलाई नै रोगको कारण होला ।
…
कान्छो राम, साथीत्व, सहयोग, साहस र संघर्षको नाम हो । जीवनमा थुप्रै संघर्ष ग¥यो, विजय ढिलोचाँडो उसको हातमा परेकै छ । बकैयाको जंगलमा गोरुगाडाभरि घास दाउरा ल्याउनदेखि यूरोप अफ्रिकामा वौद्धिक कार्यपत्र प्रस्तुत गर्न पछि परेन । पढाईमा संघर्ष, टोलछिमेकका शत्रुता गर्नेसंग संघर्ष, अभावमा संघर्ष, उपेक्षामा संघर्ष तर साथी र साहसलाई कहिल्यै छाडेन । परिणाम जित उसैको छ । बुढेसकालको संघारमा पनि विद्यावारिधीका लागि संघर्ष गरिरहेको छ ।
तर कहिलेकाही आवश्यक नै नहँुदा पनि संघर्ष गर्छ । भन्नेहरु भन्ने गर्छन्, ईश्वरले सुख दिँदा पनि उ भने दुःख खोज्दै हिड्छ । अत्यासलाग्दो दुःखदेखि लोभलाग्दो रंगरौससम्म उत्तिकै हातेमालो छ । प्रत्येक दिनलाई नयाँ बनाउने उसलाई आदत परिसक्यो । दुःख गरेर कमाउने र मन खोलेर खर्चिन अभ्यस्त छ । उसका लागि जीवनको परिभाषा जसरी पनि रमाउनु पर्छ भन्ने हो । भन्ने गर्छ ‘सन्तुष्ट भएर जीवन बाच्नु पर्छ । मन लागेको गर्नुपर्छ ।’ शायद त्यही सिद्धान्त र साहसले टुहुरो जीवनदेखि लण्डनको एकलो जीवनसम्म समान जिएको छ ।
साथी भनेपछि हुरुक्कै हुन्छ, घरपरिवार भनेपछि मरिमेट्छ । कति साथीले धोका दिए, तर बुझ्ने कोशिस पनि गरेन । जसले जे सक्छ त्यही गर्छ भन्ने मान्यता छ उससँग । परिवारको आलोचनामा आक्रामक बन्छ । देख्दा कठोर, तर मनमा अति कमलो । जापानमा पढ्दा होस् वा लण्डनमा मसंग छुट्दा, पटकौ मजस्तै गगल्चिएर रोएको छ । चालिस काटेका हामी वाटोमा छुटिदा पनि गहभरि आँसु झार्नु हुन्छ ? बढेका दाजुभाइले एक्लो यात्रा नै गर्ने हो । छुट्ने हाम्रो रीत नै हो । सचेत मनले भनेर हुन्छ र ? अस्ति अष्टिनबाट स्काइपमा कुरा गर्दा पनि नदेख्ने गरी आसु पुछ्यो । देव र मैले पनि त्यसै गरछौ । शुभमले पो हजूरहरु किन रोएको भनी सवैलाई झल्यास्स् पा¥यो । छोरा मानिसले पनि रुनु हुन्छ ? योगेश्वर अमात्यले गीत नै गाएको छ । तर मानिस संधै मष्तिस्कले व्यवहार गर्दैन, हार्दिक मानिसहरु कमजोर हुन्छन् । भेट्दा रमाउछन्, छुट्दा रुन्छन् ।
…
सानैदेखि आमासँग खासै बस्न पाइएको होइन । रोशीको वसाई तर शिशु कक्षादेखि नै आमा छाडेर कान्पुर जानुप¥यो । शुक्रवार कहिले आउँछ र आमाभाटु जान पाइएला भन्ने आशामा हप्ता वित्थ्यो, शुक्रवार हामीलाई धारेडाँडामा देख्ने वित्तिकै रमाएर सकीनसकी खाजा बनाउनु आमाको नियमित काम नै हुन्थ्यो । कान्पुरमा छ कक्षासम्म पढाइ हुने भएकोले सात कक्षादेखि कोही धुलिखेल, कोही काठमाडौं आएपछि शुक्रवार आमासँग भेटिने क्रम बर्षदिनमा परिणत भयो । हामीहरु लाखापाखा लागेपछि आमाको कत्र्तव्य सकिएर हाम्रो शुरु के हुदैथियो, आमालाई क्यान्सरले लग्यो । सानैमा हामीहरु टुहुरा भयौँ । चाडवाड आयो कि आमाको यादले सताउँछ । अचेल त सपनामा पनि निकै अन्तरालमा देखिन्छ । सपनामा पनि किन हो कुन्नि आमालाई रुग्ण, जिर्ण, विमारी, मैलो र पीडामा देख्छु । शायद हाम्रै चिन्ता । थाहा पाउने भए भन्ने थियौँ–‘आमा अहिले हामी सव आआफ्ना कर्ममा स्थापित छौ, चिन्ता लिनु पर्दैन ।’ तर विज्ञानले मृत आमासँग संवेदना साट्ने प्रविधि अहिलेसम्म विकास गरेन ।
आमा खस्ने अगिल्लो वर्ष कमला धर्मपत्नी बनेर भित्रेकी हो । प्रमिका बनेर दुःख स्वीकार्न आएकी । तर एकसाथ आमाको माया, धर्मपत्नीको आदर र गुरुको मार्गदर्शन गरिरहेकी छ । उ पनि मजस्तै टुहुरी, तर मेरो टुहुरोपनको खाडललाई उसले पुर्ने प्रयास गरेकी छ ।
केटी मानिसहरु मनले बोल्छन्, मष्तिस्कले बोल्दैनन् भन्ने भनाई उसका हकमा धेरै लागू छैन । जव म मुटुले बोल्छु, उ मनले बोल्नथाल्छे, मष्तिस्कबाट बोल्दा भने मुटुले बोल्छे । म कमजोर हुँदा कडा र विचारेर बोल्दै मलाई ढाडस दिनु शायद उसको कत्र्तव्य, त्यो उसको अभिभावकीय दायित्व पनि होला । प्रत्येक पुरुषको पृष्ठभूमिमा एउटी महिला यसैगरी उपस्थित हुनुपर्छ । उ खर्चिली छैन, रहर पनि गर्दिन, दुःखमा पनि रमाउनु पर्छ भन्ने बुझेकी छ । कत्ति साथीका श्रीमती रङ्ग–रवाफ र रौस–रक्सीमा आफ्ना श्रमिानहरुलाई वर्वाद पारेका छन् । कमला दुखमा हुर्की, ठूलो आकाङ्क्षाभन्दा सानो संसारलाई प्यारो मानी । शुभम–सुव्रतलाई दुई आखाको नानी बनाइ र मलाई मुटुमा सजाई, वस उसको संसार यत्ति हो ।
धेरै माया गर्छे तर देखाउन्न । अस्ति कृणाष्ठमीमा म कीर्तिपुर पढाउन गएँ, उ कृष्ण मन्दिर दर्शन गर्न । विवाहित महिलाहरु आप्mना पतिको प्रगति र आफ्नो सौभाग्यका लागि कृष्णको पूजापाठ गर्छन । ११ बजे आउँदा पनि कृष्ण मन्दिरबाट आएकी रहेनछे । दर्शन गर्नेहरुको लामो लाइन र त्यहीवेला राष्ट्रपतिको सवारीले उ दुइबजेतिर घर आइपुग्दा मैले आफैले भात पकाएर दहीसंग खाएको थिए । त्यो थाहा पाएर उ निकै छटपटाई र पिरोल्लीइरही । तीनदेखि सात जेसम्म मेरो अर्को कक्षा थियो । साढेसातिर घरमा आइपुग्दा उ पूजा गरेर मेरै बाटो हेरिरहेकी थिइ ।
डेढवर्ष अघि आधारातमा म वेहोस भएपछि भने उ अलि भावुक बन्न थालेकी छ । घडीको सुइजस्तै कक्षा–अफिस–कक्षा–वैठकको दिनचर्याले मलाई उसले घरेलु पर्यटक मनेकी छ । सुत्न मात्र घर आएकोमा एकदिन उसले गम्भीर प्रश्न गरी–‘अव म पनि डिपार्टमेन्टस्टोरतिर काम गर्न जान्छु, वावुहरु अमेरिका गएपछि मेरो बोल्ने साथी पनि छैन । समय त काटिन्छ ।’ वावुहरु पढाउन पनि मैले अतिरिक्त मिहेनत गर्नै पर्छ, अनैतिक गरेर आर्जिन भएन । यो यथार्थलाई पनि उसले बुझेकी छ । हो खानाखाने समयमा वाहेक मैले उसलाई समय दिन सकेको छैन । दिनभरिको परिश्रमपछि भेटमा खासै बोल्न सक्ने जाँगर र इच्छा मामा नरहेरै हो उसले त्यसो भनेकी । निकै प्रयासपछि सम्हालिई, अव उ काम गर्न नजाने भइ ।
गत वर्ष वावुहरु पढ्नका लागि अष्टिन गएपछि उसका लागि घर रित्तो भएको छ । काममा सहयोग गर्ने शुभम र वालशुलभ झगडा गरेर वात्सल्य माग्ने सुव्रत गोलाद्र्धका अर्का कुनामा छन् । स्काइप र भाइवर प्रणाली नभएको भए महिनौ लाग्ने चिठी पर्खेर निस्सासिनुको विकल्प हुने थिएन । उसैको निर्णय अनुसार नै उनीहरु त्यहा पढ्दैछन् । उनीहरुकै भविष्यका लागि, स्तरीय शिक्षाका लागि मेरी आमाले जस्तै उसले पनि सम्झौता गरेकी हो । के आमाहरु सचेत दुनियामा मात्र वाँच्न सक्छन् ? उनीहरुको दुनिया भनेको हार्दिकताको हो, मायाको हो । आमाहरु जति दुःख र पीडामा पनि फराकिलो मनभरि आप्mना सन्तानलाई खेलाउछन् । सपनामा शुभम–सुव्रतलाई देख्दा पनि उ तकिया भिज्नेगरी रुँदीरछे । बच्चाहरु आमाका रगत हुन, वावुका भने पसिना । आफ्नो अङ्ग र रगत आफूभन्दा प्यारो लाग्नु स्वाभाविक र मातृधर्म पनि हो । म अहोरात्र पढाउन दौडनु उनिहरुकै भविष्यका लागि हो । तर उसको एकढिका आसु मेरो पसिनाभन्दा निकै ओझिलो छ । पसिना कत्र्तव्य हो तर हृदय वात्सल्य । तर पसिना र हृदय दुवैले शुभम–सुव्रतलाई असल मानिस बनाउन भनेर नै आआफ्नो त्याग र परिश्रम गरिरहेका छन् । के वावुहरुले यो भावना बुझेर पढ्लान १ बुझेर पछि सम्झलान् १ तर बुझुन–सम्झुन भनेर आमा–वुवाले रगत–पसिना दिएका हुदैनन्, त्यो स्वार्थ राख्नु पनि हुँदैन । तर माने पनि नमाने पनि हामी दुईका सपना उनीहरुकै दुई आखामा छ । मैले विश्वविद्यालयमा हासिल गर्न नसकेको उत्कृष्ठता उनीहरुको आखामा छ । हाम्रो सपना, साहस, इच्छा, र विस्तारै अभिभावकत्व पनि शुभम–सुव्रतमै छ ।
…
शुभम चलाख र सामाजिक छ । तिक्ष्ण दिमाग, प्राविधिक हात र प्रष्ट व्यक्तित्व उसका विशेषता हुन् । बुझ्ने भएदेखि राम्रो लगाउन खोज्छ । मजस्तै हडवडाउँछ । चञ्चल पनि छ, कौतुहलले पनि उसलाई सताउछ । राम्रो पढेर पनि पोहोर प्रवेशिकामा विशिष्ट अङ्क प्राप्त गर्न सकेन । जाने बुझेका कुरा पनि धैर्यसाथ प्रस्तुत गर्न नसकेर होला, प्रवीणता जति परिणम देखिएन । वास्तविक अठोट हो कि मेरो चिन्तालाई शान्त पार्न हो, उसले भनेको छ–‘एकपटक परीक्षामा डिष्टिङ्शन नल्यायर के भो, म जीवनभरि डिष्टिङ्सन हासिल गर्नेछु पापा ।’
के यो उसको आत्मिक अठोट हो ? माध्यमिक तहको पढाइ आधा काठमार्डौ र आधा वेष्टउडमा, अलिअलि त एडजष्टमेन्टको पनि समस्या छ, भाषाको पनि, ग्रेड ट्रान्सफरको पनि । उसको जीवनभर विशिष्टता हासिल गर्ने भनाइ चाहना मात्र नभएर प्रतिवद्धता होस्, सार्थक प्रतिवद्धता । यही मेरो शुभकामना । यो मेरो शुभकामना नभएर अपेक्षा, आकाङ्क्षा र मेरै सपना पनि हो । मैले अधुरै छाडेको सपनाहरु अव उसैले पूरा गर्नुपर्छ । मैले पढाइको धित अव उसैले पूरा गर्नुपर्छ । यो उसका दायित्व, धर्म र उसैको भविष्यका लागि कर्म पनि हो ।
सुव्रत निकै अल्लारे छ, दाजुजस्तो चलाख र लवाइखवाइमा स्फूर्त छैन । एकोहोरो पढिरहन्छ तर अरु कुरामा झारलाङ्गे । माया देखाउन र वोल्न पनि जान्दैन । स्काइप कुरामा पनि अव के वोल्ने भन्छ । कहिले कहि अम्मी (कमला) सँग रिसाउछ पनि । टाढैबाट भएपनि आमासँग झगडा गरेको होला । उसको एउटै उद्देश्य पढ्नु मात्र । यही मिहेनतलाई निरन्तरता दिएर अलि सामाजिक भए उ पर्फेक्ट मानिस बन्ने थियो ।
उसमा पढ्नुपर्छ भन्ने चेतना थिएन । चेल्सीमा वेब डिजायनमा उत्कृष्ठ छानिए पछि भने पढ्नुपर्छ भन्ने भावना पलाएछ । बहत्तर घण्टासम्म घरवाहिर ननिस्केर लगातार पढ्नसक्ने क्षमता देखेर देव छक्क परेछ । पढाइको निमगन्ताले खान भुल्ने र फजुल गफमा झर्किने गर्छ । एमआइटी जस्ता विश्वका उत्कृष्ट विश्वविद्यालयमा भर्ना हुन पनि यसैगरी पढ्नु पर्छ रे १ त्यहा भर्ना उसको सपना । वर्षदिन पछि भेट्न जाँदा पनि खासै कुरा गरेन । घर वाहिर गएपछि रमितेला भनेर विदाको दिन सिवल्र्ड घुम्न लग्यौ, त्यहाँ भने उ निकै खुसी र प्रसन्न देखियो । त्यहाँ रोलर कोष्टर, पौडी, डल्फिनडान्स सवै थिए किन नरमाओस् । उ सानैदेखि साहसी खेल मन पराउँछ । वहिनी ओम्सालाई पनि सुर्याएर रोलर कोस्टर खेलायो ।
…
यो मन यात्राभरि रोशीखोला, आमाको माया, दाजुभाइ र परिवार र आफ्नै भोगाइलाई चलचित्रको मोन्टाजझै सिलसिला मिलाइ नमिलाइ वल्टाइपल्टाइ गर्दा म भने बर्जस्टोम, ओ’हारेहँुदै स्तानवुल आइपुगेछु ।
प्रकाशित मिति: बिहीबार, आश्विन २४, २०७० १२:४५:००
(स्रोत : Setopati)