कविता : सत्यको कुनै छायाँ हुँदैन

~मोमिला~momila

बाबा भन्नुहुन्थ्यो
सत्यको कुनै छायाँ हुँदैन
…………….
र म हरपल
छायाँमुक्त सपना सोचिरहेँ
कैयन् ऋतुहरू हाँगाबाट झर्दै रहे
सिसिफस श्रापबाट मुक्त भएको सपना पनि देखेँ
ब्युँझँदा श्रापको ठूलो ढुङ्गाले आफै किचिएको रहेछु
……………..
र विमूढ सामुन्नेमा
छायाँका अनन्त अर्थहरू बौरिएर
अग्लिँदो कालो पहाड हेरिरहेँ…

फेरि पनि सपनाभरि
खुला नीलो आकाशमा उडिरहेँ
ब्युँझँदा घनघोर अँध्यारोमा म कुँजिएको रहेछु
……………….
यस बेला
मात्र अनुभूत गरेँ
कुनै वस्तु देखिनँ, वस्तुको छायाँ देखिनँ
छायाँविहीन छायाँले सिङ्गो वर्तमान ढाकेर गयो
सपना देख्न कहीं–कतै सेतो रहेन
………………..
र घना छायाँको वर्तमानबाट
आफूलाई उकास्न नसकेर
केवल भ्रमको उज्यालोमा डुबिरहें…

बाबा भन्नुहुन्थ्यो
सत्यको कुनै छायाँ हुँदैन
लाग्छ, यसैले ईश्वरको पनि छायाँ हुँदैन…

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.