~किशोर आचार्य~
नाईं म मर्दिन किनकि
शोषण, दमन र अत्याचार चुलिंदै छ
कुरीति र कुसंस्कार झन् बढ्यो
शोषक र सामन्त सल्बलाउन थाले
बैदेशिक हस्तक्षेपले सीमा नाघ्यो
विकृति, विसंगति अति नै भो
छाक टार्न गाह्रो हुनेहरु धेरै छन्
गरिबमाथिको आक्रमण बढ्यो झन्
चेलीबेटी बेचविखन चुलिंदै गो
जबर्जस्ती शासन लाद्ने
गरीबलाई बाँच्न झन् गाह्रो भो
वर्गीय खाडल गहिरिदै गो
कम्युनिस्टको नाममा कलंक छ
हत्या, हिंसा, आतंक सिर्जना भो
अवसरवादीले कम्युनिस्टको बेइजत गरे
मुक्तिको नारा जपेर भुँडी भरे
क्रान्तिकारी हौं भन्छन् अझ
चुप लागि बस्न मान्दैन यो मन
शोषण, दमन र अत्याचारलाई समाप्त पार्दै
सामन्तवादको अन्त्य गर्नु छ
कुरीति र कुसंस्कारको अन्त्य गरेर
प्रगतिशील संस्कृतिको विकास गर्नु छ
विस्तारवाद र साम्राज्यवादसंग संघर्ष गर्दै राष्ट्रियताको रक्षा गर्नुपर्छ।
गांस, बास र कपासको ग्यारेन्टीका लागि
गरिबमाथिको आक्रमणको अन्त्य गर्दै
मानवीय संस्कारको विकास गर्न
बाँच्न पाउने अधिकार सुनिश्चित पार्दै
न्याय, स्वतन्त्रता र समानता कायम गर्न
वर्गीय समाजको अन्त्यका लागि
बोक्रे कम्युनिस्टको पर्दाफास गर्दै
हत्या, हिंसा र आतंकको अन्त्य गर्न
मुक्ति र क्रान्ति मागिखाने भाँडो बनाउने
प्रवृत्तिको अन्त्यका लागि भन्डाफोर गर्दै
जनताको बस्तिबस्तीमा
सचेतनाको दियो बालेर हिंड्नु छ
त्यसैले साथी हो म मर्न चाहन्न
म मर्न मात्र होइन, सर्वहारावर्गको मुक्तिका लागि
लडाई लड्न जन्मेको हुँ
जति बेला म मर्ने छु, त्यो बेला
नौलो जनवादको स्थापना भएको हुनेछ
चारैतिर राता झन्डाहरु फहराएका हुनेछन्
देश त्यस्तै त्यस्तै नाराले गुन्जिएको हुनेछ
नौलो जनवादी क्रान्ति – जिन्दावाद !
सर्वहारा सांस्कृतिक क्रान्ति – जिन्दावाद !
इन्कलाव – जिन्दावाद !
(अखिल (छैठौं) के.स.द्वारा प्रकाशित किशोर आचार्य, स्मृतिमालाबाट)
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २३ – २०६८ बैशाख १४ गते, बुधबार )