~कृष्ण बिश्वकर्मा~
गोर्खाली पहिचानको धरोहर
सिरुपाते खुकुरी
तर,
उस्को आरनको कथा
अझै अज्ञात गर्भमै कैद छ
करौतीका दाँतीमा रेत लगाउंदै
ऊ बडो गर्बले भन्दै थ्यो….
पृथ्बी नारायण शाहका तरबार उसैका बाजेले अर्जापेका थे रे
बलभद्र , माथवरहरुका तरबार र खुकुरीहरुमा
पुर्ख्यौली पसिनाका पाइन परि
तेजिला र धारिला भा थे रे ।
उतिबेला उस्का आरनहरु
अल्बर्ट आइन्स्टाइनका प्रयोगशाला झैं
ब्यस्त थ्यो रे अहोरात
देशका खातिर
किल्ला अनि सीमानाका खातिर
गोर्खाली शानका खातिर
अचेल उस्का आरनहरुका
रुप
रङ्ग
आकार
क्षेत्र
बद्लिएको छ
बिस्तारित छ नयाँ नामहरुले
कारखानाहरुमा
वर्कशपहरुमा
फ्याक्टरीहरुमा
कारिगडहरु पनि बेग्लै
कथित चार जात छत्तीस वर्ण भन्दा पनि धेरै
आरनका अपहेलित् अवयबहरु
अनि परिवर्तनहरु
खिस्स हाँस्छ ऊ अनि नियाल्छ
आकासे यानहरुमा
चुल्हो , चौकोहरुमा
मन्दिरका गजुरहरुमा
आभूषणले चिरिच्याट्ट शरीर अनि पाउहरुमा
ऊ उस्तै देख्छ अझै जिर्ण आरनहरु
अनि
जलिरहेका असंख्य अंगारहरु
कथित् साझा फूलबारीका
कुटिल हावाहरु
कतै बूढो रुखको आस्रय लिएर
कतै सदियौं पुरानो हलो लिएर
कतै अंकित् हसिया-हतौडा लिएर
सबल छन्
सक्षम छन्
तोड्न
भत्काउन
फकाउन
लोभ्याउन
एकतृत् रापिला अवयबहरु ।
तर,
ऊ लोहा हो
अनि फेरि ऊ
फलाम पिट्ने मान्छे हो
सदियौंदेखि शान्तिका खातिर नतातिएको हुन सक्छ ।
खियाहरुको आतंकले
फलामको अस्थित्व कहाँ मेटिन्छ र ?
हो,
त्यही जिर्ण आरनहरुले अब
सघन तेजस्वी लाभाहरु ओकल्ने छ्न्
अनि
बन्ने छ झट्टै
एक समुन्नत
नयाँ साझा फूलबारी ।
– कृष्ण बिश्वकर्मा
भरतपुर , चितवन
हाल : यु ए ई , आबु धाबी
(स्रोत : Helprise)