~मदन “मुमुक्षु”~
पन्डित आशातीत रूपमा असफल भए। जस्तो सोचेकै थिएनन् त्यस्तो परिणाम निस्क्यो। कठिन मेहनतले गर्दा शरीर थकित थियो। मोटरबाट मुस्किलले झरेर सोझै माथि उक्लेर कोठामा पसे। सुट, टाई, चस्मा, टोपी र जुत्ता सहितै उत्तानो परेर ओछ्यानमा पछारिएर। भीमकायाका पन्डित ठूलै रूख ढले झैं ढले। आँखा चिम्म गर्दा उनको मस्तिष्कमा चुनावका एक एक दृश्य नाच्न थाले।
“चालिसे चोकमै सम्राट्को सालिक ठड्याउँछु….।” पाँचवर्ष अगाडि नगर सदस्यको चुनाव जितेर आएका राति उनले यही संकल्प गरे। आफ्नो वडामा आफ्नै सक्रियतामा सम्राटको सालिक ठड्याउँदा आफ्नो व्यक्तित्व निकै अग्लिने सोचाइ पन्डितले राखे। आफ्नै खेमाका भएकाले जिल्लाका सभापति र नगरका प्रमुखलाई मनाए। पैसाको जोहो हुने भयो। तर आफ्नै पार्टीका जिल्ला अध्यक्षले यसमा विरोध जनाए।
“अब सम्राटको सालिक राख्नको कुनै औचित्य छैन….फेरि चालिसेचोक त्यसै साँघुरो छ त्यहीं सम्राटको सालिक राखेर विरोधीलाई आलोचनाको आधार दिनु हुँदैन।” अध्यक्षको कडा आपत्तिले पन्डितको उत्साहमा पानी खनियो।
पीडापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष श्री पुराणभक्त प्रधानलाई मान्छेहरू पन्डितकै नमले चिन्छन्। बाजेकै पालादेखि हिन्दू धर्मशास्त्रका प्रकान्ड विद्धानका खलक भनेर कहलिएका पुराणभक्तले भारतको कुनै ठूलो धार्मिक नगरीमा ठूलो शास्त्रार्थ हुँदा धेरै ब्राम्हणहरूको पन्डित्यलाई पछारे अरे। ठूलो पुरस्कार पाए अरे। त्यहींदेखि उनलाई पुराणभक्त प्रधान होइन पन्डित प्रधान नाम दिइएको अरे। नेपाल आएर राजनीतिमा हात घुसार्दा उनले वडा अध्यक्षको पद फेला पारेका थिए। अहिले नगर प्रमुखमा खडा हुँदा चाहिं सानो मतको अन्तरले हारे।
बढी नै पानी पर्ने यस ठाउँमा बाहिर झमझम पानी पर्न थाल्यो। दश–बाह्र दिन अगाडि यस्तै झरी पर्दाको एक साँझ अध्यक्षजी आफ्नै पसलमा बसिरहेका थिए। चुरौटेनी बूढी पसल अगाडि हात जोड्दै उभिई।
“क्या है बड्डी ! क्या बात है?”
एउटै टोलकी चुरा पसल्नी बूढी थरले मुसल्मान्नी भए पनि जन्मसिद्ध नेपाली नागरिक थिई। तरूनी अवस्थामै पोइ बिते पनि छोरा हुर्काएर बसी। आफू चुरा बेच्थी। छोरो यूसूफ मियाँ नगरपालिकामा पियनको जागिर खान्थ्यो। जीवनमा धेरै हुरी–बतास झेलेर आएकी बूढी अहिले सन्तोषको सास फेर्दै थिइ तर अकस्मात आफ्नो छोराको जागिर खुस्किँदा मर्माहत भई। यिनै अध्यक्ष पन्डितले यूसूफ मियाँलाई जागिरबाट हटाई दिएका थिए।
“हजुर यूसूफले जे गल्ती गरे पनि मुख हेरिदिनुहोस्, उसको जागिर…..”बूढी शब्दको होइन आँसुको भाषा बोल्न थाली। “किन रून्छौ बूढीमान्छे नेता छोरो पाएकी छौ। तिम्रो छोरो हामीभन्दा ठूलो मान्छे हो। उसलाई नेता भएरै हिंड्न दिनुपर्छ। नेता भएर जागिर खान मिल्दैन…..।”
“हजूर त्यो नादान बच्चाको बातले नरिसाउनुहोस्। त्यसलाई म सम्झाउँछु । हिजो देखि हाम्रँे घरमा चुलो जलेको छैन। बिन्ती छ….।” बूढी अध्यक्षको खुट्टा समात्न पुगि।
“हे बौलाही बूढी ! छोरो मेरो विरूद्ध भोट माग्दै हिँडेको होला, आमा यहाँ नक्कल पार्छे….।” कुर्सीमा बसीरहेका अध्यक्षले बूढीलाई खुट्टैले पर हटाए।
त्यतिखेरै त्यहाँ एकजना अग्लो युवक प्रकट हुन पुग्यो। अध्यक्ष अलि सकसकाए। रूझेको जीउ लिएर आएको ख्याउटे युवक बूढीको छोरो यूसूफ मियाँ नै थियो। उसको आँखामा प्रतिहिंसाको क्रोध टल्किरहेको देखिन्थ्यो। बेरोजगार बसेको ऊ भर्खरै राजनीतिमा पसेको थियो र अध्यक्षको विरोधी पार्टीमा उभिएको थियो।
“कसाईको अगाडि रोएको भैंसीले माया पाउँदैन आमा ! तपाईं खुरूक्क घर हिंड्नुहोस्।” आमाको पाखुरा समाएर यूसूफले निकै दह्रो स्वरमा भन्यो।
“कसलाई कसाई भनिस् एई कुकुर !” अध्यक्षले यूसूफको कठालो समाते।
“हात छोड् साहुजी ! अब तिमीहरूको अतिचार खप्न सकिंदैन….।”
“के गर्छस् साले ! के गर्छस्?” अध्यक्ष कठालो छाडेर पाखुरा सुर्कंदै कराउन थाले। बजारको ठाउँ प्रशस्तै मान्छेहरू जम्मा भए। कसैले पुलिसलाई खबर गरेछ। पुलिसको गाडीा आयो। यूसूफलाई पुलिसहरूले समातेर लगे।
“पार्टीका मेयरका उमेदवार झन्डै काटिए।” पत्रिकामा समाचारहरू आए। यूसूफले उग्रवादको नाम पाए। छोरोको शोकले रोईरोई बसेकी चुरौटेनी बूढी चुनावको अघिल्लो दिन मरी। चालीस घरका चुरौटेहरूले पन्डितलाई भोट दिएनन्। पन्डितले जित्ने चुनाव हारे। अहिले पन्डितलाई पछुतो लाग्न थाल्यो। खै यूसूफले अदालतमा कस्तो न्याय पाउने हो, फैसला आउन बाँकी नै छ।
(स्रोत : प्रलेस, पूर्णाङ्क १०, चैत्र २०५४ बाट)