~ज्ञानु विद्रोही~
पूर्व पनि दुख्छ अचेल पश्चिम पनि दुख्छ
आँखै अघि खेल्छ तस्बीर छाती अति दुख्छ
मेची दुख्छ काली दुख्छ मधेशसँगै हिमाल
कैले सुस्ता बाँध कैले कोशी बनी दुख्छ
मन्दिरमा रक्तभेटी झुपडीमा भोक
परम्परा सभ्यताको देश धनी दुख्छ
सुगौलीमा दुख्यो देश कालापानी उस्तै
इतिहासले बहादुर भनेर नि दुख्छ
सहर दुख्छ नहर दुख्छ पानीसँगै बाटो
बिर्सिएर ठाउँहरु गनीगनी दुख्छ।
०६५/६/२१
(गजल संग्रह त्रास आफन्तको बाट)