~यशोदा तिम्सिना~
हिजो तिमीले सेतो परेवा उडाउँदा
शान्तिको प्रतीक त्यो कावा खाँदै
सगरमाथातिर जान्थ्यो
उचाइ लिँदो परेवा र तिम्रो उस्तै चर्चा हुन्थ्यो
सर्वत्र शान्ति छाउने आशा जाग्थ्यो।
आज पनि तिमी परेवा उडाउँदैछौ
न परेवाले गति लिन्छ
न तिम्रो चर्चा हुन्छ
बूढापाका भन्छन्, हातमा अपशकुन बसेपछि
जे छोयो त्यो नाश हुन्छ
जहाँ टेक्यो त्यो भास हुन्छ।
तिमीलाई गरिबले खाजा माने
विरोधीले पनि साझा ठाने
हुने खाने र हुँदा खाने
दुवैले आफ्नै हो भने
यो सत्य सावित हुन सकेन
न तिमी आफ्नाको आफ्नो रह्यौ
न पराईले सोचेको साझा भयौ
आफ्नाको आफ्नो हुन नसक्नेले
अर्काको हुनु पनि भएन
र,
अब परेवाले नै विश्वास गर्दैन भने
मान्छेले तिमीलाई किन विश्वास गर्ने?
यशोदा तिम्सिना
जन्म: १३ असार
स्थान: तेह्रथुम
कृति: फुटकर
(स्रोत : बुधवार साप्ताहिक)