~नवराज सुब्बा~
जताततै
मुकुन्डामा छेलिएर मान्छे
मान्छेलाई नै तर्साइरहेछन्
आपसमा तीर, पीर सबै बर्साइरहेछ
अनगिन्ती निसानाबाट जोगिँदै
कताकता भागौँ म ?
डसिँदै कहाँकहाँ लखेटिऔँ म ?
चिन्दिनँ खै ! को मान्छे ? को हो !
केवल मुकुन्डै–मुकुन्डा मात्र छन् !
खै ! देखिन्न
मुकुन्डाभित्र कोही
हाँसेको छ कि रिसाएको छ
पढ्नै सकिन्न
मुकुन्डामा छोपिएर कोही
बोल्दैछ कि बर्बराउँदैछ
सबै मुकुन्डोधारीहरू
साना प्वालबाट दुनियाँलाई
नियाल्छन् र प्रहार गर्छन्
लाखे नाचेको भन्दै
दुनियाँ तर्साइरहन्छन् ।
ओहो !
कत्रो छलछाम रहेछ
यो अभिनयमा
कति बेइमानी रहेछ
यो युद्धमा
जसले जति राम्रो
मुकुन्डो भिर्यो
जित उसैको हुँदोरहेछ
जसले मुकुन्डो
जति धेरै लगायो
युद्ध उसैले जित्दोरहेछ ।
अचम्म !
मुकुन्डाका ती साना प्वालबाट
मान्छे चिथोर्न गजब हुँदोरहेछ
मुकुन्डाको आडमा लुकेर
भुक्न अझ मजा आउँदोरहेछ
यसरी आफूखुसी डस्न मात्र हैन
मुकुन्डो लगाएपछि त
नाङ्गिएर मच्चीमच्ची नाच्न पनि मिल्दोरहेछ ।
यसैले होला
मान्छे प्रायः
मुकुन्डो भिर्ने गर्छन्
युद्धको नियम मिच्दै
छेलिँदै प्रहार गर्छन्
सायद
म
अघोषित युद्धमा धकेलिएको छु
बच्नलाई अर्थात् बाँच्नलाई नै
मुकुन्डाबाट लखेटिएको छु ।
—-
“बीच बाटोमा ब्यूँझेर” बाट