~केशर थुलुङ~
मन
त्यसै-त्यसै फुरुङ्गिएको छ
खुसीले
नयाँ विचारले
नयाँ पाइलाले
मैले सोधेँ-
कोसी किनारै-किनार
हिँडिरहेका आमाबुबाहरुलाई
भन्दै थिए उहाँहरु-
साकेवा सिल्ली, मारुनी, सोरठी,
कौरा, देउडा, च्याब्रुङ,
वैरभ, धाननाच, लाठीनाच,
लाखेनाच, देउसी-भैलो
खेल्न /नाच्न हिँडेका हामी त
उकालिदै
आपस-आपसमा कुरा गर्दै थिए
भरिया दाजुभाइहरु-
पोहोर जस्तो डर छैन
मारकाटको हल्ला छैन
यो भारीलाई /कर्मलाई
घरमा बिसाएर
पेटभरि खाएर
मीठो सुतेर
हामी पनि
रमाइलो गर्नुपर्छ
रमाइलो बाँड्नुपर्छ
थुन्सेभरि
मखमली, सयपत्री, गोदावरी
सेल, प्याराङ्गो
अनि कठुवामा तीनपाने
भारी पारिरहेका दिदीबहिनीहरु
हर्षले प्रफुल्लिदै सुनाउँदै थिए-
हामी त माइत जान लागेका
निधारमा दही-चामल टीका
जमरा र आर्शिवाद लिन
अनि भगवानजस्ता माइतिहरुलाई पुज्न
बेसीतिरबाट आउँदै गरेका
दुईचार जनासँग भलाकुसारी गरेँ
हामी त विस्थापित
तर हाम्रो लालपूर्जा
हाम्रो आफ्नै कटेरो
फेरि हाम्रै नाममा
फिर्ता भएको छ रे !
त्यसैले हामी त
आफ्नै ठाउँतिर फर्किदैछौँ
गोलीगठ्ठासहित निस्केका
सैनिस जवानहरु
पुलिस जवानहरु
देस सुरक्षाका निम्ति
अपराधिक अनुसन्धानका निम्ति
हतारमा छौँ भन्दै थिए
एकझोला किताब बोकेर
विद्धालय गइरहेका विद्धार्थीहरु
हँसिला, सुकिला देखिन्थे
शिक्षक-प्राध्यायपकहरु, डाक्टर-पाइलटहरु,
कलाकार-लेखकहरु, इन्जिनियर-उद्धोगीहरु,
व्यापारी-राजनीतिज्ञहरु
एकाअपसमा गन्थन गर्दै थिए-
देस, देस अब
हाम्रो सपनाजस्तो बनाउनुपर्छ
हाम्रो कल्पनाजस्तो बनाउनुपर्छ
हाम्रो चाहनाजस्तो बनाउनुपर्छ ।
(स्रोत : “गरिमा” साहित्यिक मासिक)