कविता : आमा

~रामचन्द्र कार्की~Ram  Chadra Karki

रुन्छौं आमा बनपाखामा, म शहरको माझमा,
दियो बाली सम्झँदै हौली, मलाई झम्के साँझमा।
बनका माझ खेतका आली, पानी धारा सँगै,
रातदिन एकैनाश, आकाशका तारासँगै।

गोठालो र घाँस दाउरा, जंगलको बास,
मेलापात पधेरोले छैन, बेलामा गाँस।
सगै हुदाँ साथ मेरो, दाहिने हात थियो,
शहर छिरे अक्षर चिन्न, ढल्छ क्यारे दियो।

हात भरि ठेला होलान्, खुट्टा छिया छिया,
आमा तिम्रो साथी होलान्, चुरोट र चिया।
चुरोटको धुवाँसँग, ख्वाक्क ख्वाक्क खोकी छौ कि?
मलाई छिट्टै लैजा भनी, ईश्वरलाई ढोगी छौ कि?

हरेश खान छोड्नु आमा, छिट्टै गाँउमा आउनेछु म,
दैलामुनि ठुला गह्रा, बहर बाच्छा दाउने छु म।
स्वच्छ हावा पानी मिठो, आफ्नै धारा कुवाको,
बिर्स्या छैन आमा मैले, कोरी पुछि खुवाको।

बस्दिन म शहरमा, आउछु आँशु पुछ्न,
शहरका त खप्पिस रैछन्, सोझा गाँउले लुछ्न।
सवै स्वार्थी घमण्डी, शहरका धनिमानी,
यो शहर त धुलो धुवाँ, प्रदुषणको खानी।

सपनीमा देखेँ आज, आँखा भरि आँशु तिम्रो,
बोल्न पनि सकिनै नी, लठ्ठ थियो जिब्रो।
मैले देख्या सपनी, वास्तविक पो हो कि,
दमसँगै दिनदिनै, बढ्दै छ कि खोकी।

रोगब्याध आफै लियौ, हुर्के बनी तामा,
हरेक पाईला पछ्याउथे, समाउदै जामा।
बुढेसकालमा सेवा छैन, जताततै धामा,
आँशु पुछ्नु हाँसीदिनु, फर्किआँए आमा।

रामचन्द्र कार्की
आँपपिपल-४ राईगाँउ गोरखा
हाल: रानीपौवा पोखरा-११, कास्की

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.