कविता : रूख

~जगदीश घिमिरे~Jagadish Ghimire

कवि, केही त सार्थक लेख
शब्द धेरै लेख्यौ
केही सार्थक भाव पनि लेख

तिमीले सधैँ फूलका कविता लेख्यौ
अब रूखका कविता लेख
हाँगाबिँगा र मूलका कुरा लेख
ती अझ बढी सौन्दर्यमय र यथार्थ छन्जराका कुरा लेख
ती जराले समाउने माटाका कुरा लेख
जुन माटोमा तिमी र म जन्मियौँ
जुन माटो नभए तिमी पनि हुत्रौ, म पनि हुत्रँ
त्यो माटाको अस्तित्व जोगाउने जराका कविता लेख
जराका कथा लेख

तिमीले छहरा र नदीका कविता लेख्यौ
अब कुलाका कथा लेख
ती कुला जसले तिमीले र मैले खाने अत्र फलाउँछन्
जसबिना तिमी र म बाँच्न सक्तैनौँ
ती कुलाका कुरा लेख

तिमीले केवल आफ्नो दुःखको गुनासो
र सुखको सपना लेख्यौ
अब यो देशको कथा लेख
यो हिमालको निधार निहुरिन नदिनु छ भने
यसको छातीभरि रूखका बोटका कथा रोप
लेकका थुम्कादेखि बेसीका बगरसम्म
तराईका फाँट–फाँटभरि
नेपालीको पाखुरीले सिँगारेका
टार गरा कान्ला र फाँटहरूमा
घाँस, दाउरा र काठका बोटको कथा रोप

रूखमा फूल पनि फुल्ने छ
सपना पनि फल्ने छ
चराले गुँड पनि लाउनेछन्
साँझ–बिहान बासेर तिम्रो गुन पनि गाउनेछन्
तिमी आफ्नो तुच्छ अहङ्ककारबाट निस्केर
घाँस पात बिरुवा चराचुरुङ्गी
र तिनै जस्ता सामान्य बहुसङ्ख्यक नेपालीको कथा लेख
ती भुइँमान्छे रूख हुन् रूख

तिमी आफ्ना रचनामा आफ्ना सन्तान देख्छौ
अब रूख बिरुवा लहरामा देख
हिउँको पहिरामा बन रोप
पहाडको पहिरामा बगैंचा कुँद
बगर–बगरमा बगैँचा कुँद
तराईका मैदानमैदानभरि बगैँचा कुँद
बगैँचाका बोटबोटमा आत्मा रोप

तिमी अशक्त भएपछि आफ्नै आफन्तले
तिमीलाई घरबाट निकाले भने
भुइँचालाले तिम्रो बास भत्कायो भने
बाढीपहिरामा प¥यौ भने
नदीले बगायो भने
आगलागीले डढायो भने
रूखका हाँगाबिँगा र पातमुनि तिमीले छहारी पाउने छौ

तिमी म¥यौ भने रूखले आफ्ना शरीर हात खुट्टा पोलेर
तिम्रो दाहसंस्कार गर्नेछन्
तिमीलाई दागबत्ती दिनेछन्,
तिम्रो सुकेको तालुमा यिनका पात पातले तर्पण दिनेछन्

कवि, तिम्रा कविता क्षणजीवी छन्
तिमीले लगाएको बन शाश्वत हुनेछ

कवि, रूखका कविता रोप
कवि, रूखका कथा रोप

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.