~प्रदीप कन्दङवा~
मेरो वालसुलभ प्राकृतिकताको उपज हुन सक्छ त्यो, जो अकारण र निर्विघ्न मेरो मानसपटलमा आएर उफ्रिरहन्छ, नाचिरहन्छ, जिस्किरहन्छ र खेलिरहन्छ अनि भत्किन्छ यसरी, जस्तो त्यहाँ बम ब्लाष्ट भएको होस, र वस्तुतः म हलचल गर्न सक्दिन । लाग्दछ, म र्सवाङ्ग अपाङ्ग भएको छु । हिंड्ने खुट्टाहरु छैनन् मेरा, हातहरु काटिएका छन्, आखाँहरु बन्द छन्, कानहरु केवल आकारमा सीमित भईदिएका छन् । यसरी र्सवागं अपाङ्ग तर जीवनरत एउटा शालिक पो भएछु म त । शालिकमा जीवन हुनु, उत्कण्ठा हुनु, रहर हुनु, अभिलाषा हुनु कस्तो अनौठो कुरा, तर अनौठो सत्य पनि त शास्वत हुन सक्छ । नभए मेरो मुटुको धड्कन के हो ? मेरो बन्द आँखाले देख्ने दृश्यहरु के हुन् ? अझ भनौ, मेरो गिद्दी नै हल्लाउने गरी नाचिरहने, हाँसिरहने, र उफ्रिरहने मेरा उत्कट र अनवरत आकाँक्षाहरु के हुन् ? सत्य होइनन् कसैले भन्न सक्छ ? सक्दैन भने सत्य अनौठो पनि शास्वत हुन सक्छ भनी मान्नपर्ने हुन्छ र्निविवाद ।
आमाको जीवनचोला उठेपछि नै शुरु हुन्छ मेरो शालिकरत जीवनक्रिया, यसमा मेरो बाउको भूमिका महत्वपूर्ण छ भन्ने कुरा अनुमानोक्ती होइन, परन्तु एउटा यस्तो यथार्थ हो जसले मेरो स्वप्निल दुनियामा बारम्बार पानी फ्यांक्यो र म भिजिरहेँ, दुखिरहेँ, कुण्ठा जस्तो परम् मृत्युदायक पलहरु काट्दै । म ठान्दथेँ, ऊ त मेरो बाउ पो हो, मैले ठान्नुपर्ने आवश्यकता किन परिआयो – यदि कसैले कुनै घोर सत्यमाथि यो सत्य हुनपर्ने भनी ठान्दछ भने त्यो त विवादित भयो । अनि उ मेरो बाउ हो भन्ने कुरा विवादित कसरी हुनक्छ ? तर यसमा यो साइनोले महत्वपूर्ण भूमिका निभाएको छ । अन्यथा ऊ मेरो आमाको लोग्ने मात्र हुनेथियो कदाचित मेरो बाउ हुने थिएन ।
एकदिन उसले मलाई बोक्यो भन्न मिल्दैन, मेरो द्रुइ पाखुरामा समातेर उचाल्यो । जस्तो म कुनै वस्तु हुँ, जुनदिन मेरी आमा मरेकी थिइन् तर म रोएको थिईन, अझ भनौ हाँसिरहेको थिएँ, मनमा एउटा जिज्ञासा बाहेक केहि थिएन । मेरी आमा यति धेरै मान्छेहरुको माझ किन सुतिरहेकी होली । हो त्यो दिन, मात्र त्यही दिन उसले मलाई भन्यो-
छोरा… म तेरो बाउ हुँ ।
यो साइनोको भेद मलाई थाहा थिएन, मलाई यो मात्र लागिरहृयो, बाउ भनेको नजाती हुँदोरहेछ । उसको हातको कडापन कसरी भन्नु उसको हृदयको कठोरता हुनसक्छ, जसले मलाई एकैपटक के छोयो म शालिक बनेर रहें। आजपर्यन्त सायद मृत्युपर्यन्त । तथाकथित बडप्पनको भुतले थिचेको हुनुपर्दछ उसलाई, ऊ भन्ने गथ्र्यो-
जीवनमा प्रतिष्ठाको सवाल जीवनकै निम्ति पानी जस्तो अनिवार्य भएर आईदिन्छ अनि के गर्ने –
घरपरिवार श्रीमती सन्तान सबैलाई त्यही प्रतिष्ठाको खाल्डोमा लगेर पुर्न परेन । मलाई थाहा छ, यी वाक्यहरु मप्रति लक्षित हुँदैनथे, किन्तु यसको नियति यो मेरै मनको कोमलतामा आएर यसरी प्रहार गथ्र्यो कि म क्षतविक्षत एकाएक अस्तित्व अस्तित्वहीनताको बीचमा धुलिरहन्थेँ, धुलिँदैं उडिरहन्थेँ । म एउटा तोकिदिएको दायराभित्र हुर्र्किन थालेँ । स्कुल जाने, घर आउने, पढ्ने, घरभित्रको कम्पाउन्ड बाहेक बाहिर नजाने, गइहाल्न परे, गाडीमा ड्राइभरसँग मात्र जाने, साथीसँगी घुमफिर आदि सब मेरो निम्ति मैले कल्पना गर्ने कुरा मात्र थिए । कुनै कुनैदिन म कान्छामार्फ् आफ्नो प्रस्ताव बाउसम्म पुर्याउँथेँ, वापतमा हामी र्दुइजनालाई बाँधेर चुट्ने धम्कि दिन्थ्यो ऊ । यो बन्धन किन ? यो प्रश्न सोध्ने हिम्मत ममा कहिले भएन । कान्छा भन्थ्यो, यो अनुशासन हो । योभन्दा बढी ऊ केही बोल्दैनथ्यो । सायद उसले जानेकै यति होस्, अथवा यसले उसको ज्ञानचक्षुको सीमा छोइदिएको होस् । म भन्न सक्दिन । कान्छा हेर्दा निकै बूढो देखिन्छ । यर्थाथमा ऊ मेरो बाउ, उसको मालिकभन्दा उमेरले निकै सानो भएको रहस्य उसले एकदिन खोलेको थियो ।
तर कसैले देखिहाले यो तथ्य स्वीकार्न उसकै आमा भएर जन्मिनुपर्ने असम्भव तर यथार्थ आफ्नो ठाउँमा छदैथियो । ऊ यो घरमा कहिलेदेखि बस्छ, मलाई थाहा छैन तर मेरो सम्झनाले भ्याएदेखि उसलाई म यहिं घरमा देखिरहेको छु । उसको नाम के हो ? त्योसम्म थाहा छैन मलाई । सायद उसको नाम कसैलाई थाहा नहुन सक्छ । त्योभन्दा ठूलो रहस्य चाहिं के हुन सक्छ भने जस्तै उसको नाम उसैलाई थाहा नहोस । यो प्रमाणित गर्न पर्याप्त आधारहरु नभएका होइनन्, यसरी उसलाई आफ्नै नाम थाहा नभएको भए त्यो रहस्य चाहिं निकै उदेकलाग्दो हुँदो हो भनी अनुमानसम्म गर्न सकिन्छ । त्यसैले उसले आफ्नो नाम नभएकोमा या आफ्नो नाम कान्छा भएकोमा कहिलेकाहिं, कतै असहमति वयक्त गरेको सुनिएको या देखिएको थिएन । बरु चुपचाप यो नाम उसले धारण गरेको थियो, जस्तो यो नाम उसको भगवान स्वयमले राखिदिएका हुन् । एउटा वेदनाको शास्वत पहाड हुनसक्छ, ऊ अर्थात् जीवनबाट पलायन भएको भन्न मिल्दैन मृत्युवरण गर्ने हिम्मत नभएर हिंडिरहेको छ भन्नु कसरी, घस्रिरहेको भन्न उचित होला । विशेषगरी आमाको मृत्युपश्चात् मेरो बाउले उसलाई मेरोपछि लगाईदिएको थियो । वफादारीमा कान्छाले विश्वकिर्तिमान कायम गर्ने सम्भावनाका वावजुद ऊ केवल एउटा नोकर भएर रहेको थियो । त्यही वफादारीलाई सलामत राख्न ऊ लाग्यो मेरोपछि हात धोएर । त्यो घरको रित्तोपनसँग एकाकार भएका मेरा जिजीविषाहरु र कान्छाको प्रवेश मेरो जीवनमा परस्परमा नमिल्ने दर्ुइकुराहरु थिए । कसरी भने, जस्तो, कुनै तुफानी कालो रातमा त्यो अन्धकार र एकलासपनको उच्चतम उपभोग गर्दै म मेरी आमाको तस्विर छातीमा राखेर डाँको छोडेर रुन चाहान्थेँ, तर मेरा जीवनका उपक्रमहरु बिथोल्न, मेरा र्सवाधिक आनन्ददायक पलको नृशँस हत्या गर्न त्यो तुफानी कालो रातमा ऊ हठात् मेरो सामुन्ने आइदिन्थ्यो, मलाइ यो सोध्न कि-
बाबुलाइ निन्द्रा लागेन जस्तो छ ? कार्टून लगाइदिउँ ?
म एकाएक स्तब्ध भइदिन्थेँ, आफ्नो अभिलाषा चकनाचूर भएकोमा । उसको यो क्रियाकलाप मलाई एकदम तूच्छ लागेर आउँथ्यो । तिनताका, मेरो मनमा एउटा विशुद्ध उत्सुकता उमारिदिएको थियो त्यसले । फलस्वरुप म सोच्दथेँ, आफू रातभर नसुतेर, म सुतेको हेर्न किन चाहन्छ ऊ ? उसले यो क्रमलाई जारी मात्र राखेन, बरु अझ नियमवद्ध भइदियो । जस्तो, कुनै रात, के भन्नु, मात्र एकपल पनि म नसुतेको समयमा ऊ सुतेको थिएन । यो तादात्म्यता कसरी मिलेको हुँदो हो ? दैव जानुन् । म केवल यति मात्र भन्न सक्छु, मेरो जीवनमा परिआएका सारा समस्याको जड एउटै मात्र जडतत्व कान्छा नै हो भन्ने लाग्थ्यो मलाई । कारण के हो म भन्न सक्दिन, तर मेरो बाउलाई असिम घृणा गर्थेँ म, यसैको रन्को हो कि कान्छाको सामिप्यतासमेत अप्रिय लाग्थ्यो मलाई । हरेक मेरो बाउको उमेरको पुरुषलाई म एउटै दृष्टिकोणले हे्र्ने गथ्रेँ त्योबेला । फलस्वरुप उसलाई मैले पटक-पटक आत्मादेखि गलहत्याएको हुँ । बोली-बचनले दूत्कारेको हुँ । साफ-साफ भनिदिएको हुँ मैले उसलाई यसरी छाँया जस्तो मेरोपछि नलाग्नु भनेर, तर उसका दृढ आँखाहरु पहाडझैँ प्रतीत भइदिए त्यसक्षण । त्यसको भारले थिचिएर म हृदयको पींधबाट अलिकति आँशु ओकल्थेँ । कान्छा आँशु पुछ्न उसका खस्रा हातहरु मतर्फअघि बढाउँथ्यो, म आफ्नो अनुहार र्दुइघुँडाको बीचमा लुकाउँथेँ । हेर्दा खेल झैं लाग्ने तर र्दुइ भिन्न वस्तुस्थितिबाट प्रताडित र्दुइमानव आत्माको दग्ध रेटाइ थियो त्यो परिवेश । मेरो अस्वीकृति र तिरस्कारबाट ऊ एकचोयापछि नहटेको देखेर मेरो हठधर्मिता डग्मगाउन खोजेको आभाष हुन्थ्यो मलाई । लाग्दथ्यो, यो खेलमा ऊ पहाड हो, म सिसिफस्, ऊ सागर हो, म एकथोपा पानी, ऊ आकाश हो, म एकटुक्रा बादल । हो, म सिसिफस्, एकथोपा पानी, एकटुक्रा बादल, खोइ मेरो अस्तित्व ? लाग्दछ मेरो अस्तित्व आत्मिक रुपमा मात्र छ भौतिक रुपमा छैन म । अन्यथा मेरो आगमनको आभाष यो दुनियाँलाइ हुनुपर्ने हो । किन भएन ? त्यसैले कुनै कुनै मूडमा म आफूलाइ आफै छाम्दथेँ यो निश्चित गर्न कि मेरो भौतिक अस्तित्व छ कि छैन ।
मेरो बाउको महानता अनुकरणीय छ भन्थे मान्छेहरु, यो देखेर कि कान्छालाई उसले दिन बिराएर बिटा का बिटा पैसा फालिदिन्थ्यो । केवल मेरो आवश्यकता पूरा गर्न । त्यो क्याँटको बिटो अनि त्यसको वर्षात् देखेर कान्छा शून्यभावले कतै टाढा क्षितिजसम्म आफ्ना आखाँहरु डुलाएर र्फकन्थ्यो । खोई, यो क्याँटको बिटो र त्यो क्षितिजबीचमा के नाता छ, म बुझ्न सक्दिन । द्वैहिक रुपमा होइन, आत्मिक रुपमा हामीबीच एकखाले समानता हुँदो हो सायद, त्यसैले ऊ हाँसेको मैले देखेको थिइंन । त्यसो त रोएको पनि देखेको थिईँन मैले । फेरि मेरो जस्तो रोएर बस्ने उमेर पनि त रहेन उसको । तर नरुनलाई यत्ति मात्र कारण पर्याप्त छैन । अरु कुनै जटिल कारण हुन सक्छ । जस्तै आत्मातिरबाट आँशुकुन्डहरु ध्वस्त भएका होउन् ।
यसरी जीवनका विषाक्त पलहरु हामी निलिरहेका थियौं । मर्न नसक्दा जीवन यति दुष्कर बाँच्नु पर्दो रहेछ । यो भोगाइले सिकाएको कुरा हो । यता, बाउको दर्शन दूर्लभप्राय भएर गएको थियो । व्यस्त त ऊ पहिलादेखि नै थियो, यद्यपी आकलझुकल ऊ मलाई हेर्न बिर्सिदैनथियो । यही क्रममा उसले मलाई कैयौं महानवाणीहरु सुनायो, कैयौं महापुरुषहरुको नाम सुनायो र भन्यो-
जीवनमा महान कसरी भइन्छ ? यही कुरा हो, मैले तँलाई सिकाउन खोजेको ।
यसरी महानभाव अनुहारमा पोतेर ऊ मुसुमुसु हाँस्दथ्यो । यसबेला मलाई लाग्थ्यो, यो महानता भन्ने चिज नभइदिएको भए सायद यो व्यक्ति मेरो बाउ हुँदो हो । कति निर्दयी छ यो महानता । एकाएक शरीरको जराजराबाट यो महानताप्रतिको क्रोध उम्लेर आउँथ्यो र यही झेँकमा मैले कतिपटक आफ्नो किताव, कपी, कलम अथवा महान बन्न चाहिने सबै सबै चिजहरुमा आगो लगाइदिएको थिंए । अक्सर यस्ता काम म कान्छाको अगाडि गरिदिन्थेँ । पहिला-पहिला सँयांग हो भनिन्थ्यो, पछि नियोजित भएको प्रमाणित भयो । कारण जब ऊ मेरो कोठामा प्रवेश गर्ने बेला हुन्थ्यो, म एउटा न एउटा उपद्रव मच्चाउन जुर्मुराएर उठ्थें । कतिपटक मैले आफ्नो किताव कपीमा आगो लगाइदिएको थिंएँ । स्कुल डे्रसलाई कैंचीले काटी-काटी धुजा-धुजा पारिदिएको थिंएँ । कोठाको बत्तिलाई गुच्चाले हानी-हानी फुटालिदिएको थिंएँ । बिगार्न भत्काउनलाई केही चिज नभए एक न एक वस्तुको झटारो म ऊ भए तर्फ हुत्याइदिन्थेँ । मेरो क्रियाकलाप देखेर ऊ हतास, निरास, या उदास केही पनि भएको थिएन । बरु ति भत्केफुटेका सामानहरु सम्हाल्न सँधै व्यग्र देखिन्थ्यो ऊ । यसले मलाई अझ उत्साह मिलेको हुँदो हो तिनताक, म स-गर्व आफ्नो खानाको प्लेटलाई भुइँमा बजारिदिन्थेँ । दुधको कपलाई झयालको सीसाबाट बाहिर छिराइदिन्थेँ । बजार्दा चकनाचुर हुने कुनै पनि चिज वस्तु देख्यो कि मलाई उसको तीव्र प्रतीक्षा शुरु भइहाल्थ्यो । यसरी ऊ आउनसाथ त्यही वस्तु बजारेर म उसको स्वागत गरिदिन्थेँ । यसको एउटै मात्र कारण थियो उसको मप्रतिको मोह भँग होस् र म उबाट मुक्त रहनसकुँ, अथवा यो सारा मानव जगतबाट मलाई मुक्ति मिलोस् । हुन सक्छ, मेरो अर्न्तमनमा आफ्नै जीवनबाट मुक्ति पाउने अभिलाषा लुकेको होस् र त्यसनिम्ति एउटा अनुकूल समयको पर्खाइ मात्र मेरो जीवनको अभिष्ट…. । म भन्न सक्दिन । तर यस्तो सोचाइ मेरो मानसमा कति पटक आउँदै जाँदै गरेको मैले महसुस् गरेको थिंएँ ।
आमाको मृत्युपश्चात् अरु छ वर्ष यसरी बित्यो । समय सँगसँगै ममा केही सुझबुझको मानसिक विकास भइसकेको थियो । कान्छा दिन र्दुइ गुना, रात चार गुनाको हिसाबले बुढिएर गएको थियो । मेरो बाउ यथावतै जस्तो देखिन्थ्यो, आँखामा उही कठोरता, अनुहारमा उही चमक, शरीरमा उही शक्ति लाग्थ्यो, जस्तो समय उसको निम्ति रोकिएको थियो । उमेर सँगसँगै मेरो बाउप्रतिको घृणा पनि अति प्रगाढ भएर गएको थियो भने कान्छासँग म रमाउन थालेको थिंएँ । त्यो घरको चौघेराभित्र केवल कान्छालाई आफ्नो ठान्न थालेको थिएँ मैले । मेरो हरेक जन्मोत्सवमा कान्छा मेरो साथ हुन्थ्यो । हामी दुवैजना मिलेर केक काटथ्यौँ । कान्छा मलाई पेन्टिङ्गको सेट गिफ्टवापत ल्याइदिन्थ्यो । म उसलाई उसैको कार्टून चित्र बनाएर दिन्थेँ, चित्र हेरेर हामी दुवैजना पेट मिची-मिची हाँस्थ्यौं । मेरो बाउलाई यि सब कुराको केही खबर हुँदैनथ्यो । ऊ आफ्नो जीवन निर्वाध र निर्विघ्न बाँचिरहेको थियो । एकदिन अकस्मात कान्छाले आफ्नो जन्मदिन मनाउने घोषणा गर्यो । यो अप्रत्यासित निर्णय सुनाएर उसले मलाई एउटा धर्मसँकटमा पारिदिएको थियो । उक्त सँकटमोचनको निम्ति सोच्न वाध्य भएको थिएँ म । मैले कसैगरी एउटा उपहारको व्यवस्था गर्नु पर्ने थियो । उसले जन्मोत्सव मनाउने घोषणा गर्यो तर आफ्नो जन्मदिन भनेन । पछि मैले नै उसको जन्मदिन घोषणा गरिदएँ, हामी दुवैजना खुशी भयौं । उसको जन्मदिन नजिक आइरहेको थियो । एउटा सरप्राइज गिफ्टको निम्ति म सोचिरहेको थिंएँ । म उसको जन्मदिनको निम्ति यतिको गम्भीर भएको कुरा उसलाई आभाष भएको थिएन । ऊ बेलाबखत मलाई जिस्काउने हिसाबमा भन्थ्यो-
सानो बाबुले मलाई के गिफ्ट दिनुहुन्छ ?
म उसलाई हाँसेर टारिदिन्थेँ । उसको जन्मदिन आउन एकदिन मात्र बाँकि थियो । मसँग उसको निम्ति कुनै गिफ्ट थिएन । त्यो दिन त्यतिकै बितेर गयो । त्यो साँझ हामी साविकझैं खाना खाएर आ-आफ्नो कोठामा सुत्न गयौँ । म आफ्नो कोठामा सुतिरहेको थिंएँ । मध्यरातमा मलाई एउटा अर्न्तज्ञानले झट्का दियो । म ओछ्यानबाट उठेर एउटा लगभग र्दुइ बर्ग फिटको सेतो पेन्टिङ्ग पेपरमा धमाधम रङ्ग भर्न थालेँ । अवचेतन मनबाट कोरिएको उक्त चित्र बिहान उज्यालो हुँदा सिद्धिएको थियो । म उक्त चित्रलाई भित्तामा टाँसेर हेर्न थालेँ । चित्रमा कान्छा मेरो बाउको सुट लगाएर उभिरहेको थियो, उसको छेउमा मेरी आमा कान्छाको हात समाएर उभिरहेकि थिईन्, बीचमा म उभिरहेको थिंएँ । मलाई लाग्यो कान्छाको जन्मोत्सव सफल हुने भयो ।
2008
(स्रोत : Nepal.hk)