~प्रेम विनोद नन्दन~
घाम डाँडाको सिरानी हालेर ढल्ने उपक्रममा थियो । साँझको घुम्टोमा बेरिएर ताराहरूका आँखाले बाटोमा आउनेजाने छाँयाहरू छाम्दै थिए । सङ्घारमै आइपुगेका दुइ छाँयालाई मायालु बोलीले बेरेर आफ्नो उद्देश्यप्राप्तिको लक्ष्यतिर भित्र्यायो । दुवै छाँयाहरू दिनभरिको यात्राले लखतरान खोलोझैँ कुनै गहिरो तलाउमा विश्राम लिन आतुर थिए । शिशिरको चिसो बतास नदीकिनारको स्याँठले हान्दा दुवै छाँयाहरू न्यानो ओत पाइएला भन्ने सोँचमा थिए । त्यस्तो अवस्थामा फरिकोले बारेको, रातोमाटोले लिपेको हावा छेक्ने बारबन्धनभित्र धपधपी बलिरहेको अगेना र त्यो आगोको तातो रातो ज्वालामा तात्न पाउँदा एउटा रमाइलो आनन्दको अनुभूतिमा रमेका थिए । आगोको गुण तताउनु नै थियो । जीउ त तात्दै गयो । त्यसपछि मन पनि तात्न लाग्यो । आगाको रापसँगै त्यस घरकी मालिक्नी पनि हमानी अनुहारमा मानौँ आफ्नै नजिकको पाहुनालाई भन्दा बढी सत्कारका परिकारहरू सोध्न थालिन् । छाँयाका चारै आशक्त आँखाहरू नवयौवनाको अनुहारभरि सोहोरिए ।
– दाइ ! खाना तयार छ, के के टक्र्याउँ –
– तपाईंकहाँ जे जे छ, त्यही दिनुहोस् ।
– दालभात, घरपाला र लोकल कुखुराको मासु अरू साधारण ।
– पहिला हामीलाई नास्ताको परिकार दिनुहोस् ।
– लोकलका बोतल र मासुसहित अचार लिएर सानी आइपुग्छिन् । दुवै छाँयाहरू रचेजस्तै बिम्ब देख्न थाल्छन् । प्रतीकहरू राख्ने ठाउँ नै भएन । भोकाएका छाँयाहरू सँगै सबै मिलेर खाने र पिउने प्रस्ताव राख्छन् ।
– हामीले त भित्रै खान्छौँ, यो त तपाईंहरूको लागि मात्र ।
– त्यसो भए हामीमात्र त खान्नौँ ।
– मान्नुहुन्न भने अलिकति लिउँ है त –
– किन अलिकति पेटभरी लिनुपर्छ । यसको हिसाब हामी मिलाइहाल्छौँ, सङ्कोच मान्नुपर्दैन । हामीले त रमाइलो मनाउनको लागि जहाँ पनि सँगै खाने गर्छौ, असजिलो मान्नुपर्ने कुरै छैन ।
– यो सम्वादभित्र आ-आफ्नै औपचारिकतालाई निर्वाह गर्दै थिए ।
– आगो निभ्नै लाग्यो, अलि ठोस्नुस्न ।
– निभ्दैन यो आगो, रातभरि पनि बलिरहन्छ । दाउराको कमी छैन । जति ताप्न खोजे पनि ताप्न सक्नुहुन्छ ।
नन्द र भाउजू अनि दुइ परदेशी छाँयाहरू मानौँ धेरै वर्षछि भेट भएका प्रेमी-प्रेमिकाझैँ नजिकिन थाल्यो । प्युनुको नशाले र नशाको प्रभावले तन, मन तात्न थालिसकेको छ । अगेनाको वारी र पारी भएर मानो मन र मस्तिष्कले दोहोरी गाउन थालेका छन्, नानाथरिका हास्यव्यङ्ग्यका बातबेहोराले ।
रात छिप्पिँदै छ । प्युने क्रम आफ्नो उत्कर्षतर लक्षित छ ।
– यहाँ त मादल पनि रहेछ । तपाईंहरू गीत गाउनु हुन्छ क्यारे, सुनौँ न एकदुइ चरण ।
– म त जान्दिन सानीले गाउँछिन् ।
– ए झ् उसो भए मादल त म बजाउँछु ।
– सानीले गाउन थालिन् –
“मुक्तिनाथमा फूल फुल्यो काशी पुग्यो जरा यानीमायाँ हातमा छैन धनुकाँडा केले हान्ने चरा यानीमायाँ”
– “साँच्चिकै गायिका पो हुनुहुँदोरहेछ । गाउने कला र गला क्या मिलेको । गाउनुहोस् न, यति राम्रो स्वर, यति मीठो भाका सुन्न पाइयो ।” सानीसित नशाको जोश र उमेरको जोश दुवै कम थिएन । लगातार गाउँदै गइन् । एउटा छाँया त गीत र मदिराको नशाले धान्नै नसकिने भएर ढलिसक्यो । भाउजू पनि नशामा लठ्ठिएर भित्र पसिन् । दुइ पात्र अगेनाको वारी पारी गाउँदागाउँदै लर्बरिन लागे । “उज्यालो हुने बेला भयो दाइ सुत्नोस् अब ।”
– यो उज्यालो र अँध्यारो सधैँ भइ नै रहन्छ । तर यो मखमली रात फेरि कहाँ पाइन्छ –
– भोलि पनि यतै बस्नोस् न त, भोलि फेरि गाउँला ।
– आजको संयोग भोलि मिल्छ कि मिल्दैन, कसले जान्ने –
– मन भए जानी हालिन्छ, किन पत्याउनु हुन्न –
– नपत्याएको हैन । अहिलेको मन भोलिसम्म रहन्न कि भनेर ।
– फरकै पर्दैन, सुत्नोस् । म पनि सुत्न जान्छु ।
धेरै समयसम्म दुवैतिर निदाउन सक्दैनन् । कति वर सानी कति पर छाँया, ऊ घरबेटीकी छोरी ऊ केवल यात्री । भित्रबाट आवाज आउँछ – “दाइ न्रि्रै आएन एउटा चुरोट दिनोस् न ।”
– छ, लिन आउनोस् ।
– ल्याइदिनोस् न, म ढलिसकेकी छु ।
छाँया उठेर चुरोट दिन भित्र पस्छ । चुरोटको साटो छाँयालाई आफूतिर तान्दै अँगालोमा बाँध्छिन् ।
लाचार छाँया समर्पित हुन बाध्य हुन्छ । भित्रभित्रै तातो आँधीहुरी चल्न थाल्यो । बिजुली चम्क्यो, पसिनाले र्सवत्र भिजेर लाचार छाँया बाहिरियो ।
मेनरोड, नारायणगढ, चितवन ।
पल्लव साहित्यिक पत्रिकाको १२औ अङ्क यौन विशेषाङ्कबाट साभार गरिएको ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)