~गोबिन्दबाबु तिवारी~
हौ झुम्से !
के के न गर्छु भन्थे तोरीलाहुरेहरू
खूबै पो गरेछन् त हौ !
अचाक्ली नै गरेछन्
छाती पिटी पिटी रुनुपर्ने बखत्मा पनि
मरी मरी हाँसेछन्
आफ्नो भन्नु त्यै एउटा लँगौटी
त्यो पनि सूनको किस्तीमा हालेर
बिचरो ठूलेलाई जिम्मा लाइदिएछन् ।
तर झुम्से ‘जो कुछ् भो ठिकै भो’ है
यिनले गर्दा हाम्रो ठूले प्रधानमन्तरी भो
कि कसो हौ झुम्से ?
सुन् त हौ झुम्से !
जनयुद्धका योद्धाहरू
प्रजातन्त्रका ठेक्दारहरू
हक् र अधिकारका वादीहरू
सबै छेपाराहरू भाग्यमानी रहेछन्
त्यसैले त, किन्दै नकिनेको चिट्ठा परेर
अभागी हाम्रै ठूले पो प्रधानमन्तरी भएछन्
अनि, कुरो कस्तो लाग्यो त झुम्से ?
लाखे है झुम्से, लाखे !
बबुरा यी तोरीलाहुरेहरू
काठमाण्डूका सडक् मेलम्चीले धुन्छम् भन्थे
कथा हाल्दा हाल्दै निदाएर
देशलाई सिङ्गापुर बनाम्छम् भन्थे
हरेकलाई चार बिघाहा जग्गा र
दुई तोला सून् सिँत्तैमा दिन्छम् पनि पो भन्थे !
शोषित पिडितको मुक्तिका लागि
नथाकिकन भाषण पनि ठोक्थे
गरेछन् नि हौ झुम्से
सिङगापुरे सपनाका झिङ्गापुरे व्यापारीहरूले !
गर्नु गरेछन् !
यिनले गरेका सबै कृत्य अब त पक्कै पनि
इतिहासमा लेखिने भो
तर, पितिक्क हाँस्न पनि
मरीमरी फकाउनुपर्ने हाम्रो ठूले भने
प्रधानमन्तरी पो भो ।
कस्तो लाग्यो त हौ झुम्से तोँलाई ?
राम्रो सित सुन् है झुम्से !
अब त बधाइ दिनुपर्छ हाम्रा यी तोरीलाहुरेहरूलाई
जो, आत्महत्या गरेर पनि बाँचेकै छन्
गाली होइन ताली दिनुपर्छ यी घुसतिघ्रेहरूलाई
जो, आफू आफ्नै मलामी हुँदा पनि हाँसेकै छन्
बाँच्ने र हाँस्ने यिनीहरूको यो कला
कलाबिहिन नाटक किमार्थ होइन है झुम्से !
किनकि,
नाटकको पात्रले त यी तोरीलाहुरेहरूले झैं
नाटकको त्यो भूमिका
आफ्नो वास्तविक जीवनमा खेल्दै खेल्दैन
त्यसैले, सुन् न हौ झुम्से,
यिनीहरूले जे गरे राम्रै गरे भन्नुपर्छ हौ
हुनुपर्ने कुरा नभा’को बेलामा
नहनुपर्ने कुरा भो त के भो ?
हाम्रै ठूले प्रधानमन्तरी भो ।
काइदा भएन त झुम्से ?
खाँटी कुरा हौ झुम्से
यो कुनै नाइन्टिन फौन्टिनको कुरा होइन क्या
ट्वाइन्टी थौर्टिनकै कुरा हो
विलायत वा अम्रिकाको कुरा पनि होइन
न त, नाथे भारतकै कुरा हो
हो त, हाम्रै देशको कुरा हो
त्यो पनि, नक्कली होइन
खाँट्टी सक्कली कुरा हो
तर, यो कुरा हुन भने कसरी भो, कसरी भो
हुन चाहिँ भो
हाम्रै ठूले पर्धानमन्तरी भो
ठ्याक्कै पर्धानमन्तरी भो ।
च्व च्व च्व च्व…।
चिती, लमजुङ
(स्रोत : Fitkauli)