कथा : स्नेह-अस्त्र

~विवश पोखरेल~Biwash Pokharel

‘सर हजुरलाई भेट्न एकजना ‘लेडी’ आउनु भएको छ ।’ खबरले केहीबेर सोचमग्न भएँ म । ‘को आई ? विवाहित कि अविवाहित ?’ विभिन्न आशङ्र्काले पखेटा हाल्यो मभित्र । एकाएक केही बेरसम्मको मेरो प्रफुल्ल अनुहारमा डम्म बादल लाग्यो ।

‘सर बिजी हुनुहुन्छ भनिदेऊ’ एकमनले लाग्यो व्यस्तताको बहाना झिकेर फर्काई दिऊ उसलाई । मलाई भेट्न आउने आइमाई अरु को होली र ! त्यही बहुलाई त होली ! त्यही ‘काउसो’ त होली ! जसले मलाई त्रासद छाया बनेर जिन्दगीभर पछ्याइरहेकी छे । खबर ल्याउने पियनले विशेष प्राथमिकता दिएको ‘लेडिज’ शब्दलाई आइमाईमा अनुवाद गरें मैले । त्यही आइमाई जसले मलाई कैंयौपल्ट घिसारेर प्रहरीचौकी र अदालतसम्म पुर्‍याएकी छे । तर त्यति गरे पनि अझसम्म, अफिससम्म आउने दुष्साहस भने गर्न सकेकी थिइन, आज अफिस कसरी आई ? केही बबाल पो गर्ने हो कि ? मेरो मन डरायो । मलाई लाग्यो- हुन त दोष यसमा मेरो पनि हो, उमेरमा वैँशालु मन नियन्त्रण गर्न सकिएन र तरियो उत्तेजनाको समुद्र । परिणाम घिसार्‍यो क्षणिक आनन्दले प्रहरी कार्यालयदेखि, अदालतसम्म, र बन्यो सबैको चर्चा परिचर्चाको विषय एउटा हाकिम ! फूलबुट्टा भरे, पत्रपत्रिकाले म र ऊबीचको प्रेम प्रसङ्गको । त्यतिबेला अँगालोभरिकी स्वास्नी र काखभरिको छोरा घरमा छोडेर आउनु ठूलो गल्ती थियो मेरो । हुन त गल्तीले त मानिसभित्र संकट थप्छ । फेरि लोग्नेमान्छे भँवरो न हो, आँखाअगाडि वैँशालु फूल देखेपछि कहाँ उसले मन थाम्न सक्छ र ? त्यसैले ऊ अर्थात् मुक्ताको सौन्दर्यले पगार्‍यो मलाई र बिर्सिएँ मैले आफू विवाहित भएको कुरो । बोल्दा अरुका अगाडि आफू स्पष्टवक्ता भनेर फलाके पनि-आफ्ना स्वार्थका लागि लुकाउने कुरो कहाँ खोल्दारहेछन् र लोग्नेमान्छेहरू ! मैले पनि आफूभित्र निहित स्वार्थले आफू विवाहित भएको कुरो उद्घोष गर्न सकिनँ ऊसमीप र निर्लज्ज भएर अविवाहित भएको अभिनय गरेँ ।

निकैदिनसम्म ऊसँगको प्रेमलीला, सानिध्य र आन्तरिक साँठगाँठ बढेपछि एकदिन उसले नै थाहा पाई’छ, म विवाहित पुरुष भएको कुरो, त्यो कुरो पनि मेरो हुस्सुपनले गर्दा हो । घरबाट आएको चिठ्ठी पढिसकेपछि सिरानीमुनि राखेर बाथरुम जानु नै ठूलो गल्ती थियो मेरो । त्यसैबेला उसले खुसुक्क पढि’छ, अरुणाले पठाएको चिठ्ठीका सम्पूर्ण बेहोरा र थाहा पाई’छ म एउटा अँगालोभरिकी स्वास्नी र एउटा छोराको बाबु भएको कुरा । त्यसो त ऊसँग मैले विवाह गरुँला भनेर प्रेम गरेको पो कहाँ थिएँ र ? यसो जागिरे दौडानमा बसुञ्जेल रमाइलो होला भन्ने सोचेर गाँसेको थिएँ ऊसँगको सम्बन्ध । तर कालान्तरमा ऊ मेरो जीवनसँग संकट भएर टाँस्सिएली भन्ने के थाहा ? हुन त ऊ टाँस्सिई पनि के भन्नु ? टाँस्सिनेसम्मको गल्ती त म आफैले गरेको थिएँ । जाडोको आगो कसले छाड्ने ? फेरि बल्छीमा आएको माछो उम्काउने मान्छे मूर्ख मात्र होइन-महामूर्ख पनि हो ।

‘हजुरले त मलाई ढाँटिस्या’छ नि ! घरमा मेडम होइसिँदोरहेछ, बाबु पनि हुनुहुँदोरहेछ ।’ सम्पूर्ण कुरा थाहा पाएपछि ऊ पिलपिल रुन थाली । म छ छाँगाबाट खसेँ । मलाई के थाहा, यति छोटो अवधिमा ममाथि यति ठूलो संकट आउला भन्ने र आफूले खनेको खाल्डोमा यसरी आफै परिएला भन्ने ! यसपछि उसको आँशुले गाल्यो मलाई, ढाँट्न सकिन । आफ्नो बचाऊ र पुर्पक्षका लागि थपेँ उही सम्वाद- जुन प्रायशः चलचित्रहरुमा खलनायकहरुले बोल्ने गर्छन्- ‘स्वास्नी त छे नि ! के गर्ने रोगी छे । तर ऊ भएपनि ऊ घरमा बस्छे, तिमी मसँग…. तिम्रो भविष्य त बिगार्दिन नि म । अब अलिक दिन मात्र त हो । धैर्य गर- म यहाँबाट सरुवा भएर गएपछि सबै कुरो मिल्छ ।’ ऊ त्यसैमा ढुक्क परी । म एउटा उन्मक्त साँढे भएर उसको वैंशको लहलहाउँदो करेसामा अघाउञ्जेल चरेँ र खुसुक्क बाटो लागें, विभागमा काज गएको, फर्किँन । हुन पनि जीवन चलचित्रमा बोलेको सम्वादजस्तो सहज र सरल थिएन । एउटा सरकारी अधिकृत, घरमा एउटी स्वस्थ्य स्वास्नी हुँदाहुँदै कसरी अर्की स्वास्नी ल्याउन सक्थें म ? मभित्र पनि बाध्यता थियो । सामाजिक संस्कार, विधि र मर्यादाहरू थिए, भलै उसको सौन्दर्यले क्षणिक आवेगमा ठूलै गल्ती गरें- त्यो बेग्लै कुरो हो । त्यो स्वतन्त्रता आइमाईहरूलाई नभए पनि हामी लोग्नेमान्छेहरूलाई छ ।

म गएपछि निकै संकट भोगी छ उसले । म आफूलाई जति बाठो र चलाख ठान्थें त्यसको दोब्बर बाठो निस्किइछे ऊ । संकट यसरी थपियो, ऊसँगको शारीरिक संसर्गपछि आफू जोगिन म जति-जति उसलाई गर्भनिरोध औषधि दिन्थें, त्यसलाई ऊ नखाई-नखाई जस्ताको त्यस्तै राख्दिरहिछे । सम्भवतः ऊसँग एउटा सपना थियो ऊ आफ्नो गर्भमा हामी दुईबीचको स्नेहप्रतीकलाई हुर्काउन चाहन्थी र एउटा सुन्दर नाम दिन चाहन्थिई । परिणाम, उसको गर्भभित्र मेरो ‘छली प्रेमको अंकुर’ टुसाएछ । ऊ एउटा दुर्गम पहाडी जिल्लाको सोझी दुर्गम चरीले मात्र सुगम सपना देखी । आफ्नो पीडा पोख्न मेचीदेखि महाकाली पुगेको आफ्नो जोडी पछ्याउँदै भूर्र उड्न सकिन । तर उसको एउटा सानो गल्तीले जीवनभर ठुङ्यो उसलाई र मलाई पनि । समुद्र किनाराको ढुङ्गो भएर लडीरही ऊ पानीका छाल र पहिरोका क्रुर प्रहारहरूसँग । जसले मलाई पनि रुझायो । मेरो अवैध प्रेमको प्रतिफल छोरी जन्माई’छ उसले । जसलाई बाबुको नाम दिन जीवनभर संघर्षरत् रही ऊ । ऊबाट मुक्त भएको अनुभूति साँचेर ढुक्क भएको म त्यतिबेला रन्थनिएँ जुनबेला मेरा नाउँमा उसले दिएको नाता कायम र न्वारान गराई पाउँ मुद्दाको अदालती समाह्वान मेरो टेबुलमा आइपुग्यो ।

त्यसपछि मुक्तासँग व्यतित गरेका रमाइला दिन र आनन्दको परिणाम तनाव, भय र सङ्कटले गाँज्यो मलाई । धन्य, उसले लगाएको आरोपबाट अनेक दाउपेच र टिकडमले मुक्ति पाएँ मैले । त्यसका लागि निकै ठूलो आर्थिक, बौद्धिक, शारीरिक क्षति बेहोर्न पर्‍यो, त्यो बेग्लै कुरा हो । मैले किनेका आवारा केटाहरूले सहजै प्रमाणित गरिदिए उसलाई चरित्रहीन आइमाईको रुपमा । त्यसो त उसलाई जोगाउन मसँग मोर्निङवाक गर्ने, पप्लु, म्यारेज खेल्ने तत्कालीन डाक्टर, प्रहरी मेरा मित्रहरुको पनि विशेष भूमिका रह्यो । अदालत भनेको कागज हेर्नेसम्म त हो, उसको करुणा, चित्कार र आँशुले मैले निर्माण गरेका कृत्रिम प्रमाणको प्रबल पहाडलाई भत्काउन सकेन । जिल्ला र पुनरावेदन अदालतसम्म सहजै पराजीत भई ऊ र पनि सर्वोच्चसम्म घिसारी उसले मलाई । अदालतमा आफ्नो चरित्रमाथि आक्षेप लागेको बहस सुनेपछि प्रत्येकपल्ट रन्थनिन्थिई ऊ ।

‘श्रीमान, मेरो जीवनमा पुरुषसँगको सम्पर्क र संसर्ग उहाँसँग मात्र भएको छ । म मेरी यो छोरीको टाउकोमा हात राखेर भन्नसक्छु, यो उहाँकै छोरी हो ।’ प्रत्येक बहससँगै भावविह्वल हुन्थी’ ऊ र बग्थी’ धाराप्रवाहमा । ‘अनेक प्रलोभन देखाएर उहाँले मसँग प्रेम गर्नुभयो श्रीमान् ! र म गर्भवती भएपछि खुसुक्क सरुवा मिलाएर भाग्नुभयो । एउटी आमाले मेरो यो सन्तानको बाबु यो हो भनेर देखाउँदा पनि ऊसँग नाता कायम हुन सक्दैन भने उसको बाबु को हो ? यदि यसको बाबु मैले देखाएको व्यक्ति नभए-आजदेखि मेरी यो छोरी यही इजलासको हो । यही अदालतको हो ।’ सर्वोच्चको अस्तिको बहसपछि भने संयमको बाँध भत्काएर उसले आफ्नी तरुनी छोरीलाई इजलास अगाडि हुत्याएर ठूलै आक्रोश पोखी र क्वाँ क्वाँ रुन थाली । त्यसबेला मलाई लागेको थियो, आजभने यसले मलाई परास्त गर्ने पो हो कि र यतिञ्जेल मैले पाल्दै आएको विजयको अहं र भ्रमलाई गर्ल्याम्मगुर्लुम्म भत्काउने पो हो कि ! अनि मैले बटुलेका घस्यौटे प्रमाणलाई प्राकृतिक न्यायसिद्धान्तले लोप्पा पो ख्वाउने हो कि ! तर त्यसदिन धन्य फैसला भने भएन, नत्र यो फैसला ऊ र मबीचको अन्तिम फैसला हुनेथियो । त्यसैले आज आएकी आइमाईको उपस्थितिको खबरले म झस्किएको हुँ, कतै त्यही बहूलाही त आएकी होइन ? अहिले ऊ घाइते बघिनी भएकी छे, आक्रोश पोख्न यहाँ आउन के बेर ?

‘सर ! उहाँलाई के भनूँ ?’ सोच्दा-सोच्दै मैले ऊसँग बिताएका सम्पूर्ण विगत सोँचिसकेछु । जवाफ पर्खिएको पियनको प्रश्नले झस्किन्छु म ।

‘अगुल्ठाले झट्टी हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ । आ …..यस नगरमा ऊमात्र छे र आइमाई, कार्यालयमा त्यस्ता आइमाई कति आउँछन् कति । अरु पनि त हुनसक्छे नि, म पनि !’ आफ्नो सोचसँग आफैलाई लाज लाग्छ मलाई । एक्लै हाँस्छु म । सके, मेरो क्रियाकलापले छक्क पर्दो हो, मेरो जवाफको प्रतीक्षामा बसेको केटो । ‘भित्र पठाइदेऊ ।’ आँटैले आदेश दिन्छु ।

‘नमस्कार सर । ‘ छक्क पर्छु म । एउटा थकित टीठलाग्दी सुन्दर आकृति मसमीप उभिएकी छे । जुन आकृति मैले कल्पना गरेको आकृति होइन । स्तब्ध हुन्छु, उसको उपस्थितिले । कता कता देखेजस्तो लाग्छ उसको अनुहार ।

‘बस्नुस् ।’ नमस्कार पनि फर्काउन सक्दिनँ म । एकोहोरो हेरिरहन्छु उसलाई, को हो यो ? अनायास मेरो हातले टेबुलमाथिको कलबेल थिच्न पुग्छ ।

‘हजुर सर । ‘ केहीक्षण अघि बाहिरिएको केटो पुनः ठिङ्ग उभिन्छ मसामु ।

‘सुन । दुईटा चिसो लिएर आऊ ।’

‘हस् । छक्क पर्छ ऊ, सके, उसलाई लाग्दो हो, आज हाकिमसा’बको अनुहार किन बर्खे आकाशजस्तो भएको छ, घरी बिजुली चम्किदाझैं उज्यालो-घरी बादललागेझैं डम्म !

‘भन्नुस् के छ – ‘ म लामो कुरा गर्न चाहन्न ऊसँग । मात्र साँचिरहन्छु ।

‘हजुरसँग म एउटा ‘रिक्यैस्ट’ गर्न आएकी । ‘ एकाएक गह भरिन्छ उसको ।

‘भन्नुस्, के रिक्येस्ट ?’ गम्भीर हुन्छु म । ‘के भन्न आई यो ! अनेक शंका उपशंकाका हाँगा फाट्छ मभित्र ।

‘यसपल्ट मैले आइ.एस्सीमा ८९ प्रतिशत अंक ल्याएकी छु सर । म डाक्टरी पढ्न चाहान्छु ‘ ऊ सकीनसकी बोल्छे ।

‘मैले के गर्नु पर्‍यो त ?’ ऊ सके आर्थिक सहयोगका लागि आएकी हो, म लख काट्छु र भरसक पन्साउने मनस्थिति बनाउँछु ।

‘म हजुरसँग आफ्नो भविष्य माग्न आएकी । ‘ एकाएक भावविह्वल हुन्छे ऊ । तर ऊ आफू आएको कारण अझै स्पष्ट गर्दिन । र फेरि थप्छे- ‘सर । हजुरले यति गरिदिनुभयो भने मेरो भविष्य …..।’ एकाएक उसको स्वर भक्कानिन्छ ।

‘भन्नुस् न के गर्नुपर्‍यो मैले ?’ म अझै बुझ्न सक्दिन, ऊ के मागिरहेकी छे मसँग ।

‘मेरो नागरिकता छैन बाबा । नागरिकताका लागि बाबुको नाम चाहिंदोरहेछ । बाबुको सनाखत चाहिंदोरहेछ । हजुर अरुलाई नागरिकता दिने मान्छे, म हजुरकी छोरी । म हजुरसँग नागरिकता माग्न आएकी । नागरिकता नभएर म स्कलरसीपमा बाहिर पढ्न जान नपाउने भए । मलाई हजुरले मात्र आफ्नो नाम दिनुस् बाबा । मलाई अरु केही चाहिंदैन ।’ ऊ अझ घुँक्क घुँक्क रुन थाल्छे ।

एकाएक उसले गरेको बाबाको सम्बोधनले स्तब्ध हुन्छु म । बल्ल चिन्छु उसलाई । जसलाई अठार वर्षपछि झल्याँस्स अस्ति अदालतमा देखेको थिएँ । जसलाई मुक्ताले इजलास अगाडि पछारेकी थिई ।

‘बाबा ।’ मीठो लाग्छ मलाई उसको सम्बोधन । जसको आँशुले लल्याकलुलुक गलाउँछ मलाई, सम्हालिन सक्दिन म । ‘नरोऊ, म हुँ तिम्रो बाबा । म तिमीलाई आफनो नाम दिन्छु ।’ म कुर्सीबाट जुरुक्क उठ्छु र गमलम्म अँगालो हाल्नपुग्छु उसलाई । मलाई लाग्छ-कागजमा अरुलाई ढाँटे पनि आफ्नो अन्तरमनलाई भनें ढाँट्न सकिंदैन रहेछ । साँच्चै नै प्रगाढ हुँदोरहेछ रगतको सम्बन्ध । जसको सही फैसला कुनै अदालतको इजलासबाट होइन, मन र मुटुको इजलासबाट हुँदोरहेछ । ऊ अर्थात मेरी छोरी, अहिले विजयी मुद्रामा मेरो अँगालोमा छ, र म उसको स्नेह-अस्त्रले परास्त भएको छु ।

vanee.prakashan@gamil.com

August 4th, 2007

(स्रोत : Nepal.HK)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.