कथा : भिन्न परिवेशको एउटै चोट

~प्रकाश के.सी.~Prakash KC

दृश्य नं. १ : ०

”रक्सीको मात हुनुपर्छ, त्यसपछि ऊ हाँसेन ।” तर, रक्सीको मात नै यति पर्याप्त हुन्छ कि हाँस्नका लागि कुनै कारण चाहिँदैन । ”हाँसो बेलगाम फुस्किने कमजोर स्थितिमा ऊ ढल्मलाएर पनि हाँस्दै गर्दैको अवस्थाबाट एक्कासी चुप लागेको छ ।” उसका साथीहरुलाई हाँस्नको लागि अब अर्को कारण यथेष्ट भएको थियो त्यसपछि । सँयोग नै हो, कुनै एउटा जँडिया, त्यही समूहबाट कमेन्ट्री गर्दैथियो । हाँस्नेहरु र हाँस्न सक्नेहरुले समायोजित त्यस समूहमा उसको ‘लाइभ-कमेन्ट्री’ले के प्रभाव पार्‍यो, उही जानोस्, यथार्थ यो हो कि, हाँस्दा हाँस्दै, अचानकै चुप रहेको व्यक्ति यसरी चुप लागेको थियो कि अरु जो हाँसिरहेका थिए, केही पलमा, ‘गल्ती गर्दैछौँ कि भनी बुझेझैँ गरी’ एक एक गर्दे चुप हुँदै गए, र जँडिया कमेन्टर भन्दै थियो । ”जीवनमा कहिलेकाहिँ दबाईएका पीरहरु यसरी सतहिन्छन् कि चुप लाग्नुसिवाए अन्य हालात बाँकी रहँदैन । सबैलाई पीरको अनुभूति भएको छ अहिले सायद । अरुको पीरमा हाँस्न पनि धेरै गाह्रो !”

दृश्य नं. २ : ०

शुष्मा धेरै पल यसरी नै बिना उद्देश्य हिँडिरेकी छे, अगाडि लम्पसार परेर बाटो जो तन्किएको थियो र एकोहोर्‍याउन उसलाई आफ्नो र ‘घरको मान्छे’को मनस्थिति समर्थ थियो । घर र्फकने बेला, उसको ओँठबाट मुस्कान बेपत्तासँग भाग्छ र नैराश्यताको शुष्कताले ओँठलाई कलेटी पार्न थाल्छ । एक लहर ‘रिले’ गर्दै यावतका समस्याहरुले एक्वेबद्धता दर्शाउँदै उसको सम्मुख उभिदिन्छन् र त ऊ ‘होस काखी च्याप्दै’ बाटो ‘जो कतै पनि जान सक्छ’ सँग एकाकार भई दिन्छे । यो अवस्था उसले बितेको पाँच दिनबाट लगातार खिप्दै हिँड्दै छे । ‘घरको मान्छे’ सुतेपछि घर पुग्नु र ‘घरको मान्छे’ उठ्नुभन्दा अघि घरबाट निक्लिनुको वाध्यतामा उसका कति होलान् थकाइ ! लम्पसार परिदिऊँझैँ लाग्छ उसलाई यतै कतै सडकछेउ । तर स्त्री भएकीले त्यसरी लम्पसारिनु पनि गाह्रो !

दृश्य नं. ३ : ०

र यो एउटा कोठा हो । उत्तरतिर अलि पर निक्कै अग्ला र ठूल्ठूला बिल्डिङहरु छन् । च्योङ्सावानको त्यस तर्फको बिल्डिङले शुरुदेखि नै मेरो सूर्योदयको दृश्य छेक्दै आएको यत्तिका समय भई सकेको छ कि गुनासोहरुका कुनै महत्व नै बाँकी रहेनन् । के-केले पो नै छेकेको छैन र मेरो बाटोहरुलाई, मेरो दृष्टिहरुलाई ! कहिलेकाहिँ यसबारे बोल्नु भनेको मनकै सन्तोष मात्रै हो, ठान्छु म । एउटा टेबुल छ, जसमा दुईवटा गिलासमा टन्न भरेर ‘रेड-वाइन’ राखेको छु । ढोका ‘जो दक्षिण फर्किएको छ’ को ठीक अगाडि नै यसरी बसेको छु कि, तलको बस स्टपबाट हिँडेर यतातिर आउने कोहीलाई पनि पूरा पाँच मिनेट राम्ररी नियाल्न सक्छु । ढोकाको कापैमा लुकाएको रातो गुलाफको दुईवटा फूल ओईलाउला भन्ने अर्को डर छुट्टै ! फूलको मोहलाई धान्नै गाह्रो !

दृश्य नं. ४ : ०

मेइ महिनाको उखरमाउलो गर्मीको दिन, दिन ढलेपछि भर्खरै साँझको शीतल अँध्यारोमा समाहित हुँदैछ । चिमसाचुइ स्टारफेरीको पियरपारिका अग्ला-अग्ला बिल्डिङका टावरबाट ‘सिम्फोनी-लाइट’ प्रदर्शन हुन थाल्छ । सँधैझैँ आठ बजेको हुनुपर्दछ । युवा-युवतीहरु त्यसै रमाउँदै उफ्रिँदै हुन्छन् । उसलाईभने तर मन चिटिक-चिटिक गरेर भित्र धमनीहरुमा केही पड्केझैँ लाग्दैछ । साँझ, शीतल हावाले पखाली नसकेका उष्णताहरुलाई मनभित्र वफ्याउँदै विक्रम यसरी रल्लिरहेको छ कि, स्टार एभेन्यू वाकमा आउँदैछ, या जाँदैछ, त्यसको भेउ ऊ स्वयँलाई थाहा छैन । रात कटाउनै मुस्किल ! उसको दीर्घ निश्वासले तप्तपाउने उष्णताको के कुरा र ! वस्, रात जति गुज्रन्छ, त्यति अधैर्यशील हुँदै एक तमास, स्टार एभेन्यू वाकमा यताबाट उता र उताबाट यता गर्न अभिशप्त ऊ प्रेममा त्यसरी पनि विश्वास नगुमाएको हालातमा अद्यावधि छ । विश्वासलाई जोगाउन त के हो र, तनको थकानलाई बचाउन पो गाह्रो !

दृश्य नं. १ : १

धेरै अबेर लड्खडाउँदै ऊ चुपचाप हिँडेको थियो त्यहाँबाट । ‘कमेन्ट्री गर्ने व्यक्ति’ रुँदै थियो, आफ्नै कमेन्ट्रीकै प्रसङ्गमै उसले आफ्नो श्रीमतीले आफूलाई वास्ता गर्न छाडेको रहस्य खुलाउन भ्याएको थियो । ‘कमेन्ट्रीको असर’ थियो वा उसको ‘विषादको तीक्तताको डाह’, कमेन्टर लगत्तै रुन थाल्दैथियो, जसमा अन्यले ‘आफ्नो भागको पनि वेदनाको राप पाए होलान्’, सबै त्यसपछि झोँक्राउन थालेका थिए अनि यो समय आफ्नो असिम असमर्थताको सम्झनामा शिथिल भएको ऊ ढल्मलिँदै बाहिरिन भ्याएको थियो । कुरा हाँसो लाग्ने थियो, …स्वास्नीको प्रेमीसँगको डिनरको प्रसङ्गमा उक्त स्वास्नीको प्रेमीको प्लेटमा पेट खराव गर्ने पाउडर मिसाई दिएर बदला लिएको कुरा…हाँस्दै एउटा लोग्नेले भन्दै गर्दा कत्तिका हाँसोले आँखाबाट आँशु नै निकालेको थियो । ऊ वास्तवमै राम्ररी हाँसेको थियो । यस्तो हाँसो हाँसेको वर्षौ बितेको महसुस गर्दै हाँसोको प्यास हाँसेर बुझाउँदै हाँस्दै गर्दा, शुष्मा र एकजना अग्लो व्यक्तिलाई पाँच दिनअगाडि टाँस्सिएर रेष्टुरेन्टमा बसेको हालातमा उसले भेटेको सम्झना यसरी तिख्खारिएर आएको थियो कि, त्यस दिनदेखि घर सद्दे हालातमा जान नसकेको ऊ अब छुटि्टने कि झगडा गरेर …”आयन्दा त्यस्तो नगर”… भन्दै फेरि मिल्ने, भन्ने दोधारमा रहेको थियो । ऊ फलतः अरु हाँस्नै सकेन र अहिले बाहिरिएको थियो उस्तै गरी लड्खडाउँदै अनि असन्तुलित ! …आफ्नी भई सकेकी स्वास्नीको ‘रुपको तारिफ गर्न र उसका बेमतलवका कुराहरु सुन्न छोड्नु’ भनेको स्वास्नीको मनमा आफूप्रति वितृष्णा जगाउनु हो त ? स्वास्नीलाई गुमाउनु हो त ?…. मान्नुपर्छ, ढल्मलिएको मातिलो चालमा पनि सोँचनशीलतामा भने उसको चाल स्थीर रहेकै छ । साँच्चै नै ऊ अब के गर्न चाहान्छ ? या के गर्न सक्छ ? उसैलाई गहिरिएर सोँच्न जरुरी छ । रक्सीको मात हुनुपर्छ, या ‘जीवनको अढेडावस्थाको पार पुग्न लाग्दैको समयस्थितिको बोधले उब्ज्याएको लाचारीको प्रभाव’ रहेको हुनुपर्छ, शुष्मासँगका रमाइला पलहरुको साथमा, शुष्मा र शुष्माको नयाँ व्यक्तिसँगको शुष्माको नितान्त आफ्नै रमाइलोका पलहरु तौलिएको सोँचहरुको तराजुमा उसको आफ्नै शुष्मासँगैको ‘मीठो विगत निख्खर’ भएर आयो, एकैपल, र उसलाई लाग्यो, शुष्माको परपुरुषसँगको ‘रमाइलोलाई छाँयामा पार्ने’ उसको रमाइलोको ‘तेज’ हुनु पर्दछ अब यदि जीवन सँगै गुजार्ने भए ! तर इष्र्याको जलनले भित्र-भित्र राँकिएको ओँठहरुले मुस्कान च्याप्न सक्दैन । लर्बरिएर हिँड्दै गरको उसलाई सम्झौता लाग्यो, झन् गाह्रो !

दृश्य नं. २ : १

जिन्दगीको यो घडीमा यत्तिका वर्षपछि किन आफ्नो बाटो गलत मोडियो ? उसँग पनि त ‘लभ-मेरिज’ नै थियो, आखिर जीवनभरिकै लागि एक अर्कासँग वफादार रहने भनेर खाएको कसमको ताप किन यति चाँडै अर्थात पाँच वर्षमा चीसो भयो ? उसको अनुहारमा एक्कासी व्याप्त भएको अन्योल, अविश्वास, ग्लानि, चोट, पीर तर रिसविहीन भावहरुका समीश्रण अहिले पनि शुष्माको नजरअगाडि एउटा अमूर्त पेण्टिङ बनेर रहेको छ । ग्लानि त्यही अनुहारको अमूर्त भावका लागि छ तर खेद भने ठ्याक्कै छैन । बारम्बार शुष्मा यस्तै सोँच्दैछे । लोग्ने हुनु र लोग्ने बन्नुमा एउटा मिहीन भिन्नता हुनसक्ला सतही रुपले बुझ्दा तर गहिरिएर महसुस गर्नेले वास्तवमा उसको विक्रमतर्फको लचकबारे गल्ती भनिहाल्न सक्दैन । ‘बाँचिने पल न हो जीवन’, र यस जीवनमा कति घोटिएर, छुट्याईएर बाँच्नु ? यद्यपि शुष्मा सोँच्दैछे…..’यदि यो परिस्थितिमा उसलाई आफ्नो लोग्ने र प्रेमीबीचमा एउटा रोज्न लगाउन खोज्ने परिवन्द आयोभने ऊ विमुढ बन्ने छे, ‘फैसलाहीन उसको त्यस अवस्था तबभने साँच्चै नै चरित्रहीन गनिन सक्नेछ’ । किन ऊ यसरी भुल-भुलैयाको जीवन जिउँदै छे ? आखिर कहिलेसम्म ?’….. शुष्मा अझै उस्तै नै अन्योलमा छे कि ‘टारेर पो टर्छ कि टर्दैन’ घरमा उसँगको जम्काभेट ! शुष्मालाई स्पष्ट थाहा छ, कि जे होस्, उसलाई शुष्माको जरुरत छ अनि वास्तवमा भन्ने भए, क्षणिक रहरको पूर्तिबाहेक उसको नै खाँचो पर्दछ शुष्मालाई,…र ‘यावतका अन्य कुराबाहेक’ ..’त्यो रहर’कै लागिभने शुष्मालाई विक्रमको आवश्यकता पर्दछ । ‘कस्ती स्वार्थी भएकी !’ यसरी सोँच्न पनि भ्याएकी छे शुष्माले, विवेकशून्य नभएको सवूत हो यो । तर पनि गत पाँच दिनबाट लोग्नेको अगाडि उभिने हिम्मत नभएको मान्ने भए शुष्माले भुल स्वीकार गरेकी हो । ‘लोग्नेको अथाह अपर्याप्तता नै समस्याको मूल जड हो’, शुष्मालाई लाग्दछ । लाग्नु, भोग्नु अनि हुनुको पारस्परिकतामा शुष्मा एकतमास हिँडिरहेकी छे, अगाडि बाटो जो लम्पसार तेर्सिएको छ । आत्माले कतै ढुक्कसँग लाग्न मिल्ने आड खोज्दै छ । पाईलाहरुलाई लगातार एकोहोरो बाटोभरि घिच्याउन पनि मुस्किल र मनको सान्त्वनामा उही मन धान्न पनि साह्रै गाह्रो !

दृश्य नं. ४ : १

प्रेम त आफै हुनेरहेछ, थाहै नपाई ! यो विक्रमले मख्खिएर सोँच्ने गरेको उसको नयाँ ‘थाहा’ हो । शुष्मामा त्यस्तो केही छैन, जसले एकै नजरमा कुनै व्यक्तिलाई चुम्वकलेझैँ खिँच्न सकोस् । विक्रम अक्सर सोँच्ने गर्दछ तर ‘आखिर के छैन शुष्मामा ?’ निचोड उसको प्रेम नै हो, यो उसै अर्थात् विक्रमकै ‘निचोड’ हो । अर्काकी स्वास्नीलाई माया गर्नु हुँदैन, परस्त्रीगमनको पाप लाग्छ, धार्मिक कितावभित्रका कुनै अध्यायको उपदेश हो । कानूनले नभ्याउने अवस्थामा जनताहरुलाई नीतिगत किसिमले व्यवस्थित पार्ने शासकहरुका प्राचीन शैली हो, धार्मिक ग्रन्थहरु अनि धर्महरु, यस्तै सोँचले हो, उसलाई आफू ‘गलतबोध’ नगरेको र नतिजा यो देखियो, प्रेमको त्यो वृक्ष यति झ्याङ्गियो कि काटेर छोट्याउने शाहस नै नभई विक्रम अति ‘एकोहोरियो’ । ‘भोलि’ के होला भन्ने सोँची ‘आज’लाई किन चिन्तित बनाउने ? सँधै ‘भोलि’कै चिन्ताले सुँकुँडिनु ‘आज’ छभने, ‘जीवनचाहिँ जिउने कहिले’ ? अक्सर विक्रम चिच्याउँछ, जब शुष्मालाई धितमरुन्जेल छाम्न पाउँदैन, टोक्न पाउँदैन, अँगाल्न पाउँदैन, अनि पूराका पूरा रात निःवस्त्र परमानन्दमा लीन भई ‘रात गुजार्न’ पाउँदैन । त्यस्तै ‘अधुरो’ परेका रहरहरुमध्ये केहीलाई आँशिक रुपमा त्यही रेष्टुरेन्टमा शुष्मालाई च्याप्दै पूरा गर्देथियो, शुष्माको लोग्नेले रङ्गे हात एक मीटरकै दूरीबाट देख्यो । ”कस्तो असमञ्जस परिस्थिति !” शुष्मा त जस्तो काठ भएकी थिई, यसरी ट्वाल्ल परी अगाडि हेर्दैथिई कि लाग्थ्यो केहीबेर उसरी नै रहे ज्यान गुमाउनेछे । उसको लोग्ने पनि हातमा बोकेको झोला लत्रिएर भुइँ छोई सकेको थाहा नपाई उस्तै तर केही पल मात्रै अवाक रहेको हो, मान्छे स्मार्ट नै हो, तुरुन्तै आफूलाई सँयमित त बनाएको हो, तर के अगाडि बोल्ने भन्ने हराएरै अन्योलतामै…”म..मैले फाइल दिनु छ, म जान्छु है…ओ के बाई ! ”….भन्दै उही गतिमा रेष्टुरेन्टको अर्को कुनातर्फ लागेको थियो । र लगत्तै श्वास फेर्दै शुस्मा यसरी बाहिर बत्तिएकी थिई कि हावाको झोँक्काले मुख्य गेटको पर्दालाई अरु धरैबेर हल्लाई रहृयो, हल्लाई रहृयो, जसलाई हेर्दै प्रतिक्रियाविहीन विक्रमले आफ्नो अन्योल मनलाई हल्लाईरहृयो उही हल्लिरहेको पर्दाझैँ । धेरैबेरपछि भने विक्रम त्यहाँबाट हिँडेको थियो । हङकङका अग्ला बिल्डिङहरुका सिम्फोनी रङ्गीन प्रकाशको झर्कोलाग्दो चहक खेप्दै यसरी हिँड्दै छ कि यस स्टार एभेन्यु वाकमा लगातार पाँच दिनदेखि, चासो लिनेहरुलाई लाग्न सक्छ, ‘क्याजुअल सेकुरिटी गार्ड’ रहेछ, प्याट्रोलिङ गर्दै हिँडेको ! हालत यो हो, उसले खोजेकै जस्ती शुष्मालाई गुमाउन ऊ कदापि सक्दैन तर त्यसदिनदेखि कतै सम्पर्कमा पनि शुष्मा आएकी छैन । आखिर कतिन्जेल ? अविजित रहरहरुलाई एकनासले च्यापेर धानिनु पर्ने जीवन कति गाह्रो !

“पट्टाक्षप :सदृश्य ३ : १

यो ‘कथा’ जसरी भए पनि छपाउनै पर्छ । सत्य घटनामा आधारित छ तर नामचाहिँ नमिल्ने गरेर राखेकोले तिनीहरुलाई बाहेक अन्यलाई लख काट्ने जोहो मात्र हुन्छ । मलाई थाहा छ, ऊ रिसाउँछे, पक्कै रिसाउँछे । पीत-पत्रकारिता भन्न बेर लगाउँदिन, मानहानी गरेको भनेर उफ्रिइन पनि सक्छे, तर मलाई यो पनि थाहा छ, ऊ मलाई यो सब कसरी थाहा भयो भनेर थाहा पाएपछि रनभुल्लमा पर्नेछे । पाँच दिनबाट ऊ आफ्नै तर्कनाहरुको जन्जालमा फँस्दै हिँड्दै छे । जति नै ज्यादा विवेकशील भए पनि यस्तो तरल अवस्थामा हरेक मान्छे साथ खोज्दछ, साथ दिनेको अभिप्राय खोज्दैन । एउटा काँध जरुरी पर्छ भारी बिसाउन खोज्नेलाई, रुवाइ बिसाएर पीर हल्का पार्न खोज्नेलाई । मलाई थाहा छ, शुष्मा एउटी व्यवसायिक सम्पादक हो । उसले कथाको मर्मलाई बिगार्न सक्दिन । व्यक्तिगत बन्ने र सार्वजनिक हुने बीचमा फैलिएको मूल मर्मलाई नबुझ्ने ऊ होइन, तर म आफूलाई केही अगाडिदेखि एउटा व्यावसायिक पत्रकार भनाएर प्रस्तुत गराएको छु र मैले नै उसलाई ‘उनीहरु यस नेपाली समाजको ‘पव्लिक फिगर’हरु हुन्, र्सवसाधारणका ‘चाखका विषय-वस्तु’हरु हुन्’ भनेर बाराम्बार जताएको पनि छु, त्यसैले उनीहरुका कुनै अवस्थाहरुलाई ‘निजी’ भनाउन म तत्पर छैन । र त, उसैको कथा, उसैको छापाबाट छपाउने, जस्तो अड्डी लिएको छु ।

वास्तवमा ऊ विक्रमले सोँच्ने प्रकारकी हो -विक्रमले सोँच्ने मैले कसरी थाहा पाएँ, प्रश्न उठ्न सक्छ, म उसको एउटा गोप्य साथी हुँ, साथचाहिँ मैले होइन, उसले चाहेको बखत मात्र जुर्ने गर्दथ्यो, हामी दुईको । बितेका धेरै वर्षबाट म खाली समयमा खाली ठाउँ भरिनको लागि मात्र लायकको गोप्य हितैषी मित्र भएको छु, उनीहरुका प्रेमको कथाहरु सुन्नेसम्मको । यो मेरो पत्रकारबाहेकको अर्को निजी परिचय हो, जसमा मेरो शारीरिक अवस्था सशक्त नहुनुलाई केही पल दोष दिएर पीर मुक्त हुने कोशिस गर्न सकिन्थ्यो, गर्दैछु पनि । कुरा शुष्माकै हो, नजरलाई एकोहोर्‍याउन समर्थ उसँग केही छैन । त्यस्तै देखिन्छे जस्तो देखिन्छे । तर ‘असाधारण आफ्नोपनको आडको आभास दिन समर्थ उसका मित्रत्व’मा यस्तो नसा हुन्छ कि आँखा चिम्लिएर डुबिदिऊँझैँ लाग्ने तापको आभासमा कतियौँ रातहरु कटाएको छु ?…वास्तवमा लेखा नै छैन । उसको विवाहपछि अनि फेरि उसको विक्रमसँगको उठबसपछि छट्पटि्टएर म आफ्नो व्यक्तित्व दयनीय हालातको हुनुमा बिरक्त भई अगाडिको ठूलो झ्यालअगाडि उभिएर जिन्दगीको विर्सजन गरुँ या नगरुँको दोधारमा रक्सीका बोत्तलहरु रित्याई झ्यालैमुनि लम्पसार सुस्ताएको रातहरुको लेखा छैन । आज म उसलाई देखाउन चाहान्छु, उसले जिस्किएर कोरेकी मेरो अनुहारको कार्टुन चित्रहरु मैले मेरो बेडरुमको भित्ताभरि राम्रो फ्रेममा राखेर शब्दले बयान गर्न नसक्ने मेरो उप्रतिको अगाथ मायाको प्रदर्शन आज ऊ धर्मराईरहेर साहारा खोज्दैको अवस्थामा गर्न चाहान्छु ।

पाचौँ दिन हो यो । हरेक रात यसरी नै दुईवटा गिँलासभरि रेडवाइन राखेर ढोकाको च्यापोमा गुलाफको फूल राख्दै बसस्टपमा नजरलाई गाडिरहेकोछु । अबेर गरेर रात निक्कै नै ढलेपछि भने त्यस वाइनलाई र फूललाई फ्याँकेर भोलिको रातको लागि आशावान्वित हुँदै रातका केही प्रहरलाई आँखाहरुमा भर्ने गर्दछु । जसरी मलाई, शुष्माको लोग्ने, आफ्नो कम्पनीले गरेको यस वर्षको आर्थिक विवरण लिएर उसको मालिकले तोकेको रेष्टुरेन्टमा तोकेको समयमा पत्रकारलाई टिपोट लेखाउनका लागि दिईएको फाइल लिएर म बसेको भित्रतर्फको कुनाको टेबुलमा आउँछ भन्ने पक्का थाहा थियो, त्यसरी नै यो अवस्थामा शुष्मा मेरो फ्ल्याटमा साहाराको लागि आउँछे भन्ने पक्का थाहा छ । पर्खनु पर्दछ मात्र ।

यो पालिको गुलाफको गाढा रगतको रङले यस्तो विश्वास दिएको छ कि मलाई, लागेको छ, ऊ आजै आउने छे । रातको साढे नौ बज्दै छ । मानिसहरुको आवतजावत विस्तारै पातलिँदै गएको छ, यो कुनाको यो शहरमा । क्यासेट प्लेयरमा स्व. नारायण गोपालको …मेरो बेहोसी आज, मेरोलागि पर्दा भो….भन्ने बोलको गीत दोहोर्‍याएर सुनेको घण्टौँ भएको छ र पनि ताजै लाग्दैछ । रक्सीले मातिएर ढलिदिऊँझैँ लागेको छ । तर ‘धेरै पिईयो जीवनमा रक्सी, अब जीवनलाई बनाउनुछ मैले’ भन्दै सोँच्दै बसेको छु । उनीहरुको कथा, उसको छापाबाट छपाउँछु र त्यस कथाले दिने पीर बिसाउने चौतारी पनि मै बन्छु । रात ढल्दै छ, तर मनको विश्वास, हरेक बितेको पाँचौ रातको झैँ आज पनि अटल छ । हेरुँ, आज के हुन्छ ?

April 4th, 2007

(स्रोत : Nepalisahityasansar)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.