~देवी नेपाल~
खै ! सिङ्गो ‘राम’को गाथा ? खै ! ज्यूँदो ‘कृष्ण’को कथा ?
खै ! सिद्धान्त युगौँ बाँच्ने ? खै ! ज्योति ‘नेत्र’मा यता ?
आस्थाले वीरता बढ्छ खै ! ‘वीरेन’ विचारमा ?
खै ! ‘नारायण’को त्याग ? आस्था पर्दै छ धारमा ।
औँला पाँच भए साथ मुट्ठी बन्दछ शक्तिको
शिर पाँच भए पूर्ण वेग चल्छ विचारको
पाँचभित्र थियो शक्ति पाँचै काम्छ कि झैँ गरी
तेजले पाँच योद्धाको पञ्चभित्र चल्यो हुरी ।
‘म’ थियौँ जन्मियौँ ‘हामी’ जन्मायौँ नित्य सन्तति
तिमीचाहिँ ‘म’ भै बाँच्यौ भित्र्याई स्वार्थको रवि
छुट्टाछुट्टै थियौँ पैले एकै डल्लो भएपछि
‘सुखानी’ नाम भो हाम्रो माटो जीवन भो अनि ।
अचेत हुन्न यो माटो आस्था उम्रन्छ सर्वदा
जसले चिन्छ यो माटो मुटु बन्दछ सर्वदा
हाम्रा ती पाउका डोब पुर्यौ रे जालझेलले
हाम्रो त्यो चम्किलो माटो लग्यो सङ्कीर्ण भेलले ।
‘सुखानी’ भै ढल्यौँ हामी सुखमा मस्त छौ तिमी
हामी जङ्गलमा रोयौँ जङ्गलीभक्त छौ तिमी
हेर्छौँ नजिकको खोलो तिम्रो विचार बग्दछ
‘यमद्वार’ थियो टाढा किन नजिक सर्दछ ?
खै ! तिम्रो मुटुको बत्ती ? खै ! तिम्रो शिरको छवि ?
खै ! तिम्रो रक्तमा रातो ? खै ! तिम्रो मनको रवि ?
कहाँ छन् माक्र्सका ठेली ? कहाँ छन् रक्तका ध्वजा ?
कहाँ छन् जनका आस्था ? कहाँ श्रमिक पाखुरा ?
हेर, सहिदले आफैँ उठाए हँसिया नयाँ !
विरक्त भै स्वयं रेट्न थाले अटल कण्ठमा !
झिके आक्रान्त भै फेरि हथौडा क्रुद्ध हातमा !
हाने खप्परमा आफ्नै झन्डा डुब्यो नि रक्तमा !
के त्यही रक्तको प्याला पिउँदा आत्म तृप्त भो ?
के त्यही मासुले आज जिउँदा लक्ष्य पूर्ण भो ?
के थियो सपना हाम्रो बाचाबन्धन के थियो ?
छातीमा पड्किँदा गोली हाम्रो क्रन्दन के थियो ?
ब्वाँसो च्यापेर काखीमा सन्त बनाउँछौँ भन्यौ !
दुई जिब्रा भए के भो मान्छे बनाउँछौँ भन्यौ !
सिद्धान्तमा गयो पैरो थप्पडी किन मार्दछौ ?
आस्था बेचेर वैरीको घर किन सपार्दछौ ?
हाम्रो हाँसो तिमीलाई सुम्पेको हो कि हैन हे ?
हाम्रो त्यो त्यागको भोग तिम्रो जीवन हैन के ?
माटो भन्दै छ के आज बुझ्ने चेष्टा गर्यौ कि त ?
सत्ता, स्वार्थ र मस्तीको भासभित्रै झर्यौ कि त ?
२०२९ फागुन २१ गते अर्थात् आजकै दिन झापाको सुखानी भन्ने ठाउँमा रामनाथ दाहाल, कृष्ण कुइँकेल, नेत्र घिमिरे, वीरेन राजवंशी र नारायण श्रेष्ठ पाँचजना क्रान्तिकारी योद्धाहरुलाई तत्कालीन पञ्चायती सरकारले गोली हानी हत्या गरेको थियो । तिनको त्याग र विचारलाई धुलोमा मिलाइएको वर्तमानमा एकपटक तिनलाई कवितामा सम्झन मन लाग्यो !
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)