~क्रेग रेइन~
अनु : सुरेश हाचेकाली
क्याक्स्टनहरू
बहुपङ्खले सज्जित प्राविधिक चरा हुन्
र तिनीहरूमध्ये केही
आफूमा अङ्कित विषयवस्तुका कारण मूल्यवान छन्
अरुलाई कति पनि दुःख नदिई
तिनीहरू आँखालाई पगाल्छन्
र शरीरलाई खुम्च्याउँछन्
चरा भएर पनि तिनीहरू उडेको देखिन्न
तर कहिलेकाही तिनीहरू हातमा बस्छन् ।
हुस्सु त्यतिबेला लाग्छ
जतिबेला उडानबाट थाक्छ आकाश
र यसको नरम यन्त्र जमिनमा आराम गर्छ :
त्यसपछि ‘टिस्यु पेपर’ मुनिको बुट्टाहरू जस्तो
मधुरो र किताबी देखिन्छ संसार ।
वर्षात्मा पृथ्वी टेलिभिजनजस्तै देखिन्छ
रङ्गहरूलाई कालो बनाउने गुण विद्यमान छ यससँग ।
‘मोडेल टि’ तालाबन्दी गरिएको भित्री कोठा हो
यसको संसारलाई विमोचन गर्न एउटा चाबी चाहिन्छ
त्यसपछि यो चलायमान हुन्छ
र हेर्नका लागि
छुटेका कुरा द्रुतगतिमा आँखा सामु आउँछन् ।
नाडीमा बाँधिएको छ
अथवा बाकसमा राखिएको छ
अधैर्यतापूर्वक टिक्टिकाउने समय ।
घरहरूमा एउटा तर्साउने भूत सुत्छ
तिमीले उठाउना साथ यो घुर्न थाल्छ
यदि यो भूत करायो भने
मान्छेहरू यसलाई ओठको निकट ल्याउँछन्
र आवाज सहित सुत्नका लागि सहज बनाइदिन्छन्
जानी–जानी औंलाले कुत्कुत्याएर
उनीहरू यसलाई ब्युँझाउँछन् ।
सानाहरू मात्रै खुला रूपमा दुःख खेप्न अनुमति पाउँछन्
वयस्कहरू पानी लिएर सजाय कोठामा जान्छन्
तर केही खाइँदैन त्यो कोठामा
मान्छेहरू ढोका बन्द गरेर
एक्लै हल्लाहरू आत्मसात गर्छन्
कोही पनि मुक्त छैन यो कोठे–दुःखबाट
र प्रत्येकको दुःखको आफ्नै बासना छ ।
रातमा, जब सबै रङ्गहरू अवसान हुन्छन्
मान्छेहरू जोडी भएर लुक्छन्
र आँखाको ढकनी बन्द गरेर
आफ्नै बारेमा रङ्गीन कुराहरू पढ्छन् ।
A Martian Sends a Postcard Home
क्रेग रेइन
[सन् १९४४ मा बेलायतको डुर्हममा जन्मिएका कवि क्रेग रेइनले लामो समय कविताको सम्पादन कार्यमा बिताएका छन् । भावकको हृदयलाई स्पर्श गर्न सक्ने विम्बहरूको प्रयोगले उनका कवितामा झङ्कार प्रवाह गर्ने तीब्र शक्ति पाइन्छ । यसका अतिरिक्त सामान्य र परिचित कुरालाई असामान्य र अपरिचित बनाएर प्रस्तुत गर्ने उनको शैलीमा वैचित्रिकरण प्रविधि (Defamiliarization Technique) को प्रयोग भेट्टाइन्छ । यी साधकका कवितालाई मङ्गले पाठशाला (The Martian School) अन्तर्गत राखेर हेर्ने गरिन्छ । प्रस्तुत कविता पनि त्यसैको एक नमूना हो । यस कवितामा क्रेगले किताब, मौसम, कार, घडी, टेलिफोन सेट, पाइखाना, सुताइ र सपनालाई ती शब्दहरूको प्रयोग नगरिकनै एक अपरिचित मङ्गलबासीको आँखाबाट परिभाषित गरेका छन् । ]
(स्रोत : नेपाली कलासाहित्य डट कम)