कथा : रोल्पा एक्सप्रेस

~नवीन विभास~Nabin Bibhas

‘अदालत उही । सिंहदरबार उही । उही बालुवाटार । उही अनुहार भद्रकालीको’, गाडीभित्र र बाहिर झरेका आवाजको ‘भोल्युम’ क्रमशः बढ्दै थियो, ‘सबै रङका फूल आफूखुसी नफुल्दासम्म गुड्छ गाडी । चल्छ, आँधी । फरक यत्ति हो, कतिखेर थामिएजस्तो लाग्ला ।’

बसमा पाश्र्वगीतझैँ बजिरहेथ्यो :
चालै नपाई
आफ्नै रगत
अरूले बेचेपछि
के थाहा
आफ्नै रगतको
मूल्य कति थियो ?

चालै नपाई
आफ्नै सपना
अरूले बेचेपछि
के थाहा
आफ्नै सपनाको
मूल्य कति थियो
चालै नपाई
आफ्नै बैँस
अरूले बेचेपछि
के थाहा
आफ्नै बैँसको
मूल्य कति थियो ?

…त्यसैले त भनिरहेछु
खबरदार ए जनताहरू
सहिदको रगत
रक्ती बनाई
खाइरहेछन्
तिम्रा नेताहरू
तिम्रा देवताहरू
तिम्रा लाल ख्वामितहरू

३१ वर्षीय रोल्पाली लालधन रोकामगर उर्फ कमरेड हुरी । घाइते हुन् । घोराही आक्रमणका बेला टाउकोमा छर्रा लागेर पहिलोपालि घाइते भए । दोस्रोचोटिको खारा लडाइँमा दायाँ खुट्टामा एट्टीवनको छर्रा लाग्यो । मृत्युको मुखबाट बल्लबल्ल फर्केका उनी त्यस दिनदेखि पाइला फाल्दा खोच्याउँछन् ।

जेठा दाजु बलबहादुर सुरक्षाफौजले स्कुलबाट भारी बोकाएर लगेदेखि घर फर्केनन् । सुरक्षाफौजले न घरमा बस्न दियो न वनमा । बाध्यताले सिङ्गो परिवार ‘कमरेड’ भयो । माहिला दाजु किर्सनधन सात पढ्दापढ्दै कमरेड ज्वाला भए र लालधन भए कमरेड हुरी । माहिला दाजु, दिदी र बहिनीले पार्टीमै बिहे गरे । बिहे भएको तीन महिनामै कमरेड विजेतालाई म्याग्दी सदरमुकाम बेनी आक्रमणमा गुमाए । सहिदपति भएको दुई वर्षपछि सहिदपत्नी कमरेड नमुनासित बिहे गरे कमरेड हुरीले ।

एकदिन त कसो नफर्केला भनी बलबहादुरको बाटो हेरेर परिवारले काजकिरिया गरेको छैन । आसैआसमा आमा दिलपुरा पोहोर हिउँदमा ‘माथि’ गइन् ।

सग्लो जीउका उनका धेरै कमरेड जनयुद्धमा उब्रेको उमेर बोकेर साउदी अरब र मलेसिया उडे । बाँकी कमरेड उनीजस्तै ‘न गरिखाने न मरिजाने’ अवस्थाबीच बीच भौँतारिइरहेछन् । केही कमरेड ससाना पेसामा अल्झने कोसिस गर्दैछन् । केही माओवादी भने ‘नेपालमा राजनीतिक क्रान्ति सकियो’ भन्ने पार्टी हेडक्वाटरको मन्त्र जप्दै कहिले सदरमुकाम लिबाङ त कहिले काठमाडौँ गर्छन् ।

कमरेड हुरी अलमलमा छन् । उनको हेडक्वाटरले नै पूरा भयो भनेको राजनीतिक क्रान्ति रोल्पा नपुगी कहाँ अलमलियो ?
खसोखास आफ्नै आँखाले हेर्न उनी काठमाडौँ पुगेका छन् ।
… … …

कलङ्कीबाट रत्नपार्कतिर गुडेको गाडी पाँच मिनेटपछि जाममा फस्यो । हेर्दाहेर्दै सडकवारिपारि सेना र पुलिसले भरिए ।
‘राजाको सवारीको जामजस्तो छ त ?’

यात्रुले एकापसमा मुखामुख गरे ।

थाहा भयो : राष्ट्रपतिको सवारी रहेछ । राजाको मन्दिर धाउने परम्परा धान्न राष्ट्रपतिको सवारी चलेको रहेछ । बिहान प्रधानमन्त्रीको सवारीजाम थियो, अहिले राष्ट्रपतिको– यात्रुले खासखुस गरे ।

झन्डै तीन घन्टा लामो जामपछि साइरन बजाउँदै पिलिकपिलिक बत्ती बालेका गाडीको लस्कर लाग्यो र सवारी चल्यो । बल्ल बाटो खुल्यो ।
राजा हुनु र नहुनुमा सर्वसाधारणका दैनिकीमा आएको तलमाथि भेट्न खोजे । नभेटेपछि कमरेड हुरी हलाक् भए ।

जाम खुलेपछि गुड्दै जाँदा भद्रकालीअगाडि गाडी अर्को जाममा फस्यो । त्यसै बेला उनका आँखा भद्रकालीमा अल्झियो । उनी त्यसपछि झन हलाक् भए जब उनले राजा गएपछिको भद्रकालीमा मन्दिर देखे । कि सबै नेपालीको भावना समेट्ने मन्दिरसहित मस्जिद, गुम्बा आदि पनि हुनुपर्ने कि केही पनि नहुनुपर्ने हो, भद्रकालीमा ।

‘होइन, के फेरियो त ?’ मनमनै आफैँलाई सोधे । झ्वाट्ट अर्को मनले भन्यो, ‘सिंहदरबार फेरियो कि ?’
फरकपन हेर्न उनका आँखा खसखसाए । अरू केही सोचेनन् । बस, उनलाई हेर्नु थियो, छिटोभन्दा छिटो राजनीतिक परिवर्तनपछिको सिंहदरबार ।

थानकोटको इँटाभट्टामा काम गर्न आएका छिमेकीकहाँ रात बिताएर भोलिपल्ट सिंहदरबार पुग्दा यस्तै सवा ११ बज्दै थियो । उनले भेटे, सेना–पुलिसले घेरिएको पुरानै सिंहदरबार । सम्हाल्न कोसिस गरे, ‘ठूलो राजनीतिक परिवर्तनपछि अलिकति तलमाथि त कसो भएन होला र ?’

‘को मु… भोटे हो ?’

उनको मङ्गोल अनुहारलाई हेपेको चर्को स्वर उनको कानमा बज्यो । कुनै दिन भारत, सिमलामा ‘गोर्खे बाँदर’ भनेर गरिएको अपमानझैँ चर्को थियो त्यो स्वर । आफ्नै मुलुकमा गरिएको अपमान गहिरोसँग बिझ्यो । मुस्किलले रिस पाइतालामुनि अचेट्दै भने, ‘ङा कम्रेट हुरी ! ङा रोल्पा ल !’

आफ्नै मातृभाषा खाम (अठार मगरातको मगर भाषा) मा रोल्पाको कमरेड हुरी भनेको सिंहदरबारले बुझेन ।
‘मु…मा… भोटे के भन्छ’, एकजना बूढाले यसअघिको ‘मु…’ मा ‘मा…’ पनि थपेर भने । र, एकैगाँस पार्लाजसरी झपारे ।
‘सिंहदरबार भनेर हेर्न आया हम् ब’, उनले नेपाली भाषाकै रोल्पाली लवजमा भने । रोल्पाली लवजको नेपाली भाषा बुझ्ने पनि भेटिएनन् त्यहाँ ।

‘ऐ तेरिमा… मु… हाम्रो नेपाली भाषामा बोल् न’, हप्काइको पारो आकासियो ।

उनले जानेको मगर भाषा र रोल्पाली लवजको नेपाली भाषा मात्र थियो । यताउता हेरे, उनको भाषा बुझ्ने र उनीजस्ता गरिब किसिमका देखिने कोही थिएनन् ।

सिंहदरबार पस्न उनीसित पास थिएन । सिंहदरबारभित्रबाट आफ्नो मान्छेले पास पठाइदिनुपर्ने प्रावधान उनले थाहा पाए । उनको कोही भए पो पास पाउनू !

‘हाम्जस्ता गौले र गरिप्गुर्बा भित्र छिर्न सक्तैनम् ?’

रोल्पाली लवजमा सोधेको कसैले नबुझेपछि हातको इशाराले फेरि सोधे । उनको अनुहार र उनको गरिब वर्गको जीवनशैली झल्काउने लुगा हेरेर हातकै इशाराले जवाफ दिए, ‘भित्र पस्न पाइन्न !’

अध्यक्ष प्रचण्ड रोल्पामा रहँदासम्म उनको सुरक्षामा खटिएको जनमुक्ति सेनाको टोलीमा थिए कमरेड हुरी । शिविरमा बसेपछि पार्टीले उनलाई पार्टीकै काम गर्न पठायो । माओवादीमा लागेपछि दुईचार कुरा भए पनि बोल्न जानेका कमरेड हुरी छक्कापन्जा गर्न उनको मनले मानेन । त्यसैले केही भइहाल्छ कि भनेर पर्खी बसे । र, आखिरीमा सोधे, ‘कोस्को हो तो यो सिंहदरबार ?’

रोल्पाली लवजमा सोधेको कसैले नबुझेपछि फेरि हातकै इशाराले सिंहदरबार कसको हो भनी सोधे । कोही बोलेनन् ।

गाडीमा सिंहदरबारभित्र र बाहिर गरिरहेका थिए, रामप्रसाद कोइराला, चुडामणि पौडेल, कृष्णहरि खनाल, भानुभक्त उपाध्याय, रामप्रसाद दाहाल, प्रद्युम्नशमसेर जबरा, कृष्णकिशोर नेपाल र प्रसन्नविक्रम शाह । सिंहदरबारको माथिल्लो तलाको नीति बनाउने कुर्सीमा सिंहदरबारमै वर्षौँदेखि गुँड लाएर बसेकाका खलक मात्र थिए ।

सिंहदरबार गेटअगाडि भित्रबाहिर गर्नेलाई हेरिरहेकै बेला उनीसामु केही थान पत्रकार पुगे ।

‘रिरुमा सिएम कम्रेटले रास्नीतिक करान्ति सक्क्योे भनी फुक्या थे । हामी गरिप्को नि दिन आइगिछ भन्कन खुबई रमाइम् । तर, रोल्पाको हाम्रो गौमा अझै पुगेन । कहाँ अलमल परो भनीकन निजो खबर बुझ्न आहम् ब’, पत्रकारले सोधेपछि उनले रोल्पाली लवजमा भने, ‘दोर्सो खारा मोर्चामा लागेको एट्टीवनको छर्रामध्ये चारवटा अझै झिकेको छैन । हेर्नुस् तो, दाइने खुट्टाले नाम्ररी टेक्न मान्दैन ।’

कमरेड हुरीको बोली नसकिँदै एउटा गाडी सिंहदरबार गेटमा आइपुग्यो । पत्रकारले गाडीमा सवार कमरेड अशोक (काठमाडौँमा आएपछि नारायणप्रसाद उपाध्याय) लाई देखाउँदै भने, ‘तपाईंका कमरेड त भित्र छिरे ।’

‘अझ्झी हो र ?’

झस्केर छिटोछिटो नजर लगाए, गाडीको सिसाबाहिरबाट । उनका कमरेड ‘सर’ भइसकेका थिए । आफ्नै कमरेडलाई चिन्न नसकेकोमा चुकचुकाए ।

ठीक त्यसैबेला उनलाई पत्रकारले सुनाए, अहिलेका घरमूली सुशील कोइरालासहित मोहनशमशेर, विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, माधव नेपाल, पुष्पकमल दाहाल, झलनाथ खनाल र बाबुराम भट्टराईका नाउँ । त्यसपछि उनलाई सोधे, ‘यीमध्ये कोहीसित नाता लाग्छ ?’

‘सिएम कम्रेटसित ता वर्गीय नाता छ । रोल्पामा बस्दा गरिप् वर्गको हुँ भन्थे ब सिएमले’, आफ्नो अध्यक्ष प्रचण्डका कुरा फ्याट्ट सम्झिए । कमरेड हुरीको जवाफ सुनेर पत्रकारले खित्का छाडे । किन खित्का छाडे भनेर उनी एकपालि फेरि गम खाए । त्यसपछि उनले जानेका र चिनेका नाउँ सम्झिए ः लाममति पुन, जैसरा रोका, फौदबहादुर दमार्इं, जोखबहादुर घर्ती, लालबहादुर मेचे, पहरू थारू, जुक्तबहादुर चेपाङ, दोर्जे तामाङ, सुकधन राई, लोकवीर तुम्बापो, छिमी लामा, धनवीर ठगुन्ना, भक्त पासवान आदि ।

उनका मनमा आएका उनीजस्तै गरिब कोही पनि सिंहदरबारमा नदेखेपछि हिजोजस्तै बिरानो लाग्यो सिंहदरबार । उनका पाइला अनायास सिंहदरबारसित जोडिएको अदालततिर सोझिए । एक मनले भन्यो, ‘अदालत त कसो नफेरिएको होला र ?’

सर्वोच्च अदालत पुग्नेबित्तिकै देखे– राजा महेन्द्र अनुहारका । राजनीतिक परिवर्तनपछि पनि सबै ठाउँ शाह, राणा र तिनका पुरेतखलक, हुनेखानेकै बिर्ता रहेको देखेर हलाक् परे । उनको भाषा र मन बुझ्ने कोही भेटेनन् अदालतमा ।

कहाँनेर टेक्ने हो ? पाइला राख्ने ठाउँ खोजे । भेटेनन् । उभिएर हाँस्ने, खेल्ने र बोल्ने त परै छ ।
एकछिन टोलाए, सर्वोच्च अदालतसित जोडिएको पुरातत्व विभागनेर । त्यसपछि बर्खामासको माडीखोला भन्दा मुस्किलले सडक तरेर कृषि विकास बैंकनेर उभिए । घरी हेरे पुरातत्व विभाग, घरी सर्वोच्च अदालत ।

हेर्दाहेर्दै उनले झ्वाट्ट सम्झिए, आफ्नो तीनपुस्ते भविष्यसहित जिन्दगीका सम्पूर्ण सिरिखुरी धरेको माओवादी पार्टी अनि त्यसको हेडक्वाटर ।

जाने मन पलायो । लागे माओवादी हेडक्वाटरतिर ।

‘सिएम कम्रेटको निवासअग्गेड छु म । यो उभिएको हाम्रो हेडक्वाटर हो ?’

उनका आँखा तिर्मिराए । आफूलाई चिमोटे । र, सामान्य अवस्थामा ल्याउने प्रयास गरे आफूलाई ।

‘रोल्पाबट आया हम् ब, सिएम कम्रेटलाई एकफेरा भेटम् भन्कन’, रोल्पाली लवजमा यति भन्दै घरवरपर नजर डुलाए ।

‘रोल्पा नपुगी करान्ति काँ अलमल भो’, कसैले नसोधीकनै आफँैले भने । यताउति हेरिरहेका बेला कतै देखेजस्तो एक जना खाइलाग्दा मान्छे निक्लिए । ‘सलाम सिएम कम्रेट !’ भनी अनायास उठेको उनको दायाँ हात माथि नपुग्दै देखेजस्तो लाग्दालाग्दै ती मान्छे मिलिक्क भए । उनका अघिपछि सेना–पुलिस थिए ।

‘सिएम कमरेड कार्यक्रममा जानुभयो त’, एक जनाले भने ।

‘अझ्झी…. हो र ?’

उनी झसङ्ग भए ।

बाहिरिने ती मान्छे उनलाई घरी आफ्नै सिएम हुन्जस्तो लाग्यो, घरी होइनन्जस्तो । अलमलमा परे । आफैँलाई सोधे, ‘मलई यो आँखाले धोका दियो कि पार्टी हेडक्वाटरले ?’

उनले जति प्रयास गरे पनि छुट्ट्याउन सकेनन् । उनका आँखाले आफ्नै सिएम कमरेडलाई घरी केपी ओली देख्यो घरी सुशील कोइराला ।

त्यसपछि उनलाई भोक लागेजस्तो न प्यास लागेजस्तो भयो । छटपटी भयो । आफूलाई थाम्न नसकेपछि उनी थचक्क बसे । एकछिन आँखा चिम्लिए । त्यसैबेला उनका आँखामा जुलुस आयो, सहिद, बेपत्ता, घाइते र जनयुद्धमा सिरीखुरी धरेका अबोध कार्यकर्ता र तिनका अलपत्र परिवारका । अनि क्रमशः पुराना याम आए जुन याममा भोलि झुल्ने घाम सम्झी झरीमा भिजेथे उनीजस्ता धेरै । नेतालाई घरको बैकल (बुइगल) मा लुकाएर सेन्ट्री बसेका रात स्मृतिमा आए । आफूहरूले मासुभात खान दसैँतिहार कुरे पनि ‘देश खोजी बगाल रोजी’ भालेसित भात खुवाएका याम ताजै भएर उभिए । मकै चपाउँदा पनि दुश्मनले सुन्ला कि भनी सुस्तरी चपाउँदै पार्टी नेतृत्वलाई गहुँको रोटी खुवाएका विगत आए । नेतृत्व बचे न क्रान्ति हुन्छ अनि देशको मुहारसित गरिबका पनि मुहार फेरिन्छ भनी आफू लुगलुग काँप्दै नेतालाई सिरक खपाइदिएका रात झलझल्ती आए ।

‘सिएम कम्रेटले काटमुन्नु फेर्छु भन्थे । बड्डालई काटमुन्नुले फेरेछ । तेसै बड्डाले भन्यारैन्छन्, नेपाल्मा रास्नीतिक करान्ती सक्क्यो’, आफूलाई भन्दा भरोसा गरेको पार्टी हेडक्वाटर अनचिनार लागेपछि उनको मनले भन्यो, ‘मूल नै धमिलिएछ र पो तल धमिलो बगेछ ।’
जुरुक्क उठे । हेडक्वाटरलाई एकपालि फरक्क फर्की हेरे र छिटोछिटो बाटो लागे ।
….
साइनबोर्ड मात्र फेरिएको भेटे, उनीजस्ता गरिब, दुःखी र इमानदारका जिन्दगीमा कुनै मौसम फेरिएको भेटेनन् कमरेड हुरीले । उनको अनुहार र वर्गले अपनत्वबोध गरेर पाइला राख्ने ठाउँ काठमाडौँमा कहीँ भेटेन ।

सडकमा जति पाइला फाले, उति आए उनका आँखामा : गरिबका रहर एकबार कसो नफुल्ला भनी जिन्दगीका सिरीखुरी धरेका वेदाग अनुहार । अरबको खाडीमा भेडा चराइरहेका र भारतका गल्लीमा चौकीदारी गरिरहेका अबोध आँखामा आए । आए बेपत्ता दाजु, सहिद विजेतासहित धेरै तन्नेरी ।

‘मेर्दाजु र मेर्जोईले करान्तीमा बगाएको खुन कुकुरको मूत भो त ?’

आफ्ना दाजु र श्रीमतीले बगाएको रगतको मूल्य सम्झेर उनी झस्किए । लेखिएको थियो, गणतन्त्र र धर्मनिरपेक्ष नेपाल । हो, त नेपाल गणतन्त्र भयो । धर्मनिरपेक्ष भयो ।

सम्झिए आफूजस्तै गरिब र सिमान्तीकृत अनुहारलाई । उनै दुईचारबाहेक बाँकीका जीवनशैलीमा तात्विक फरक भेटेनन् ।

‘आब काँ जाने तो ?’

उनको जीउ सर्सरायो । एकतमासले आङ तातेजस्तो भयो । हिँड्दाहिँड्दै उनका बाले भनेको सम्झिए, ‘कि आँटले खायो कि ढाँटले ।’

ढिकी कुटेजसरी भए पनि दगुरे । रोल्पा लेखेको एउटा गाडी मात्र देखे । सबै रङका अनुहार र गरिखाने मान्छे पनि आफूखुसी हाँस्न र रुन पाउने रङ्गीन नेपाल बनाउन गुडेको उक्त गाडी कमरेड हुरीका केही थान नेतालाई बालुवाटार र सिंहदरबार पु¥याएपछि अलपत्र छाडिएको थियो ।

‘रोल्पा’ देख्नेबित्तिकै अनायास उनका आँखा हतारहतार बस चढेका र चढ्न लागेका अनुहारमा बल्झिए ।

देखे, उनका जस्तै चिम्सा आँखा । देखे, कोही आमा गुमाएका त कोही दाजु गुमाएका । कोही शरीरका अङ्ग गुमाएका । कोही काठमाडौँका इँटाभट्टाबाट फर्केका त कोही भारत, साउदी अरब, मलेसियाबाट । कतिखेर गुड्ला भनी पर्खिरहेका आतुर अनुहार !

(स्रोत : Halkaranepal)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.