~टंक वनेम~
मान्छेभित्र पलाउने संवेदना
पहाड जस्तै ठिङ्ग उभ्न थालेपछि
वर्तमानको बिरुद्धमा
कविताले नङ्ग्रा तिखार्न थाल्छ,
तरवार उध्याउन थाल्छ,
बन्दुक पड्काउन थाल्छ,
कविताको अनुहार
कविता जस्तो नभएर
द्वैध चरित्रको नक्कली अनुहारले सिँगारिन्छ
छन्द, लय, अलंकार र
कलात्मक भाषाले सजाउँदै
सिँगार्दैन उसको सुन्दरता
जीवन र जगतलाई
अनुभूत गर्दैन
बौद्धिक र भावनात्मक सम्बन्धको
साइनो जोड्दैन
मानवीय समवेदना
अभिव्यक्त गर्दैन,
सभ्यताको आकाशले थिचिएर
आफैमा कविताको सुन्दर आकृति
परिस्कृत हुँदैन ।
हो, कविताको लालित्य
जीवनको दस्तावेज भए पो,
भावना र कल्पनाको
सुमधुर शैली बन्थ्यो ।
परिस्थिति महाभारत भएर
हृयुमन भ्याल्यू
बारुदकै गन्धमा उडेपछि
कविताले पनि धार अर्जाप्न थाल्छ,
संगीनको साउती सुनाउन थाल्छ,
अविरल बग्ने इनद्रावती
धमिलिन्छ साउने खोला बनेर
सुललित साहित्यको जरा उखेल्दै
बग्छ ओह्रालै ओह्रालो ।
कहाँ हुन्छ र ? हेर्नुको मज्जा
त्यो विद्रोहको ताण्डव नृत्य ?
तर पनि
त्यही खोलाको डीलमा उभेर
खोलाको गडगडाहट
धमिलो पानीको
धमिलो छाँया हेर्दै
आफ्नै मलामी गइरहेछु
दन्त्य कथाको सुबिउ चरोझैं
अपराध बोधको वर्तमान भोगेर ।
-tankawanem@yahoo.co.uk
June 10th, 2008
(स्रोत : Nepal.hk)